site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
२० वर्षदेखि युरोपमा गल्फ प्रशिक्षणमा रमाएका सुविन 

सुविन सापकोटा, व्यावसायिक गल्फर हुन् । धरानमा जन्मिएर धरान गल्फ कोर्समा रमाउँदै हुर्किएका सापकोटा पछिल्लो २० वर्षबढी समयदेखि जर्मनीमा बस्दै आएका छन् । साढे ४ वर्षको उमेरदेखि नै गल्फ कोर्समा जाने अवसर पाएका उनले कहिल्यै सोचेका थिएनन् कि युरोपमा गएर गल्फ प्रशिक्षक बन्छु भन्ने ।  

तर, विगत २० वर्षदेखि जर्मनीमा सर्टीफाइड गल्फ ट्रेनरको रुपमा काम गर्दै आएका छन् । सन् २००० मा जर्मनी जानुअघि सन् १९९८ मा व्यावसायिक गल्फ खेलाडी बनिसकेका थिए सुविन । भारतमा ‘क्वालिफाइड खेलेर प्रोफेसनल’ खेलाडी भएका थिए ।

इन्डियन टुर खेलेपछि सन् २००० मा भिजिटका लागि उनी जर्मनी गए । उनका बुबा जर्मनीमै थिए । उनी जर्मनी गएको बेलामा बुवालाई सघाउँदा गल्फ क्लब सञ्चाकलहरुले उनलाई मन पराए । “लगत्तै असिस्टेन्टको रुपमा काम सुरु गरे । सन् २००१ देखि गल्फ प्रशिक्षकको रुपमा जर्मनीमा काम गर्दै आएको छु,” उनले बाह्रखरीसँगको कुराकानीमा भने । 

Dabur Nepal

सुविनले धरानमा नै गल्फ खेल्न सिकेका हुन् । उनका बुवा धरान गल्फ क्लबमा क्याडीब्वाई, क्याडी मास्टर हुँदै व्यावसायिक खेलाडी बने, प्रशिक्षक पनि । त्यसको फाइदा सविनलाई भएको हो । “म ४/५ वर्षको हुँदादेखि नै यो धरान गल्फ कोर्समा आइरहन्थेँ, गल्फ सिक्थेँ । सन् २००० सम्म यहीँ गल्फ खेलेँ,” उनले भने, “यहाँ सिकेको ज्ञान युरोपमा प्रयोग गरिरहेको छु ।”

सन् २००१ देखि निरन्तर जर्मनी नै बसोबास भए पनि वर्षमा एक पटक नेपाल आउने गरेको उनले सुनाए । धरानमा बस्दा गल्फ त खेल्नेसँगै मौका पाएको बेलामा प्रतियोगिता पनि खेल्ने गर्छन् । “धरानमा आउँदा जुनियरहरुलाई प्रशिक्षण दिने काम पनि गर्दै आएको छु, यसले मलाई निकै खुसी दिन्छ,” उनी भन्छन् । 

जर्मनीको गल्फ क्लब ड्रेसडेन हेल्भफ्लोरेन्जमा उनी आवद्ध छन् । त्यहाँ उनले साढे ३ वर्षका जुनियरदेखि ८२ वर्षसम्मका सिनियर व्यक्तिलाई गल्फ तालिम गराइसकेका छन् ।  

उनी कार्यरत गल्फ क्लबमा करिब ८०० जना सदस्य छन् । त्यहाँ भएका जति पनि खेलाडीहरु छन् प्रायः सबै खेलाडीले उनीबाटै प्रशिक्षण लिएका छन् । 

उनले बैंकमा काम गर्नेदेखि बिजनेस म्यानहरु, आर्मी, प्रहरी, फुटबलसहित अन्य खेलाडीलाई गल्फको प्रशिक्षण दिएका छन् । 

“गोल्ड मेडलिष्टहरु जस्तो रोबिन्को, क्र्याथलन्को जस्ता खेलाडीहरु पनि गल्फ खेल्छन् । मैले सिकाएका गल्फ खेलाडीहरु ३÷४ जना बुड्नेसलिगा खेल्ने गर्छन् । त्यस्तै एक जना अमेरिकाको गल्फ कलेजमा छन्,” उनले भने । 

६ महिनामा हजारदेखि १५ सय घण्टा त गल्फ सम्बन्धी सैद्धान्तिक शिक्षा मात्रै दिन्छन् । 

उनी गल्फको सर्टिफाइड ट्रेनर हुन् । उनैले गल्फ क्लब ड्रेसडेन हेल्भफ्लोरेन्जमा गल्फ खेल्न इच्छुकहरुलाई तालिमसँगै लाइसेन्स पनि दिन्छन् । ट्रेनरले लाइसेन्स दिएपछि मात्रै गल्फ क्लबमा आउन र खेल्न पाइने नियम रहेको उनले सुनाए । 

वार्षिकरुपमा करिब ८० जनालाई गल्फको लाइसेन्स दिँदै आएका उनले जर्मनी गएपछि करिब १६०० जनालाई गल्फ खेल्नका लागि लाइसेन्स दिइसकेका छन् । 

“जर्मनीमा गल्फ खेल्नको लागि ड्राइभिङ लाइसेन्स जस्तै गल्फ लाइसेन्स बनाउनुपर्छ । त्यो लाइसेन्स गल्फ प्रशिक्षकबाट मात्रै पाइन्छ । लाइसेन्स पाउनको लागि परीक्षा दिनुपर्छ, त्यसका लागि पास हुनुपर्छ । प्लेइङ एबिलिटी पनि हुनुपर्छ । पानीमा, जंगलमा बल गयो भने कसरी खेल्ने, कुन डाइरेक्सनमा खेल्ने, बल हरायो भने कसरी खेल्ने, पानीमा बल गयो भने कसरी खेल्ने जस्ता विषयमा परीक्षा हुन्छ, त्यसमा पास हुनुपर्छ । त्यसपछि मात्रै लाइसेन्स पाइन्छ । परीक्षाको आधारमा मैले नै लाइसेन्स दिँदै आएको छु,” उनले भने । 

गल्फलाई निकै महङ्गो खेलको रुपमा लिइन्छ । यसलाई ‘इन्डिभ्यूजअल गेम’ का रुपमा पनि लिइन्छ । नेपालसहित हङकङ, कोरिया, जापानलगातका मुलुकमा गल्फ निकै महङ्गो पर्ने भए पनि युरोपमा भने त्यस्तो नरहेको उनले बताए । “जर्मनीमा धनी, पैसा भएका मान्छेले मात्रै खेल्ने गर्दैनन् । खेल्ने सामग्री पनि सस्तो पर्छ । खेल्नको लागि मेम्बरसिप लिनको लागि पनि महङ्गो पर्दैन । किनभने त्यहाँ गल्फकोर्स पनि धेरै छन् । एउटै सहरमा ३/४ वटा गल्फ कोर्स छन् । यूरोपमा गल्फलाई महङ्गो खेलको रुपमा हेरेका हेरिँदैन,” उनी भन्छन् ।

गल्फ खेल्न महङ्गो नै नपर्ने भएता पनि युरोपमा इलिट वर्गले खेल्ने खेल हो भनेर लिने गरिएको भने उनले बताए । 

जर्मनीमा ट्रेनिङ टुल्स छिटो र सस्तोमा पाइने भएता पनि नेपालमा गल्फका सामग्री पाउन गाह्रो पर्ने र महङ्गो पनि हुने उनले बताए । “तर, नेपालमा राम्रो के छ भने ‘पे एण्ड प्ले’ सजिलो छ,” उनले भने । 

उनले हरेक आइतबार बालबालिकालाई गल्फ सिकाउँछन् ।

अभिभावकहरु गल्फ खेल्ने आउने र बच्चाहरुलाई पनि गल्फ नै सिकाउने गरेको उनले बताए । 

“गल्फ खेल्ने समयमा बच्चाहरुको हेरचाह पनि हुने भयो, सँगै गल्फको तालिम पनि हुने भयो । त्यसैले साढे ३ वर्षका बच्चाहरु पनि मेरो जिम्मामा दिन्छन्,” उनले भने । 

साढे ३ वर्षको उमेरमा उनीसँग गल्फ सिकेका बच्चा अहिले राम्रो गल्फ खेल्ने भइसकेका छन् । 

धेरै उमेर भएपछि गल्फमा आउनेहरु पनि रहेको उनले बताए । त्यसको कारण स्वस्थ रहनको लागि भएको उनले बताए । “३÷४ घण्टा एक्लै हिँड्न मन लाग्दैन तर गल्फ खेल्दा ३÷४ घण्टा सहजै जान्छ । १८ होल गल्फ खेल्दा ४ घण्टा त्यत्तिकै बित्छ, थाहा नै हुँदैन । ४ घण्टा गल्फ खेल्दा करिब १० किलोमिटर सहजै हिँड्ने वातावरण बन्छ,” उनले भने, “त्यसैले सिनियर व्यक्तिहरु पनि गल्फ खेल्ने गर्छन् ।”
गल्फ खेल्न र सिक्न सजिलो हुने भएका कारणले पनि उमेर पुगिका व्यक्तिहरु पनि गल्फमा रमाउने गरेको उनले बताए । 

गल्फबाट पर्यटक तान्न सकिन्छ !

नेपाललाई गल्फका माध्यमबाट गल्फ पर्यटन बढाउन सकिने ठूलो सम्भावना रहेको उनले बताए । त्यसका लागि गल्फकोर्स पर्याप्त हुनुपर्ने उनी बताउँछन् । “नेपालमा धेरै रमणीय ठाउँछन् । समुन्द्र सतहदेखि ७/८ सयको उचाईमा राम्रा राम्रा ठाउँ छन् । बुटवल भैरहवा, पश्चिमतिर गल्फ कोर्स बनाउन सक्ने हो भने विदेशी गल्फरलाई पनि तान्न सकिन्छ,” उनी भन्छन् । 

नेपालमा धेरै गल्फ खेलाडी जन्माउन र विदेशीलाई आकर्षण गर्न धेरै गल्फ कोर्सको आवश्यकता रहेको उनले सुनाए । 

“जति पनि जर्मन साथीहरु नेपाल घुमेर फर्किएका छन्, उनीहरुले बेस्ट प्लेस, सेक्यूअर प्लेस भनेका छन् । उनीहरु पटक पटक नेपाल आउँन चाहन्छन् । गल्फ कोर्स बनाउने र यसको प्रबद्र्धन गर्ने हो भने गल्फका माध्यमबाट पनि नेपालमा पर्यटक भित्र्याउन सकिने सम्भावना धेरै छ,” उनी भन्छन् ।

सापकोटाको ४ जनाको परिवार छ । १८ वर्षकी छोरी पनि गल्फ खेल्ने गरेको उनले बताए । “अन्डर १६ र अन्डर १८ को खेलमा स्टेट च्याम्पियन बनिसकिन् र अन्डर १६ र अन्डर १८ मा दुई पटक तेस्रो भइन्,” उनले भने । उनका छोरा भने २ वर्ष मात्र भएका छन् । 

आफ्नो काममा निकै सन्तुष्ट रहेको उनले बताए । उनले गल्फबाट चाहेको भन्दा बढी पाएको समेत बताए । “यो प्रोफेसनमा म एकदम सन्तुष्ट छु । मैले चाहेको भन्दा बढी पाएँ । यत्तिको ठाउँमा म पुग्नेछु, जर्मनीमा गएर जर्मन भाषामा युरोपेली नागरिकलाई गल्फ सिकाउनेछु भन्ने मैले सोचेको पनि थिइनँ । मैले सोच्दै नसोचेको अवसर पाएँ ।” 

तस्बिर : सुनिल प्रधान

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro