
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले चलचित्र निर्माणमा डेब्यु गर्न लागेकी छन् । ‘ह्रस्व–दीर्घ’बाट डेब्यु गर्न लागेकी हुन् । यो चलचित्र नीता फिल्मस्मार्फत बन्न लागेको हो ।
‘ह्रस्व दीर्घ’ चलचित्रबाट द्वन्द्व निर्देशक चन्द्र पन्तको पनि निर्देशनमा डेब्यु हुने भएको छ ।
रियल लाइफ जोडी नीता र हरिहर अधिकारी नै रिल लाइफमा पनि जोडी हुने भएका छन् । चलचित्र लब–स्टोरी जनरामा बन्ने जनाइएको छ ।
नीताका अनुसार चलचित्र नेपाली र हिन्दी भाषामा पनि रिलिज गर्ने तयारी छ । “हाम्रो चलचित्रको लगानी छ–सात करोड पुग्ने देखिन्छ । किनभने, हामीले यो नेपाली र हिन्दी दुवै भाषामा रिलिज गर्ने योजना बनाइरहेका छौँ । यसका लागि भारतका केही ओटीटी प्लेटफर्महरूसँग पनि कुराकानी जारी छ ।”
हिन्दी भाषामा पनि रिलिज गरिने भएकाले चलचित्रमा भारतकै केही कलाकार र प्राविधिक टिम पनि हुने नीताले बताइन् । आउँदो साउनमा केही दृश्य छायांकन गरेर ‘ब्रेक’ लिने र दसैँपछि निरन्तर छायांकन गरिने उनले जानकारी दिइन् ।