site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तत्कालीन ‘सशस्त्र युद्ध’ हाँकेका बादलको पोजिसन एमालेमा के होला ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार सम्पादकहरुसँगको अन्तरक्रियामा भनेका थिए, “मैले मन पराएको वरिष्ठ उपाध्यक्ष त्यो हो जो या त निर्विरोध हुन्छ, या बढी भोट ल्याएर जित्छ ।”

एमालेमा असोजमा सम्पन्न विधान महाधिवेशनबाट सिर्जना गरिएको पद वरिष्ठ उपाध्यक्ष पदमा को ? भन्ने चासोमा ओलीको जवाफ थियो त्यो ।

उक्त पदमा महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङसँगै तत्कालीन नेकपाको विवादमा ओलीलाई साथ दिएका रामबहादुर थापा बादलको दाबेदारी छ । 

एमालेमा बादलसँगै पूर्वमाओवादी नेताहरुको व्यवस्थापन गर्नुपर्ने, तत्कालीन माधव नेपाल समूहमा रहेका नेताहरुको व्यवस्थापन र आफ्नैभित्रको गुटको व्यवस्थापन गर्न ओलीलाई सहज छैन । 

हालसम्म सर्वसम्मत पदाधिकारी चयन हुने दाबी गरिरहेका नेताहरु नै अब पदाधिकारीमा पनि चुनाव नै हुने हो कि भन्ने ठाउँमा आइपुगेका छन् । कारण, एउटै पदमा आकांक्षीहरुको लाइन हुनु रहेको नेताहरु बताउँछन् । 

पूर्वमाओवादी खेमाले पनि चुनाव नै जितेर आउनुपर्ने र आफ्नो व्यवस्थापन आफैं गर्नुपर्ने आशय ओलीले व्यक्त गरेका छन् । 

पदाधिकारी चयनमा पनि निर्वाचन नै भए तत्कालीन नेकपा भंग भएपछि एमालेमा रहेका बादलसहितका नेताहरुको पोजिसन के हुन्छ ? भन्ने प्रश्न उठेको छ । 

एमालेमा वरिष्ठ उपाध्यक्षको दाबेदारी गरिरहेका बादल स्थायी कमिटीमा मात्रै सीमित छन् ।  माओवादी हुँदा प्रभावशाली स्थानमा रहेका बादलले तत्कालीन सशस्त्र युद्धको नेतृत्व गरेका थिए । जुन सशस्त्र युद्धलाई नेकपा एमालेले लगातार आलोचना गर्दै आएको छ । बादल अहिले सोही पार्टीमा वरिष्ठ उपाध्यक्षको पदका आकांक्षी रहेका छन् ।

नेकपा विभाजन हुँदा ओलीतिरै फाइदा देखेका बादलले ओलीलाई राजनीतिक रूपमा फाइदा हुने काम गर्दै आएका छन् ।

नेकपामा तीव्र मतभेद हुँदा तटस्थ बसेर ओलीलाई नै फाइदा पुर्‍याएको आरोप बादललाई लाग्ने गरेको थियो ।

ओलीलाई अप्ठेरोमा साथ दिएका बादल अहिले आफैं अप्ठेरोमा छन् । 

वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत हुने अवस्थामा उनी छैनन् । ओली पक्षमै रहेका पोखरेल र नेम्वाङले पनि सो पदमा दाबी गरेका छन् जो ओलीसँग बादलभन्दा नजिक छन् ।

निर्वाचन नै हुने भए पनि बादलले उक्त पदमा दाबेदारी दिने सम्भावना कमजोर रहेको उनी निकटस्थहरु बताउँछन् । 

तर, सर्वसम्मत गर्नमा ओलीले जोड दिए तथा पोखरेल र नेम्वाङबीच एक अर्कालाई स्वीकार गर्न नसक्ने अवस्था बने बादल विकल्पको रुपमा सर्वसम्मत हुन सक्ने ती निकटस्थ औल्याउँछन् । 

“उहाँ सहजै वरिष्ठ उपाध्यक्ष बन्न सक्ने अवस्था  त छैन । ईश्वर पोखेल र सुवास नेम्वाङले एक अर्कालाई उक्त पदमा स्वीकार गर्नै नसक्ने परिस्थिति बन्यो र सर्वसम्मत नै हुने भयो भने बादल विकल्प बन्न सक्नुहुन्छ । पार्टी एकताको सन्देश जाने भएकाले वरिष्ठ उपाध्यक्ष बनाउने भन्ने अध्यक्षलाई लागेको खण्डमा त्यस्तो हुन सक्छ,” उनी दाबी गर्छन्, “बादल ओलीको ग्रिन सिग्लनबिना अघि बढ्न सक्ने अवस्थामा हुनुहुन्न । दाबेदारी वरिष्ठ उपाध्यक्षमा भए पनि उपाध्यक्ष चाहिँ बन्नुहुन्छ ।”

बादल ओलीसँगै आश्रित हुनुपर्ने अवस्थामा नै छन् । महाधिवेशनका लागि २२ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि छनोट हुँदा पूर्वमाओवादी पक्षमा २ सय हाराहारीमा प्रतिनिधि परेको छैन । पूर्वएमाले र माओवादी भनेर मतदानतिर गएमा पूर्वमाओवादीलाई सहज नभएको ती नेताको टिप्पणी छ ।

“प्रतिनिधि त हाम्रो थोरै हुने भइहाल्यो । मनोनितसम्म गर्दा २०० प्रतिनिधि पुग्छन कि भन्ने हो । पूर्वमाओवादी र पूर्वएमालेकै आधारमा लड्ने हो भने त्यसको नतिजा नकारात्मक नै आउँछ नि,” पूर्वमाओवादीका एक नेता स्वीकार गर्छन् । 

प्रतिनिधिहरुको संख्या कम भएकाले माओवादीका नेताहरु सर्वसम्मत हुनुपर्ने पक्षमा उभिएका छन् । सहमतिमा गर्दा एकता रोज्ने या एमालेको पोर्टफोलियो रोज्ने ओलीसँग दुई विकल्प रहेको ति नेताको भनाइ छ । 

“उपाध्यक्षमा रहनुभएका कमरेडहरु एउटै जेनेरेशनको हुनुहुन्छ । ओली कमरेडले पार्टी एकतालाई प्राथमिकता दिनुहुन्छ कि एमालेको पोर्टफोलियोलाई प्राथमिकता दिनुहुन्छ । त्यो उहाँकै कुरा हो ,” उनी भन्छन्, “बादलजी पनि तत्कालीन नेकपाको सचिवालय सदस्य हो । तर, पूर्वएमालेबाट हेर्दा त बादल पदाधिकारी हुनुुहुन्न । नेकपाको बेलाको हैसियत मिलाएर जाँदा नै वैज्ञानिक हुन्छ ।” 

आफूहरुको व्यवस्थापनको विषयमा छलफल नभएको पूर्वमाओवादी नेता तथा स्थायी कमिटी सदस्य मणि थापाले बताए । 

“महाधिवेशन र महाधिवेशनपछिको व्यवस्थापन कसरी गर्ने भन्नेमा कंक्रिट छलफल भएको छैन । हिजोसम्म महाधिवेशन प्रतिनिधिका विषयमा छलफल ग¥यौँ । अब टिम कस्तो भन्ने अध्यक्षले प्रस्ताव गर्नुहुन्छ होला,”उनले भने । 

अध्यक्ष ओली र स्थायी कमिटीका अधिकांश नेताहरु सर्वसम्मतकै पक्षमा रहेको उनको दाबी छ । 

“पार्टी अध्यक्ष र स्थायी कमिटीमा अधिकांश नेताहरु सर्वसम्मतबाट जानुपर्छ भन्नेमा हुनुहुन्छ । त्यो सन्देश दिँदा नै पार्टीलाई फाइदा हुन्छ,” थापाले भने । 

अर्का पूर्वमाओवादीका एक नेताका अनुसार केन्द्रीय कमिटी र प्रतिनिधिहरुहमा भने प्रतिष्पर्धामा नै जानुपर्छ भन्ने मत बलियो रहेको सुनाउँछन् । 

“प्रतिष्पर्धाबाट जानुपर्छ भन्नेमा केन्द्रीय कमिटीदेखिकै मत बलियो छ कि जस्तो देखिएको छ । नयाँ एमालेको आधारमा चुनाव लड्ने नयाँ प्रश्न हो,” उनले भने, “प्रतिष्पर्धामा जाने पक्षमा हामी छैनौं । चुनाव हुनुभन्दा सहमति हुँदा नै सकारात्मक नतिजा आउँछ ।” 

एमाले महाधिवेशनमा सर्वसम्मत भए पूर्वमाओवादीका तर्फबाट १५ सदस्यीय पदाधिकारीमा २ सदस्य अटाउनेछन् । 

बादल उपाध्यक्ष, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र लेखराज भट्टमध्ये एक जना सचिव बन्ने स्रोतको दाबी छ । 

र, पदाधिकारीको संख्या थप्ने पनि कुरा भइरहको र पदाधिकारीको संख्या थपिएमा रायमाझी र भट्ट नै पदाधिकारीमा अटाउने बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro