site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाली क्रिकेट संकटमा, क्यान निलम्बन अझै लम्बिन सक्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) विवादसँगै निलम्बन लम्बिने निश्चित भएको छ । काठमाडौंमा मंगलबार बसेको निर्वाचित क्यानको विशेष साधारणसभाले आईसीसीले गठन गरेको सल्लाहकार समितिले बनाएको विधान संशोधन गरेपछि फेरि पनि विवाद र क्यान निलम्बन लम्बिन सक्ने परिस्थिति आएको हो । 

चतुरबहादुर चन्द र अशोकनाथ प्याकुरेल पक्षको निर्वाचित क्यानले सल्लाहकार समितिले बनाएको विधानको धेरै बुँदामाथि संशोधन गरेपछि नेपाली क्रिकेटको भविष्य झनै अन्योलतर्फ लागेको छ । 

निर्वाचित क्यानले १७ केन्द्रीय सदस्यले क्यानको नयाँ साधारणसभामा स्वतः भाग लिन पाउनुपर्ने गरी विधान संशोधन गरेको छ । सल्लाहकार समिति र निर्वाचित क्यानको पटक पटक बहस चलेपनि यो बुँदामा नै कुरा मिलेको थिएन ।

Argakhachi Cement Island Ad

करिब एक महिनाअघि आईसीसीका उपाध्यक्ष इमरान ख्वाजा र वित्तिय शाखाका अमर शेख काठमाडौं आएका थिए । दुवै पक्षसँगको बैठकमा पनि निर्वाचित क्यानले राखेको १७ कार्यसमितिलाई नयाँ साधारणसभामा भाग लिन दिनुपर्ने बँुदामा आईसीसीले सिधै अस्वीकार गरेको थियो ।

तर, एउटा बुँदामा कुरा नमिलेको अवस्थामा निर्वाचित क्यानले साधारणसभा गरी विधानलाई अनुमोदन गर्नुपर्ने थियो । यद्यपि निर्वाचित क्यानले नमिलेको मुख्य एउटा विषयका साथै थुप्रै बुँदालाई विधानमा संशोधन गरेको छ । 

विधान संशोधन गरेकोमा सल्लाहकार समिति पनि त्यति सन्तुष्ट छैन । सल्लाहकार समितिका संयोजक विनयराज पाण्डेले चतुरबहादुर चन्द र अशोकनाथ प्याकुरेलको समूह आफ्नो स्वार्थमा लागेको बताए । उनले भने, “उहाँहरूको रुची क्रिकेट होइन, आफैं हो । उहाँहरूको ग्रुपले नै नेपाली क्रिकेट हालीमुहाली गरेर चलाउन खोजेको हो । यो कुरा सबैलाई थाहा छ । क्रिकेटलाई विकास गर्ने मान्छेले विधान छ, विधानअनुसार चल्नु पर्ने हो नि, खोइ त ?” 

सल्लाहकार समितिका संयोजक पाण्डेले दुखेसो पोख्दै भने “हामीले यति ठूलो पहल गर्यौं तर, उहाँहरूको क्रिकेटप्रति माया नै छैन । जसरी भएपनि आफू क्रिकेटमा रहिरहुँ भन्ने मात्रै हो । क्रिकेटको विकासमा लागेनन् । खाली, को आउने, कसले खाने, को बस्नेमै केन्द्रित भयो ।”

त्यसो त निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेटलाई निकास दिनैका लागि विधान संशोधन गरेको दाबी गरेका छन् । उनले भने, “नेपाल क्रिकेट संघ क्यानलाई शून्यतामा नलैजानका लागि हामीले विधान संशोधन गरेका हौं । यो कार्यसमितिले अर्को नयाँ कार्यसमितिलाई संघ हस्तान्तरण गर्नका लागि भए पनि १७ जना केन्द्रीय सदस्य अब आउने साधारणसभामा लाने विधान संशोधन गरेका हौं ।” 

क्यानको विधान बनाउन आईसीसीले बनाएको सल्लाहकार समितिले सबै पक्षको रायअनुसार बनाएको थियो । लामो बहस र परामर्शपछि निर्माण भएको विधानमा निर्वाचित क्यानको अन्तिम समयमा आएर एउटै विषयमा मात्रै असहमति थियो । तर, साधारणसभाले अनुमोदन मात्रै गर्ने भनेर विधानमा हस्ताक्षर भएको सल्लाहकार समितिका संयोजक विनयराज पाण्डे बताउँछन् । 

उनले भने, “७–८ वटा मिटिङ बसेका थियौं । निर्वाचित क्यानले भनेको कुरामा हामीले सहमति जनाउँदै विधान बनाएका थियौं । विधानमा उहाँहरूले पनि हस्ताक्षर गर्नु भएको थियो । एउटै कुरामा मात्रै मिलेको थिएन । उहाँहरुको १७ जना कार्यसमितिले भाग लिन पाउने भन्ने माग थियो तर आईसीसीले सिधै हुँदैन भनेको थियो । यो साधारणसभाले त विधानलाई अनुमोदन गर्ने भनेर मात्रै कुरा भएको थियो ।”

साधारणसभाले १०५ दिनभित्र नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पाउने गरी विधान संशोधन गरेको हो । ४५ दिनभित्र जिल्लाको अधिवेशन भई सक्नुपर्नेछ । त्यस्तै, जिल्लाको अधिवेशन भएको ३० दिनभित्र प्रदेशको अधिवेशन भई सक्नुपर्ने छ । प्रदेशको अधिवेन भएको ३० दिनमा केन्द्रीय साधारणसभा हुनैपर्ने संशोधित विधानमा छ । त्यस्तै, संक्रमणकालिन अवस्थालाई व्यवस्थापन गर्नका लागि पनि राखेपले साधारणसभामा ७ जना पठाउन पाउने साधारणसभाले निर्णय गरेको छ ।

अब के हुन्छ ?
 

निर्वाचित क्यानको साधारणसभाले विधानलाई संशोधन गरेको छ र १–२ दिनमै राष्ट्रिय खेलकुद परिषदलाई स्वीकृतिका लागि पठाउने तयारीमा छ । राखेपले संशोधित विधानलाई स्वीकृत गरेको खण्डमा आईसीसी समक्ष विधान पुग्नेछ । त्यसपश्चात आईसीसीले नेपाल क्रिकेट संघबारे ठोस निर्णय गर्नेछ । 

तर, साधारणसभाले गरेको यो निर्णयप्रति आईसीसी रुष्ट पनि हुन सक्नेछ । किनभने आईसीसीले निलम्बन गर्दा विधानअनुसार निर्वाचन नभएको, जसले गर्दा विवाद मच्चिएपछि राखेपले खेल्न पायो भन्दै निर्वाचित क्यानलाई पहिलो गल्ती देखाएको थियो । 

क्यानको विवाद अझै लम्बिने संकेत देखिएसँगै नेपाली क्रिकेटको भविष्य झनै संकटमा परेको देखिन्छ । आईसीसीले क्यानको सदस्यता नै खारेज पनि गर्न सक्छ । सल्लाहकार समितिका संयोजक पाण्डेले निर्वाचित क्यान यसरी नै अघि बढे नेपाली क्रिकेटले ठूलो क्षति ब्यहोर्नु पर्ने अवस्था आएको बताए । उनले भने, “अब जे गर्नुछ, आईसीसीले गर्छ । यो संशोधित विधान लिएर उहाँहरुले आईसीसीलाई मनाउन सके केही होला, नत्र नेपाली क्रिकेट संकटमा पर्नेछ ।” 

निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीले विधान पारित गर्ने कुरामा आफू ढुक्क रहेको दाबी गरेका छन् । उनले भने, “नेपाली क्रिकेटको विकास गर्नका लागि राखेपले विधान स्वीकृति गरेकै दिनदेखि आईसीसीले क्यान निलम्बन फुकुवा गर्नुपर्छ ।”

महासचिव अशोकनाथ प्याकुरेल राष्ट्रिय खेलकुद परिषद्ले संशोधित विधानलाई नस्वीकारे पनि विशेष साधारणसभा भनेको क्रिकेटको सबै भन्दा उच्च निकाय भएको दाबी गर्छन् । उनले थपे, “सबै ठाउँबाट आएका साथीहरूले क्रिकेटकै हितमा केही निर्णय गर्नु भएको छ भने त्यसलाई सरकार, राखेप र आईसीसीले स्वीकार गरेर अघि जानु नै निकासको सबैभन्दा उत्तम पाटो हो ।”

फाइल तस्बिर 
 

प्रकाशित मिति: बिहीबार, भदौ ८, २०७४  ०९:३१
प्रतिक्रिया दिनुहोस्