
सीएनएन । प्रतिबन्धले प्रभावित रुसी अर्थतन्त्रबाट चीनले चुपचाप आफूलाई अलग गरिरहेको छ । गत महिना मात्र यी दुई राष्ट्रले आफूहरूबीचको मित्रता असीमित बिन्दुमा रहेको बताएका थिए । तर, विश्वव्यापी रूपमा रुसमाथिको प्रतिबन्ध बढ्दै गएपछि चीनले आफ्नो 'प्यारो छिमेकी'लाई सहयोग गर्न सक्ने क्षमता सीमित मात्र रहेको प्रमाणित भइरहेको छ ।
सार्वजानिक रूपमा बेइजिङले रुसको कदमबारे कुनै आलोचना गरेको छैन । तर पनि रुसी प्रतिबन्धबाट पुग्न सक्ने असरबाट भने लगातार बच्न खोजिरहेको देखिन्छ ।
मंगलबार मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले स्पेनका अधिकारीहरूसँगको कुराकानीमा भनेका थिए, “युक्रेन संकटमा चीनको कुनै हिस्सा छैन र हामी यो मुद्दामा जारी गरिएका प्रतिबन्ध आफ्ना लागि चाहदैनौँ ।”
युक्रेनका लागि चिनियाँ राजदूतले पनि चीनले कहिल्यै युक्रेनमाथि हमला नगर्ने बताएका छन् । बरु आफूहरू युक्रनेलाई आर्थिक रूपमा सहयोग गर्ने उनले बताएका थिए ।
रुससँगको सम्बन्धका कारण चिनियाँ कम्पनीहरूमाथि पनि अमेरिका र पश्चिमबाट प्रतिबन्ध हुनसक्नेबारे चीन यतिबेला सबैभन्दा बढी चिन्तित छ । यसैकारण चिनियाँ कम्पनीहरूको सेयरमूल्य पनि व्यापक रूपमा घटिरहेको थियो । तर, बुधबार बेइजिङले अर्थतन्त्रमा सुधार ल्याउने र वित्तीय बजार स्थिर राख्ने नीतिबारे वचन गरेसँगै गिरावटमा कमी आएको छ ।
यसअघि रुसले चीनसँग हतियार तथा सैन्य सहायता माग गरिरहेको चर्चा चलेको थियो । तर चीन सरकारले त्यसलाई रूपमा गम्भीर अस्वीकार गरेको थियो । विज्ञहरूकाअनुसार यतिबेला चीन रुसलाई पनि समर्थन गर्ने र अमेरिकालाई पनि रिझाइरहेर सन्तुलन राख्ने प्रयास गरिरहेको छ ।
पश्चिमलाई चुनौती दिन चीन र रुसको रणनीतिक चासो एक समान छ । तर, त्यसकै लागि चीन ठूलो मूल्य चुकाउन भने तयार छैन । चिनियाँ बैंकले अमेरिकी डलर गुमाउनसक्ने स्थिति छैन र यता चिनियाँ उद्योगहरूले पनि अमेरिकी प्रविधिको अभाव खेप्न सक्दैनन् ।
रुसका लागि चीन नै नम्बर १ व्यापारिक साझेदार भएपनि बेइजिङको प्राथमिकता अरू नै रहेको प्रष्ट हुन्छ । चीनको कूल व्यापारमा रुससँगको कारोबार केबल २ प्रतिशत मात्र छ । जसमा युरोपेली युनियन र अमेरिकाको हिस्सा बरु धेरै गुणा बढी छ । त्यसैले पनि रुससँग नजिक हुँदाका फाइदालाई चीनले पश्चिमी लगानीकर्ताले आफूप्रति रुची गुमाउनुको दिर्घकालीन प्रभावसँग तुलना गर्न सक्दैन ।
यसरी चीन रुसबाट पन्छिरहेको अर्को प्रमाण भनेको विमानका पाटपूर्जाको कारोबार बन्द गर्नु पनि हो । अमेरिका र युरोपले प्रतिबन्ध लगाएपछि रुसलाई आफ्ना सम्पूर्ण विमानहरूको उचित व्यवस्थापन गर्न कठिन भइरहेको छ । त्यस्तै विमानको इन्जिन निर्माणमा पनि यसले ठूलो अवरोध पुर्याउँछ । यसको अर्थ अबको केही हप्तामै रुसी एयरलाइन्सले आवश्यक पूर्जा विना विमान उडाउनै नसक्ने अवस्थामा हुने छन् ।
यसअघि रुसी अधिकारीले चीनले विमानका पूर्जाहरू पठाउन अस्वीकार गरेपछि आफूहरूले वैकल्पिक आपूर्तिको खोजी गरिरहेको बताएका थिए । यसमा रुसले टर्की र भारतसँग सम्झौताको प्रयास गरेका पनि चर्चा चलेको थियो ।