
न्युयोर्क । नेपालका स्थानीय कम्पनीहरूलाई विकास र सहयोग गर्ने उद्देश्यले स्थापित संस्था बिजनेस अक्सिजन प्राइभेट लिमिटेड (बीओटू)ले नेपालस्थित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिभा र शिक्षाको क्षेत्रमा काम गरिरहेको संस्था फ्युजमेसिनमा १० लाख अमेरिकी डलर वैदेशिक लगानी गरेको छ ।
प्राप्त रकमबाट फ्युजमेसिनले आफ्नो नेपालमा रहेको कार्यालयमा २०० नयाँ इन्जिनियरहरू थप गर्ने बताएको छ । साथै नेपालमा एआई शिक्षा र दक्षता विकासमा खर्च गरिने संस्थाले जानकारी दिएको छ ।
बिजनेस अक्सिजन प्राइभेट लिमिटेडका अध्यक्ष सिद्धान्तराज पाण्डेले फ्युजमेसिनले नेपालको एआई शिक्षा र रोजगारीको क्षेत्रमा परिवर्तन ल्याउनमा आफूहरू आशावादी रहेको बताए ।
“फ्युजमेसिनले नेपालको एआई शिक्षा र रोजगारीको परिदृश्यमा ठोस परिवर्तन ल्याउन सकेकोमा हामी प्रशंसा गर्दछौँ । साथै फ्युजमेसिनको एआई प्रतिभा उत्पादन गर्ने लक्ष्यमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौँ,” बिजनेस अक्सिजन प्राइभेट लिमिटेडका अध्यक्ष पाण्डेले भने ।
फ्युजमेसिनका प्रमुख कार्यकारी अधिकृत समीर मास्केले पनि बीओटूले गरेको पछिल्लो लगानीले नेपालमा थप नयाँ र विश्वसनीय प्रतिभा थप्दै संस्थाको प्रयासलाई थप बलियो बनाइने बताए ।
“हामीले सन् २०१८ मा नेपालमा एआई शिक्षा अभियानको सुरुवात गरेदेखि हामी निरन्तर प्राविधिक तथा अप्राविधिक व्यक्तिहरूलाई एआईको पुन: सिप र दक्षता विकास गर्न प्रयासरत छौँ,” उनले भने ।
फ्युजमेसिनले विगतमा नेपालका शैक्षिक संस्थाहरूसँग रणनीतिक तालिम साझेदारीसँगै विभिन्न एआई शिक्षा सम्बन्धी कार्यक्रमहरू गर्दै आएको छ ।