हालैको भयावह बाढीले सप्तरी, रौतहट, महोत्तरी, चितवनलगायत धेरै जिल्लामा ठूलो क्षति भएको छ । करिब ४५ हजार परिवारका घरबार डुबेको अनुमान छ । अर्बौं रुपियाँका बालीनाली नष्ट हुनुका साथै करिब ७० हजार गाईवस्तु पनि सखाप भएको अनुमान छ । पाँचसयभन्दा धेरै कारखाना बन्द भएका छन् । त्यसैले अहिले यी जिल्लाको अवस्था साह्रै कठिन देखिन्छ । बाढीले कतिपय परिवारको जिन्दगी भरको कमाइ, सम्पत्ति, लुगाफाटो र खाद्यान्न स्वाहा भएको छ । यस्तो स्थितिमा सबै नेपाली एकजुट भएर बाढीपीडित दाजुभाइ तथा दिदिबहिनीलाई सक्दो मद्दत र हेरविचार गर्नुपर्छ । उमेर जति भए पनि हामीले पीडितलाई सेवा गरेर सहायता गर्न सक्छौँ । अहिले म बाढीपीडितको सहयोगमा युवाले गर्नसक्ने कार्यबारे केही लेख्न चाहन्छु ।
स्वसंसेवी युवाका रूपमा हामीले सहायता कार्यमा सहयोग गर्दै आएका विभिन्न संस्थामा स्वयंसेवा गर्न सक्छौं । हेल्प नेपाल, रेड क्रस, युनिसेफ जस्ता भरपर्दो संस्थामा भाग लिन सकिन्छ । सहायता सामग्रीहरु बोक्ने, ट्रकमा हाल्ने, सामग्रीहरू गनेर लेख्ने केही सजिलै गर्न सकिने कार्य हुन् । समाज सेवाका लागि गरिने काम कुनै पनि सानो हुन्न । थोपाथोपा मिलेर सागर बन्छ भनेजस्तै हरेक काम चाहे सामान बोक्ने होस् वा हेलिकप्टर चलाउने तिनको उत्तिक्कै महत्त्त्व हुन्छ ।
हामीले संस्थाबाट मात्र होइन आफैँ पनि सहायता संकलन गर्न सक्छौँ । तर केही सोचविचार गरी योजना गरेर गर्दामात्र यसको चाहिने ठाउँमा असर पर्छ । संकलन गर्नुअघि हामीले पैसा जम्मा गर्ने कि सामग्री जम्मा गर्ने भन्ने छान्नुपर्छ । दुवैका आआफ्ना फाइदा र बेफाइदा छन् । पैसा संकलन गर्न सजिलो छ र यसलाई संस्था अथवा पैसा उपयोग गर्ने व्यक्ति कहाँ लैजान पनि सजिलै हुन्छ । तर, यसको सही तरिकाले उपयोग नहुन पनि सक्छ । बाढीपीडितको भलाइको लागि खर्च नभईकन कुनै कर्मचारीको खल्तीमा जान पनि सक्छ । त्यसैले शतप्रतिशत भरोसा भएको संस्था वा व्यक्त्तिको हातमा मात्र पैसा पठाउनु र राम्ररी बुझेर, सोधपुछ गरेर, पैसाको कसरी प्रयोग हुन्छ देखाउने पत्र मागेरमात्र पैसा दिनुपर्छ । सहायता सामग्रीको संकलनमा भने दुरुपयोग हुनसक्ने सम्भावना पैसामा जति हुन्न । तर, यसको समस्या चाहिँ यातायातमा आइपर्छ । सामग्री जम्मा गर्नमा पनि धेरै समय खर्च गर्नुपर्ने हुन्छ । यिनै फाइदा बेफाइदा बुझेर आफूलाई उपयुक्त हुने सहयोग संकलन गर्नु उपयुक्त्त हुन्छ । सहायता सामग्री संकलन गर्ने हो भने बाढीपीडितका बारे जानकार हुनुपर्छ । उनीहरूको वर्तमान आवश्यकताअनुसार सामग्री जम्मा गर्नुपर्छ । जस्तै, गैरसरकारी संस्थासँग थुप्रै लुगाफाटो हुन सक्छ तर पानी स्वच्छ बनाउने (प्युरिफायर) कम हुन सक्छ । यस्तो स्थितिमा पानि प्युरिफायर संकलन गर्नु ठीक हुन्छ ।
युवा भएर हामीले बाढीपीडितलाई भावनात्मक सहयोग पनि उपलब्ध गराउन सक्छौँ । उनीहरूसँग २-४ घन्टा बसी अलिकति दु:खसुखका कुरा गरे पनि सान्त्वना हुन्छ । दु:खको बेलामा गफगाफ गरेर दु:ख भुलाउन सकिन्छ र ओठमा मुस्कान ल्याउन सकिन्छ । बालबालिकासँग खेलेर, बुढापाकासँग समय बिताएर, गीत गाएर, नाचगान गरेर, र काममा मद्दत गरेर भावनात्मक सहायता दिन सकिन्छ ।
हामीले बाढीपीडितलाई बाढीबाट उब्जन सक्ने रोग इत्यादिको बारेमा चेतना जगाउन सक्छौँ । बाढीको बेला पानीबाट सर्ने रोगको धेरै डर हुन्छ । हामीले हात धुने, सफा पानीमात्र खानेजस्ता विषयका बारे चेतना जगाउन सक्छौँ । यस्ता अन्य विषयमा “कसरी पुलिस, संस्थाहरूलाई सम्पर्क गर्ने?” “कसरी बाढीबाट बच्ने र अरूलाई बचाउने?” र “कसरी मद्दत खोज्ने?” जस्ता विषय पर्छन् ।
यस्तो घटनाको बेलामा चोर र चेलिबेटी बेच्नेको पनि डर हुन्छ । यसको बारेमा पनि बाढीपीडित समुदायलाई सचेत गर्न सकिन्छ ।
यिनै कार्य युवाले बाढीपीडितका सेवाका लागि गर्न सक्छन् ।
(रातो बंगला स्कुल, कक्षा ११ )