
काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा मतपत्रको रङ सम्बन्धमा गरेको निर्णयलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेपछि राजनीतिक तरंग सिर्जना भएको छ । निर्वाचन आयोगले हरियो रङको मतपत्र बनाउने निर्णय गरेपछि ओलीले आपत्ति जनाएका थिए ।
सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनाव चिह्न रुख हरियो हुने भएकाले आयोगले प्रभावमा त्यसो गर्न लागेको जनाएका थिए ।
निर्वाचन आयोगले भने मतगणनामा सहजताका लागि हरियो रङ प्रयोग गर्ने निर्णय गरेको बताएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतपत्रको चिह्न र स्वस्तिक चिह्नको रङमा फरकपन ल्याउनका लागि हरियो रङ प्रयोग गर्ने निर्णय भएको बताउँछन् ।
“हामीले २०७४ को निर्वाचनमा प्रयोग भएको मतपत्रमा चिह्नको रङ निलो थियो । हामीले सधैँ स्वस्तिक छापमा प्रयोग गर्ने मसिको रङ पनि निलो नै छ । चिह्न र स्वस्तिक छापमा गरिने चिह्नको रङ एउटै हुँदा गणनामा अप्ठ्यारो भयो,” उनी भन्छन् ।
रातको समयमा गणना गर्दा स्वस्तिक छाप लागे नलागेको छुट्याउन गाह्रो भएकाले यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।
चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङ फरक पार्न यस्तो निर्णय गरिएको उनको भनाइ छ ।
विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग भइसकेको आयोगको भनाइ छ ।
आयोगको अर्का एक पदाधिकारी मतपत्रमा रङ प्रयोग गर्ने विषयलाई राजनीतिकरण गर्न नहुने बताउँछन् ।
“मतपत्रको रङको निर्णय आयोगले गर्ने हो । यसलाई राजनीतिकरण गर्नुपर्छ जस्तो लाग्दैन,” उनी भन्छन्,“ चुनाव चिह्न र स्वस्तिक छापको रङ चाहिँ फरक भयो भने मतगणना गर्न सहज हुन्छ । सोहीअनुसार हरियो रङ प्रयोग गर्ने निर्णय भएको हो ।”
कुन निर्वाचनमा कस्तो मतपत्र ?
राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनको मतपत्रमा सेतो पृष्ठभूमिमा कालो चुनाव चिह्नको प्रयोग गरिएको थियो । निर्वाचन आयोगले म्युजियममा राखेको मतपत्रको नमुनामा सोही चिह्न प्रयोग भएको देखिन्छ ।
त्यस्तै २०४८ सालको प्रतिनिधि सभा निर्वाचनको मतपत्रमा रातो रङको प्रयोग गरिएको देखिन्छ । २०४८ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा उमेदवारहरुको नाम मात्रै राखिएको थियो ।
त्यतिबेला उनीहरुलाई चुनाव चिह्न दिइएको थिएन । सो मतपत्रमा रातो रङको प्रयोग भएको देखिन्छ । त्यसैगरी २०५१ सालको प्रतिनिधिभा निर्वाचनमा पनि चुनाव चिह्नमा रातो चिह्नको प्रयोग गरिएको थियो ।
त्यसैगरी २०५४ सालको स्थानीय चुनावको मतपत्रमा सेतो पष्ठभूमिमा रातो रेखा र रातै रङ राखिएको देखिन्छ । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनको चुनाव चिह्नमा रातो रङको मतपत्र राखिएको थियो ।
२०५८ सालको राष्ट्रिय सभा निर्वाचनको मतपत्रमा कालो रङ राखिएको थियो ।
२०६४ सालको प्रत्यक्षतर्फको निर्वाचनमा निलो पृष्ठभूमिमा कालो चुनाव चिह्न भएको मतपत्र राखिएको थियो । त्यस्तै समानुपातिकतर्फको मतपत्रमा भने रातो रङको राखिएको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा चुनाव चिह्नको रङ निलो प्रयोग भएको थियो । राष्ट्रियसभा निर्वाचनमा भने निलो र रातो रङको प्रयोग भएको आयोगले जनाएको छ ।
२०७४ सालको निर्वाचनमा स्वस्तिक छापमा प्रयोग गर्ने रङ पनि निलो रहेको निर्वाचन आयोगले जनाएको छ ।
तस्बिर : हरिश क्षेत्री