
काठमाडौं । तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नाराणकाजी श्रेष्ठबीचको भेटले राजनीतिक तरंग पैदा गरेको छ ।
कांग्रेससहितको सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एस समेत संलग्न हुनेगरी समाजवादी केन्द्रका निर्माणका नाममा भएको त्यो भेटले राजनीतिमा नयाँ तरंग सञ्चार गरेको हो ।
हाल अस्थित्वमा नरहेको तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच आइतबार भएको भेटपछि पार्टी एकता वा समाजवादी केन्द्रका नाममा वाममोर्चा बन्ला भन्ने आंकलन पनि भइरहेको छ । यसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थप उचाइ दिने प्रयास गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटअघि नै पार्टीको केन्द्रीय कमिटी बैठकमा हाल कायम रहेको गठबन्धनबाहेकको मोर्चा निर्माणको प्रस्ताव गरेका थिए । उनको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भने विरोध गरिएको छ ।
“...तात्कालिक रुपमा निर्वाचनमा क्रान्तिकारी शक्ति एवं जनतालाई गोलबन्द गर्ने दीर्घकालिक रुपमा समाजवादी वैकल्पिक क्रान्तिकारी धाराको निर्माण हुनेछ । केपी ओली प्रवृत्तिको दक्षिणपन्थी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनका उपलब्धिलाई खोस्न उद्यत प्रतिगामी प्रवृत्तिलाई पराजित गर्नेछ,” प्रचण्डको मोर्चासम्बन्धी प्रस्तावमा भनिएको छ, “क्रान्तिकारी धारको निर्माण गर्दै तत्काल प्रतिगामी र दक्षिणपन्थी शक्तिका विरुद्ध तत्कालिक जिम्मेवारी संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता एवम् संघीयतासहितको लोकतन्त्रमा सहमत शक्तिसँग गठबन्धनको नीति अख्तियार गरिनेछ ।”
प्रचण्डले यस्तो प्रस्ताव प्रस्तुत गरे पनि बैठकमा मोर्चाबारे स्पष्ट पारेका छैनन् । तथापी वामपन्थी एकता वा चुनावी मोर्चा बनाउने प्रस्ताव भएको नेताहरु बताउँछन् ।
नेकपा एकता अभियान चलाउने भन्दै नेकपा फुटेपछि सबै पार्टीहरुबाट अलग रहेका एमाले पूर्वउपाध्यक्ष वामदेव गौतमले असार १४ गते नेकपा एकीकृत अभियान नाम दिएरै पार्टी घोषणा गरे । उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्रलाई एकीकृत गर्ने, नभए चुुनावी मोर्चा समेत बनाउने लक्ष्य सार्वजनिक गरेका छन् ।
अभियान नामको पार्टी घोषणा गरेसँगै वामदेवले तत्कालिन नेकपाका नेताहरुसँग भेटघाट गरेर एकताको प्रस्ताव गरिरहेका छन् । आइतबार साँझको भेटमा पनि उनले नेकपा पुनर्गठन नभए वाममोर्चाको प्रस्ताव राखेका छन् ।
नेताहरुबीचको भेटबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबार बसेको सचिवालय बैठकमा ब्रिफिङ गरेका थिए ।
“उहाँले प्रफुल्ल मुद्रामा हामीलाई स्वागत गर्नुभयो । म त नेकपा विभाजन हुँदा पनि एकताको अभियान चलाउँदै आएको मान्छे हुँ,” बैठकमा नेपालले गरेको ब्रिफिङ उद्धृत गर्दै उपमहासचिव गंगालाल तुलाधरले भने, “मेरो अभियान जारी छ । अब हामी यसरी बसेर हुँदैन । एकतामा हामी बरु नेकपा पुनर्गठन गरेर अघि बढौं ।”
पाँच नेताहरुको छलफलमा वामदेवको कुरा सकारात्मक भएको र छलफल जारी रहने भन्दै नेताहरु उठेको उनले बताएका थिए ।
सोमबारको पार्टीको बैठकमा नेपालले वाम मोर्चाको प्रस्ताव भएको र त्यसमा छलफल गर्नुपर्ने बताएको अर्का उपमहासचिव विजय पौडेलले जानकारी दिए ।
“वाममोर्चा बनाउनेबारे छलफल भयो,” पौडेलले बाह्रखरीसँग भने, “कसरी बनाउने भन्ने कुरा भए पनि कुनै निर्णय भएको छैन भनेर अध्यक्षले बैठकमा ब्रिफिङ गर्नुभयो ।”
सम्भव होला वाम मोर्चा ?
नेकपा एकीकृत समाजवादीका उपमहासचिव तुलाधर गठबन्धन भत्काउन प्रयास भइरहेको भन्दै मोर्चाको विषयलाई प्राथमिकता दिन नहुने बताउँछन् ।
पार्टीको प्राथमिकता हालको गठबन्धन जोगाउनेतिर नै रहेको उनको भनाई छ ।
“गठबन्धन चकनाचुर पार्नका लागि अनेकन प्रयास भइरहेका छन् । गठबन्धन चकनाचुर पार्नेहरुको नेतृत्व केपी ओलीजीले गरिरहनुभएको छ । गठबन्धन कायम रह्यो भने सर्मनाक हार हुनसक्ने पूर्वानुमान भएर हालको गठबन्धनलाई ध्वस्त पार्ने नेतृत्व उहाँले गरिरहनुभएको छ,” उपमहासचिव तुलाधरले भने, “त्यो कुरा देख्दादेख्दै अन्य कुरा गरेर उनको कामना पूरा गर्नुहुँदैन भन्नेमा पार्टी पंक्ति छ ।”
कम्युनिष्ट पार्टीहरु वाम एकताका नाममा फेरि मिल्ने कसरत जारी रहँदा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसमा पनि त्यसलाई सहयोग पु¥याउनेगरी बहस भइरहेको छ । त्यसैले कांग्रेसमा गठबन्धन तोड्नुपर्छ भन्नेहरु हावी भए आफूहरु सहेर नबस्ने र वाम मोर्चा बन्ने तुलाधरको भनाइ छ । उनका अनुसार कांग्रेस नै गठबन्धन तोड्ने पक्षमा उभियो भने चुनावअघि नै एमालेबाहेकको वाममोर्चा बन्ने छ ।
“कांग्रेसभित्र पनि केही गठबन्धन तोड्न लागिपरेका छन् । उनीहरु हाबी भएर हामीलाई ‘अन्डरमाइन्ड’ गर्ने अवस्था रह्यो भने पक्का हो गठबन्धन कुरेर बस्दैनौं,” तुलाधरले भने, “एकतातिर कांग्रेस, एकातिर केपीलाई छोड्ने र साँचो अर्थको वामपन्थीहरु एक भएर चुनाव लड्ने वातावरण पनि बन्न सक्छ । तर, त्यस्तो नहोस् भन्ने पक्षमा छौं ।”
एमालेमा पनि अध्यक्ष ओली गुट बाहेकका नेताहरुलाई समेटेर वाम एकताबारे शीर्षतहमै छलफल प्रारम्भ भएको तुलाधरको दाबी छ ।
“वाम एकता, एकीकृत कम्युनिस्ट पार्टीको कुरा गर्र्र्दै आएका छौं । त्यो गरेर देखाउँछौं,” तुलाधरले थपे, “केपी ओली गुट बाहेकका वामपन्थी एकता गर्न खोजिरेहका छौं । कति इमान्दारितापूर्वक जान्छ त्यो भैंसेपाटीबाट सुरु भइसकेको छ ।”
वाममोर्चा गर्ने भनिएका पार्टीका नेताहरु तत्काल मोर्चाको सम्भावना देख्दैनन् । माओवादी केन्द्रका नेता गणेश साह पनि वाममोर्चा वा एकताको सम्भावना तत्काललाई नरहेको बताउँछन् ।
“मोर्चा बनाउने र पार्टी एकता गर्ने कुरा चलिरहन्छ । सम्भव भए एकता नै गर्ने कुरा हो,” साहले बाह्रखरीसँग भने, “तर, अहिले कुनै सम्भावना छैन । यो छलफलकै विषय हो ।”
विश्लेषक भन्छन् – ओलीलाई दबाब दिन इतर मोर्चा
राजनीतिक विश्लेषक मुमाराम खनाल चुनाव अघि नै मोर्चा बन्ने सम्भावना औंल्याउछन् । पदका लागि फुट्ने र अस्तित्वका लागि जुट्नु वामपन्थीहरुको चरित्र रहेको उनको भनाइ छ ।
“आफ्नो अस्तित्व रक्षाका लागि एकता भनौं या माथिल्ला नेताहरुको आवश्यकताले एकता–मोर्चा बनाउनुपर्ने बाध्यता हुन्छ । त्यो चाहिँ चुनावअघि पनि हुन सक्छ,” विश्लेषक खनालले बाह्रखरीसँग भने, “बाबुराम, वामदेव, ओली, माधव नेपाल सबै संकटबाट गुज्रिरहेका छन् । विभिन्न बहाना पारेर अस्तित्व संकट टार्नका लागि वामपन्थीहरु एक ठाउँमा आउन सक्छन् ।”
उनको बुझाईमा कम्युनिष्ट नामधारी पार्टीहरु एजेन्डाका हिसाबले वामपन्थी छैनन् र दुई समान हैसियतका नेताहरु एक ठाउँमा हुनासाथ विभाजन हुने प्रवृत्ति स्थापित छ ।
“एजेन्डाको हिसाबले त वामपन्थी के रहे र ? कुनै एजेन्डा वामपन्थी छैन । तर, वामपन्थी नाम र उनीहरुको पृष्ठभूमि छ,” खनालले भने, “व्यक्तिवादी पार्टीहरु छन् । व्यक्ति ठूलो भयो भने पार्टीले त्यो व्यक्तिलाई धान्न सक्दैन । वामपन्थीहरुको संरचना नै त्यस्तो छ । दुई समानान्तर नेता भएपछि दुईटा पार्टी चाहिहाल्ने ।”
अवसरवादी शीर्ष नेतृत्वको बुढ्यौलीलाई व्यवस्थापन गर्न वाम एकता चाहिएको उनको बुझाई छ ।
“बुढ्यौलीमा एड्जस्ट गर्न तदर्थ संरचना बनाउँछन् । एउटै पार्टीभित्र बाँडेर पद लिनका लागि एकता हो । एकै ठाउँमा पद बाँडेर बस्न नसेकपछि छुट्टाछुट्टै पार्टी बनाउँछन्,” कम्युनिष्ट नेताहरुको चरित्रबारे खनालले भने, “जब छुट्टाछुट्टै पार्टी बनाएर आफू अस्तित्वमा रहन्न भन्ने त्राास आउँछ त्यसपछि पार्टी मिलाउछन् ।”
खनाल त नेताहरुले भनेजस्तो एमालेका अध्यक्ष ओलीबाहेकको मात्रै एकता पनि सम्भव देख्दैनन् । ओलीलाई दबाब दिनका लागि पहिले अरु मिल्ने भन्दै त्यस्तो मिलन पनि ओलीसँग बार्गेनिङ गर्ने हैसियत निर्माणका लागि मात्र हुने उनको विश्लेषण छ ।
“एमालेसँग छुट्टै हिँड्नका लागि होइन, झन् ओलीजीलाई प्रेसर गर्नका लागि हो । किन भने अरु पार्टीहरु ओलीभन्दा कमजोर छन्,” खनालले थपे, “उनीहरुको अहिलेको अभियानको अर्थ पहिले साना दल मिल्नुपर्छ अनि ओलीलाई मिलाउनुपर्छ भन्ने हो ।”
समाजवादी केन्द्रसम्मको चर्चा
हाल जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्राई वा जसपा समेतको सहभागितामा समाजवादी केन्द्र बनाउने चर्चा चलिरहेको छ । चर्चा पर्याप्त भए पनि त्यष्सले ठोस रुप भने धारण गरिसकेको छैन । तर, विश्लेषक खनाल बाबुरामले नयाँ शक्ति निर्माण गरेदेखि नै आफू कम्युनिस्ट नरहेको भन्ने भनाइले उनलाई अब त्यो धारमा समाहित हुन मुस्किल देख्छन् । त्यसैले उनले समाजवादी केन्द्रबारेको बहस गर्दैछन् । त्यसो हुन सके बाबुराम पनि समाहित हुनसक्ने अवस्था छ ।
“बाबुरामले कम्युनिस्ट रहिन भनेका थिए । त्यसैले अहिले उनलाई कम्युनिष्ट नामधारी पार्टीमा जान नैतिक रुपमा अप्ठेरो छ,” खनालले भने, “समाजवादी केन्द्र बनाउने हो भने प्रचण्ड र पार्टीको चरित्र पनि बदल्नुपरेन । नाम बदलेर फेस सेभिङका लागि समाजवादी बनाएर फुर्को जोडेएपछि हुने भयो । त्यसो भएमा एकै ठाउँमा रहने सम्भावना रहन्छ ।”