
काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा आइसकेको छ । बाजुराको बूढीगंगा नगरपालिकामा भने पुनः निर्वाचन हुँदैछ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार प्रमुख पदहरुमा महिलाको सहभागिता न्यून छ ।
हामीले महानगरपालिका/ नगरपालिका प्रमुख– उपप्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष र वडाध्यक्ष पदमा महिलाको सहभागिता कस्तो रह्यो भनेर हेरेका छौं –
पहिलो पार्टी कांग्रेस : प्रमुख पदमा ९, उपप्रमुखमा महिला धैरै
नेपाली कांग्रेस स्थानीय निर्वाचनमा १४१ महानगर/नगरपालिका प्रमुख जितेर पहिलो दल बन्यो ।
निर्वाचन आयोगको तथ्यांकअनुसार प्रमुखमा ४ जना महिला निर्वाचित भएका छन् । जुन कांग्रेसबाट निर्वाचित प्रमुखमा महिला कूल २.८४ प्रतिशत हो ।
कांग्रेसले जितेको १८८ गाउँपालिका अध्यक्षमध्ये ५ जनामात्र महिला निर्वाचित भएका छन् । जसमा १८३ पुरुष रहेका छन् ।
जहाँ कूल २.६६ प्रतिशत मात्रै महिला निर्वाचित भएका छन् । कांग्रेसले ११० उपप्रमुख र १९० उपाध्यक्ष जितेको छ । जसमा उप्रमुखमा ८८ र उपाध्यक्षमा १३९ महिला निर्वाचित भएका छन् । जुन ८० प्रतिशत हुन आउँछ ।
त्यसैगरी वडाध्यक्षतर्फ २ हजार ६४० पुरुष निर्वाचित हुँदा २५ मात्रै महिला वडाध्यक्ष बनेका छन् । कांग्रेसले कूल २ हजार ६६५ वडा जितेको हो । प्रतिशतमा निर्वाचित महिला ०.९४ हुन आउँछ ।
कांग्रेसमा भन्दा एमालेमा बढी
दोस्रो दल बनेको नेकपा एमालेले ८२ गाउँपालिका जित्दा प्रमुखमा ६ जनामात्रै महिला निर्वाचित भएका छन् । जुुन कूल संख्याको ७.३२ प्रतिशत हुन आउँछ । कांग्रेसको भन्दा प्रमुखमा एमालेबाट २ जना बढी निर्वाचित भएका छन् ।
त्यसैगरी एमालेबाट अध्यक्षमा निर्वाचित १२३ जनामध्ये ४ जना महिला छन् । प्रतिशतमा हेर्दा ३.२५ हुन आउँछ । त्यसैगरी उपप्रमुखमा एमालेबाट उपप्रमुख १०३ र उपाध्यक्षमा ११३ महिला निर्वाचित भएका छन् ।
उप्रमुखमा निर्वाचित महिला ९०.३५ र उपाध्यक्षमा ८९.६८ प्रतिशत हुन आउँछ । एमालेबाट २ हजार १०८ वडाध्यक्ष निर्वाचित हुँदा २२ जनामात्रै महिला छन् । जुन १.०३ प्रतिशत हो ।
माओवादीमा झनै कम
तेस्रो पार्टी बनेको नेकपा माओवादी केन्द्रमा प्रमुखमा २५ मध्ये १ जना महिला निर्वाचित भएकी छन् । जुन ४ प्रतिशत हुन आउँछ ।
अध्यक्षमा निर्वाचित ९६ जनामध्ये तीनजना मात्रै महिला निर्वाचित भएका छन् । माओवादीबाट निर्वाचित अध्यक्षमध्ये ३.१२५ प्रतिशत मात्रै महिला छन् ।
त्यसैगरी ३३ उपप्रमुखमध्ये १५ र ९५ उपाध्यक्षमध्ये ४८ जना महिला निर्वाचित भएका छन् । माओवादीबाट उपप्रमुखमा ४५.४५ र उपाध्यक्षमा ५०.३ प्रतिशत महिला निर्वाचित भएको देखिन्छ ।
त्यसैगरी १ हजार ५३ वडा अध्यक्षमध्ये महिला १२ जना मात्रै छन् । जुन १.१४ प्रतिशत हो ।
जनता समाजवादी पार्टी : महिला शून्य !
जनता समाजवादी पार्टी (जसपा) को प्रमुखमा महिला शून्य भएका छन् । प्रमुख पदमा ९ जना पुरुष निर्वाचित भएका छन् ।
त्यसैगरी अध्यक्ष पदमा पनि २१ जना पुरुष निर्वाचित भएका छन् । महिलाको संख्या शून्य छ । त्यसैगरी उपप्रमुखमा १२ मध्ये १० र उपाध्यक्षमा १९ मध्ये १७ जना महिला निर्वाचित भएका छन् ।
जसपामा कूलमध्ये उपप्रमुखमा ८३ प्रतिशत र उपाध्यक्षमा ८९.४७ प्रतिशत महिला निर्वाचित भएको देखिन्छ । २९५ वडा जितेको जसपाको वडामा पनि महिला अध्यक्ष छैनन् ।
एकीकृत समाजवादी : प्रमुखमा १ महिला
पहिलोपटक स्थानीय निर्वाचनमा होमिएको दल एकीकृत समाजवादी पार्टीले १२ पालिकाको नेतृत्व पायो । जसमा १ महिला प्रमुखमा निर्वाचित भएकी छन् । जुन उक्त पार्टीले जितेको प्रमुखमध्ये ८.३३ प्रतिशत हो ।
८ गाउँपालिका जितेको एकीकृत समाजवादीका सबै पुरुष अध्यक्ष हुन् । गाउँपालिका अध्यक्षतर्फ महिला नेतृत्व शून्य छ ।वडाध्यक्षमा निर्वाचित १९० मध्ये २ महिला छन् । जुन १.०५ प्रतिशत हुन आउँछ ।
लोसपा
त्यसैगरी ७ नगरपालिकाको नेतृत्व पाएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रमुखमा १ महिला छन् ।
जुन पार्टीबाट निर्वाचित प्रमुखमध्ये कूल १४.२८ प्रतिशत हो । अध्यक्षतर्फ ९ जना पुरुष निर्वाचित भएका छन् । उपप्रमुखमा ५ मध्ये ४ महिला र उपाध्यक्षमा ७ मध्ये सबै महिला निर्वाचित भएका छन् ।
उपप्रमुखमा ८० प्रतिशत र उपाध्यक्षमा शतप्रतिशत महिला निर्वाचित भएका छन् । १०३ वडाध्यक्षमध्ये ३ महिला चुनिएका छन् । २.९१ प्रतिशत हुन आउँछ ।
अरु दलको कस्तो ?
निर्वाचनमा सहभागी भएका अन्य दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रमुख र उपाध्यक्षमा २–२ महिला चुनिएका छन् ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उपप्रमुखमा एक महिला निर्वाचित भएकी छन् । त्यस्तै २ उपाध्यक्षमा २ जनानै महिला निर्वाचित भएका छन् । सोही पार्टीले १ महिला वडाध्यक्ष पनि पाएको छ ।
त्यस्तै जनमत पार्टीको तर्फबाट १ महिला उपाध्यक्ष बनेकी छन् । मजदुर किसान पार्टीबाट १ उपप्रमुख, जनता प्रगतिशील पार्टीबाट एक उपाध्यक्ष, विवेकशील साझा पार्टीका तर्फबाट १ उपाध्यक्षमा महिला निर्वाचित भएकी छन् ।
त्यसैगरी स्वतन्त्रतर्फ उपप्रमुखतर्फ एक महिला निर्वाचित भएकी छन् ।
कुन पदमा महिला कति ?
निर्वाचन आयोगका अनुसार प्रमुखमा निर्वाचित कूल २९२ मध्ये १३ जना मात्रै महिला छन् । त्यसैगरी अध्यक्षतर्फ निर्वाचित ४६० मध्ये १२ जना महिला अध्यक्ष रहेका छन् ।
उपाध्यक्ष र उपप्रमुखमा महिला धेरै
त्यसैगरी उपप्रमुख र उपाध्यक्षमा भने निर्वाचित महिलाहरुको संख्या धेरै छ । उपप्रमुखमा कूल निर्वाचित २९२ मध्ये २३२ महिला रहेका छन् । त्यसैगरी उपाध्यक्षमा कूल ४६० मध्ये ३३५ जना महिला निर्वाचित भएका छन् ।
वडामा यस्तो छ अवस्था
कुल ६ हजार ७३३ वडाध्यक्षमध्ये ६९ जनामात्रै महिला निर्वाचित भएका छन् । पुनः निर्वाचन हुने भएकाले बूढीगंगाको १० वडाको नतिजा आउन बाँकी छ । कूल ६ हजार ७४३ वडा रहेका छन् ।
वडाध्यक्ष निर्वाचित ६९ महिलामध्ये ३ जना स्वतन्त्रबाट रहेका छन् ।
स्थानीय तहको निर्वाचनमा उमेदवारी दिँदा नै पुरुषको संख्या बढी थियो । दलहरुबीच गठबन्धन हुँदा प्रमुख दुबै पदमा पुरुषहरुको बर्चस्व रहेको थियो ।
सोही कारणले निर्वाचित हुँदा पनि महिलाको संख्या घटेको देखिन्छ ।
निर्वाचन आयोगले महिलाको सहभागितामा जोड दिन खोजिए पनि दलहरुले अस्वीकार गरेको जस्तो देखिएको आयोगका पदाधिकारीहरु बताउँछन् ।