site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धन कायम रहे काठमाडौंमा एमालेले जोगाउला विरासत ? यस्तो छ अघिल्लो निर्वाचनको अवस्था 
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी घोषणापत्रको तयारीमा जुटेका छन् । चुनावी कार्यक्रममा नेताहरुको दौडधूप त छँदैछ । राजनीतिक दलहरु २०७४ मा निर्वाचित भएका क्षेत्रहरु जोगाउने र पराजित भएका स्थानीय तहमा विजय हासिल गर्ने ध्याउन्नमा छन् । सत्ता गठबन्धनमा आवद्ध रहेका दलहरु चुनावी गठबन्धन कायम राखेर जित निश्चित गर्ने योजनामा छन् । 

सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

यसले शंका र राजनीतिक तरंग दुवै सिर्जना गरेको छ । कतिपयले यसलाई कम्युनिष्ट गठबन्धन रोक्ने षडयन्त्रमात्र भनेका छन् ।

सबै स्थानमा भने चुनावी तालमेल गर्न नहुने सत्ता गठबन्धनका दलका नेताहरुकै धारणाअनुसार कांग्रेसको यस्तो निर्णय सार्वजनिक भएको हो ।

उता, प्रतिपक्षी नेकपा एमालेका नेताहरु सत्ता गठबन्धनसहित अन्य दलहरु एक भएर आए पनि आफूहरु विजयी हुने चुनौती प्रस्तुत गरिरहेका छन् । 

यस्तोमा १ महानगरपलिका र १० पालिका रहेको काठमाडौं जिल्लाका स्थानीय तहमा आफ्नो अवस्था कस्तो छ भनेर दलहरु जोडघटाउमा छन् । 

यस्तो छ अघिल्लो निर्वाचनको अवस्था 

अघिल्लो निर्वाचनमा काठमाडौं महानगर एमालेका उमेदवार निर्वाचित भए ।

मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित हुँदा उपेमयरमा कांग्रेसकी हरिप्रभा खड्गी निर्वाचित भएकी थिइन् ।

महानगरबाहेक १० नगरपालिकामध्ये एमालेले ६ वडा नगरमा कब्जा जमाएको थियो । ४ वटामा कांग्रेस विजयी भएको थियो । काठमाडौंमा एमाले र कांग्रेसकैबीचमा मुख्य प्रतिष्पर्धा भएको थियो । यी दुईपछि माओवादीलाई मत खसेको देखिन्छ । 

हालको सत्ता गठबन्धन र एमाले एक्लै निर्वाचनमा होमिने परिस्थिति बने महानगरसहित ६ वटा नगरमा विजयी भएको एमालेले त्यो अवस्था कायम राख्न सक्ला त ?

कागेश्वरी मनोहरा नगरपालिका 

काठमाडौंका १० नगरपालिकामध्येको कागेश्वरी मनोहरा नगरपालिकामा एमालेले कब्जा जमाएको थियो । जहाँ एमालेका कृष्णहरि थापा ८ हजार ९६९ मतसहित निर्वाचित भएका थिए । 

उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उपेन्द्र कार्कीले ८ हजार ४८७  मत ल्याउँदा माओवादीका महेश्वर फुयाँलले २ हजार ५६७ मत प्राप्त गरेका थिए । 

उपप्रमुख पनि एमालेकै पक्षमा परेको थियो ।  एमालेकी विन्दु पुडासैनी ९ हजार १८२ मत ल्याएर विजयी भएकी थिइन् । 

यहाँका वडामा एमालेकै वर्चश्व रहेको थियो । जसअन्तर्गत वडा नम्बर १, ३, ५, ६, ८ र ९ वडा एमालेले जितेको थियो । कांग्रेसले भने २ र ४ नम्बर वडा जितेको थियो । 

अघिल्लो निर्वाचनमा यहाँ प्रमुखमा एमाले र कांग्रेसको मतान्तर ४८२ मात्रै देखिन्छ । सोही मत कायम रहे र गठबन्धन पनि कायम रहेमा कांग्रेस र माओवादीको मतमात्रै जोड्दा पनि एमालेको भन्दा बढी मत देखिन्छ । त्यसो त एमालेबाट विभाजन भएको दल नेकपा एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमा हुनेछ । 

कीर्तिपूर नगरपालिका 

कीर्तिपूर नगरपालिका प्रमुखमा एमालेका रमेश महर्जन निर्वाचित भएका थिए । उनले ७ हजार ३६० मत प्राप्त गर्दा कांग्रेसका राजकुमार नकर्मीले ६ हजार ६१६ मत ल्याएका थिए । 

त्यस्तै माओवादीका हिराबहादुर महर्जनले ४ हजार ०९ मत पाएका थिए । 

यहाँ उपप्रमुख पनि एमालेले नै हात पारेको थियो । एमालेकी सरस्वती रिजालले ६ हजार ८१० मत ल्याएर निर्वाचित भएकी थिइन् । 

वडाहरुमा  एमालेकै वर्चस्व रहेको थियो । वडा नम्बर १, २, ३, ६, ७, ९, १० मा एमाले र ४, ५, ८ मा कांग्रेसका उमेदवारहरु निर्वाचित भएका थिए । 

यहाँ प्रमुखमा प्रमुख प्रतिष्पर्धी एमाले र कांग्रेसको मतान्तर ७४४ रहेको थियो । सोही निर्वाचनमा माओवादीलाई आएको मत जोड्ने हो भने यहाँ पनि गठबन्धन नै बलियो हुने देखिन्छ । 

गोकर्णेश्वर नगरपालिका 

गोकर्णेश्वर नगरपालिका कांग्रेसको पक्षमा पर्यो । कांग्रेसका सन्तोष चालिसेले ९ हजार ९ मत ल्याएर निर्वाचित भएका थिए ।

उनको प्रतिद्वन्द्वीको रुपमा एमालेका पुण्यप्रसाद चौलागाइले ७ हजार ५९५ मत ल्याएका थिए । माओवादीका तेजराज नेपालले २ हजार २६ मत पाएका थिए । 

यहाँ कांग्रेसका चालिसे र एमालेका चौलागाइको मतान्तर १ हजार ४१४ को देखिन्छ । 

गोकर्णेश्वर उपप्रमुखमा पनि कांग्रेस नै विजयी भएको थियो । उपप्रमुख शान्ति नेपालले ८ हजार ५९८ मत पाएकी थिइन् । 

वडाहरुमा कांग्रेसले १, ३, ५, ६, ८, ९ जितेको थियो । एमालेले ४, ७ नम्बर जित्दा २ नम्बर वडा राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा परेको थियो । 

चन्द्रागिरी  नगरपालिका 

काठमाडौंका नगरपालिकामा एमालेले वर्चस्व जमाउँदा चन्द्रागिरी नगरपालिकामा पनि कांग्रेस विजयी भएको थियो । प्रमुखमा निर्वाचित श्याम गिरीले १३ हजार ३०९ मत पाउँदा एमालेका प्रल्लादबहादुर कार्कीले १० हजार ४२१ मत पाएका थिए । त्यस्तै माओवादीका श्रीकृष्ण श्रेष्ठले ३ हजार ८८७ मत मात्रै ल्याएका थिए । 

यस्तै, उपप्रमुख भने एमालेको पक्षमा पर्यो । एमालेकी लिशा नकर्मी ११ हजार ८३४ मत पाएकी थिइन् । वडाहरुमा पनि एमाले अघि देखिन्छ । वडा नम्बर १, ५ , ६, ८, ९, १०, ११, १३, १५ मा एमाले निर्वाचित भएको थियो । कांग्रेस ३, ४, ७ ,१२ , १४ नम्बर वडामा विजयी हुँदा २ नम्बर वडा माओवादीको पक्षमा परेको  थियो । 

सो निर्वाचनमा कांग्रेस र एमालेबीचको मतान्तर २ हजार ८९७ देखिन्छ । गठबन्धन कायमै रहेमा हालको निर्वाचनमा पनि एमालेलाई सहज भने देखिँदैन । 

टोखा नगरपालिका 

टोखा नगर एमालेको हातमा पर्यो । प्रकाश अधिकारी ८ हजार ८९५ मत ल्याएर निर्वाचित भएका थिए । जहाँ निकटतम प्रतिष्पर्धी कांग्रेसका उमेदवार हरिहर अधिकारीले ७ हजार ५१४ मत ल्याएका थिए । माओवादीका उमेदवार कल्पना शर्मा २ हजार ३९२ मत प्राप्त गरेकी थिइन् । 

उप्रमुखमा पनि एमाले निर्वाचित भएको थियो । ज्ञानमाया डंगोल ८ हजार ९८ मतसहित निर्वाचित भएकी थिइन् । 

टोखाका वडाहरुमा पनि एमाले नै बलियो भयो । वडा नम्बर १, ४ , ५, ७, ९ , १० एमालेले जित्दा कांग्रेसले २, ३ , ६, ८, ११ वडा जितेको थियो । 

तारकेश्वर नगरपालिका  

तारकेश्वर नगरपालिका प्रमुखमा पनि एमाले निर्वाचित भएको थियो । नगर प्रमुख बनेका रामेश्वर बोहोराले ९ हजार ३२६ मत पाएका थिए । कांग्रेसका उमेदवार श्रीराम थापाले ७ हजार ७५७ मत ल्याएका थिए । यहाँ एमाले र कांग्रेसबीचको मतान्तर १ हजार ५६९ छ । त्यस्तै माओवादीका धनलाल महर्जनले ३ हजार २२१ मत प्राप्त गरेका थिए । 

यस्तै, उपप्रमुखमा पनि एमाले नै विजयी भयो । भवानी धिताल (डोटेल) ले १० हजार ३३७ मत पाएकी थिइन् ।

वडाहरुमा एमाले नै बलियो बन्यो । वडा नम्बर १, २ , ४ , ५ , ६ , ८ , ९ , १० , ११मा एमाले निर्वाचित हुँदा ३  र ७ मात्रै कांग्रेसको पक्षमा परेको थियो ।

दक्षिणकाली नगरपालिका 

दक्षिणकाली नगरपालिका भने नेपाली कांग्रेसले बाजी मारेको थियो । जहाँ कांग्रेसका मोहन बस्नेतले ४ हजार ६९८ मत ल्याएका थिए । उनको प्रतिष्पर्धी एमालेका शशी शर्मा अर्यालले ४ हजार २६८ मत पाए । बस्नेत र शर्माको मतान्तर भने ४३० मात्रै रहेको थियो । 

जहाँ माओवादीका उमेदवार सञ्जिब लामाले  २ हजार ४८१ मत प्राप्त गरेका थिए । 

यहाँ उपप्रमुख पनि कांग्रेस नै निर्वाचित भएको थियो । वसन्ती तामाङ ४ हजार ७४९ मतसहित निर्वाचित भएकी थिइन् । उक्त नगरपासलिकामा कांग्रेसले २ , ४ , ५, ९  नम्बर र एमालेले एमाले १ , ३, ६ , ७ ,८ नम्बर वडामा विजय हासिल गरेको थियो । 

नागार्जुन नगरपालिका


नागार्जुन नगरपालिकामा कांग्रेस विजयी भएको थियो । मोहनबहादुर बस्नेत ६ हजार ९६१ मतसहित प्रमुखमा निर्वाचित भएका थिए । 

जहाँ एमालेका कृष्णहरि खत्रीले ६ हजार ७२३ मत पाउँदा माओवादीका उमेदवार कुमार तामाङले १हजार ६१९ मत पाए । यहाँ बस्नेत र खत्रीको अन्तर फराकिलो रह्यो । 

यस्तै, उपप्रमुखमा भने एमालेले कब्जा जमायो । एमालेकी शुशिला अधिकारी ६ हजार८७१ मतका साथ निर्वाचित भएकी थिइन् । 

नगरपालिकाको वडाहरुमा कांग्रेसको वर्चस्व रह्यो ।  कांग्रेस ६, ७ , ८ , ९, १० एमाले १, २, ३, ४, र राप्रपा ५ मा विजयी भएको थियो । 

बूढानीलकण्ठ नगरपालिका 

बूढानीलकण्ठ नगरपालिकामा एमालेले कब्जा जमायो । जहाँ उद्धवप्रसाद खरेल  १३ हजार २४६ मत ल्याएर प्रमुखमा निर्वाचित भएका थिए ।  बूढानीलकण्ठमा प्रतिष्पर्धी कांग्रेसका राजु श्रेष्ठले ८ हजार ९२७ मत ल्याउँदा माओवादीका उमेदवार रविन अधिकारीले ३ हजार ७९० मत प्राप्त गरे । 

यहाँ एमाले र कांग्रेसको मतान्तर फराकिलो छ । 

यसैगरी उपमेयरमा एमालेकी रमादेवी राईले १३ हजार १८८ मत ल्याएर निर्वाचित भएकी थिइन् । बूढानीलकण्ठमा वडाहरुमा एमाले १, २, ३, ५, ७ , ८, ९, १०, ११, १२ , १३  वडामा विजयी हुँदा कांग्रेसले ४ र ६  नम्बर वडामात्रै जितेको थियो । 

शंकरापुर नगरपालिका 

शंकरापुर नगरपालिकामा पनि एमालेले कब्जा जमायो । एमालेका सुवर्ण श्रेष्ठले ४ हजार ८६९  मत ल्याएर प्रमुखमा निर्वाचित भएका थिए । 

जहाँ प्रतिष्पर्धी कांग्रेसका शंकर तिवारीले २ हजार ९४७ मत पाउँदा माओवादीका कृष्ण राज सुवेदीले २ हजार ४३६ मत ल्याएका थिए । 

यहाँ उपप्रमुखमा पनि एमाले नै विजयी भएको थियो । एमालेकी शुक्रलक्ष्मी श्रेष्ठले ५ हजार ४३ मत ल्याएकी थिइन् । यहाँ १, २, ५, ८, ९ नम्बर वडामा एमाले विजयी भयो । ४ नम्बरमा कांग्रेस ३ मा माओवादी र र वडा नम्बर ६ र ७ मा राप्रपा विजयी भएको थियो । 

अब के होला ? 

अघिल्लो निर्वाचनमा बलियो नतिजा निकालेको एमाले यो निर्वाचनमा पार्टी विभाजन भएपश्चात् सहभागी हुँदैछ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सत्ता गठबन्धनमा छ । 

कांग्रेस, माओवादी, एकीकृत समाजवादी , जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एक भएर निर्वाचनमा होमिएमा अघिल्लो निर्वाचनको नतिजा जोगाउन गाह्रो हुने एमालेका एक नेता स्वीकार गर्छन् । 

“हाम्रो अवस्था जे भए पनि पाँचवटा एकैतिर भएर आउँदा अघिल्लो निर्वाचनको नतिजा जोगाउन गाह्रै छ नि !” ती नेता भन्छन् । 

तर, एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला भने अघिल्लो निर्वाचनमा जितेभन्दा पनि धेरै पालिकामा जित्ने जिकिर गर्छन् ।

“हामीले अघिल्लो निर्वाचनमा जितेको भन्दा अतिरिक्त पनि जित्छौैं भन्ने प्रारम्भिक मत सर्वेक्षणले देखाएको छ । प्रारम्भिक सर्वेक्षण र शक्ति सन्तुलनमा हामीले पराजय हुनुपर्ने आधार देखेका छैनौं,” उनले बाह्रखरीसँग भने । 

पाँच दलमात्रै नभएर अन्य दल मिले पनि काठमाडौंमा एमाले पराजित नहुने उनको दाबी छ । 

“यो पाँच दलमात्रै होइन । अरु मिलेर आएर पनि काठमाडौंमा एमालेलाई पराजित गर्न सक्दैन । हामी पुरानो बर्चस्वभन्दा अघि बढ्छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro