साहित्य
सोमबार बिहान सिताराम कट्टेल (धुर्मुस) सिन्धुपाल्चोकको गिरानचौरस्थित एकीकृत नमुना बस्तीमा पिलर हाल्नका लागि मसला बनाइरहेका थिए । दिउँसोको त्यस्तै साढे एक बजेको हुँदो हो, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाशले फोन गरेर भने, ‘बुबा हजुरले हजुरसँग भेट गर्न चाहिसेको छ ।’
सितारामले भने, ‘म काम गरिरहेको छु । भन्नेबित्तिकै समय निकाल्न सक्दिनँ । भेट्ने दिनभन्दा दुई दिनपहिले खबर गर्नुहोला ।’
प्रचण्ड पुत्र प्रकाशले पनि हुन्छ भने ।
त्यसको भोलिपल्ट फेरि प्रकाशले सितारामलाई फोन गरेर बुधबार बिहान आठ बजे प्रचण्डले भेट्न चाहेको बताए । सितारामले पनि हुन्छ भने र आए काठमाडौं ।
बुधबार बिहान बिहान आठ बजे धुर्मुसको टोली प्रम निवास बालुवाटार पुग्यो । तोकिएकै समयमा प्रचण्ड बैठक कोठामा देखा परे ।
भेटमा प्रचण्डले के भन्नुभयो त ?
बाह्रखरीको प्रश्नमा सितारामले भने, “सरकारको अहिलेको प्राथमिकता पुनर्निर्माण नै हो । हामीले चाहेको र गरिरहेको पनि पुर्निर्माण नै हो । तपाईंले राज्यले गर्ने काम गरिरहनु भएको छ । यसमा हाम्रो पूर्ण साथ छ । केही सहयोग गर्नुपर्छ भने भन्नुस्, सरकार सहयोग गर्न तयार छ भन्नुभयो प्रधानमन्त्रीले ।”
प्रधानमन्त्रीले सहयोग गर्न तयार छु भन्दा के सहयोग माग्नुभयो ?
पहिला पनि सरकारले सहयोग गरेकै हो । सामान बोक्न ट्रिपर उपलब्ध गराएको थियो । अहिले पनि नेपाली सेनाले श्रमदान गरिरहनु भएको छ । हाम्रो आफ्नो पहलमा काम भए पनि सरकारसँगै समन्वय गरेर काम भइरहेको छ । त्यसैले भवन निर्माणका लागि आर्थिक सहयोग चाहिँदैन । हामीले काम गरिरहेको बस्तीसम्म पुग्ने बाटो, विद्युत् र खानेपानीको व्यवस्था गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेँ ।
सन् २०१७ लाई सफाई वर्ष मनाउने सिलसिलामा हामी (धुमुस र सुन्तली)लाई सरसफाई दूत बनाइएको छ । लक्ष्यअुसार काम गर्ने हो भने अलिकति बढी हामीलाई अधिकार दिनुहोस् । हाम्रो यसमा केही स्वार्थ छैन । खुला दिसामुक्त नेपाल र सबै ठाउँमा ल्यान्डफिल्ड साइट बनाउन सकिने वातावरण बनाउन जिम्मेवारी दिनुपर्यो । यो मैले मेरो स्वार्थका लागि भनेको होइन । देशको लागि गरेको हुँ भनेर भनेँ ।
हुन्छ भन्नुभयो त ?
सकारात्मक हुनुहुन्छ उहाँ । भूकम्पले क्षति पुर्याएको ठाउँमा सामूहिक बस्ती निर्माण गरेर उदाहरणीय काम गर्नुभएको छ । विकासको पहिलो चरण यही नै हो । राज्यले गर्ने पनि यही नै हो । सरकार सहयोग गर्न तयार छ भन्नुभयो ।
अरु सहयोगको प्रतिबद्धता र आश्वासन पनि दिनुभयो कि ?
उहाँले एकीकृत बस्ती भ्रमण गर्छु भन्नुभएको छ ।
कहिले आउँछु भन्नुभएको छ ?
यसै दिन भनेर समय त तोक्नुभएको छैन । कुनै दिन मिलाएर आउँछु भन्नुभएको छ ।
प्रचण्डलाई तपार्ईंको सुझाव ?
एकीकृत बस्तीमा गएर, भ्रमण गरेर मात्रै हुँदैन । त्यस्तै अरु बस्ती पनि बनाउनुपर्छ । तत्काल पुनर्निर्माणको सबैभन्दा राम्रो र उत्तम विकल्प भनेको यही ढाँचा हो । यसलाई ‘फलो’ गर्ने हो भने एक वर्षमै पुनर्निर्माणको काम सकिन्छ । भूकम्पले ध्वस्त पारेका ठाउँमा मिनिमार्केट बन्छ । विकासको चरण त्यहीँबाट सुरु हुन्छ । सबै लाग्ने हो भने भूकम्पले ध्वस्त भएका ठाउँमा एक वर्षमै पुनर्निर्माण कार्य सकिन्छ ।
सरकारी निकायलाई तपाईंको सुझाव के छ ?
अहिलेको मुख्य आवश्यकता पुनर्निर्माण नै हो । सरकारले यसमा ध्यान दिनुपर्छ । सरकारले दिने भनेको रकम पनि तत्काल दिनुपर्छ । हुन त त्यीि पैसाले घर बन्ने होइन, तर सहयोगका लागि प्रतिबद्धता जनाएको कुरा भने पूरा गर्नुपर्छ । एकीकृत बस्ती बसाउन सकिने ठाउँहरूको अध्ययन गरेर हामं्रो अवधारणामा अघि बढ्नुपर्छ ।
अघिल्ला सरकार प्रमुखसँग पनि तपाईंको भेट भइरहन्थ्यो, सरकारले दिने आश्वासन मात्रै रहेछ कि सहयोग पनि गर्दा रहेछन् ?
अघिल्लो सरकारले हामीलाई ढुवानीका लागि गाडी सहयोग गरेको थियो । प्रचण्ड सरकार आएको दुई हप्तामात्रै भयो । उहाँले तत्काल भूकम्पपीडितलाई सहयोगस्वरूप दिने रकम दिने भन्नुभएको छ । हामीलाई भन्दा पनि जनताका लागि काम गरिदिनुपर्यो किनकि जनता पीडित छन् । विकास जनतामुखी हुनुपर्यो । सरकारका कामकारबाही जनतामुखी हुनुपर्यो ।
केपी ओली र प्रचण्डमा तपाईंले व्यक्तिगत रूपमा पाउनुभएको फरक के हो ?
व्यक्तिगत टिप्पणीमा नजाऊँ । केपी ओलीज्यूसँग धेरै पटक व्यक्तिगत भेटघाटमा पनि हामी थियौं । प्रचण्डज्यूसँग दोस्रो भेट हो यो । उहाँसँग व्यक्तिगत कुरा भएनन् । देशको विकासका विषयमा कुरा भयो, पुनर्निर्माणका विषयमा कुरा भयो । कसरी आपसी सहयोगमा अगाडि बढ्न सकिन्छ भनेर कुरा भयो । सरकार छ, सहयोग गर्छ, अगाडि बढ्नुस् भन्ने कुरा गर्नुभयो । ओलीज्यू पनि यही भन्नुहुन्थ्यो ।
प्रचण्डलाई भेट्न भनेर मात्रै काठमाडौंं आएका सिताराम भोलि बिहानै सिन्धुपाल्चोक फर्किंदैछन् । उनीसँग पुनर्निमार्णको उपायका ठूलै योजना छन् । कतिपय योजना अहिले भन्न नमिल्ने भन्दै उनले थप बताएनन् । ढिलो–चाँडो सरकारले काम गर्ला भन्ने उनको विश्वास छ । र, उनीसँग पुनर्निर्माणका लागि सरकारलाई सहयोग गर्ने ठूलो मन छ ।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७३ १५:४०
प्रतिक्रिया दिनुहोस्