site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
घुस लिएर १६६ जनालाई लाइसेन्स दिएको आरोपमा नौविरुद्ध मुद्दा

काठमाडौं । घुस लिएर १६६ जनालाई लाइसेन्स दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित नौ कर्मचारीले सवारीचालक अनुमतिपत्रको विभिन्न मितिमा लिइएको विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित भएका परीक्षार्थीहरूमध्ये १६६ परीक्षार्थीको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स भेइकल रजिस्टर सिस्टम’मा नतिजा अपडेट तथा नतिजा एप्रुभ गर्ने क्रममा पास गरे÷गराएको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, कास्की गण्डकी प्रदेश, पोखराबाट मिति २०७५ मंसिर, २०७६ साल कात्तिक र मंसिरमा सञ्चालन गरिएको सवारीचालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सवारीचालक अनुमतिपत्रको परीक्षामध्येबाट विभिन्न मितिमा सञ्चालन भएको विभिन्न वर्गका सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरूलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरूलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्ने कार्यमा तत्कालीन समयमा उक्त कार्यालयमा कार्यरत निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेलसहित नौजनाको संलग्नता रहेको पाइयो,” अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो कार्यमा पौडेलसहित तत्कालीन समयमा सोही कार्यालयमा कार्यरत शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौँ भरतराज काफ्ले, अधिकृतस्तर सातौँ प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैटौँ डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैटौँ होमनाथ शर्मा, कम्प्युटर अपरेटर  (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौँ भरतमणि बराल समेतकोसंलग्नता रहेको अख्तियारको आरोप छ ।

उनीहरूले ०७५ मंसिर र ०७६ साउनदेखि मंसिरसम्म सञ्चालन गरिएको सवारीचालक अनुमतिपत्रको विभिन्न मितिमा लिइएको विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित भएका परीक्षार्थीहरूमध्ये १६६ परीक्षार्थीलाई उत्तीर्ण गराएको अख्तियारले जनाएको छ ।

यस्तै, दुईजना प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीलाई नतिजा अपडेट गर्दा अनुत्तीर्ण गरी गराई १६८ जना परीक्षार्थीको प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको आख्तियारको आरोपपत्रमा उल्लेख छ ।

“प्रयोगात्मक (ट्रायल) परीक्षामा खटिने निरीक्षकहरूले हस्ताक्षरसहित पेस गरेको नतिजा सूची (चेक लिस्ट) ट्रायल टेस्ट सड्युल रिपोर्ट उपलब्ध गराई सोही नतिजाको आधारमा ट्रायल टेस्ट अपडेट र अप्रुभ हुनुपर्नेमा सोविपरीत हुने गरी फेल तथा अनुपस्थित रहेका परीक्षार्थीहरूलाई पास र पास भएका परीक्षार्थीहरू फेल गरी गराई परीक्षाको परिणाम फेरबदल गर्दा समेत निज निमित्त कार्यालय प्रमुख समेतले संलग्न कर्मचारीहरूलाई कुनै प्रकारको विभागीय कारबाही गरेको देखिएन,” अख्तियारको विज्ञप्तिमा भनिएको छ, “निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेलसहित निजहरूको  उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले सोही दफाबमोजिमको अधिकतम सजायको माग दाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको ।”

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्