नेताहरू प्रतिस्पर्धी राजनीतिक दल र नेताहरूप्रति बढी नै आक्रामक हुने गर्छन् । उनीहरूलाई लाग्दो हो जति उग्र, कटु र आक्रमक देखियो उति नै जनतामा प्रभाव पर्छ ।
यदाकदा उग्र र आक्रामक नेतृत्व सफल पनि भएको देखिएको छ । शालीन व्यक्तिहरू राजनीतिमा बिरलै सफल हुन्छन् । दुच्छर, चोथालेहरू नै राजनीतिक दलको नेतृत्वमा पुगेको बग्रेल्ती उदाहरण पाइन्छन् ।
राजनीतिका नाममा समाजमा घृणा र निषेधको विष फैलाउनेहरू चुनावका बेला विशेष सक्रिय भएका छन् । प्रतिस्पर्धीलाई समाज र देशको शत्रुका रूपमा चित्रण गरेर सिध्याइदिने धम्की दिनहुँ दिने गरेको सुनिन थालेको छ ।
नेताले बोल्ने र बोल्न सिकाउने फरेबले समाजलाई भने बढी बिखालु बनाएको छ । स्थानीय निर्वाचन तयारीका क्रममा नेताहरूले गरेको विष वमनले नेपाली समाजको थप अहित गर्ने देखिएको छ ।
हुन पनि अहिलेसम्म राजनीतिक नेतृत्वले समाजमा घृणा, विद्वेष र द्वन्द्व बढाउने अभ्यासमात्रै गरेको देखिन्छ । अपवादबाहेक नेताहरूले सद्भाव, विश्वास र मेलमिलापलाई राजनीतिको विषय बनाउने प्रयास गरेका छैनन् ।
बोलीका आधारमा मूल्याङ्कन गर्ने हो भने नेपालका अधिकांश शीर्ष नेताहरू ‘सर्वसत्तवादी’ प्रमाणित हुन्छन् । विपक्षको अस्तित्व नै निषेध गर्ने र नामोनिसानै मेटाउने चाहना सर्वसत्तावादी मानसिकताकै अभिव्यक्ति हो ।
केही महिना पहिलेसम्म एउटै पार्टीमा रहेका केही कम्युनिस्ट नेताहरूको बोलीले अहिले समाजलाई थप ध्रुवीकृत र विषाक्त बनाउँदै लगेको छ । उनीहरूले अहिले एकअर्काविरुद्ध प्रयोग गरेको निन्दा र गालीलाई सभ्य र स्वच्छ अभिव्यक्ति भन्न सकिँदैन ।
उनीहरू एकातिर आफ्नो पार्टीले हारे देशको शासन पद्धति नै सङ्कट पर्ने भन्दै अरूको बदख्वाइँ गरिरहेका छन् भने अर्कातिर अरूलाई समाप्त पार्ने हुँकार पनि गर्दैछन् । फलस्वरुप, नेपाली समाज अपेक्षाकृत विभाजित र विषाक्त बन्न पुगेको छ ।
राष्ट्रिय अस्मितामै चोट पर्ने र जनमानसमा अविश्वास र त्रास बढ्ने अभिव्यक्तिबाट विवेकहीन कार्यकर्ताको ताली पाए पनि देशको भलो गर्दैन । यसैले परिणामको विचार नगरी बोल्ने शीर्ष नेताहरूलाई कार्यकर्ता र तिनका शुभचिन्तकले संयमित हुन सम्झाउनु जरुरी देखिन्छ ।
शीर्ष नेताको सिको गरेर स्थानीय कार्यकर्ता र नेताले पनि विष वमनको शैली अपाउने जोखिम पनि बढ्दो छ । तर, उनीहरूले हेक्का राख्नुपर्ने के छ भने चुनावमा एकलौटी जित नै भए पनि काम गर्नका लागि विपक्षको सहयोग पनि आवश्यक हुन्छ ।
निषेध र घृणाको साटो सकारात्मक र सिर्जनशील शैली अपनाएर पनि चुनाव प्रचार गर्न सकिन्छ । समाजमा द्वेष र घृणा बढाएर विभाजनमा लैजानुको साटो सद्भाव बढाउने अभ्यास चुनावमा पनि गर्नु जरुरी देखिन्छ ।
देखिएकै छ शीर्ष नेताहरूबीच ‘काटाकाट’ र ‘चाटाचाट’ हुन बेरै लाग्दैन । सत्ता स्वार्थबाहेक उनीहरूको कुनै अडान हुँदैन । यसैले चुनावी प्रतिस्पर्धालाई पनि स्वच्छ र स्वस्थ बनाएर समाजलाई सकारात्मक मार्गमा अभिमुख गरौँ ।
मिति सकिन लागेका विषका थैलाहरूको लहैलहैमा राजनीतिलाई नै बदनाम गर्ने काम गर्नु आत्मघाती हुन्छ । घृणा र निषेधले समाजको भविष्य उज्यालो बनाउन सकिँदैन ।