
रूपन्देही । २५६६ औं बुद्धपूर्णिमाको अवसरमा रूपन्देहीका युवाले आधुनिक संगीतसहितको बौद्ध गीत एवम् म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
भगवान् बुद्धका प्रमुख शिक्षाहरूबाटै मानवमा शान्तिको बास हुनसक्छ भन्ने मूल सन्देश गीतले बोकेको छ । आफैले खोज्नेले शान्ति पाउँछ, सांसारिक सुख भ्रम हो भन्ने आशयको यो गीत निकै कर्णप्रिय र मन्त्रमुग्ध रहेको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा कार्यरत व्यक्तित्व मञ्जिल सुवेदीको शब्द र संगीतमा रहेको गीतमा सुजील कर्माचार्यको संगीत संयोजन रहेको छ भने रचनाकार मञ्जिल सुवेदी र मनिष अधिकारीले आवाज दिएका छन् ।
यो भिडियोमा नेपाल सरकारका शाखा अधिकृत मधुसुदन भट्टराईको मुख्य अभिनय रहेको छ । निर्देशक मृत्युञ्जय गैह्रे (लक्ष्मण) ले गीतको जीवन्तता र भावलाई समेट्नका लागि लुम्बिनीमै विशेष रूपमा भिडियो तयार गरिएको जानकारी दिए ।
गीतमा चतुरार्यसत्य, आर्यअष्टाङ्गिक मार्ग, चतुर्ब्रह्मविहार, प्रतित्य समुत्पाद, आदि बौद्ध ज्ञानका सूत्रसमेत समेटिएको छ ।