
काठमाडौं । नेपालको लोकतान्त्रिक इतिहास पढ्नु परे नेपाली कांग्रेसलाई पढ्नुपर्छ । अनि त्यही नेपाली कांग्रेस पढ्दै गए कोइराला परिवारमा गए टुंगिन्छ । कांग्रेस निर्माणमा थुप्रै हस्तीहरुको योगदान र बलिदान भए पनि त्यो राजनीतिको केन्द्रमा भेटिन्छन् बीपी कोइराला । अनि कांग्रेस स्थापनाको जग खोतल्दै जाने हो भने पुगिन्छ –राणा विरोधी आन्दोलन र कृष्णप्रसाद कोइरालाको विद्रोहसम्म ।
यति ठूलो योगदान भएको कोइराला परिवार १४औँ महाधिवेशनसम्म पुग्दा भने छिन्नभिन्न भएको छ । शेखर कोइराला कांग्रेस सभापतिको उमेदवार बनेर प्रतिस्पर्धा गर्दैगर्दा सुजाता कोइराला प्रकाशमान सिंहसँगै आफूलाई भोट माग्दै थिइन् ।
अनि शेखरले पत्रकार सम्मेलनमा शशांक आउँदैछन् भनेर प्रचार गरेपछि शशांक भने बालुवाटार पुगेर शेरबहादुर देउवासँग फोटो सार्वजनिक गर्दै थिए । १४औं महाधिवेशनमा कांग्रेसको राजनीति जति रोचक बनेको थियो– त्यो भन्दा रोचक थियो कोइराला परिवारका तीनजना तीनतिर उभिएको दृष्य ।
शेखर कोइराला पार्टी सभापतिको उमेदवार बन्ने निश्चित भएपछि उनको सबैभन्दा प्राथमिकतामा थिए शशांक कोइराला ।
१३औं महाधिवेशनदेखि नै शेखरले अत्यधिक महत्व दिएका शशांकलाई आफैसँग राख्न भने असफल भए । उनले १४औं महाधिवेशनपछि यो तथ्य स्वीकार पनि गरेका छन् ।
“मैले मेरा भाइ बहिनीलाई सँगै राख्न सकिन, यसको दोष अरुलाई होइन म आफैँलाई जान्छ,” शेखरले सभापतिमा हारपछिको अन्तर्वार्तामा भनेका थिए, “उनीहरुले बुझ्नुपर्ने कुरा बुझेनन् होला । तर, यो दोष उनीहरुलाई दिन्न मैले नै उनीहरुलाई बुझाउन सकिन ।”
त्यसपछि बीपीले शेखरका पिता केशव कोइरालालाई लेखेको पत्र पनि बाह्रखरीमार्फत् सार्वजनिक भएको थियो ।
२०७२ साल फागुनमा भएको १३औं महाअधिवेशनमा महामन्त्री उमेदवार बन्न प्रचारमै जुटेका शेखर कोइराला अन्तिमतिर पछि हटे । सभापतिका उमेदवार रामचन्द्र पौडेल थिए । शेखर पौडेलसँगै आफ्नो पनि उमदेवार प्रचार गर्दै हिँडिसकेका थिए । शेखर निकटहरुका अनुसार त्यसक्रममा शेखरले शशांकसँग कुन पदमा लड्ने भनेर सल्लाह गरेका थिए । शशांकले केन्द्रीय सदस्यमात्र उमेदवार बन्ने बताएपछि आफू महामन्त्री उमेदवार बन्ने भनेर उनी विराटनगर गएका थिए । तर, विराटनगर हुँदा उनै शशांकले शेखरलाई फोन गरेर महामन्त्रीमा आफू पनि लड्ने भन्दै फरक फरक प्यालनमा लड्ने भए पनि लडौँ भन्दै प्रस्ताव गरेपछि शेखर ‘तिमी लड म केन्द्रीय सदस्य मात्र लड्छु’ भन्दै पछि हटेको स्रोत बताउँछ ।
शेखरले मैदान छोडेपछि १३औं महाधिवेशनबाट शशांक महामन्त्रीमा निर्वाचित भए । महामन्त्री भएपछि शशांकलाई गम्भीर स्वास्थ्य समस्या आयो । लामो समय अस्पताल र घरमा आराम गर्नुपर्ने अवस्था आयो । बाहिर निस्किएपछि शशांकले पार्टी सभापतिका तमाम कमजोरी होलान् तर, महामन्त्रीले नै सभापतिलाएई अप्ठेरो पार्नु हुन्न भन्दै सहयोगी भूमिकामा देखिए ।
महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएलगत्तै शेखरले धन्यवाद दिने भन्दै देश दौडाहा सुरु गरे ।
बाहिर धन्यवादको विषय राखिए पनि शेखरको त्यो सभापतिमा उमेदवारीको तयारी थियो ।
शशांक जब स्वास्थ्य अवस्थामा सुधार आएपछि सभापतिलाई सहयोग गर्नुपर्छ भनेर बाहिर निस्किए त्यहि बेलादेखि शेखरले सभापति शेरबहादुर देउवामाथि प्रश्न उठाउन सुरु गरे । राष्ट्रिय राजनीतिमा भूमिका खेल्न नसकेको, पार्टीलाई न्याय गर्न नसकेकोदेखि कार्यकर्तामाथि अन्याय भएको भन्दै जनता–कार्यकर्ताको घरदैलोमै पुगेर शेखरले प्रश्न उठाउन थाले ।
अन्तमा १४औं महाधिवेशनमा शेखर नै सभापतिको उमेदवार बने ।
यसक्रममा सभापतिको उमेदवारी आफूले पनि दिने घोषणा शशांकले गरे । दुवै सभापतिको उमेदवारी दिने घोषणापछि कोइराला परिवार विभाजित हुने अनु्मान धेरैको थियो । सँगसँगै दुवै नेताले एक भन्दा बढी उमेदवार भएमा देउवा नै सभापति बन्ने कुरा पनि स्वीकार गरेका थिए ।
त्यही क्रममा महाधिवेशन आउनै लाग्दा शेखर निवासमा दाजुभाइ वार्ता भयो । शशांक शेखर निवासमै बसे । दाजुभाइको लामो कुराकानीपछि भाइ शशांक सभापति छोड्न तयार भए । त्यसपछि देशभरका कांग्रेसजनलाई सन्देश दिने सहमति भयो– शशांक निवासमा पत्रकार सम्मेलन गर्ने, सुजाता कोइरालालाई पनि सहभागी गराउने, शेखर सभापतिको उमेदवार हुने शशांक र सुजाताले सहयोग गर्ने ।
यो सहमतिपछि मिडियालाई खबर गर्ने र व्यवस्थापनको जिम्मा दुवै नेताहरुका सहयोगीलदाई दिइयो । तर, त्यो पत्रकार सम्मेलन गर्ने भनेको बीचको तीन घण्टामा धेरै कुरा भइसकेको थियो । पत्रकार सम्मेलनका लागि तोकिएको १० बजेका समयमा घटनाक्रमले फरक रुप लिइसकेको थियो ।
शशांक प्रधानमन्त्रीले बोलाउनुभयो त्यहाँ पुगेर आउँछु भन्दै पत्रकार सम्मेलनको केहीअघि नै घरबाट बाहिरिसकेका थिए ।
सुजाता कोइराला पत्रकार सम्मेलनस्थलमा थिइनन् अनि शेखरको उमेदवारीलाई बलियो बनाएर सार्वजनिक गर्ने योजना त्यहीँ सकिएको थियो ।
प्रधानमन्त्रीले बोलाएको भन्दै निस्किएका शशांक दिउँसो संखुवासभा पुगेको खबर सार्वजनिक भयो । पत्रकार सम्मेलन अर्को हप्ता गर्ने भनेर शशांकले मिति सारेको जानकारी शेखरका स्वकीय सचिव दिनेश थपलियाले सार्वजनिक गरे । शेखरको उमेदवारी घोषणाको मिति नै अनिश्चित भयो ।
त्यो अनिश्चितता मंसिर १८ गते कांग्रेस महाधिवेशन घोषणा गर्दासम्म कायम रह्यो । शेखरलाई रामचन्द्र पौडेल र प्रकाशमान सिंहले उमेदवारी छोड्न दबाब दिइरहेका थिए ।
भाइ शशांक तीनै नेताहरुसँगको बैठकमा भेट हुन्थे तर, दाजुभाइको छुट्टै बैठक हुन सकेन । महाधिवेशनको उद्घाटनको अघिल्लो दिन चाक्सीबारीको बैठकमा शशांकले ‘चुनाव जित्ने हो भने रामचन्द्रजी नै उमेदवार बन्नुपर्छ’ भन्ने प्रस्ताव राखिदिए । तर, प्रकाशमान सिंहले ‘आफ्नो परिवार सधैँ त्यागमात्रै गरेको भन्दै अब त्याग नगर्ने र जो जो लड्ने हो लडौँ’ भनिदिए ।
शेखरले ‘आफ्नै समूहका नेताहरुको प्रतिस्पर्धामा रामचन्द्रजी सहभागी हुनु हुँदैन तपाईँ प्रतिस्पर्धाबाट अलग बसिदिनुस् हामी प्रतिस्पर्धा गर्छौँ’ भनेपछि पौडेलले महाधिवेशनको प्रक्रियामा भाग नै नलिने घोषणा गरे ।
यसले कांग्रेसको कोइराला–पौडेल समूह मात्रै तितरवितर भएन, कोइराला परिवार नै तीनतिर पुग्ने अवस्था बन्यो । शेखरले उमेदवारी दर्ताकै दिन नक्सालस्थित होटल मेरियटमा बसेर उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ अनि महामन्त्रीमा डा. मिनेद्र रिजाल र गगन थापालाई राखेर टिम घोषणा गरे । त्यो टिम घोषणा अगावै शेखरले सल्लाहसमेत नगरेको भन्दै गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइराला प्रकाशमान टिमबाट उसपभाति उमेदवार बनिन् ।
शशांकलाई उमेदवारी सार्वजनिक गर्ने कार्यक्रमदेखि पछि टिमको कार्ययोजना सार्वजनिक गर्ने दिनसम्म शेखरले पर्खिरहे तर उनी देखिन पनि चाहेनन् ।
कतिसम्म भने मतदानको अघिल्लो दिन शेखर टिमले अनुपम फूडल्याण्डमा राखेको पत्रकार समेलनमा डा. शशांक आउने भनेर प्रचार नै गरिएको थियो । शशांक नआएपछि निर्धारित समयभन्दा धेरैपछि मात्र कार्यक्रम सुरु भयो । तर, शशांक बालुवाटार पुगेर देउवासँग भेटेको फोटो सार्वजनिक भएपछि उनको टिम थप झस्किएको थियो ।
त्यसरी विभाजित बनेको कोइराला परिवारमा पुनर्मिलन अहिलेसम्म पनि भएको छैन । शेखर समूहका बैठकमा शशांकलाई बोलाइँदैन । अनि शशांक त्यतातर्फ चासो पनि राख्दैनन् । पारिवारिक भेटघाटमा समेत दुई दाजुभाइको भेट भएको छैन ।
“महाधिवेशनदेखि अहिलेसम्म पारिवारिक रुपमा पनि उहाँहरुको भेट भएको छैन,” शशांकका स्वकीय सचिव भरत तिवारीले बाह्रखरीसँग भने, “शेखर समूहको बैठक लगातार भइरकेको तपाईंले थाहा पाउनुभएकै छ । तर, डा’साव (डा. शशांक)लाई बोलाइएको छैन ।”
उनका अनुसार महाधिवेशनमा चुनाव नलडिदिन आग्रह गरे पनि त्यसयता डा. शेखरले शशांकलाई सम्झिएका वा भेटेका छैनन् ।
डा. शेखर र सुजाताको भने यही असार १३ गते पारिवारिक भेटघाट भएको थियो । शेखरका काका र सुजाताका ठूलो बुवा तारिणीका छोरा ज्योती कोइरालाको छैटौँ स्मृतिमास (मासिक)मा दुवैजना जाँदा त्यहीँ उनीहरुको भेट भएको हो । बाहिर बाल्यकालको स्मृतिका कुरा गरेका दाजु बहिनीबीच भित्र भने राजनीतिक कुराकानी भएको कोइराला परिवारका एक सदस्यले बाह्रखरीलाई जानकारी दिए ।
ती सदस्यका अनुसार सुजाताले नै शेखरलाई परिवार समेट्न नसकेको आरोप लगाएकी थिइन् ।
त्यो आरोप पछि शेखरले ‘तिमी त अर्कै सभापति जिताउन गयौ र उमेदवार बन्यौ परिवार कसरी समेटिन्छ, तिमीलाई मैले पठाएको हो ?’ भन्दै प्रश्न गरेका थिए । त्यसपछि दुइजनाबीच गरामागरम बहस भएको थियो ।
“तपाईंले मसँग कुनै कुरा नै गर्नुभएन । तपाईं सभापति बन्ने हाम्रो यो पार्टीमा कुनै स्थान नहुने भन्ने हुन्छ ?,” सुजाताको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, “जब तपाईंले मसँग कुनै कुरा गर्नुहुन्न भने त म कहीँ न कहीँ त उभिन पर्यो नि !”
त्यसो भन्नासाथ शेखरले सुजातालाई ‘त्यसो भए ठिक काम गरिसक्यौ त अब के कुरा गरिरहन पर्यो ?’ भन्दै कुरा टुंग्याउन खोजेका थिए ।
सुजाताले फेरि ‘तपाईंले हामीलाई समेट्नुभएको भए चुनाव जित्नुहुन्थ्यो, हामी पनि जित्थ्यौ, शेरबहादुर हार्थे । तपाईंले त आफूले पनि चुनाव हार्नुभयो, हामीलाई पनि समस्यामा पार्नुभयो’ भनेकी थिइन् ।
उनले शेखरलाई ‘तपाईंको निर्णयले पुरै कांग्रेसलाई घाटा पुगेको छ’ भनेकी थिइन् ।
सुजाताको भनाइपछि शेखरले ‘त्यसो भनेपछि कांग्रेसको नाफा घाटा हेरेर अर्को समूहमा उमेदवारी दिएको हौ ?’ भन्दै प्रश्न गरेका थिए ।
“तिमीहरुले ठिक बेठिक के गर्यौ आफैँ रियलाइज गर,” शेखरको भनाइ उद्धृत गर्दै ती सदस्यले बाह्रखरीसँग भने, “मैले जे गरेँ ठिक गरेको छु, मलाई कुनै रिग्रेट छैन ।”
उनले परिवारका विरुद्धमा आफू कहिल्यै नगएको भन्दै आफ्नाविरुद्ध गएकाहरुप्रति पनि कुनै गुनासो नरहेको बताएका थिए ।
जवाफमा आफूलाई पनि कुनै ‘रिग्रेट’ नरहेको जवाफ सुजाताले दिएपछि शेखरले ‘म जानुछ’ भनेर बिदा लिएका थिए ।
राजनीतिक दलका रुपमा कांग्रेसको जन्म नहुँदैदेखि कोइराला परिवार राणा विरोधी परिवार थियो ।
राणाविरुद्धको आन्दोलन थुनामा राखिएका ‘पिताजी’ कृष्णप्रसाद कोइरालाको हिरासतमै अनसन बस्दा त्यहीँ मृत्यु भएको थियो ।
बीपी कोइरालाले नेपाली कांग्रेस स्थापना गरेर थालेको राणा विरोधी आन्दोलनमा जित हासिल गरेर राजतन्त्रको निरन्तरता गरिदिए पनि उही राजतन्त्रको शिकार बने । पहिलो जननिर्वाचित प्रधानमन्त्री आफूसँग दुईतिहाई संसदको विश्वास कायम रहेकै बेला राजाबाट अपदस्त गरिए र जेल हालिए ।
जननिर्वाचित संसद राजाबाटै विघटन गरेर पञ्चायती व्यवस्था लागू भयो । पञ्चायतविरुद्ध लड्दा लड्दै बीपी कोइरालाको निधन भयो ।
त्यो कठिन संघर्षबाट आएको कोइराला परिवार एक थियो र कांग्रेसमा कोइराला परिवार निकट मात्र भन्ने पहिचान समेत गर्वको विषय बन्ने गरेको थियो ।
कोइराला परिवारमा देखिएको अभूतपूर्व एकताले कांग्रेसमा संस्थापन भनेकै कोइराला परिवार भनेर चिनिन्थ्यो ।
हुन त लोकतान्त्रिक पार्टीका लागि परिवारवाद वा ‘लिगेसी’को राजनीति उपयुक्त विषय नहुने राजनीतिज्ञहरुको धारणा रहन्छ ।
कोइराला परिवारमाथिको विश्वास र यो सफलतामा गिरिजाप्रसाद कोइरालाको निधनसँगै धमिरा लागेको एक सदस्यको टिप्पणी छ ।
तर, सुशील कोइराला सभापति रहँदासम्म आवरणमै भए पनि कायम रहेको त्यो एकता थपक कमजोर हुँदै गयो ।
१३औं महाधिवेशनमै शेखरले महामन्त्रीको तयारी गरिरहेका बेला शशांकले महामन्त्रीमा फरक फरक प्यानलबाट भए पनि लडौँ भनेपछि कोइराला परिवार सँगै रहँदैन भन्ने विश्लेषणमा समर्थकहरु पुगेका थिए ।
त्यसैले शेखर विरोधीहरु शशांकसँग र शशांक विरोधीहरु शेखरसँग पुग्नेक्रम सुरु भएको थियो । कोइराला परिवारभित्रका जेठा सदस्य प्रकाश (बीपीका छोरा) अहिले सक्रिय राजनीतिमा छैनन् ।
उनी कांग्रेसको राजनीतिबाट टाढा छन् । राजाको प्रत्यक्ष शासनकालमा मन्त्री बन्न गएपछि कांग्रेसले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी हटाएको थियो ।
त्यसपछि गणतन्त्र आएपछि त प्रकाश राजतन्त्रका पक्षमा वकालत गर्दै देशले लिएको बाटो नै गलत भन्दै नेपालको सार्वभौमसत्ता नै खोसिएको बताउँदै आएका छन् ।
उनलाई कांग्रेसको राजनीतिप्रति खास चासो छैन । तर, परिवारका सदस्यहरुको राजनीति भने नजिकबाट नियालिरहेका छन् ।
उनको बुझाइमा अहिले भाइबहिनीको राजनीति पार लाग्ने किसिमको छैन ।
“शेखर बढी जान्ने छन् । शशांक र सुजाता जति आवश्यक हो त्यति पनि बुझ्ने भएनन्,” कोइरालाले बाह्रखरीसँग भने, “शशांक त मौन बसिदियो । सुजाता त फरक टिममा गएर नै चुनाव लडिन् ।”
आफू कांग्रेसको राजनीतिमा नरहेको भन्दै ‘रहेको भए शेरबहादुर र तिमीबीच के फरक छ ?’ भनेर शेखरलाई जरुर सोध्ने उनले बताए ।
“हिजोको कांग्रेस जे थियो त्यो अहिले छैन,” कोइरालले भने, “कांग्रेस ठिक बाटोमा छैन र त म त्यो पार्टीमा छैन ।”
‘शशांकले नै शेखरलाई रोक्न सक्छन्’
कोइराला परिवारका कतिपय सदस्यहरु शेखर कोइराला १३औं महाधिवेशनमा शशांकबाटै रोकिएको, १४औंमा सहयोग नपाएको र १५औं महाधिवेशनमा पनि उनीबाटै रोकिन सक्ने बताउँछन् ।
बीपीका कान्छा छोरा शशांक कम बोल्ने र राजनीतिमा कम सक्रिय देखिए पनि देशभर उनको प्रभाव भने अझै रहेको ती सदस्यको बुझाई छ ।
“शशांक अघि नबढेको भए १३औं महाधिवेशनमा शेखरलाई महामन्त्री बन्न कसैले रोक्न सक्दैनथ्यो,” ती सदस्यले बाह्रखरीसँग भने, “१५औं महाधिवेशनमा सभापति बन्न पनि शशांकले नै शेखरलाई रोक्न सक्छन् ।”
कोइराला परिवारको एकता अब करिब सकिएको भन्दै उनीहरुबीच अब संघर्ष प्रतिस्पर्धाको हुने ती सदस्यको बुझाई छ ।