
काठमाडौं । प्रहरीको अनुसन्धानमा पटक–पटक प्रश्न उठ्दै आएको छ । कतिपय घटनामा प्रहरीकै बदनियत देखिन्छ ।
यस्तै एक घटना राजधानी काठमाडौंमा भएको छ । प्रहरीबाट भएको कमजोरीले एक निर्दोषले १२ दिनभन्दा बढी हिरासतमा बस्नुपरेको छ ।
गएको असार २३ गते काठमाडौं महानगरपालिका–७ बाट प्रहरीले शिव लिम्बूको बुलेट मोटरसाइकलको सिटमुनि राखिएको झोलाभित्रबाट कस्तुरीको बिनाजस्तो सामान बरामद गरेको थियो । सो सामानसहित पाँचथरको तुमविया गाउँपालिका–५ घर भई काठमाडौंको कपन बस्ने ४२ वर्षीय शिव लिम्बूलाई पक्राउ गरेको खबर प्रहरीले सार्वजनिक गरेको थियो ।
लिम्बूका आफन्तले घटनास्थलको सीसीटीभी फुटेज हेर्न माग गरेपछि घटनामा ‘ट्विस्ट’ आयो । फुटेजमा चाबहिल सडकखण्डमा मोटरसाइकल रोकेर लिम्बू एक रेस्टुरेन्टमा छिरेको देखियो ।
त्यसको केही समयपछि अर्का एक व्यक्ति आएर लिम्बूको मोटरसाइकलमा केही वस्तु राखेको जस्तो देखियो । लगत्तै ती व्यक्ति त्यहाँबाट जान्छन् । केही समयपछि प्रहरीको टोलीले लिम्बू बसेको होटेलमा पसेर उनलाई नियन्त्रणमा लियो ।
फुटेजमा लिम्बूलाई फसाउने नियत देखिएपछि घटनाबारे अनुसन्धान गर्न एसपी दिलीप घिमिरेको नेतृत्वमा एक समिति गठन गरिएको थियो । सो समितिले प्रहरीकै सहयोग लिएर निर्दोषलाई फसाउन खोजेको निष्कर्ष निकाल्यो ।
प्रहरीका अनुसार सो घटनामा पाँचथरको चिलिडदिङ गाउँपालिका–४ का आदम भनिने सुभास राई र गुल्मीको मदाने गाउँपालिका–३ का नारायण कार्की भनिने कृष्ण श्रेष्ठको मिलेमतोमा लिम्बूलाई फसाउन प्रहरी समेतको प्रयोग गरिएको खुलेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार घटनाका दोषी श्रेष्ठ र राई नै हुन् । अनुसन्धानमा संलग्न प्रहरी भने निर्दोष रहेको कार्यालयको भनाइ छ ।
राई र लिम्बूबीच विगतमा जग्गासम्बन्धी कारोबार भएको प्रहरी अनुसन्धानमा देखिएको छ । तर, ०७९ वैशाखमा राईले मादकपदार्थ सेवन गरेर लिम्बूको मोबाइलमा फोन गरेर तथानाम गालीगलौज गरेका थिए । राईले ‘तेरो घरमा आई सिध्याइदिन्छु’ भनी धम्की दिएका थिए । सोही विषयलाई लिएर तीन–चार दिनपछि कपनको स्नोकर हाउसमा लिम्बूले राईलाई कुटपिट गरेको खुलेको छ ।
सोही कुटपिटको विषयलाई लिएर राईले कृष्ण श्रेष्ठसँग बाघको छाला र कस्तुरीको बिना राखी लिम्बूलाई फसाई ‘बदला लिनुपर्छ’ भन्दै योजना बनाएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
सोही योजनाअनुसार असार २३ गते चाबेलस्थित खाजा घरअगाडि लिम्बूले पार्किड गरेको मोटरसाइकलको सिटमुनि रातो कपडाले बेरी रातो झोलाभित्र लुकाएको उक्त वस्तु श्रेष्ठलाई राख्न लगाएको खुलेको छ । त्यसपछि प्रहरीलाई खबर गरेको पनि खुलेको छ ।
लिम्बूले सोधपुछका क्रममा केही समयअगाडि राईसँग झगडा भएको बताएका छन् । त्यसैको बदला लिनका लागि राईले नै आफूलाई फसाएको कागज गरेको र उक्त कुरा पक्राउ पर्दाको समयमा घटनास्थलमा सबैले सुन्ने गरी कराएको समेत छानबिन समितिले प्रतिवेदनमा उल्लेख छ ।
लिम्बूले प्रयोग गर्ने मोटरसाइकलमा आफूले नै राईको निर्देशनमा नक्कली कस्तुरीको बिना राखेको र प्रहरीलाई खबर गरेको भन्दै श्रेष्ठले साविति कागज समेत गरेका छन् । सो घटनामा प्रहरीको शंकास्पद भूमिका नदेखिएको छानबिन समितिको दाबी छ ।
घटनाबारे प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रहरीलाई सूचना प्राप्त भएपश्चात कानुनसम्मत रूपमा प्रहरी कारबाही गर्नुपर्ने दायित्वअन्तर्गत प्रहरी कारबाही भएकोमा उक्त घटनामा प्रहरीको भने कुनै बदनियत र शंकास्पद भूमिका नदेखिएको ।”
घटनामा संलग्न श्रेष्ठलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको र मुख्य योजनाकार भनिएका राई हाल फरार रहेको प्रहरीले जनाएको छ ।
यसअघि, एक वर्षअघि पनि रौतहटमा प्रहरीकै योजनामा एक निर्दोष पत्रकारलाई फसाउन खोजिएको घटना सार्वजनिक भएको थियो । लागुऔषधसहित पक्राउ परेको भनिएका पत्रकार मोहमम्द मोजिबुल्लाह निर्दोष रहेको सीसीटीभी फुटेजबाटै पत्ता लागेपछि प्रहरी घटनामा जोडिएको थियो ।
रौतहटका तत्कालीन प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह पत्रकारलाई लागुऔषध राखेर फसाउन खोजिएको भन्दै प्रहरी प्रधान कार्यालय तानिएका थिए । हाल उनी एसएसपीमा बढुवा भएका छन् । घटनामा जोडिएको उनको एउटा अडियो समेत सार्वजनिक भएको थियो ।
झुटो उजुरीका आधारमा कसैलाई फसाउन खोजिए सोही मुद्दा फसाउन खोज्नेमा आकर्षित हुने प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राई बताउँछन् ।
मुलुकी संहिताअनुसार झुटो आरोप लगाइएमा त्यस्तो कसुरमा हुन सक्ने सजायको उपल्लो हदको आधासम्म सजाय हुनसक्नेछ । तर, सरकारवादी हुने मुद्दाको हकमा यो व्यवस्था लागु हुँदैन ।