मस्को । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युद्ध समर्थन र्यालीमा हालै लगाएको एक पफर ज्याकेटको मूल्य औसत रुसी नागरिकहरूको भन्दा २५ गुणा बढी छ ।
‘लोरो पिआना’को उनको ब्रान्डेड ज्याकेट १४ हजार डलरको थियो । त्यसँगै उनले लगाएको घाँटीसम्मको जम्पर इटालियन ब्रान्ड किटनको तीन हजार डलर पर्ने लुगा हो । धेरै देशहरूमा नेताहरूले यसरी अत्याधिक महँगो पहिरन लगाएर सार्वजनिक उपस्थिति जनाउनुलाई आत्मघाती मानिने गरिन्छ । तर पुटिनले भने यसमार्फत फरक सन्देश दिन खोजिरहेका छन् । यसैकारण उनको पहिरनलाई लिएर सबैतिर व्यापक चर्चा सुरु भएको छ ।
यसमा उनको महँगो पहिरनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध सुरु भएदेखि लगाएको साधा हरियो टिसर्टसँग तुलना गरिएको छ । यतिबेला विश्वव्यापी लोकप्रियताको शिखरमा रहेका जेलेन्स्कीको टिसर्टलाई युक्रेनी जनताको बहादुरी र शक्तिको चिन्हका रूपमा हेरिएको छ । जसले रुसी सेना विरुद्ध हस्तान्तरण गर्न अस्वीकार गर्दै कठिन लडाइँ लडिरहेका छन् ।
उता जेलेन्स्कीले पनि अनेकौँ प्रस्ताव आइरहँदा समेत आफ्नो सुरक्षाको ख्याल नगरि राजधानी किभमै रहने अडान लिएका छन् ।
पुटिनले चाहिँ युद्ध समर्थित र्यालीमा त्यस्तो पहिरन लगाउँदै देशमा आफ्नो बहादुर, बलवान र शक्तिशाली छवि कायम रहेको देखाएका छन् ।
यसअघि पनि पुटिनले अत्याधिक महँगा छालाको पहिरन लगाएका तस्बिरहरू सार्वजनिक भएका छन् । त्यस्तै विना हेल्मेट मोटरबाइकमा यात्रा गर्ने, टिसर्ट नलगाई बन्दुक लिई शिकार खेल्ने गरेर उनी ‘माचोम्यान’ का रूपमा प्रस्तुत हुँदै आएका छन् ।
यसले उनको शैलीमा ‘म कसैसँग डराउँदिन, अरू सबै भन्दा माथि छु र शक्तिशाली छु’ भन्ने सन्देश दिन्छ ।
आफूलाई बारम्बार राष्ट्रप्रेमीको संज्ञा दिइरहने भएपनि पुटिनले दुर्लभै रुसमा उत्पादन गरिएका पहिरन लगाउने गरेका छन् । यता जेलेन्स्कीको साधा हरियो टिसर्टले चाहिँ राष्ट्रको पीडा उनले पनि बराबर महसुस गरिरहेको भन्ने संज्ञा दिइरहेको भनेर विश्वव्यापी प्रशंसा पाइरहेका छन् ।
पूर्वकलाकार भएको हुनाले पनि फेसनले अरू मानिसमा कुन किसिमको प्रभाव पार्न सक्छ भन्ने उनले राम्ररी बुझेका छन् । त्यसैले यस किसिमको लडाइँमा आबद्ध हरेक पुरुषले लगाएको साधा सुलभ पहिरन लगाएर उनले आफूलाई पनि जनताकै स्तरमा, सबैसँग समान रूपमा प्रस्तुत भइरहेका छन् ।
त्यस आधारमा पनि पुटिनको पहिरन जेलेन्स्कीको ठिक विपरीत छ । पुटिनले लगाउने गरेका पहिरन प्रायः धनाढ्य वर्गजस्तै जेफ बेजोस या चर्चित कलाकारहरूले लगाइरहेका हुन्छन् । यसकारण नै उनीहरूले अप्रत्यक्ष रूपमा समेत एकअर्कालाई टक्कर दिइरहेको चर्चा चलेको छ । दुवैले फरक फरक तरिकाले शक्ति प्रर्दशन गरिरहेका छन् ।
उता जेलेन्स्कीको ‘सधाबहार हरियो टिसर्ट’ बाट प्रेरित भएर यसअघि फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोँले पनि ‘सीपीए १०’ लेखेको फ्रेन्च स्पेसल हवाइ फोर्सको लोगोयुक्त ‘हुडी’ लगाएका थिए । तर उनले यसमा आगामी अप्रिलको चुनावका लागि छवि सुधार्न देखावटी गरेको भन्ने आरोप लगाइएको छ ।
यो ट्रेन्ड वास्तवमा फिडेल कास्ट्रो, चीनका माओ जेतोङ लगायत धेरै अगाडिका लिडरहरूले सुरु गरेको मानिन्छ जसले पनि आफ्नो शासनमा सैन्य पहिरन लगाउने गर्दथे ।