आफूले भन्न चाहेको कथा कसरी भन्ने विषयमा नै सबैभन्दा पहिले कथाकारले सोच्नुपर्छ । किनभने, कथा नयाँ किसिमले भन्न सक्नुपर्छ ।
कथाको एउटा सामुदायिक ढाँचा हुन्छ । त्यसभित्र धेरै कथाका अनुहारहरू हुन्छन् । अर्थात्, कथाभित्र धेरै कुरा हुन्छन् । ती यावत् विषयबारे कथाकार जानकार हुनुपर्छ । एउटा लेखक जसमा कथा लेख्ने छटपटी हुन्छ, त्यो प्रगाढ हुनुपर्छ । कथाकारमा प्रगाढ शक्ति छ भने तिनलाई हामीले कार्यशाला वा प्रशिक्षणबाट बाटो देखाइदिनुपर्छ । तिनको शक्ति तिनलाई चिनाउनुपर्छ ।
हरेक लेखकको आफ्नै शक्तिले स्वरूप निर्माण हुने हो । हाम्रो कथा लेखन परम्पराको, त्यसको इतिहासको कुरा गर्दा धेरै कुरा पर्गेल्नुपर्ने हुन्छ । हुन त मानव समुदायमा एउटा समुदायले भन्ने कथा र अर्काेले भन्ने कथामा नमिल्ने कुरा धेरै हुँदैनन् । तर पनि आ–आफ्नो ठाउँका विशिष्टिकृत शैलीहरू हुन्छन् । ढाँचाहरू हुन्छन् ।
यति हुँदा हुँदै पनि एउटा कथा लेखकले जीवनको गोरेटो कसरी बनाउँछ, उसले जीवनलाई र कथालाई कसरी बुझ्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ । कथा लेखनलाई अझै बृहत् रूपमा लैजान समय–समयमा कार्यशालाहरूको आयोजना हुनुपर्छ भन्ने मलाई लाग्छ ।
एउटा कथाकारले आफ्नो क्षमताको पहिचान कसरी गर्ने भन्ने विषयमा म अरू कसैको कुरो गर्न सक्दिनँ । तर, मलाई कथा लेख्न किन मन लाग्यो भन्ने बारेमा भन्छु । कथा भन्ने कुरो मानव समुदायमा एकदम शक्तिशाली विषय हो भन्ने मलाई लाग्यो । मस्तिष्कको तन्त्रिकामा त्यसैले पनि बस्न गयो ।
हाम्रा हजुरबा–हजुरआमाहरूले कथा भनेरै हामीलाई लट्ठ पार्नुभएको थियो । कथा शक्तिशाली नभएको भए हजुरबा–हजुरआमाहरूले त्यो हतियार किन प्रयोग गर्नुहुन्थ्यो र !
त्यहीँबाट मैले बुझेको हुँ, कथा शक्तिशाली हुँदो रहेछ । कथा भन्नुपर्ने रहेछ । कथा भन्ने परम्पराले सभ्यतालाई समृद्ध पार्दो रहेछ भन्ने थाहा भएपछि नै मैले पनि कथा भन्न सक्ने सामर्थ्य के छ त ममा भन्ने कुराको खोजी गरेँ । त्यस बेला मसँग उपलब्ध भएको ज्ञानको सीमाहरूका आधारमा म उभिन खोजेँ । त्यहीँ पनि द्वन्द्व थियो होला, अरूले कथा कसरी भने र मैले कसरी भन्ने विषयमा ।
अरूले भनेजस्तै मैले पनि कथा भन्ने कुरो त भएन । मेरो छेउमा रमेश विकल हुनुहुन्थ्यो, कथा भन्नमा सिद्धहस्त । उहाँका कथा, बालकथा, पञ्चतन्त्रका कथाहरू आइरहन्थे । हामी पढिरहन्थ्यौँ । तर, हामीले कथा भन्दा उहाँजस्तै त भन्ने होइन भन्ने मलाई लाग्थ्यो । त्यसैले म उहाँभन्दा कसरी अलग्ग हुने भन्ने विषयमा सोच्थेँ ।
अलिअलि अनुकरण गरे पनि कथा भन्ने शैली आफ्नै ढाँचाको हुनुपर्छ । लेखकले कथा लेख्दा नै सोच्नुपर्छ कि म आफ्नै ढाँचामा लेख्छु भन्ने । अर्थात्, एउटा कथाकारले धेरै कुरा आफैँबाट सिक्नुपर्ने हुन्छ ।
यसरी आफैँ सिक्दै जाँदा, लेख्दै जाँदा लेखकको स्वत्व बन्छ । उसको आफ्नो बाटो यसरी नै बनेर जान्छ । त्यसैले कथाकारले आफैँले यस विषयमा मनन गर्नुपर्छ । उसले आफैँ बुझ्नुपर्छ ।
अरू कसैले बुझाइदिनु भनेको समालोचकको तर्फबाट मात्रै हो । किनभने, समालोचकले कथा लेख्दैन, तर लेख्नेभन्दा धेरै जान्दछ । जान्नुपर्छ पनि । नत्र उसले कसरी समालोचना गर्न सक्छ ?
कथाकार चिन्न सच्चा समालोचक चाहिन्छ । एउटा समालोचक सयौँ कथाकारजस्तो हुनुपर्छ । अनि मात्रै उसले कथाकारलाई बाटो देखाउन सक्छ । तर, मैले मेरो युगमा कथाको समालोचक भेटेको छैन ।
सोझो तरिकाले भन्ने हो भने कथा लेखनमा रुचि राख्ने एउटा लेखकले कथा भन्न उसको सामाजिक परम्परालाई बुझ्नुपर्छ । अनि, विश्वको समाजमा पनि कथा भन्ने परम्परा कस्तो छ भन्ने जानकारी राख्नुपर्दछ ।
कथाबारे अलि बढ्ता बुझाउनलाई धार्मिक कथाहरूको प्रयोग हुने गरेको छ । जस्तो, हिन्दु धर्ममा पनि कथाहरू छन् । क्रिश्चियन धर्ममा पनि कथाहरू छन् । बौद्ध धर्ममा पनि कथाहरू छन् । बौद्ध धर्ममा भनिने जातक कथा, कथाको विराट संग्रह हो ।
एउटा कथाकारले ती सबै कुरा बुझ्नुपर्छ । अनि, आफ्नो समयमा मानिसको आत्मिक आवाजलाई, त्यसका सम्बन्धलाई कसरी कथाको आँखाले बुझ्ने भनेर छुट्ट्याउनुपर्छ ।
एउटा लेखकले कथा लेख्छ भने उसले धेरैभन्दा धेरै कथा पढ्नुपर्छ । कथा बुझ्नुपर्छ । त्यसका साथै उसले समाज पनि पढ्नुपर्छ । समाज मात्रै होइन, मानिस पनि पढ्नुपर्छ । त्यो पात्र र समाजसित जोडिएको संस्कृति पनि पढ्नुपर्छ । इतिहास पनि पढ्नुपर्छ । नभए उसले कथा लेख्नै सक्दैन ।
कथा लेख्दा कहिलेकाहीँ अलौकिक कुराबाट पनि सुरु हुनसक्छ । तर, त्यसरी सुरु गर्दा पनि त्यो अन्ततः मानिसकै बीचमा पुग्नुपर्छ । समाजमै पुग्नुपर्छ ।
हामीकहाँ लेखनमा केही समस्या छन् । हामी समयको ध्वनिलाई समात्ने नाउँमा सतही ध्वनिलाई पनि समातिरहेका छौँ । त्यो कथा⁄कविता सबैमा देखिएको छ । तर, एउटा कथाकारले के बुझ्नुपर्छ भने कथा भनेको अर्को समानान्तर जीवन्त संसारको सिर्जना हो । यो यस्तो संसारको निर्माण हो, जो जीवन्त हुन्छ । त्यसले सास फेर्दैन, तर पढ्ने पाठकहरूको हिसाबले जीवन्त हुन्छ । किनभने, तपाईं जब राम्रो कलाकृति पढ्नुहुन्छ वा पुस्तक पढ्नुहुन्छ, त्यस बेला तपाईं हामी ती पात्रहरूसँग कुरा गरिरहेका हुन्छौँ । पात्रसँगसँगै हिँडिरहेका हुन्छौँ ।
यस स्थितिमा हामी कहिले रोइरहेका हुन्छौँ । कहिले हाँसिरहेका हुन्छौँ । कहिले उत्प्रेरित भइरहेका हुन्छौँ । अर्थात्, त्यो यस्तो विषय हो, जसले हामीलाई समाजका अरू विषयले प्रेरित गरेजस्तै शक्ति र सामर्थ्यका साथ केही गरिरहेको हुन्छ ।
एउटा उदाहरण दिन्छु, यहीँ नजिकै पीपलको रूख छ । म कतैबाट आउँदा त्यो रूख नजिक आएपछि मलाई ढुक्क लाग्छ । गर्न त त्यसले के नै गर्छ र, तर पनि त्यहाँ आएपछि म आफूलाई सुरक्षित ठान्दछु, आहा ! यो मेरो पीपलबोट भनेर ।
पछिपछि थाहा लाग्यो, वैज्ञानिक रूपमा पनि पीपलको रूखले मेरो सुरक्षा गरिरहेको छ । मलाई अक्सिजन दिइरहेको छ । मलाई छहारी दिइरहेको छ । त्यसले वातावरणलाई अनुकूल बनाउँदो रहेछ भन्ने कुरा । कथाले पनि यस्तै जीवन्तता प्रदान गर्छ ।
वास्तवमा कथा लेखन भनेको जटिल विषय हो । एउटा वैज्ञानिक हुनुभन्दा बढीको योग्यता चाहिन्छ कथा लेख्नलाई । दार्शनिक हुनुभन्दा बढ्ता योग्यता चाहिन्छ । धेरै योग्यता पो चाहिन्छ त कथा लेख्नलाई ।
समाज विज्ञानका सारा कुरा मिलाएर लेख्न लेखकलाई धेरै कुराको आवश्यकता पर्छ । कार्ल मार्क्सले बाल्जाकलाई ‘यो हाम्रो समयको इतिहासकारभन्दा पनि ठूलो, अर्थशास्त्रीभन्दा पनि ठूलो, समाजशास्त्री र दार्शनिकभन्दा पनि ठूलो’ भनेर त्यसै भनेका हैनन नि !
कथाकारलाई धेरै चुनौती हुन्छ । त्यसैले पनि कथा लेखनलाई जटिल मानिएको हो । यसका लागि कथाकारसँग अथाह योग्यता चाहिन्छ । यो एउटा लडाइँजस्तै हो । लडाइँमा छिरिसकेपछि उपायहरू पत्ता लगाउँदै गन्तव्यतिर लाग्ने र दह्रिलो नतिजा दिने । एउटा सैनिकले राम्रो योद्धा हुन खोजिरहेको हुन्छ, लडाइँभरि । एउटा कथाकारको स्वरूप पनि त्यही हुन्छ, कथा लेख्दा ।
लडाकुले त्यहाँ छिरेपछि जसरी युद्धका तरिका सिकिरहेको हुन्छ, त्यसरी नै लेखकले पनि कथामा हात हालिसकेपछि नयाँनयाँ कुरा सिकिरहनुपर्छ । नयाँनयाँ जानकारी लिइरहनुपर्छ ।
मलाई लाग्छ, मेरो मस्तिष्कले काम गरुन्जेलसम्म म यस क्षेत्रमा सिकारु नै भइरहन्छु । म जहिले पनि सिकिरहेको हुन्छु । अहिले पनि अर्को कथा कसरी लेख्ने भन्ने कुरा सिकिरहेको छु । किनभने, म हरेक लेखनमा फेरि जन्मिन्छु । मेरो पुनर्जन्म भइरहेको हुन्छ, नयाँनयाँ कथाहरूसँगै ।
कथाका लागि हामीसँग विषय त हुन्छन् नै । विषयभन्दा पनि त्यसलाई कसरी नयाँ किसिमबाट लेख्ने, कसरी त्यसमा नयाँ रङ भर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।
कथा लेख्दा एउटा लेखकले ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा के हो भने तपाईं जे लेख्न वा गर्न खोज्दै हुनुहुन्छ, सबैभन्दा पहिले त्यसको इतिहास थाहा पाउनुपर्छ । कसैले फलामको काम गर्छ भने उसले फलामको इतिहास थाहा पाउनुपर्छ । त्यो फलाम कति तातोमा लुलो हुन्छ, कति तापमा त्यसले कडा स्वरूप लिन्छ र आफ्नो आकार ग्रहण गर्छ भन्ने कुराको ज्ञान उसलाई हुनुपर्छ ।
कथा लेखनमा पनि त्यही हो । कथा लेखकका लागि पहिलो कुरा त उसले जुन भाषामा काम गर्ने हो, ऊसँग त्यो समृद्ध भाषाको ज्ञान हुनुपर्छ । त्यसपछि कथाको ढाँचाबारे जानकारी हुनुपर्छ । संरचनाको आधारभूत ज्ञान पनि हुनुपर्छ ।
त्यसपछि मात्रै विषयका कुरा आउँछन् । एउटा बाहिरी विषय हुन्छ भने अर्को सम्बन्धका विषयहरू हुनसक्छन् । त्यसमा पनि लेखकले ध्यान दिनुपर्छ ।
जो कोही लेखकले पनि कलाको बोध भएका आजका जागरुक पाठकका लागि लेख्ने हो । त्यो पाठक यहीँ पनि हुनसक्छ वा विश्वको कुनै कुनामा पनि हुनसक्छ । त्यसको हिसाबकिताब गरेर कथाकारले वा लेखकले लेख्नुपर्छ ।
मूलतः कथाकारले मान्छेलाई चिन्नुपर्छ । मान्छेलाई चिनेपछि मात्र कथाको निर्माण हुनसक्छ । अखबारले जसरी मानिसलाई चिनिरहेका हुन्छन्, कथाकारले मानिसलाई त्यसरी चिन्ने होइन । कथाकारले त्यसरी चिन्न मिल्दैन पनि । मानिसलाई चिनेपछि लेखिएका कतिपय कथाले मानिसको दिमाग रन्थनाइदिन सक्छ । विश्व साहित्यमा त्यस्ता धेरै कथाहरू छन् ।
कथामा एउटा सार्वभौम दृष्टिविन्दु हुन्छ, जहाँबाट कथाकारले सबै देख्छ । त्यहाँ ऊ द्रष्टा हुन्छ । यस्तो परिस्थितिमा कथाकारले बोल्न मिल्छ । तर, कथाकारले बोल्ने ढाँचा मिलाउन सक्छ कि सक्दैन भन्ने कुरा महत्त्वपूर्ण हो । ढाँचा मिलाएर कथाकारले आफ्नो विचार बोल्न सक्छ ।
कतिपय विश्व प्रसिद्ध कथाहरूमा लेखकले मात्रै पनि बोलेको पाइन्छ । लेखकले बोल्न हुँदैन भन्ने हुन्न । मात्रै यति हो, ढाँचा पुर्याएको छ कि छैन । जस्तो, शंकर लामिछानेको कथा ‘डुब्न लागेको घाम’मा पात्र छैन । त्यसमा विचार मात्रै छ । र पनि त्यो कथा हो ।
अल्बेयर कामुको ‘द फल’ नामको उपन्यास छ, त्यसमा सुरुदेखि अन्त्यसम्म विचार र दर्शन मात्रै छ । कथाकारले विचार राख्नै हुँदैन भन्ने होइन । बस्, घिसेपिटेका विचार राख्ने काम गर्नु हुन्न ।
एउटा उदाहरण दिऊँ, चुनाव आयो । चुनावका लागि रूखको गीत बन्यो, सूर्यको गीत बन्यो, कलमको गीत बन्यो । त्यो तत्कालका लागि मानिसलाई उत्तेजित गर्न बनेको गीत हो । त्यो साहित्य होइन । कुनै पार्टीको विचार वा कार्यनीतिपत्र साहित्य हुँदैन ।
कथाले मानिसको दिमागलाई उद्वेलित गर्ने किसिमबाट मनोरन्जन दिने हो । त्यसले सस्तो मनोरन्जन दिने होइन । त्यस्तो मस्तिष्कलाई उद्वेलित गर्ने कथा सानो पनि हुनसक्छ । ठूलो पनि हुनसक्छ । लेखकले कथा कसरी बनाउँछ, कथाको आकार त्यसमा भरपर्ने कुरो हो ।
वास्तवमा कथाकारले कथा लेख्ने हो । साहित्यमा सिद्धान्तका कुरा आउँछन् । सिद्धान्तको जानकारी राख्नु ठिक हो । तर, त्यसमाथिको अन्धविश्वास कथाकारका लागि आवश्यक विषय होइन । सिद्धान्त हेरेर लेख्न थाल्यो भने त्यसरी लेखिएका रचना कालजयी र शक्तिशाली हुन सक्दैन ।
एउटा कथाकारले विश्वभरि कथा कसरी भनिएको छ भन्ने विषयमा जानकारी राख्नुपर्छ । तर, कथा आफ्नै तरिकाले भन्नुपर्छ । आफ्नै तरिकाले लेख्नुपर्छ ।
(बाह्रखरी कथा प्रतियोगिता तेस्रो संस्करणका निर्णायक समितिका संयोजक नारायण ढकालसँग गरिएको कुराकानीमा आधारित ।)