
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–११ को मत गन्दागन्दै हार्ने सोच बनाएर घर फर्केका जसपाका वडाध्यक्ष उमेदवार दानसिंह जोगी ३ मतले विजयी भएका छन् । तीव्र प्रतिस्पर्धामा रहेका जोगी आफूले जित्ने माहोल नभएपछि हार स्वीकार गर्दै घर फर्केका थिए । पछि फेसबुकबाट विजयी भएको सूचना पाएपछि उनी पुनः मतगणनास्थल गएका थिए ।
नेपाली कांग्रेसका राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् । कठरियाले ६६९ मत पाउँदा जोगीले ६७२ मत पाएका थिए ।
मतगणना सुरु भएदेखि नै कांग्रेस र जसपाबीच टक्कर थियो । अन्तिम मतपरिणाममा कांग्रेसका उमेदवार विजयी भएको अपुष्ट खबर सार्वजनिक भयो । मतगणनामा जोगी पनि सहभागी थिए ।
मतगणना सकिँदासम्म कांग्रेसका उमेदवार विजयी भएको र आफू झिनो मतान्तरले हारेको भन्दै जोगी घर गइसकेका थिए । यता कांग्रेसका नेता कार्यकर्ताहरू विजय उत्सव मनाउने तयारी गरिरहेका थिए । तर, मतपरिमाण घोषणा हुँदा जसपाका जोगी विजयी भएको निर्वाचन अधिकृत भानदेव जोशीले बताए ।