काठमाडौं । काठमाडौं महानगरपालिकामा तीन नयाँ दमकल थपिएका छन् ।
महानगरका अनुसार ती दमकलको इन्जिन क्षमता २७० एचपी छ । दमकलमा प्रतिमिनेट तीन हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ ।
यस्तै, ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन् । एकैपटक चारवटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र दुई सक्सन लाइनबाट पानी तान्न सक्ने महानगरले जनाएको छ ।
तीन हजार लिटर पानी र ५०० लिटर फोमको ट्यांक रहेको दमकलले पानीमा फोम आफैँ मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ । आठ हजार किलोग्रामभन्दा धेरै तौल भएका ती दमकलहरू एन्टिलक ब्रेक सिस्टक (एबीएस) हुन् ।
आठ मिटर लम्बाइ र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थमा लागेको र ग्यासमा लागेको आगो निभाउन सक्ने महानगरले जनाएको छ ।
दमकल खरिदका लागि ०७७ फागुनमा बोलपत्र आह्वान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनोट भएको थियो । कम्पनीले करबाहेक सात करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो ।
नयाँबाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने दुई र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने तीन गरी पाँच दमकल छन् ।