site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अनि भाँडियो कोइराला परिवारबीचको सार्वजनिक हुन लागेको सहमति...

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनमा एकमात्र उमेदवार हुने कोइराला परिवारको सहमति सार्वजनिक हुन नभ्याउँदै प्रभावित भएको छ ।

डा. शशांक र शेखरबीच भएको सहमतिमा सुजाता कोइरालाले पनि समर्थन जनाउने कार्यक्रम तय भएपछि बुधबार बिहान एकाएक सहमति सार्वजनिक हुन रोकिएको छ । सहमति गरि सार्वजनिक हुन एक घण्टामात्र अघि सहमति कसरी कार्यान्वयन हुन रोकियो भन्ने पाटो भने रहस्यमै छ ।

स्रोतका अनुसार मंगलबार साँझ डा. शशांक कोइराला आफैँले फोन गरेर शेखर निवास बसुन्धारा गएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरुबीच लामो पारिवारिकसँगै राजनीतिक विषयमा कुराकानी भएको थियो । कुराकानीमा डा. शेखर कोइरालाले पार्टी नेतृत्व कसले लिन्छ भन्ने आधारमा पार्टीको भविश्य तय हुने भन्दै कांग्रेस पार्टीको भविश्यका विषयमा कोइराला परिवारले विशेष चिन्ता गर्नु आवश्यक भएको बताएका थिए । 

दुईजनाबीच कुरा हुँदा शशांक कोइरालाले विगतमा पनि आफू केन्द्रीय सदस्य मात्र लड्न तयार भए पनि समर्थकहरुकै आग्रहमा महामन्त्री बनेको भन्दै महामन्त्री भएपछि कार्यकर्ता भेटघाट र पार्टीका काममा पर्याप्त समय दिन नसकेको बताएका थिए । 

उनले त्यति हुँदा हुँदै पनि कार्यकर्ताको असाध्यै प्रेम आफूप्रति देखिएको भन्दै उनीहरुको सम्मान राखेर आफू अघि बढ्ने पक्षमा रहेको बताएका थिए । 

त्यसपछि डा. शेखरले राजनीतिक नेतृत्वले सुखसयलभन्दा जनताका र कार्यकर्ताको भावनाअनुसार चल्न सक्नुपर्ने भन्दै आफू पाँच वर्षदेखि जनताका घरघरमा पुगेर उनीहरुको भावना बुझिरहेको बताएका थिए । 

उनले कार्यकर्ताले नेतृत्वमा पहिलो पुस्ताको विकल्प खोजिरहेको भन्दै पहिलो पुस्तालाई सम्मान दिँदै बिदा गर्न आफ्ना तर्फबाट पनि बलियो प्रयास आवश्यक भएको बताएका थिए । 

“मैले देशव्यापी रुपमा कार्यकर्तासँग भेटघाट र कुराकानी गरेको छु, शेरबहादुरजीसँग हिँडेका थुप्रै साथीहरु अघि बढ्नुस् हामी दोस्रो पुस्तामा जान चाहन्छौँ र इमान्दार नेतृत्वका पक्षमा छौँ भन्नुभएको छ,” शेखरको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “तिमीप्रति शेरबहादुरजीसँग नरम बनेको, शेरबहादुरजीका नराम्रा काम रोक्न नसकेको जस्ता टिप्पणीहरु छन् । यति हुँदा हुँदै पनि तिमीप्रति नेता कार्यकर्ताहरुको अगाध प्रेम छ । त्यो प्रेमको सम्मान राख । यसपटक सभापतिमा मलाई समर्थन गर ।” 

उनले आफू एकपटकका लागि सभापति बन्ने भन्दै त्यसपछि सभापति को बनाउने भन्ने विषयमा दावी वा सुझाव दिन पनि शेखरले शशांकसँग आग्रह गरेका थिए । 

लामो कुराकानीपछि शशांक कोइरालाले सभापतिका लागि आफूले मात्र समर्थन गरेर हुने अवस्था नरहेको भन्दै रामचन्द्र पौडेल, प्रकाशमान सिंहसहितको समर्थन लिन सक्नुहुन्छ ? भन्दै प्रश्न गरेका थिए । 

त्यसको जवाफमा शेखर कोइरालाले तिमीले समर्थन गरे उहाँहरुको समर्थन आउने भन्दै सहमत गराएका थिए । 

“शशांकले दाइ अघि बढ्नुस्, अघिल्लोपटक महामन्त्री पनि मेरै लागि व्याक हुनुभएको छ, सभापतिमा म समर्थन गर्छु भनेपछि कोइराला दाजुभाइ छुट्टिएका थिए । छुट्नुअघि बुधबार बिहान सुजातासहितलाई राखेर पत्रकार सम्मेलन गरी सहमति सार्वजनिक गर्ने पनि समझदारी भएको थियो,” स्रोतले भन्यो । 

सझदारीअनुसार बुधबार विहान नौ वजे शशांक निवासमा शेखर पुगे ।  त्यही सहमति सार्वजनिक गर्ने तय भएकाले सुजाता खोइ त ? भनेर शेखरले खोजी गरे । शशांक सचिवालयमा रहेका एकजनाले ‘सुजाता दिदी हामीसँग रिसाउनुभएको छ, हजुरले नै बोलाउनुपर्ला’ भनेपछि शेखरले नै सुजातालाई फोन गरे । 

“सुजाता शशांकले सभापतिमा मलाई समर्थन गर्दैछन्, अब तिमीले पनि समर्थन गर, आज पत्रकार सम्मेलन गरौँ, तिमी शशांककहाँ आऊ,” शेखरले सुजातालाई गरेको आग्रह उद्धृत गर्दै स्रोतले भन्यो । आकस्मिकरुपमा सहमति भइसकेको भन्दै आएका निमन्त्रणाले सुजाता छक्क परिन् । उनले सहमति हुन्छ भने राम्रै हो भन्दै जाने तयारी गरिरहेकै थिइन । तर, केही बेरमा पत्रकार सम्मेलन स्थगित भयो भन्ने खबर आयो उनी घरमै बसिन् । 

यसबारे जानकारी लिन खोज्दा सुजाताले ‘पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भन्दै शेखर कोइरालाले बोलाएको र पछि क्यान्सिल भएको’ स्वीकार गरिन् । 

“शेखर दा’ले फोन गरेर शशांकले समर्थन गर्ने भए, तिमी पनि समर्थन गर पत्रकार सम्मेलनमा आऊ भन्नुभएको थियो,” सुजाताले बाह्रखरीसँग भनिन्, “म भ्रमणबाटै फर्किएकाले अलि बिसन्चो थियो । तर, पछि पत्रकार सम्मेलन स्थगित भएको जानकारी आयो ।” 

उनले सहमतिमा आफू जानकार नभएको भन्दै ‘उहाँहरुबीचको सहमति’बारे आफूलाई नसोध्न आग्रह गरिन् ।  

स्रोतका अनुसार संखुवासभाका सभापति दीपक खड्काले शशांकलाई लिएर हिँडेको खबर पाएपछि पत्रकार सम्मेलन स्थगित भएको थियो । 

१० बजेका लागि पत्रकार सम्मेलनको तयारी गर भन्न शशांक निवास पुगेका शेखर सुजातालाई नबोलाएको जानकारी पाएपछि बोलाएर त्यहाँबाट बाहिरिएका थिए । 

त्यसको केहीबेरमै शशांकलाई फोन आएको थियो । उनले करिब ३ मिनेट भर्‍याङबाट उक्लँदै फोनमा कुराकानी गरेका थिए ।

कुराकानीमा के के भयो भन्ने कसैलाई पनि जानकारी छैन । तर, कुराकानी सकिएको केही मिनेटमा शशांक घरबाट बाहिरिएका थिए । 

“पत्रकार सम्मेलन आजलाई क्यान्सिल गरौं, अर्को हप्ता पत्रकार सम्मेलन गरौंला,” शशांकले सहयोगीहरुमाझ सन्देश छोड्दै भनेका थिए, “म सभापतिलाई भेटन जाँदैछु ।” 

सभापतिसँग भेट्छु भन्दै शशांक निस्किएपछि उनको खोजी सुरु भयो । सभापति भेटन बालुवाटार गएको हुनसक्ने भन्दै त्यता जानकारी लिँदा शशांक बालुवाटार गएका थिएनन् । 

शशांकको खोजी हुँदै गर्दा कांग्रेस संखुवासभाका सभापति दिपक खड्काको फेसबुक स्टाटस अपडेट भयो । 

“नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला संखुवासभा भ्रमणमा आउनु हुने भएको छ,” खड्काले लेखेका छन्, “वीपी कोइरालाका सुपुत्र कोइरालाको संखुवासभा बसाइ सुखद रहोस् । नेपाली काँग्रेस, संखुवासभा हार्दिक स्वागत गर्दछ । जयनेपाल !”

त्यसपछि थाहा भयो, शशांक सभापतिलाई भेट्छु भन्दै निस्किएर संखुवासभा सभापतिसँग गएका रहेछन् । संखुवासभा सभापति दीपक खड्काले हेलिकोप्टरमा संखुवासभा लगेको भन्दै सूचना सार्वजनिक भयो । 

स्रोतका अनुसार मंगलबार साँझ नै शशांकले देउवासँग कुराकानी गरेका थिए ।

खड्काले महामन्त्री कोइराला संखुवासभा आएको र तीन दिन बसेर फर्कने जानकारी दिए । 

कोइराला परिवारमा सहमति भएको रहेछ, तपाईंले महामन्त्रीलाई संखुवासभा लैजानु भएछ भन्ने प्रश्नमा खड्काले आफूलाई सहमतिबारे कुनै जानकारी नभएको बताए । 

“मेरो जानकारीमा डा. शशांक सभापतिको रेसबाट हट्नुभएको छैन । उहाँ मसँगै हुनुहुन्छ र केही बेरअघि मिडियासँग पनि म सभापतिको उमेदवार हुँ भन्नुभएको छ,” खड्काले भने, “त्यस्तो कुनै सहमति भएको थियो र ? मलाई त त्यस्तो जानकारी भएन ।”

शशांकले पत्रकार सममेलन गर्नुअघि कुराकानी गरेका व्यक्ति को थिए भन्ने चासो रहेको एक नेताको टिप्पणी थियो ।

यसबारे जानकारी लिन खोज्दा शशांकका प्रमुख स्वकीय सचिव भरत तिरवारी नवलपरासीमा थिए । उनले पनि डा. शेखरलाई शशांकलाई समर्थन गर्ने सहमति नभएको दावी गरे । 

“त्यस्तो कुनै पनि सहमति भएको छैन । डा’साव सभापतिको रेसबाट बाहिरिनुभएको पनि छैन,” तिवारीले बाह्रखरीसँग भने, “अहिले उहाँ दीपक खड्काजीसँगै संखुवासभामा हुनुहुन्छ । सहमति भयो भन्दै गरिएको हल्ला साँचो होइन ।” 

उनले सभापतिमा गरेको उमेदवारी घोषणा कायम रहेको पनि बताए । 

शेखर कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले दुई जनाबीचको सहमतिबारे आफूलाई जानकारी नभए पनि बिहान १० बजे पत्रकार सम्मेलनका लागि बोलाएर आफू महाराजगञ्ज पुगेको जानकारी दिए । 

“बिहान १० बजे पत्रकार सम्मेलन गर्ने भनेर जानकारी आएपछि हामी ९ बजे नै महाराजगञ्ज पुगेका थियौँ । महाराजगञ्जमा सुरजजी (शशांकका सहयोगी) र मलाई पत्रकारहरुलाई खबर गर्ने जिम्मा दिएर शेखर डा. सा’ब केहीबेरमा आउने भन्दै बाहिरिनुभएको थियो,” थपलियाले भने, “त्यतिकैमा सुरजीले भरत दाइलाई फोन गर्छु भन्नुभयो । फोनमा कुरा गरेपछि केहीबेरमा शशांक दाइले आएर दिनेश पत्रकार सममेलन ८ गतेलाई सारौं । म शेरबहादुरजीलाई भेट्न निस्किएँ भनेर बाहिरिनुभयो ।” 

उनले बिहानसम्म डा. शशांकको भ्रमणको कुनै भ्रमण तालिका नरहेको भन्दै संखुवासभा सभापतिको फेसबुक हेरेपछि उहाँ त्यता लाग्नुभएको जानकारी पाएको बताए । 

शशांकका सहयोगी सुरज उप्रेतीले मंगलबार साँझ शेखर निवासमा दुइ दाजुभइको मिटिङ भएकोबारे जानकारी दिए । 

मिटिङमा भएका कुराकानी वा सहमतिबारे भने आफूलाई कुनै जानकारी नभएको उनको भनाई छ । 

तर, बुधबार एकाएक पत्रकार सम्मेलन गर्ने भन्दै डा. शेखर कोइराला आएको तर शशांकको अर्कै कार्यक्रम सेड्युलमा रहेकाले चाँडै निस्कनुपरेको जानकारी दिए । 

“हिजो साँझ शशांक डा. सा’ब र शेखर डा. सा’बबीच डिनर मिटिङ भएको थियो,” उप्रेतीले भने, “शेखर डा. सा’ब पत्रकार सम्मेलन गर्छौँ भनेर आउनुभयो । म त छक्क परेको थिएँ । पछि शशांक डा. सा’ब सेड्युलअनुसारकै कार्यक्रममा निस्कनु भएको हो ।” 

उनले त्यसपछि कहाँ कोसँग मिटिङ भयो भन्ने खुलाउन चाहेनन् । “कतिपय कुरा भन्न नमिल्ने पनि हुन्छन् । यति बुझ्नुस् उहाँ आफन्तकैमा हुनुहुन्थ्यो,” उप्रेतीले बाह्रखरीसँग भने ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्