काठमाडौं । नेपाल क्रिकेट संघ क्यान लामो समयसम्म निलम्बनमा पर्दा यसले नेपाली क्रिकेटमा ठुलो असर परेको छ । सुरुवाती समयमा यसको प्रभाव नदेखिए पनि पछिल्लो समयमा क्यान विवादपछि आईसीसीको निलम्बनले विकाराल रुप लिँदै गएको छ ।
नेपाल क्रिकेट संघ क्यान २०७२ साल वैशाखमा निलम्बनमा परेको थियो । दुई क्यानबीच आधिकारिकताको विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानलाई सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो । त्यसयता, नेपाली क्रिकेटले भयंकर क्षति बेहोरेको छ । जुन क्षतिले नेपाली क्रिकेट आगामी दिनमा निकै पछि धाकेलिन सक्छ ।
क्यान विवादले ल्याएको अवस्था
अहिले नेपालमा क्यान नहुँदा राष्ट्रिय टोलीले अभिभावकविनै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुपरेको छ । उमेर समूहका कुनै पनि राष्ट्रिय प्रतियोगिता भएको छैन । घरेलु संरचना मरेर गएको छ । महिला क्रिकेट डाडाँपारीको घाम जस्तै भएको छ । यति मात्रै होइन । क्यानको प्रशासनिक पाटो ठप्प हुँदा क्रिकेटको विकासका कार्यहरू शुन्य जस्तै छ ।
आफुहरूले पाउनुपर्ने सेवा सुविधाबाट खेलाडी बञ्चित भएका छन् । हुन त यसअघि नै १२ महिनाको रोकिएको तलब आईसीसीले दिए पनि अझै केही महिनाको तलब पाउन बाँकी नै छ । प्रतिभावान खेलाडीको स्थानीय स्तरदेखि नै खोजी भएको छैन । क्यानले सञ्चालन गर्दै आएको एकेडेमी पनि रोकिएको छ ।
अहिले नेपाली क्रिकेट निकै संकटमा परेको छ । क्यान पदाधिकारीले आफ्नो ब्यक्तिगत स्वार्थलाई मात्रै हेर्दा खेलाडी, प्रशिक्षक तथा सिंगो नेपाली क्रिकेट पछि धकेलिएको कुरामा दुई मत नभएको खेलाडी नै बताउँछन् ।
क्यान निलम्बनमा परेपछि सबै कार्य प्रशिक्षक र खेलाडीको काँधमा आएको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा बताउँछन् । उनले भने “आईसीसी र एसीसीले आफ्नो तरिकाले गर्ने हो । क्यानकै बजेटमा पनि आईसीसीले रोक्ने गरेको छ । तयारी गर्न आईसीसीले हामीलाई पर्याप्त समय दिएको छैन । लामो समयदेखि हामीले ट्रेनिङ गर्न चाहन्छौ तर, आईसीसीले कुनै पनि प्रतियोगिता आउनुभन्दा १ महिनाअघि मात्रै तयारी थाल्न निर्देशन दिने गरेको छ ।”
तर बेला बेलामा आईसीसी आफै बाधक पनि बनि रहेको कुरा छर्लंग छ । मुख्य प्रशिक्षक टमाटाले थपे “अहिले क्यान छैन खेलाडी र प्रशिक्षकले नै प्रशासनिक पाटो पनि हेर्नुपरेको छ । यो नेपाली क्रिकेटको लागी नै दुर्भाग्य हो ।”
नेपाली राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले क्यान नहुँदा आईसीसीलाई प्रत्येक कुरामा पुकारर्नु परेको अवस्था रहेको बताए । उनले भने “क्यान निलम्बनले निकै ठूलो क्षति पुगेको छ नेपाली क्रिकेटको लागि । यस्तै रहिरहने हो भने नेपाली क्रिकेट झनै पछि पर्नेछ । अफगानिस्तानले राम्रो प्रगति गर्यो हामी रोकिरहेका छौं ।
क्रिकेटको सबै क्षेत्रमा असर परेको छ । प्लानिङ छैन । एकेडेमी, क्लब र राष्ट्रिय प्रतियोगिता कसरी सञ्चालन गर्ने ? खेलाडी तथा प्रशिक्षकलाई मात्रै होइन की क्रिकेटको सबै सेक्टरमा समस्या उत्पन्न भएको छ ।”
क्यानका प्रमुख कार्य सञ्चालन अधिकृत छुम्बी लामाले सबैभन्दा ठूलो समस्या प्रशिक्षक र खेलाडीलाई भएको बताए । उनले भने “क्यानले गर्ने सम्पूर्ण जिम्मेवारी खेलाडी तथा प्रशिक्षकले गर्नुपरेको छ । प्रशिक्षक सिकाउने, खेलाडी खेल्ने की, बजेट र प्लानिङ बोकर आईसीसी धाउने ? प्रशिक्षक तथा खेलाडीमा ठूलो मर्का परेका छन् ।”
त्यसो त, राष्ट्रिय खेलकुद परिषद्ले नेपाली क्रिकेटको लागि केही हदसम्म मलम लाउने काम गरेको छ । प्रधानमन्त्री कपदेखि खेलाडीलाई भत्ता दिने काम सम्म राखेपले गरेपछि खेलाडी तथा प्रशिक्षकमा केही राहत मिलेको छ । तर, यो नै सबै थोक भने होइन ।
क्यान निलम्बन हुनुको कारण
२०७२ सालको मंसिर २८ र २९ गते क्यानका तत्कालिन उपाध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल पक्षले अधिवेशन गर्दै चन्दको नेतृत्व कार्यसमिति चयन गरेको थियो । तर, राखेपमा परेको उजुरीको आधारमा राखेपले बैधानिक र विधानसम्मत नभएको भन्दै निर्वाचित क्यानलाई मान्यता दिएको थिएन ।
चतुरबहादुर चन्द पक्षले आफुहरू नै वैधानिक र नियमसम्मत नै निर्वाचन गरेको दाबी गर्दै गर्दा राखेपले तदर्थ समिति गठन गरेको थियो । माघमा गठन गरेको क्यानको तदर्थ समिति र चन्दपक्षबीचको विवाद बढेपछि आईसीसीले २०७३ सालको बैशाखमा क्यानलाई निलम्बन गरेको थियो । पदाधिकारीबीचको पदीय बाँडफाड नमिल्दा निलम्बनसम्म पुगेको क्यान अहिलेसम्म पनि निश्क्रिय नै छ । यसको प्रत्यक्ष मार भने सिंगो नेपाली क्रिकेटलाई परेको छ ।
मुुख्य प्रशिक्षक टमटाले भने “बल्लबल्ल राष्ट्रिय प्रतियोगिता हुन्छ । त्यसलाई आधार बनाएर ४०–४२ जना खेलाडी क्लोज क्याम्पमा ल्यायो तर आईसीसीले त्यति धेरै किन ल्याइस ? २० जना लिएर क्याम्प सुरु गर भन्छ । यसले गर्दा नेपालको प्रदर्शनमा असर पुग्छ । अनि सरोकारवालाले दोस प्रशिक्षक र खेलाडीलाई लगाउछ । धेरै छ समस्या तर, त्यो समस्या अन्त्य हुन क्यान चाहिन्छ ।”
अबको निकास के ?
क्यान विवाद सुल्झाउन र विधान संशोधनमार्फत क्यानलाई निर्वाचन प्रक्रियाबाट अघि बढाउन आईसीसीले बनाएको सल्लाहकार समितिसंग छलफल गर्न करिब १ महिनाअघि आईसीसीका उपाध्यक्ष इमरान ख्वाजा र वित्तिय शाखाका अमर शेख काठमाडौं आएका थिए । तर, चतुरबहादुर चन्दको समूहले निर्वाचित क्यानले साधारण सभामा भाग लिन पाउनु पर्ने मुद्दामा अडान राखेपछि सहमति भएको थिएन । अहिले पनि भएको छैन ।
यता, खेलाडी तथा प्रशिक्षकको एउटै स्वर छ, विवाद मिलाउँ । खेलाडीहरू निकै चिन्तत छन्, कतै नेपालको पनि हालत अमेरिकाको जस्तो त हुने होइन ? नेपाली क्रिकेटको विकास तथा विस्तार गर्नका लागि सबै मिलेर एक ढिक्का बने मात्रै क्रिकेटले निकास पाउने खेलाडी तथा प्रशिक्षकको बुझाइ छ ।
“नेपाली क्रिकेटलाई अब निकास दिनका लागि सबै मिलेर सकारात्मक सोचको साथ अघि बढ्नुपर्ने उपकप्तान मल्लको तर्क छ । उनले भने “म आशावादी छु । हुनु पनि पर्छ । अर्को उपाय पनि छैन । हामी नै मिलेर बस्ने हो भने अरु कसैले केही गर्न सक्दैन । तर स्वार्थको तरिकाले अघि बढ्ने हो भने नेपाली क्रिकेट झनै दर्दनाक अवस्थामा पुग्नेछ ।”
यता, मुख्य प्रशिक्षक टमटाको चिन्ता पनि उस्तै छ । उनले भने “विवाद अन्त्यका लागि सबै मिलेर २–४ दिनमा नै हुन्छ भने धेरै राम्रो । होइन भने एक ढेड महिनाभित्रै यो समस्या अन्त्य भए नेपाली क्रिकेटको लागि राम्रो हुन्छ । मिलेन भने नेपाली क्रिकेटले नसोचेको ठूलो क्षति बेहोर्नुपर्छ । यो समस्या चाँहि क्यानको दुबै पक्षले बुझ्न आवश्यक छ । आपसी तालमेल नमिलेर मात्रै विवाद मच्चिएको हो । मलाई त लाग्दैन कि यो ठूलो समस्या हो । कतिपय कुरामा त क्रिकेटको लागि भनेर समझदारी पनि गर्नुपर्यो ।”
क्यानका प्रमुख कार्य सञ्चालन अधिकृत लामाका अनुसार “क्रिकेट संघ हुँदा खेलाडीहरूले धेरै सेवा सुविधा पाउथे । अहिले त्यो पाएको छैन । आईसीसीले सिधै हेर्ने हुँदा अहिले क्याम्पमा पनि समस्या उत्पन्न भएको छ । पहिलो ६ महिनासम्म क्लोज क्याम्प हुन्थ्यो अहिले आईसीसीले बल्लतल्ल १ महिनासम्मको क्याम्प गरेको छ ।” उनले थपे “सबै मिलेर क्रिकेटको विकासतर्फ लाग्यो भने नेपाली क्रिकेटको भविष्य राम्रो छ, अझै पनि व्यक्तिगत स्वार्थमा लाग्यो भने नेपाली क्रिकेटको अस्तित्व नै संकटमा पर्ने छ ।”
फाइल तस्बिर