site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पदाधिकारी चयन जसरी पनि टार्न चाहन्छन् प्रचण्ड ! वर्षमान र जनार्दनलाई चाहँदैनन् जुधाउन 
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि भन्दै सारिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन प्रदेश र प्रतिनिधि सभाको चुनाव अघि नहुने सम्भावना बढेको छ ।

आइतबारबाट कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय कमिटी बैठकको एजेन्डाको ६ नम्बर बुँदामा पदाधिकारी चयन राखिएको छ ।  

तर, यसपटक पनि पदाधिकारी चयन हुनेमा केन्द्रीय कमिटी सदस्यहरु विस्वस्त छैनन् । 

Agni Group

२०७८ पुस ११ गतेदेखि १८ गतेसम्म चलेको पार्टीको आठौं महाधिवेशन पदाधिकारी चयन प्रक्रिया थाती राखेर सकिएको थियो । 

त्यसको भोलिपल्ट बसेको केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्ष चयन गरेको गरेको थियो । त्यसबाहेकका पदाधिकारी पछि छानिने भन्दै बैठक स्थगित भएको थियो ।  

Global Ime bank

कोभिडको कारण देखाउँदै बैठक पटक– पटक सारियो । त्यसपछि गएको फागुन २०–२३ गतेसम्म चलेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो । 

महाधिवेशन भएको ६ महिनापछि बसेको बैठकले पनि पदाधिकारी छान्ने सम्भावना नभएको नेताहरु बताउँछन् । 

माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।  

यो बैठकले पार्टीको पोलिट्ब्यूरो र स्थायी कमिटी गठन भए पनि पदाधिकारी भने चुनाव अघि चयन नहुने नेताहरुको दाबी छ । 

प्रचण्ड जसरी पनि पदाधिकारी चयन प्र्रक्रियालाई टार्ने पक्षमा रहेको एक नेताको जिकिर छ ।

“सहजै पदाधिकारी छानिने अवस्था छैन । चुनाव गराउने पक्षमा प्रचण्ड हुनुहुन्न । जो पदाधिकारी बन्न चाहेका छन् ती आफू भए होस् नभए पदाधिकारी चयन नै नहोस् भन्नेमा छन्,” ती नेताको दाबी छ, “त्यसैले अध्यक्ष प्रचण्ड जसरी पनि पदाधिकारी चयन टार्न चाहन्छन् ।”

माओवादीमा महासचिव चयनमा सकस  छ । महासचिवमा नेताद्वय वर्षमान पुन र जनार्दन शर्मा दाबेदार छन् । अरु नेताको दाबी रहे पनि खासै अर्थ देखिँदैन । 

यी दुईमध्ये एक जनालाई चिढ्याएर जाँदा आउन सक्ने परिणामलाई प्रचण्डले राम्रैसँग आकलन गरेको ती नेताको भनाइ छ । 

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्मुखमा भएकाले पनि पदाधिकारी नछानिने ती नेताको दाबी छ ।

“प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आउँदै छ । अहिले पदाधिकारी चयन गरेर जाँदा चुनावमा त्यसको असर देखिन्छ । चुनावमा घात अन्तरघात हुन्छ,” ती नेताले बाह्रखरीसँग भने, “दुईमध्ये एक जनालाई महासचिव तोक्दा पार्टीमा अन्तरघात र विग्रह आउने कुरामा अध्यक्ष सचेत हुनुहुन्छ । त्यसैले चुनावअघि पदाधिकारी चयन हुने सम्भावना छैन ।”

पदाधिकारी छान्न दबाब 

केन्द्रीय कमिटी बैठकमा नेताहरुले पदाधिकारी छानेर पार्टीलाई अघि बढाउन दबाब दिएका छन् । सहमति नभएमा निर्वाचनै गराएर भए पनि पदाधिकारी छानिनुपर्ने उनीहरुको माग छ । 

आइतबारको बैठकमा वाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्रीले केन्द्रीय कमिटी बैठक लम्ब्याएर भए पनि पदाधिकारी छान्न आग्रह गरे । 

“बैठकलाई बरु दुई दिन बढाऔं । पाँच दिन बैठक बसौं । पोलिटब्यूरो, स्थायी कमिटी गठन गरौं । यही बैठकले पदाधिकारी टुंग्याएर छाडौं,” उनले बैठकमा भनेका थिए ।

त्यसैगरी विशेष प्रदेश कमिटी अध्यक्ष जगत सिंखडाले पदाधिकारी चयनका लागि शीर्ष नेताहरु डराएको आरोप लगाए । 

शीर्ष नेताहरुले गर्न नसके चुनाव गर्ने अधिकार हललाई दिन उनको आग्रह थियो । 

“पदाधिकारी टुंग्याउन सकेको छैन । पदाधिकारी टुंग्याउन यो टिम हलसँग डरायो ? पदाधिकारी टुंग्याउन सक्दैनौ भने हललाई छाडिदिए भैगो नि,” उनले बैठकमा भने । 

केन्द्रीय सदस्य पेशल खतिवडा पनि यही बैठकबाट पदाधिकारी छानिनुपर्ने बताउँछन् ।  पदाधिकारी नछानिए चुनावमा निर्वाचनमा पार्टीलाई असर गर्ने भन्दै चुनाव गरेरै भए पनि टुंग्याउनुपर्ने बताउँछन् । 

“यो बैठकले पदाधिकारी टुंग्याउनुपर्छ । सहमतिमा भएन भने चुनाव नै गरेर भने पनि पदाधिकारी आउनैपर्छ,” खतिवडा भन्छन्, “पदाधिकारीबिना अबको चुनावमा कसरी जाने ? पदाधिकारी त छान्न नसकेको पार्टी भनेर जनताले कसरी पत्याउँछन् ?”

कसलाई चाहन्छन् प्रचण्ड ? 

प्रचण्ड यतिबेला वर्षमान पुनलाई महासचिव बनाउन चाहन्छन् । 

पार्टीको महाधिवेशन हुँदा पुन उपचारका लागि चीनमा थिए । उनी नेपालमा नभएको भन्दै पदाधिकारी चयन नै नगरी महाधिवेशन सकिएको थियो । 

प्रचण्डले यतिबेला पुनलाई नै रुचाएको नेताहरुको भनाइ छ । 

पुनले सरकारमा शर्माको साख गिर्दै गएको र विवादित हुँदै गएकाले आफूलाई महासचिव नबनाए मान्य नहुने भन्दै चेतावनी दिएको अर्का एक नेताले बताए ।  

“सरकारमा जनार्दनको साख गिर्दो छ । उनी आफैँ बदनाम पनि हुँदैछन् । यस्तो बेलामा पार्टी हाँक्ने जिम्मेवारी मैले पाउनुपर्छ । त्यस्तो नभए मान्य हुँदैन भनेर वर्षमानले चेतावनी दिएका छन् भन्ने चर्चा पार्टीमा छ,” ती नेता भन्छन्,“तर, यी दुईलाई लडाएर एकलाई हातमा लिने पक्षमा प्रचण्ड छैनन् । यी दुई नेतालाई लडाउँदा पार्टी जीवनलाई पनि क्षति पुग्ने देखिन्छ । त्यसैले प्रचण्ड कुनै हालतमा पदाधिकारी चयन प्रक्रिया अघि बढाने पक्षमा छैनन् ।”

वर्षमान– जनार्दन 'टसल' 
जनार्दन र वर्षमानको टसल नयाँ होइन । पार्टीमा अध्यक्ष प्रचण्डले दुवैले आफू अनुकूल प्रयोग गरेको नेताहरु बताउँछन् । २०६४ को निर्वाचनमा माओवादीका अधिकांश नेताहरुले हार बेहोर्नुपरेन । माओवादी पहिलो दल पनि बन्यो ।

तर, २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा माओवादी तेस्रो पार्टी बन्न पुग्यो । 

त्यतिबेला शर्मा रूकुमबाट निर्वाचित भए । मोरङबाट उमेदवार बनेका पुन भने पराजित बने । उनी निर्वाचनमा पराजित भएकाले त्यतिबेला केही कमजोर देखिएका थिए । 

तर, वर्षमान त्यसअघि नै २०६७ माघ २३ मा झलनाथ खनालको नेतृत्वमा गठन भएको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए । त्यस्तै २०६८ भदौ १२ मा गठित डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्री बने ।

माओवादी तेस्रो भएको बेला निर्वाचन जितेका जनार्दनको शान सानो रहेन । पार्टीले थोरै सिट ल्याउँदा पनि संसद् छिर्न पाएका जनार्दन आफू प्रचण्डको उत्तराधिकारीको रुपमा प्रस्तुत भएको एक नेता बताउँछन् । 

“वर्षमानले चुनाव हार्नुभयो । त्यतिमध्येको एक सिट आफूले जित्दा उहाँले आफूलाई प्रचण्डको उत्तराधिकारीको ठान्नुभएकै हो,” ती नेता भन्छन् । 

२०७३ सालमा प्रचण्ड दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दा शर्मा ऊर्जा मन्त्री भए ।  त्यो समयमा लोडसेडिङको अन्त्य भएपछि शर्माको चर्चा चुलियो । 

उनले आफूलाई उज्यालो अभियानका नाममा प्रचण्डलाई समेत ओझेलमा पार्ने गरि अघि बढेको एक नेता बताउँछन् । 

“कुलमान घिसिङलाई देखिए पनि उज्यालो नेपाल भनेर अध्यक्ष प्रचण्डलाई समेत छायामा पार्नेगरी जानुभएको थियो । त्यतिबेला अब आफैं हो भन्ने भएर छुट्टै भेला गर्ने, आफ््नो पक्षमा माहोल सिर्जना गर्न लाग्नुभएको थियो,” ती नेता भन्छन् । 

उनलाई साइजमा ल्याउन प्रचण्डले वर्षमानको प्रयोग गरेको नेताहरु बताउँछन् । 

२०७४ मा भ्रातृ संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन भयो ।  सहमतिबाट जाने भनिए पनि जर्नादन शर्मा आफ्ना भाइ अनिल शर्मालाई ल्याउन चाहन्थे ।  

उनी तयार नभएपछि निर्वाचनबाट रञ्जित तामाङ अध्यक्ष चुनिए ।  शर्माका भाइलाई हराउन अध्यक्ष प्रचण्डले पुनलाई साथ दिएका थिए । 

“जनार्दन शर्माका भाइले त जहिले पनि अवसर पाइहाल्छन् । लडेर आएको व्यक्तिलाई दिऔं त भनेर प्रचण्डले पुनलाई सहयोग गरेर नै तामाङ अध्यक्ष बनाउनुभएको थियो,” ती नेताको दाबी छ । 

त्यसयता शर्मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बने ।

पुन माओवादी र एमालेबीच एकता भएर बनेको नेकपाको सरकारमा ऊर्जामन्त्री बने । शर्मा अहिले देउवा सरकारकै अर्थमन्त्री छन् । 

शर्माको तुलनामा सरकारमा पुन कमै रहे पनि पार्टीमा उनी अघि छन् । पुन माओवादीको सचिव भइसकेका छन् भने शर्मा स्थायी कमिटी सदस्यमात्रै भएका थिए । हाल दुवै पार्टीका स्थायी कमिटी सदस्य हुन् ।

पार्टीमा दुईमध्ये एकअर्काबीच प्रचण्डको नजिक बन्ने प्रतिष्पर्धा चलिरहेकै छ । कहिले शर्मा त कहिले पुन प्रचण्डसँग निकट देखिन्छन् । 

“कहिले प्रचण्डले पुनलाई काखी च्याप्नुहुनुन्छ । कहिले शर्मालाई, यी दुई प्रचण्डका आवश्यकताअनुसारका निकट हुन् । यी दुईलाई जुधाउन प्रचण्डलाई गाह्रो छ । हाल वर्षमान निकट देखिएका छन् । तर अहिले जुधाउनहोला भन्ने लाग्दैन,” अर्का एक नेताले बाह्रखरीसँग भने । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC