
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा लागेको नारा थियो– पार्टी रुपान्तरणका लागि नेतृत्व परिवर्तन अनिवार्य छ ।
केही समय अघिदेखि नै सुरु भएको यो नाराले सभापति शेरबहादुर देउवा तरंगित पनि भएका थिए । तर, सभापति देउवाका निम्ति संस्थापन इतरमा आफूलाई मात्र नेता मान्ने नेताहरुको प्रवृत्ति अनुकूलता बनिदियो ।
१४औं महाधिवेशनले देउवालाई पुनः एक कार्यकाल नेतृत्व गर्ने अवसर प्रदान गरेको छ । देउवा ८७८ मत अन्तरले सभापतिमा विजयी भए । परिवर्तन र रुपान्तरणको नारा स्थापित गराएका शेखर भने करिब ४७ सय मतमा एकहजार आठ सय ५५ मतमा सीमित भए ।
संस्थापनमा देउवा एक्लो उमेदवार बनेर महाधिवेशनसम्म पुगेका थिए । हुन त संस्थापनपक्षबाटै विमलेन्द्र निधि पनि आकांक्षी थिए । तर, उनलाई संस्थापनले यसरी छुट्याउँदै लग्यो कि उनीसँग संस्थापनका एकमात्र केन्द्रीय नेता पनि खुल्न सकेनन् ।
त्यसैले संस्थापनमा देउवा एक्ला उमेदवार थिए भन्न सकिन्छ । उनले महाधिवेशन प्रतिनिधिमा आफ्नो बहुमत रहेको दाबी गर्दै गर्दा पनि १३औँ महाधिवेशनपछि आफूलाई सबैभन्दा धेरै आलोचना गर्ने र सभापति पदको प्रतिष्ठा नै क्षयीकरण गरिदिने कृष्ण सिटौलासँग गठबन्धन गर्न पुगे । बाहिरबाट हेर्दा उनी महाधिवेशनअघि नै जितको अवस्थामा देखिन्थे ।
संस्थापन इतरमा भने १३औं महाधिवेशनदेखि लगातार जिल्ला जिल्लामा पुगेर कार्यकर्ता र नेताहरुमाझ उभिएका शेखर कोइराला मुख्य दावेदारका रुपमा देखा परे ।
यो समूहमा १३औँ महाधिवेशनमा सभापतिमा लडिसकेका रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, वर्तमान महामन्त्री डा. शशांक कोइराला पनि आकांक्षीका रुपमा देखा परे ।
आफूबाहेक अरुलाई नेता नमान्ने प्रवृत्ति यो समुहमा देखा पर्यो । त्यसको असर मतदानमा पनि देखियो । सबैले देउवालाई हराउन आफूले मात्र सक्ने भन्दै योग्यता प्रस्तुत गरे ।
कसैले कसैलाई नेता नमान्दा सहमति हुन सकेन । सहमति गर्न नसकेपछि आफ्ना कमजोरी लुकाउँदै देउवा विरोधीहरुलाई आँट दिन र एकतृत पार्न संस्थापनइतका चार आकांक्षीले सामूहिक रुपमा पत्रकार सम्मेलन गरे । अधिवेशनसम्म साझा उमेदवार दिने प्रतिबद्धता जनाए । तर, उनीहरुका प्रतिबद्धता प्रयासमा सीमित भयो । उनीहरु साझा उमेदवार खोज्न असफल भए ।
अन्त्यतिर एकभन्दा बढी उमेदवार दिए देउवाले एक्लै निर्वाचन जित्ने भन्दै सभापतिका आकांक्षीमध्येका महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेलकै नेतृत्वमा एकल टिम बनाउने प्रस्ताव राखेर आफूलाई रेसबाट बाहिर निकाले ।
केही ढिला शेखरले पनि उनको प्रस्ताव स्वीकार गर्दै रामचन्द्रको नेतृत्व स्वीकार गरे । तर, पूर्वमहामन्त्री सिंह त्यसलाई स्वीकार गर्न तयार भएनन् ।
१२औं महाधिवेशनका निर्वाचित महामन्त्री सिंह अघिल्लो महाधिवेशनमा आफूले पदाधिकारीबाटै बाहिर बसेर टिमका लागि गरेको लगानी उठाउन चाहन्थे ।
उनको अपेक्षामा महामन्त्री शशांक कोइरालाले ‘प्रकाशमानजीलाई काठमाडौं बाहिर कसैले चिन्दैनन्’ भन्ने भनाइबाट पानी खन्याइदिए । सभापतिका अर्का आकांक्षी शेखरले आफ्नो दाबी नछोडेर समस्यामा पारे भने सिंहले सबैभन्दा बढी अपेक्षा राखेका र सहयोग पनि गरेका रामचन्द्र पौडेलले पनि सिंहको नेतृत्वमा प्यानल बनाउने विषयमा चासो देखाएनन् ।
यही अस्वस्थ प्रतिस्पर्धा चलिरहँदा प्रकाशमान र शेखर सभापतिको दौडमा अघि बढे । आफ्नो नेतृत्व गुटभित्रै अस्वीकृत हुँदा वरिष्ठ नेता पौडेल महाधिवेशनको प्रक्रियामै भाग नलिने निर्णयमा पुगे ।
महाधिवेशनको उदघाटन सत्रमै अनुपस्थित हुने निर्णय गरेर विज्ञप्ति तयार पारिसकेका पौडेल चौतर्फी दबाबपछि उदघाटन सत्रसम्म भने पुगेका थिए ।
तर, त्यसपछि उनले घरमै सभापतिका आकांक्षीहरुसँग भेट गरे ।
महाधिवेशनको प्रक्रियामा भाग नलिने घोषणा गरेर घरै बसेका उनले शेखर कोइरालाको टिममा सहमहामन्त्रीका उमेदवार एक्लै तय गरे । तर, उनले सभापतिका उमेदवार शेरबहादुर देउवासँग भालाकुसारी गरे । घरभित्रको भलाकुसारी संचारमाध्यमसम्म पुगेर देउवासँग सकारात्मक बनेको सन्देश फैलाए । पारिवारिक फोटो सार्वजनिक गरेर देउवाप्रति विगतमा आफूले गर्दै गरेको आलोचना सच्याएको सन्देश दिए ।
पौडेलको यो व्यवहारले लामो समय उनीसँगै रहेका नेताहरुले असन्तुष्टि जनाए ।
पौडेल पनि असन्तुष्ट बने । उनको असन्तुष्टिमा संस्थापनइतरका अधिकांश वरिष्ठहरुको सहमति रह्यो । उनीहरुले शेखरको दाबीलाई अस्वाभाविक रुपमै अर्थ्याउने र स्थापित गर्ने प्रयत्न गरे ।
त्यो प्रत्यनका देखिने हतियार बने प्रकाशमान सिंह । प्रकाशमान सिंहले आफू पौडेल वा कोइरालाका लागि छोडन तयार नहुने सहमति गर्ने र साझा उमेदवार खोज्ने भए आफ्नो नेतृत्व स्वीकार्न अन्यथा प्रतिस्पर्धाका लागि तयार रहन चुनौती गरिरहे ।
सिंहको अडानका देखिने कारण बने नेताहरु डा. रामशरण महत, महेश आचार्य र बलबहादुर केसी । उनीहरुले दुइपटक केन्द्रीय सदस्य भएको, कर्मचारी पृष्ठभूमिबाट आएको, राजनीति नबुझेककोसहितका आरोप अनौपचारिक रुपमा लगाइरहे ।
सभापतिका आकांक्षी पौडेल, शशांक, प्रकाशमान र शेखर मात्र देखिएका थिए । तर, रामशरणले रामचन्द्र नलड्ने हुँदा आफू पनि सभापतिको उमेदवार हुने अडान कसे । महेश आचार्यले प्रकाशमानलाई आत्मबल थपिरहे । अनि बलबहादुर केसीले शेखरलाई प्रकाशमानविरुद्ध मात्र उभिएको आरोप लगाइरहे ।
पार्टीको वरीयतामा ३६औँ नम्बरमा रहेका शेखरलाई नेतृत्व स्वीकार गर्न उनीहरुले गरेका आनाकानीले शेरबहादुर देउवाको विकल्प दिएरै छोड्ने र त्यसका लागि साझा उमेदवार दिने भन्दै भदौ १७ गते पत्रकार सम्मेलन गरेका नेताहरुले आफ्नै प्रतिबद्धताको नैतिकता समेत बचाउनु जरुरी ठानेनन् ।
इगोको आगोमा आफूलाई सल्काउँदै आफूले पाँच वर्षसम्म लगातार आलोचना गर्दै आएका देउवालाई सभापतिमा सहयोग गर्न तयार भए । नेतृत्व परिवर्तन गर्नैपर्छ भन्ने पौडेल–सिंहको भनाईलाई देशभरका नेता कार्यकर्ता भेटेर स्थापित गर्ने र आशा जगाउने शेखरलाई उनीहरुले एक्लै छाडिदिए ।
देउवाको विकल्प खोज्नैपर्छ, उनको विकल्प दिने अवस्थामा आफू नेतृत्व छोड्न पनि तयार रहेको बताएका रामचन्द्र पौडेल विकल्प दिने भन्दै प्रतिस्पर्धामा उत्रिएका शेखरका पक्षमा मुख नै खोलेनन् ।
उनलाई आफूले गुटमा आवद्ध गरेका कार्यकर्ताले घेरेर ‘शेखरका पक्षमा बोल्न’ माग गरे तर पौडेलले ‘तिमीहरुको दबाबले हुँदैन’ भन्दै एक शब्द बोलेनन् ।
कांग्रेसमा पौडेलदेखि प्रकाशमानसम्म बलबहादुरदेखि महेश र रामशरणसम्म सबैले वरीयताकै कारण शेखरलाई स्वीकार गर्न नसक्ने भनेर छिन्नभिन्न भए ।
महेश आचार्यले स्वतन्त्र रुपमा उपसभापति उमेदवारी दिए । तर, टिममा भोट माग्न प्रकाशमानसँग सम्झौता गरे । कोइराला परिवारकै सुजाता कोइराला प्रकाशमानकै टिममा गएर उपसभापति लडिन् भने शशांक कोइरालाले शेखरको पक्षमा मतसम्म नमागेको संस्थापनइतरमा चर्चा छ ।
बलबहादुर केसीलगायतका नेताले शेखरकै टिमबाट उमेदवारी त दिए तर उनीहरुको सदभाव प्रकाशमानका पक्षमा ज्यादा देखियो । शेखरलाई मान्नु भन्दा शेरबहादुर नै ठिक भन्ने निष्कर्ष धेरै नेतामा देखियो ।
यी सबै प्रयासको कारण थियो शेखरको वरीयता । लामो समय चिकित्सक पेशाबाट आएका उनी बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति भएका थिए ।
त्यो पदलाई नेताहरुले ‘कर्मचारी’ भन्ने गरेका थिए भने उनी पार्टीमा कनिष्ठ भएका कारण नेतृत्वका रुपमा स्वीकार गर्न सकिँदैन भनिएको थियो । नेताहरुको त्यही तर्कले प्रकाशमानलाई अडान लिन सहयोग गरिरहेको थियो । त्यही अडानका कारण देउवाका कट्टर आलोचक प्रकाशमान त देउवाकै क्याम्पमा पुगे । रामचन्द्र, बलबहादुर, रामशरणलगायतले राखेको वरियताको प्रश्न भने अब शेखरको मतसँगै गौण बनेको छ ।
कांग्रेसको ३६औं वरीयताबाट शेखर एकै चुनावमा दोस्रो वरीयतामा आएका छन् । त्यो पनि सशक्त मतका साथ । उनले पराजय भोग्नु परे पनि उनको टिमको भने बलियो उपस्थिति देखिने संकेत मतगणनाबाट देखिएको छ ।
उनी निकटका धनराज गुरुङले उपसभापतिमा विजयी हासिल गरेका छन् ।
शेखरले करिब ४१ प्रतिशत मत ल्याउन सफल भएका छन् । यो सफलतासँगै शेखरको कांग्रेसमा अब दोस्रो वरीयता हुने छ ।
तर, यो सफलता उनका लागि चुनौतीपूर्ण परीक्षा हुनेछ । पार्टीको एउटा समूहको तर्फबाट प्रतिपक्षका रुपमा लड्नु र पार्टीमा न्याय पाएको महसुस गराउनु उनका लागि सहज छैन ।
तर उनले बुधबार भएको धन्यवाद ज्ञापन कार्यक्रममा भागबण्डा नखोज्ने तर पार्टी सही ढंगले चल्न नसके आफूहरु त्यसका विरुद्ध उभिने स्पष्ट पारेका छन् ।
पार्टीभित्र प्रतिपक्ष हुँदा समेत गुट चलाउन ‘चलाख’ शेरबहादुर देउवा नेतृत्वमा पुगेपछि बलियो नेताका रुपमा स्थापित भएका छन् । उनी विरुद्धको लडाईमा रामचन्द्र पौडेल असफल भए ।
रामचन्द्र प्रतिपक्षी नेताका रुपमा स्थापित हुन नसक्नुको एउटा कारण टिमभित्रैबाट भएको असहयोग भए पनि मुख्य कारण देउवाको चरित्र नै भएको विश्लेषकहरु बताउँछन् ।
त्यो चुनौती अब शेखर कोइरालामा आएको छ । रामचन्द्र पौडेल, कृष्ण सिटौलासहितका नेताहरुभन्दा माथिको वरीयतामा रहेर काम गर्नु शेखरका लागि चुनौतीमात्र होइन जोखिम पनि त्यतिकै छ ।
उनले पार्टीभित्रको प्रतिपक्षलाई व्यवस्थित बनाएर पार्टीलाई विधिमा हिँडाउन सकेनन् भने उनको अवस्था पनि १५औँ महाधिवेशनमा रामचन्द्रकै जस्तो बन्न सक्छ ।
सम्मान त छ तर हैसियत छैन भन्ने अवस्थामा शेखर पुगे भने कांग्रेसमा परिवर्तनका आवाज उठाउनेहरु सबैमा निरासा ल्याउन सक्छ । यो शेखरका लागि मात्रै नभएर समग्र कांग्रेस प्रजातान्त्रिक आन्दोलन र देशकै लागि जोखिम बन्न सक्छ ।