site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
जसले जन्माए, ‘टिकटमा मुक्तक’

पोखरा । २०३५ साल माघ २० गते । चिसो दिनको पारिलो घाम । यो दिनांक साहित्यप्रेमीले सम्झिरहन्छन् । केहीले प्रत्यक्ष हेरे, भेटे, केहीले ती किस्सा सुन्छन् र सुनाउँछन् ।

नेपाली साहित्य क्षेत्रको यो विशेष दिन पोखरामा एउटा साहित्यिक कार्यक्रमको आयोजना गरिएको थियो, ‘टिकटमा मुक्तक’ ।

यही कार्यक्रममा मुक्तक सुनाउन उक्त दशकका चर्चित साहित्यकार हरिभक्त कटुवालदेखि भवानी घिमिरे, केशवराज पिँडाली, कणाद महर्षि, हेम हमाल, गगन विरही, कृष्णभूषण बल, ध्रुवकृष्ण द्वीपलगायतका स्रष्टा पोखरामा आएका थिए । उनीहरू आएनन् मात्र, मुक्तक सुनाए ।

Dabur Nepal
NIC Asia

दुई रुपैयाँको मोल तोकिएको उक्त मुक्तक गोष्ठीले ‘मुक्तक सुन्न र सुनाउन पोखरा जाने भन्ने चलन’ समेत चलायो ।

पञ्चायती समयको त्यो साहित्य चेत र उक्त कार्यक्रम अहिले पनि नामी साहित्यकारहरूको स्मरणमा छ । तर, जसले यो कार्यक्रमको परिकल्पना गर्‍यो, ती परिकल्पनाकार पनि अब नेपाली साहित्यको स्मरणमा मात्रै छ ।

विजय बजिमय 

नेपाली साहित्यक्षेत्रमा चिनिएको नाम हो ।

उनै बजिमय जो शारीरिक दुर्बलताका बाबजुद ‘टिकटमा मुक्तक’ कार्यक्रम गरे र साहित्य इतिहासमा आफ्नो नाम लेखाएर अस्ताए ।

पोखराको मोहरिया टोलमा २०१४ सालमा जन्मिएका बजिमयको आइतबार काठमाडौंमा निधन भएको हो । उनको पार्थिव शरीर सोमबार पोखरास्थित तुलसीघाटमा अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरको अन्त्येष्टि चलिरहँदा तुलसीघाटमा भेटिएका अर्का साहित्यकार सरुभक्त भने बजिमयसँगका सहकार्य, विद्यालय पढ्दाको क्षण, उनको खुट्टा नचल्नुको कारण स्मरण गर्दै थिए ।

सरुभक्तको स्मरणमा बजिमय

नेपाली साहित्यका एक प्रख्यात साहित्यकार, समकालीन साहित्यकार बालककालदेखिकै साथी थिए । उनको निधनले व्यक्तिगत क्षतिका साथसाथै वाङ्मयिक क्षेत्रमा पनि उत्तिकै क्षति पुगेको छ ।

२०१४ मा विजय जन्मिएका हुन् । हामीले अहिलेको गण्डकी बोर्डिङ, त्यतिबेला नेपाल आदर्श विद्यालयमा अध्ययन गरेका हौँ । म विजयभन्दा २ कक्षा सिनियर थिएँ । तर, पनि उनी साथी थिए ।

हामीसँगसँगै खाने खेल्ने गर्थ्याैं । अरु बालक झैँ उनी पनि स्वस्थ थिए ।

तर, ४–५ वर्षको उमेर हुँदा जस्तो लाग्छ । घोडाले खुट्टामा कुल्चिएर खुट्टामा चोट लागेको थियो । तैपनि उनी हिँड्न, खेल्न, दगुर्न सक्थे । हाम्रो विद्यालयमा भेट भइरहन्थ्यो । पछि विद्यालयमा नै खेलकुदको क्रममा पनि उनी एकदुइपटक लड्न पुगे । त्यसपछि परिवारले विद्यालयबाट निकालेर घरमा लगेका हुन् ।

हाम्रो विद्यालयमा त्यसपछि भेट भएन । घरमा नै पनि उनी लड्ने क्रम निरन्तर रह्यो । पछि त्यही चोटले गर्दा दुवै खुट्टा चल्न नसक्ने अवस्थामा पुगे ।

गण्डकी बोर्डिङबाट बाहिर आएपछि केही वर्षको अन्तरालमा उनको खुट्टामा चोट लाग्दै गएपछि क्रमिक रुपले हिँड्न, चल्न नसक्ने स्थितिमा पुगेका हुन् ।

खुट्टा नचले पनि उनको साहित्यिक गति भने रोकिएन । अनेकौँ रचना त्यसपछि नै सिर्जना भएका हुन् ।

घरमा बसेता पनि राजनीतिक, सामाजिक, व्यावसायिक क्षेत्रमा उनको संलग्नता उत्तिकै थियो ।

पछि २०४२–४३ तिर काठमाडौं लागेपछि त्यतै व्यवसायमा लागेका थिए । 

उनी पोखराका छोरा थिए, पोखरामा प्रख्यात साहित्यिक संस्था, ‘पोखरेली युवा सांस्कृतिक परिवार’का पूर्वाध्यक्ष पनि हुन् ।

हामीले ३० को दशकदेखि नै साहित्यमा सहकार्य गरेका थियौँ, जुन आजसम्म थियो ।

काठमाडौं लागेपछि पनि बजिमयको साहित्ययात्रा अगाडि बढ्दै गयो । काठमाडौंमा राष्ट्रिय नाचघरमा सांस्कृतिक संस्थानमा अध्यक्षता पनि ग्रहण गरेका थिए । प्रज्ञा प्रतिष्ठानमा पनि प्राज्ञ सदस्यको रुपमा पुगेका थिए ।

उनको जीवन अत्यन्त गतिशील र विभिन्न आयाममा बाँडिएको देखिन्छ । नेपाली समाज र साहित्यको क्षेत्रमा ठूलो क्षति भएको मैले महसुस गरेको छु ।

२०३४ मा पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना भएको हो । म संस्थापक सचिव थिएँ । २ वर्षपछि हामीले उहाँहरूलाई एउटै संस्थामा आबद्ध भएर काम गरौँ न भनेपछि उहाँहरू पनि आउनुभयो । बजिमय २०४० तिर उहाँ अध्यक्ष भएका हुन् ।

विजय बजिमय हिँड्न नसक्ने र उनको अभिरुचीका कारण उनको घर नित्य भेट गर्ने र अनौपचारिक रुपमा साहित्य, वाङ्मयका कुराहरू चलिरहन्थे ।

त्यही घरमा एउटा कार्यक्रम फुरेको थियो, ‘टिकटमा मुक्तक’ । मलाई याद छ, त्यो कार्यक्रमको सोच नै विजयको थियो ।

विजयले नै रुसतिर टिकट लिएर कार्यक्रम गर्छन् भन्ने सुनाएका थिए । त्यतिबेला युवापुस्तामा मुक्तक लोकप्रिय हुँदै गइरहेको थियो ।

हामीले पछि हरिभक्त कटुवाललाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्‍यौँ । ती सबै जमघट, कवि गोष्ठी, विमर्श सबै विजयको घरमा नै हुन्थ्यो । उनको मोहरिया टोलको घरमा देशभरिका साहित्यकार आउँदा भेट हुने थलो थियो ।

पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना पछि अहिलेसम्म ल्याउनुमा विजयको ठुलो हात छ ।

विजय बजिमय र पोखराका अर्का साहित्यकार तीर्थ श्रेष्ठको पारिवारिक साइनो पनि छ । नाताले बजिमय तीर्थ श्रेष्ठका जेठान हुन् । तर, जेठान नाताभन्दा श्रेष्ठ र बजिमयको साहित्य नाता पनि उत्तिकै पारिवारिक छ ।

कवि तीर्थ श्रेष्ठको सम्झनामा बजिमय

मैले चिन्दा विजयलाई आफ्नो घरमा सार्वजनिक पुस्तकालय स्थापना गरिसक्नुभएको थियो । उहाँको पुस्तकालयमा विभिन्न लेखकको उपन्यास अध्ययन गर्ने जमात थियो । ती उपन्यासहरू उहाँको घरमा थियो ।

पछि हामी तीनजना विजय, म र डा. बालमुकुन्द तुलाचन मिलेर एउटै शिर्षकमा कविता लेखेका थियौँ ।

उहाँ साहित्यकार भन्दा अगाडि पत्रकार भनेर चिन्नुपर्ने हुन्छ । उहाँले २०२९ सालमा १५ वर्षको हुँदा फेवाताल नामको सामूहिक संकलन निकाल्नुहुन्थ्यो । त्यसमा उहाँले प्रकाशन सम्पादन पनि गर्नुभयो ।

पछि उहाँ हिँडडुलमा अप्ठ्यारो र उहाँको क्रियाशीलताका कारण भएपछि उहाँकै घरमा प्रत्येक शनिबार अन्तरंग गोष्ठी नामको कार्यक्रम गर्न थाल्यौँ । त्यहाँ रचना वाचन गर्ने, वाचित रचनामाथि कुनै एक समिक्षकले टिप्पणी गर्ने परम्परा थियो ।

नेपाल भाषाका समीक्षक इन्द्र माली हुनुहुन्थ्यो । उहाँ पनि आउनुहुन्थ्यो । त्यो गोष्ठीमा नै हामीले जगदीश घिमिरे, डा. वासुदेव त्रिपाठी, कुन्द दीक्षित, मदनमणि दीक्षित, कृष्णचन्द्रसिंह प्रधान, कमलमणि दीक्षित, केशवराज पिँडालीलगायतलाई हामीले उहाँकै निवासमा भेटेका थियौँ । अघोषित रुपमा उहाँले पोखराको साहित्यको नेतृत्व गर्नुभएको थियो ।

पछि हामीले एउटा अनौपचारिक संस्था चलायौँ, ‘साहित्यप्रेमी परिवार’ भन्ने । त्यसले पोखराका सबैखालका प्रतिभालाई एकठाउँमा जोडेर २०३५ साल फागुन ११ गते फेवातालको पारिपट्टि प्रतिभा प्रितीभोज भनेर आयोजना गरेका थियौँ । कला, संगती, साहित्यको क्षेत्रको प्रतिभालाई नजिक्याउने र सहकर्म गर्ने कामको थालनी भयो, उक्त कार्यमा बजिमयको भूमिका महत्वपूर्ण थियो ।

टिकटमा मुक्तक कार्यक्रम पनि उहाँकै परिकल्पना थियो ।

पछि उहाँले समीक्षा साप्ताहिकमा संवाददाताको काम गर्नुभयो । नौलो डाँक साप्ताहिकको सम्पादन, पलाँसको सम्पादन पनि गर्नुभयो । त्योबेला हवाइपत्र भन्ने हुन्थ्यो । त्यो हवाइपत्रमा हामी दुइजनाले संगम भन्ने नामबाट संयुक्त कवितासंग्रह निकालेका थियौँ ।

उहाँले पछि पोखरा छाडेर काठमाडौं बस्न थाल्नुभयो । काठमाडौंमा पनि उहाँको निवास साहित्यकर्मीको जमघट गर्ने थलो भयो । राजनीतिक रुपमा कांग्रेसका कार्यकर्ता पनि उहाँलाई भेट्न गइरहन्थे । काठमाडौंमा उहाँले होटल र रेडियो पसलको व्यवसाय थाल्नुभयो ।

पछि चाहिँ उहाँको साहित्यिक क्रियाशीलता घट्दै गयो । त्यैपनि दुइवटा कृति प्रकाशित भयो । अन्ततोगत्वा नामक कथासंग्रह र समय भनेको समय हो भन्ने कविता प्रकाशित भएको थियो ।

पोखरा हुँदै उहाँले तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता प्रतियोगितामा उहाँले तृतीय पुरस्कार प्राप्त गर्नुभएको थियो । राष्ट्रिय प्रतिभा, युवावर्ष मोती पुरस्कार, नेत्रस्मृति पुरस्कार पनि पाउनुभएको थियो ।

उहाँका फुटकर कविता थुप्रै छन् । एउटा कविता प्रकाशित हुनै बाँकी छ । त्यसको पाण्डुलिपी साहित्यकार दुवसु क्षेत्रीसँग छ ।

त्यो पाण्डुलिपी प्रकाशनको चाँजोपाँजो उहाँले मिलाउँदै हुनुहुन्छ । केही दिनभित्रै उहाँको नयाँ कविता मरणोपरान्त प्रकाशित हुँदैछ ।

उहाँले मुक्तक, गजल प्रशस्त लेख्नुभयो । 

तस्बिर : बजिमयको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro