site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
‘ठुला भनिएका क्लबलाई सबक सिकाउने’ योजनामा फ्रेन्ड्स

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभजिन लिगमा यस सिजनमा ललितपुरका क्लबहरूको वर्चस्व छ । हुन त शीर्ष डिभिजन लिग उपत्यकाबाहिर जान सकेको छैन । उपत्यकामै पनि यसअघि काठमाडौंको दबदबा हुन्थ्यो । तर, पछिल्लो समय त्यो ललितपुरमा सरेको छ । यसपटक लिगमा १४ मध्ये ६ क्लब ललितपुरकै हुन् । तिनै ६ ललितपुरे क्लबमध्येको एक हो, फ्रेन्ड्स क्लब ।

काठमाडौंसँग सीमाना जोडिएको कुपोन्डोलका युवाहरूले २०२९ सालमा स्थापना गरेको क्लब हो, फ्रेन्ड्स । ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्सको पनि पुरानो इतिहास छ । २०३१ सालमा ‘ए’ डिभिजन लिगमा उक्लिएपछि अहिलेसम्म तल झरेको छैन । मतलब रेलिगेसनमा परेको छैन । नियमित ‘ए’ डिभिजन लिग खेल्ने थोरै क्लबमध्यको एक फ्रेन्ड्स पनि हो । 

एक समय फ्रेन्ड्स क्लब नखेल्ने चर्चित खेलाडी कमै हुन्थे । तत्कालीन समयमा नेपाली फुटबलका स्टार खेलाडी गणेश थापा, विज्ञानराज शर्मा, भक्तराज कर्णीकार, विदुर विष्ट, नरेन्द्रमान सिंह, वाईबी घले, रञ्जन विष्ट, कृष्ण थापालगायतका खेलाडीले फ्रेन्ड्सबाट खेले । 

Dabur Nepal

सुरुआती समयमा ‘नकआउट’ प्रतियोगितामा फ्रेन्ड्सको दबदबा भए पनि लिगमा कहिल्यै उपाधि जित्न सकेन । फ्रेन्ड्स कहिल्यै तल झरेन । र, कहिल्यै उपाधि पनि जितेन । नेपाली फुटबलमा फ्रेन्ड्सको परिचय नै ‘मिड टेबल’ टिम बनेको छ । न तल झर्छ, न माथि जान्छ । तर, लिगमा सबैभन्दा धेरै उपाधि जित्ने मनाङ मस्र्याङ्दीका लागि फ्रेन्ड्स सधैँ टाउको दुखाइ बन्ने गर्छ । दुई क्लबबीच गजबकै प्रतिद्वन्द्विता छ ।

२०७५ सालकै कुरा गरौँ, मनाङ लिग अवधिभर सबै खेल जितेको थियो । सबै खेल जितेर उपाधि उचाल्ने कीर्तिमान नजिक थियो, मनाङ । ऐतिहासिक अवसरको नजिक पुगेको मनाङलाई अन्तिम खेलमा फ्रेन्ड्सले स्तब्ध बनाइदियो । उक्त सिजन फ्रेन्ड्सले जम्मा तीन खेल जितेको थियो । त्यसमा मनाङसँग १–० को जित पनि सामेल छ । गत वर्ष पनि फ्रेन्ड्सले मनाङलाई १–१ को बराबरीमा रोकेको थियो ।

अघिल्लो संस्करणमा फ्रेन्ड्सले ब्राजिलका मार्कोस फिलिपलाई मुख्य प्रशिक्षणको जिम्मेवारी दिएको थियो । तर, क्लबले पुछारबाट चौँथो स्थानमा रह्यो । चार खेलमात्र जित्न सक्यो । क्लबले पहिलोपटक लिग खेल्दा टोलीका सदस्य मृगेन्द्र मिश्रलाई यसपटकको जिम्मेवारी दिएको छ । उनलाई बालगोपाल महर्जनले पर्दा पछाडिबाट सघाउने छन्, प्राविधिक निर्देशकका रूपमा । ०३१ मा क्लबले पहिलोपटक ‘ए’ डिभिजन खेलेजस्तै मिश्रले पनि पहिलोपटक ‘ए’ डिभिजन खेलेका थिए ।

“मैले पहिलोपटक ‘ए’ डिभिजन लिग खेलेकै फ्रेन्ड्स क्बलबाट हो । अहिले फेरि मुख्य प्रशिक्षकका रूपमा यस क्लबमा आएको छु । मलाई पुरानो घर फर्किएको अनुभूति भएको छ,” मिश्रले थपे ।

मिश्र पछिल्लो समय गोलकिपर प्रशिक्षकका रूपमा व्यस्त थिए । अहिले आफ्नो पुरानो क्लब सम्हाल्न आइपुगेका छन् । हुन त यसअघि पनि फ्रेन्ड्स क्लबको प्रशिक्षण सम्हालिसकेका छन् । २०६५ मा । त्यसपछि राष्ट्रिय टोलीमा गोलकिपर प्रशिक्षणमा व्यस्त बनेका उनी लामो योजनासहित पुनः फ्रेन्ड्समा फर्किएका छन् । उनले २०६२ मा ललितपुरकै थ्री स्टार क्लब पनि सम्हालेका थिए । त्यतिबेला थ्री स्टार लिगमा दोस्रो भएको थियो ।

मिश्रले असोज पहिलो साताबाट फ्रेन्ड्समा प्रशिक्षण सुरु गरेका थिए । टिममा ठुलो नाम गरेका खेलाडी छैनन् । तर, पनि मंसिर ३ गतेबाट सुरु हुने लिगमा जुनसकै ठुला भनिएका टोलीलाई ‘सबक’ सिकाउने लक्ष्यमा मिश्र तल्लिन छन् । त्यसकै लागि मिहिनेत गरेका छन् । 

“लामो समयपछि आफ्नो पुरानो क्लबमा फर्किएको छु । त्यसकारण  पनि यस क्लबलाई जसरी हुन्छ राम्रो गर्ने लक्ष्यमा छौैँ । ठुलो नाम गरेका खेलाडी छैनन् । तर, सन्तुलित टोली बनेको छ,” पुल्चोक इन्जिनियरिङ कजेलको मैदानमा प्रशिक्षण गराइरहेका मिश्रले भने, “हामी कमजोर छैनौँ । हामी सबैलाई सम्मान गर्छौं । तर, ठुला भनिएका क्लबलाई हामी सबक सिकाउन तयार छौँ ।”

क्लबले राष्ट्रिय टोलीका पूर्व खेलाडी प्रकाश बुढाथोकीलाई कप्तानको जिम्मेवारी दिएको छ । प्रिजेन तामाङ, निराजन महर्जन, असिम भुसाल नाम चलेका खेलाडी हुन् । गोल पोस्टको जिम्मेवारी भारतका खेलाडी राहुल यादवले सम्हाल्नेछन् । ट्रिडिनान एन्ड टोबागोका तीन खेलाडी छन् । यिनै खेलाडीको भरमा फ्रेन्ड्स यसपटक पनि ‘मिड टेबल’ मै बस्ने लक्ष्यमा छ । तर, यसपटक तल होइन, शीर्ष ६ भित्र बस्ने योजनामा छ ।

सिजनअघि फ्रेन्ड्सले तीन मैत्रीपूर्ण फुटबल खेलेको छ । त्यसमध्ये दुई खेल हारेको फ्रेन्ड्सले एक खेल जितेको छ । फ्रेन्ड्स पहिलो खेलमा त्रिभुवन आर्मीसँग ५–१ ले हारेको थियो । दोस्रो खेलमा थ्री स्टारसँग १–० ले पराजित फ्रेन्ड्सले तेस्रो खेलमा न्युरोड टिम (एनआरटी)विरुद्ध ४–१ को विजय हासिल गरेको थियो । 

“हामीले दिन प्रतिदिन सुधार गर्दै गएका छौँ । क्लबमा नयाँ खेलाडीको वर्चश्स्व छ । तर, लिग लामो समय चल्ने भएकाले सहज छैन । अझ सिङ्गल राउन्ड रोबिन लिग भएकाले अझ चुनौती छ,” मुख्य प्रशिक्षक मिश्रले भने, “त्यसकारण हरेक खेल हामीलाई चुनौतीपूर्ण हुनेछ । फुटबलमा गोल गर्नुपर्छ । हामी डराएर खेल्दैनौँ । गत सिजनको भन्दा राम्रो नतिजा ल्याउछौँ ।”

फ्रेन्ड्सले उद्घाटन खेलमै ललितपुरकै सातदोबाटो युथसँग प्रतिस्पर्धा गर्नेछ । सातदोबाटो नवप्रवेशी क्बल हो । यसै सिजन ‘बी’ डिभिजन लिग च्याम्पियन बनेर ‘ए’ डिभिजन उक्लिएको हो । दोस्रो खेल संकटाविरुद्ध खेल्नेछ । 

“पहिलो खेल हाम्रा लागि महत्वपूर्ण छ । हाम्रा लागि मात्र सबैलाई पहिलो खेल महत्वपूर्ण हुनेछ,” प्रशिक्षक मिश्रले भने, “हामी पहिलो खेल जसरी पनि जित्ने लक्ष्यमा छौँ । किनभने यसले खेलाडीको मनोविज्ञानमा पनि असर पार्छ । सुरुआत राम्रो हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । त्यसैले हामी सुखद सुरुआत गर्ने लक्ष्यमा हुन्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro