
लन्डन । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् ।
रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायत देशमा पुगेको जानकारी दिएका छन् ।
समितिका अनुसार मंगलबारसम्म २३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् ।
रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी किभमा रहेका सम्पूर्ण नेपालीहरुले युक्रेन छोडेको जानकारी दिए । उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विधार्थीहरु चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए । उनले पश्चिमी मुलुकहरुले रुससँगको हवाई उडानमा प्रतिवन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीहरुमा समेत संसय थपिएको बताए ।
एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरुलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जानकारी दिए ।
उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीहरुले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए ।
बैठकमा युक्रेनको युद्धबाट ४ दिन हिँडेर बाँचेका दाङका बिक्रम खड्काले युद्धमा परेका बेला सामना गरेको कठिनाइ सुनाएका थिए । उनले युक्रेनदेखि हङगेरी पुग्दा बाटोमा बम पड्केको र ठूल्ठूलो आवाज सुनेको बताए ।
यसैबीच, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्ध पीडितको उद्धारको लागि सोमवारदेखि पोल्याण्डको सीमा क्षेत्रमा आफै खटिएको र नेपाली राजदूत रामकाजी खड्काले बुधबारदेखि सीमा क्षेत्रमा आफै खटिएर नेपालीहरुको उद्धार गर्ने तयारीमा लागेको रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।