site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिकेटमा विवाद : संस्था बलियो कि व्यक्ति ?
SkywellSkywell

काठमाडौं । पछिल्लो समय नेपाली क्रिकेट तरंगित बनेको छ । कारण हो, नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीमुक्त गरी सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गर्नु । साथै क्यानले ज्ञानेन्द्रसहित चार खेलाडीलाई आगामी ६ महिनासम्मका लागि सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गर्नु । 

सामान्य रुपमा हेर्दा यो खेलाडी र क्यानबीच जुंगाको लडाईँजस्तो देखिएको छ । एक हिसाबले त्यो हो पनि । तर यसको मूल विषय संस्था बलियो कि व्यक्ति भन्ने नै हो । विवादको जड क्यानले सेन्ट्रल कन्ट्रयाक्टका लागि गरिएको खेलाडीको बर्गीकरण हो । जसमा खेलाडीले असन्तुष्टि जनाए । असन्तुष्टि मिडियामा आयो । क्यानले अनुशासन उल्लङ्घन भएको भन्दै स्पष्टीकरण सोध्यो । खेलाडीले ‘उल्टै क्यानलाई गल्ती’ देखाए । क्यानले पुनः स्पष्टीकरण सोध्यो, ‘जवाफ उस्तै आयो’ । क्यानले चार खेलाडीलाई आगामी ६ महिनाका लागि सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गर्‍यो । कप्तान र उपकप्तान परिवर्तन गर्‍यो । सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गर्‍यो ।

भएको यही हो । अब खेलाडीले क्यान उक्त निर्णयबाट पछि हट्नुपर्ने अडान राखेको छ । क्यान खेलाडीले गल्ती स्वीकार नगरे निर्णयमा अडिग रहने जनाएको छ । प्रश्न यही हो कि, संस्था बलियो कि व्यक्ति ? यसको जवाफ स्वाभाविक रुपमा संस्थासँग हुनुपर्ने हो । तर त्यसो हुन सकेको छैन । यो विवाद राखेप, मन्त्रालय हुँदै प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका शीर्ष नेतासम्म पुगिसकेको छ । 

KFC Island Ad
NIC Asia

क्यानले गत बुधबार निर्णय सार्वजनिक गर्नेबित्तिकै राष्ट्रिय टोलीमा अन्य खेलाडीले ‘आई एम डन टु’ भनेर विरोध जनाए ।

शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले खेलाडीमाथि क्यानले गरेको कारवाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराए । प्रधानमन्त्री देउवाले सीधै क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर ‘खेलाडी कारवाहीको विषय के हो ? यसलाई छिट्टै सामाधान गर्नुहोस्’ भनेर निर्देशन दिए । 

Royal Enfield Island Ad

सोही दिन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले क्यान पदाधिकारीलाई मन्त्रालयमै बोलाएर खेलाडीको कारवाहीबारे पूनर्विचार गर्न निर्देशन दिए । तथापी क्यान पदाधिकारीले सरकारी हस्तक्षेप भए आईसीसीले हस्तक्षेप गर्नसक्ने भन्दै सचेत गराएपछि मन्त्री हच्किएका थिए । तथापी उनले पूनर्विचारका लागि क्यान पदाधिकारीलाई आग्रह गरेका छन् । 

युवा तथा खेलकुद मन्त्रीदेखी प्रधानमन्त्रीसम्मको चासो बढेपछि हौसिएका खेलाडीले शुक्रबार साँझ ५ बजे पत्रकार सम्मेलन गरे । उनीहरुले आफुहरुले कुनै गल्ती नगरेको र क्यानले आफ्नो निर्णयमा पूनर्विचार नगरे नखेल्ने भनि घुमाउरो भाषामा चेतावती दिए । 

“गल्ती गरेको भए माफी माग्ने हो । तर, हामीले खेलाडीको हकहितको विषयमा बोल्नै नपाउने भन्ने त होइन होला । पुनर्विचार होस् पहिला अनि मात्र खेल्ने कुरामा सोचौँला । तथापि हामी नखेल्ने भन्ने होइन । खेलाडी वर्गीकरणको विषयमा पुनर्विचार होस्,“ उनीहरूले पत्रकार सम्मेलनमा भनेका छन् ।

त्यसको प्रभाव यु–१९ क्रिकेट टोलीको तयारीमा पनि परेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)मा अर्को साताबाट हुने एसिया कपको तयारीका लागि युवा टोलीले बिहीबार उपलब्ध राष्ट्रिय खेलाडीको टोलीसँग अभ्यास खेल्ने योजना थियो । तर राष्ट्रिय खेलाडीको टोली उपलब्ध भएन । त्यस्तै शुक्रबार राष्ट्रिय टोलीमा पर्ने सम्भावना बोकेका खेलाडीहरुसँग खेल्ने योजना बनाइयो । तर उनीहरु पनि खेल्नका लागि तयार हुन सकेनन् । 

शुक्रबार खेलाडीले पत्रकार सम्मेलन गरी सर्वसाधारणको भावना आफुतिर आकर्षित गर्ने प्रयास गरे । त्यसमा उनीहरु एक हदसम्म सफल पनि भए । जुन सामाजिक सञ्जालमा पनि देखिएको छ । क्रिकेटमा चासो राख्नेले खेलाडीको कारवाही फिर्ता होस भनी धारणा राखेका छन् । घटनालाई नजिकबाट नियालेकाहरुले अनुशासनको कारवाही सही भएको धारणा पनि व्यक्त गरेका छन् । 

तथापी चौतर्फी दबाब भए पनि क्यान आफ्नो निर्णयमा अडिग छ । कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले क्यान आफ्नो अडिग रहेको बताएका छन् ।  

पछिल्ला घटना केही प्रश्न उब्जिएका छन् । 

१. क्यानले कारवाही किन गर्‍यो ?

क्यानले अप्रिल २०२१ देखी डिसेम्बरसम्मका लागि ‘सेन्ट्रल कन्ट्रयाक्ट’ गर्न खेलाडी वर्गीकरण गरेको थियो । त्यसमा खेलाडीहरुको विरोध थियो । खेलाडीले मिडियामा गएर बोल्न थालेपछि क्यानले कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह, सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टीकरण सोधेको थियो । खेलाडीले स्पष्टीकरणमा उल्टै क्यानलाई दोषी देखाएको बताइएको छ । 

साथै खेलाडीहरुले क्यानलाई एक साताको अल्टिमेटम दिएर ११ बुँदे (पहिले १९ बुँदे भनिएको थियो) ज्ञापन पत्र बुझाएका थिए । जसले क्यान झनै रुष्ट बनेको थियो । खेलाडीले बुझाएको पहिलो स्पष्टीकरणमा उल्टै क्यानलाई दोषारोपण गरेपछि क्यानले पुनः दोस्रो स्पष्टीकरणका लागि पत्र काटेको थियो । दोस्रो पत्रमा पनि क्यानले चित्त नबुझाएपछि मंसिर २९ गते अनुशासनको कारवाही गरेको हो ।

२. संस्था बलियो बनाउने की व्यक्ति ?

क्यान र खेलाडीबीचको द्वन्द्व नयाँ भने होइन । यसअघि पनि भएका छन् । तर खेल नै नखेल्ने हदसम्म पुगेको छैन । खेलाडीले यसअघि क्यानको प्रायोजकको लोगो छोपेर खेलेका थिए । यसपटक भने खेलाडी खेल्दै नखेल्ने मुडमा देखिएका छन् । प्रारम्भिक व्यवहारले पनि त्यही देखाएको छ । तथापी शुक्रबार खेलाडीहरुले सीधै नखेल्ने नभने पनि घुमाउरो ढंगले नखेल्ने चेतावनी दिएका छन् । 

“हामी अहिले पनि चाहन्छौँ, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौं, खेलका लागि राम्रो वातावरण बनोस् । यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । हामी र हामी जस्ता क्रिकेट खेलमा भविश्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्,” खेलाडीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

क्यान भने खेलाडीले गल्ती स्वीकार्नु पर्ने अडानमा छ । खेलाडीले गल्ती स्वीकार नगरे क्यानको निर्णय यथावत हुने अध्यक्ष चतुरबहादुर चन्दले सार्वजनिक रुपमा बताइसकेका छन् । शनिबार प्रधानमन्त्री देउवालाई भेटेर पनि अध्यक्ष चन्दले सरकारले यस विवादमा हात हाल्यो भने आईसीसीले नेपाली क्रिकेटलाई बर्खास्त गर्न सक्ने भन्दै सचेत गराएका छन् । प्रधानमन्त्री देउवाले अनुशासन कायम रहने गरी विवाद समाधान गर्न सुझाव दिएका छन् । 

कार्यवाहक सचिव मल्लले पनि क्यान आफ्नो निर्णयबाट पछि नहट्ने स्पष्ट पारेका छन् । क्यान केही समयअघि मात्र आईसीसीको निलम्बनबाट फुकुवा भएको हो । खेलाडीको विवादले पुनः आईसीसीको हस्तक्षेप हुन सक्नेबारे सोधिएको प्रश्नमा मल्ल भने, “हामीले सबै घटनाक्रम आईसीसीलाई जानकारी गराएका छौं । त्यसकारण त्यो सम्भव छैन । संघभन्दा ठुलो व्यक्ति हुन सक्दैन । त्यसकारण अनुशासनको विषयमा क्यान अडिग छ ।”

कार्यवाहक सचिव मल्लले भनेजस्तै अहिले ‘संस्था बलियो कि व्यक्ति बलियो ?’ भन्ने प्रश्न जर्बजस्त उठेको छ । जसरी अहिले चौतर्फी दबाब सिर्जना भएका छन् । त्यसबाट क्यान पछि हट्यो भने आगामी दिनमा क्यानले गर्ने निर्णय र त्यसलाई कार्यान्वयन गर्ने क्षमता कति बलियो होला ? सधै क्यान माथि खेलाडी हावी हुने स्थिति आयो भने त्यसले भविष्यमा कस्तो असर गर्ला ? अहिले जो खेलाडी छन्, भविष्यमा कुनै कुनै रुपमा उनीहरु क्यानको नेतृत्वमा पुग्लान् । त्यतिबेला पनि अन्य खेलाडीले पनि यस्तै व्यवहार नगर्लान् भन्ने हुन्छ र ? भन्ने टिप्पणी विज्ञको छ । 

“आखिर अहिले पनि समितिको एक सदस्य पूर्वकप्तान विनोद दास नै त छन् । भोलि त्यो ठाँउमा पारस खड्का वा ज्ञानेन्द्र मल्ल वा अरु कोही होलान् । त्यतिबेला उनीहरुले गरेको निर्णय अरुले मान्दिन भन्लान् । त्यसकारण संस्थालाई कमजोर बनाउनु सबैका लागि हानिकारक हुनसक्छ,” उनको टिप्पणी छ । 

३. बाहिरी हस्तक्षेप ?

जसरी र जुन स्तरमा प्रचण्डलगायत खेलकुद मन्त्रीदेखी प्रधानमन्त्रीसम्मले चासो देखाएका छन् । त्यसको परिणाम गम्भीर हुन पनि सक्छ । खेलकुदमा त्यो स्तरबाट चासो हुनु सुखद हो । किनकि खेलुकदलाई सरकारले कहिल्यै प्राथमिकतामा राख्दैन । त्यस हिसाबले यस विवादमा चासो राख्नु राम्रो पक्ष हो । चासो राख्नु राम्रो हो । तर हस्तक्षेप गरी चलखेल हुन थाल्यो भने त्यो प्रत्युत्पादक बन्न पनि सक्छ । 

राष्ट्रिय खेलकुद परिषद् (क्यान) ले हस्तक्षेप गर्दा क्यान निलम्बनमा परेको ज्वलन्त उदहारण छन् । निलम्बल फुकुवा भएर बामे सर्न लागेको क्यानमा अहिलेको परिदृष्ट हेर्ने हो भने फेरी त्यही घटना नदोहरिएला भन्न सकिँदैन । त्यसकारण खेलाडी र संघको लडाईँले खेल बदनाम नहोस् । त्यसकारण दुबै पक्षले समाधानको बाटो खोजोस् । 

४. क्यानको कार्यक्षमता कस्तो छ ?

संस्था बलियो हुनपर्छ भनिरहँदा क्यानको भूमिका कस्तो छ त ? खेलाडी वर्गीकरणको विषय क्यानले समयमै टुंगो लगाएको भए सम्भवतः यतिधेरै विवाद नहुन पनि सक्थ्यो । तर क्यानले समयमै आफ्नो काम गर्न नसक्दा उसमाथि प्रश्न उठ्नु स्वाभाविक हो । 

क्यानले २०२० का लागि ढिला गरी गरेको ग्रेडिङ पनि विवादमा परेको थियो । त्यतिबेला पनि क्यानले पछि आफ्नो निर्णय सच्याएको थियो । खेलाडीहरुका अनुसार २०२१ मा पनि सुरुको तीन महिना अघिल्लो वर्षकै वर्गीकरणका आधार बिनासम्झौता तलब दिइएको थियो । त्यसबाट पनि प्रष्ट हुन्छ कि क्यान कति सुस्त छ भनेर । 

त्यतिमात्र होइन क्यान नेतृत्वले निर्वाचित हुने बित्तिकै सबैभन्दा महत्वका साथ उठाएको विषय हो, एनपीएल र क्रिकेटको घरेलु संचरना । तर आज साढे दुई वर्ष बित्न लाग्दा पनि त्यसमा कुनै प्रगती भएको छैन । क्यानको महत्वकाँक्षी योजना भारतीय कम्पनीलाई दिने निर्णय त विवादमा पर्‍यो । अन्ततः क्यानले भारतीय कम्पनीसँगको सम्झैता रद्द गर्ने निर्णय गर्‍यो । 

घरेलु क्रिकेटको संरचनामा कुनै काम नै भएको छैन भन्दा पनि हुन्छ । राखेपले सुरु गरेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितालाई निरन्तरता दिनुबाहेक क्यानले उल्लेख्य केही गर्न सकेको छैन । निर्वाचित भएको साढे दुई वर्षमा क्यानले सामान्य नियमित काम कारवाहीबाहेक उल्लेख्य काम अरु केही गर्न सकेको छैन ।

उल्टै क्यान आफैँभित्र विवाद सिर्जना भएको छ । त्यसको परिणाम निर्वाचित सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । 

खेलाडीमाथि अनुशासनको डण्डा चलाउने क्यानलाई चाहिँ कसले डण्डा चलाउने ? 

क्यानले चुस्त दुरुस्त रुपमा आफ्नो काम कारवाही गरेको भए, खेलाडीको सेवा सुविधामा वृद्धि गरेको भए, नियमित प्रायोजक खोजेर आफ्नै खुट्टामा उभिन सकेको भए, आईसीसीको मुख ताक्ने परिस्थिति नभएको भए उसमाथि प्रश्न उठ्ने थिएन । तर क्यानले त्यो गर्न सकेन । त्यसकारण क्यानमाथि स्वाभाविक रुपमा प्रश्न खडा भएका छन् । त्यसको जवाफ क्यानले मुखले होइन कामले दिनु जरुरी छ ।

५. टिम भित्र गुटबन्दी ?

क्यानले कप्तान र उपकप्तान हटाउने निर्णयको बचाउ गर्नेक्रममा अध्यक्ष चन्दले बारम्बार भन्दै आएका छन्, ‘‘अहिले आफ्नो कप्तान परिवर्तन समान्य रुपमा लिनु पर्छ । दुईवर्ष कप्तान बन्दा नेपालले राम्रो गर्‍यो वा नराम्रो गर्‍यो त्यो आफ्नै ठाँउमा छ । तर ज्ञानेन्द्र मल्लले नेपाली क्रिकेटलाई एक जुट बनाउन सकेनन् । राष्ट्रिय एकताको टिममा परिणत गर्न सकेनन् । राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडीहहरु दुई, तीन धारमा विभाजित भए ।’’

अध्यक्ष चन्दको आरोपलाई पूर्वकप्तान ज्ञानेन्द्रले ठाडै अस्वीकार गरिदिएका छन् । ज्ञानेन्द्रले प्रश्न गरेका छन्, ‘‘आफैँ टिमको लिडर हुँदा गुटबन्दी गर्नुपर्ने जरुरी किन हुन्छ ?’’

त्यसकारण अध्यक्ष चन्दको आरोप कति सही छ त्यो आफ्नै ठाँउमा छ । तर पछिल्लो समय देखिएको परिस्थिति हेर्दा टिमभित्र वैमनश्यता उत्पन्न हुने हो कि भन्ने देखिएको छ । राष्ट्रिय टोलीका प्रायः सदस्य खेलाडीको कारवाहीविरुद्ध उत्रिएका छन् । नयाँ कप्तान सन्दीपले यसमा केही बोलिसकेका छैनन् । 

अष्ट्रेलियन बिग बास खेल्न व्यस्त सन्दीपले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘टिममा सबैका लागि ढोका खुला छ । हामीले धेरै काम गर्न बाँकी छन् । एकजुट भयौं भने जे पनि गर्न सक्छौं ।’’

नेपाली टोलीले अब फेब्रुअरी १५ बाट आईसीसी ट्वान्टी–२० क्रिकेटका लागि ग्लोबल क्वालिफायर खेल्नेछ । त्यसको तयारी गर्न  क्यानले चाडै बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाउनेछ । त्यतिबेला टिमभित्रको अवस्था अझ प्रष्ट हुनेछ । 

तथापी अध्यक्ष चन्दले तीन खेलाडी (पारस खड्का, ज्ञानेन्द्र र सोमपाल)बाहेक सबैले सेन्ट्रल कन्ट्रयाक्टमा हस्ताक्षर गरेकाले अब टिम भित्र पनि समस्या नहुने दाबी गरेका छन् । तर त्यसको परिणाम भने ओमानमा देखिने नै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro