site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
मिलन पाण्डे समूहलाई प्रश्न : विवेकशील साझा विभाजन भएको हो ?

एकपटक टुटेर गएको मंसिरमा जुटेको विवेकशिल साझा पार्टी फेरी विभाजनउन्मुख भएको छ ।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच वैचारिक मतभेद देखिएको छ । अर्थात् साविकको विवेकशील पार्टी र साझा पार्टीबीच समूहगत लडाइ सतहमै छताछुल्ल भएको छ । अध्यक्ष मिश्र संघीयता खारेजी, धर्मको विषयमा जनमत संग्रह र राजसंस्था भन्दै हिँड्न थालेका छन् भने संयोजक पाण्डे वंशविशेषलाई राज्य सुम्पन नसकिने भन्दै संविधानको रक्षा गर्नुपर्ने अडानमा छन् ।

विवादकैबीच मिश्रले एकलौटी केन्द्रीय समिति बैठक बोलाएर विधान संशोधन गरिसकेका छन् । संयोजक पाण्डेमा निहित अधिकार खोसेर उनी शक्तिशाली अध्यक्ष बनेका छन् । जसको प्रतिवादमा संयोजक पाण्डेको समूह उत्रिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनै संयोजक पाण्डे निकट नेता तथा वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलसँग बाह्रखरीकर्मी रोमन आचार्यले कुराकानी गरेका छन् । प्रस्तुत छ, सम्वादको सम्पादित अंशः

पार्टी अध्यक्षले संयोजकको अधिकार त खोस्नुभएछ है ?

पार्टीमा समस्याहरू देखिएको पहिलेदेखि नै हो । मंसिरमा एकीकरण गरेपछि अध्यक्ष र संयोजकलाई कार्यकारी अधिकार राखेर दुवैको सहमतिमा पार्टीलाई अगाडि बढाउने भन्ने विधानको व्यवस्था छ । तर, पछिल्लो समयमा पार्टीमा समस्या देखियो ।

सहमतिको मसी सुक्न नपाउँदै पार्टी अध्यक्षले एकलौटी रूमपा संयोजकलाई हटाएर अधिकार आफैँ लिइसक्नुभयो । तपाईंहरू अब कसरी अघि बढ्नुहुन्छ ?
वैकल्पिक राजनीतिको मूल बाटो भनेर हामीले लिएर आएका हौँ । त्यहीँ मूलबाटोबाट अघि बढ्ने हो । त्यहाँबाट दायाँबायाँ गर्ने काम हामीबाट हुँदैन । नेपालको संविधानलाई आक्रमण गरेर प्राप्त उपलब्धि गुमाउने भन्ने हाम्रो कुनै योजना छैन । संविधानले आम नेपालीलाई दिएको अधिकारलाई संरक्षण गर्दै अघि बढ्छौँ । कुनै वंश विशेषलाई वुझाएर देश समुन्नत बन्छ भन्ने हामीलाई विश्वास छैन । हामी बुझाउन दिँदैनौ ।

मिश्रले विधाननै परिवर्तन गरिसक्नुभयो । अब तपाईंहरू एउटै पार्टी बनेर बस्न सम्भव छ त ?
उहाँले बहुमत सदस्यले विधान परिवर्तन गरेर पारित गरे भनेर जुन दाबी गर्नुभएको छ, त्यसको औचित्य छैन । नेपाल कानुनी राज्य हो । निर्वाचन आयोग छ, अदालत छ, आजको कुराहरू त्यी ठाउँहरूबाट भेरिफाई हुने नै छ । १२–१४ जना मान्छे कार्यालयमा जम्मा भएर अरू चाहिँ जुममा जोडिए भनेर हुँदैन । अहिलेको समयमा जुममा एउटै मान्छे ल्यापटपबाट, मोबाइलबाट विभिन्न नाम राखेर जोडिन मिल्छ । त्यसकारण वैधानिक तवरले त्यसको पुष्टि हुनुपर्छ । हामी गराउँछौँ ।

अब पार्टीका दुई शीर्ष नेताहरू एक भएर अघि बढ्ने अवस्था छ कि छैन ? अर्थात् विवेकशील पुनः विभाजन हुन्छ कि हुँदैन ?
यो विवेकशील साझा पार्टीमा रवीन्द्रजीसँग सदस्यता काटेर हामी पार्टी प्रवेश गरेका हैनौं । पार्टी एकीकरण गरेर आएका हौँ । त्यसकारण यो पार्टी जति उहाँको हो हाम्रो पनि त्यति नै हो । त्यसकारण आज पनि हामी यहीँ पार्टीका सदस्यहरू हौँ, हामी यहीँ पार्टीमा क्रियाशील भएर अघि बढ्छौँ । बाँकी रवीन्द्रजीले के गर्नुहुन्छ उहाँले जान्ने कुरा हो ।

उहाँले पनि आफ्नो अडान नछोड्ने तपाईंहरू पनि टसमस नहुने, अनि कसरी एक भएर अघि बढ्ने त ?
हामी हिड्ने बाटो र एजेन्डा प्रष्ट छँदैछ । वैधानिकताको प्रश्न हो भने निर्वाचन आयोग वा अदालत सम्म पुग्यो भने अदालतले निर्णय गर्ने कुरा हो । उहाँले जसरी पार्टीमा दाबी गरिरहुनभएको छ त्यसमा पनि सत्यताको परीक्षण हुनुपर्‍यो । भोलि कति साथीहरू उहाँको र कति साथी हाम्रो पक्षमा उभिन्छन् त्यो पनि हेर्नुपर्छ । यो विचारधाराको प्रश्न पनि हो । हामी जस्तो अवस्था भोलिको दिनमा आउँछ सामना गर्न तयार छौँ । हामी विवेकशील साझा पार्टी भनेर क्रियाशील हुन्छौँ, अलग बाटो लिदैनौ । हामी क्रियाशील हुन कसैले रोक्न सक्दैन किनकि विवेकशील साझा पार्टीको हामी सदस्य हौँ । अब कानुनी र वैधानिक हिसाबले क्रियाशील हुन नसक्ने अवस्था आयो भने हामी बसेर निर्णय गर्छौँ ।

तपाईंहरूले पनि आफ्नो समूहको बैठक बोलाउनुभएछ यसले के संकेत गर्छ त ?
हो । भोलि हामीले बैठक बोलाएका छौँ । बैठकमा सङ्गठन सुदृढीकरण तथा विवेकशील साझा निर्माण अभियान, पार्टीमा बहसमा रहेका दस्ताबेज, न्याय तथा सुशासन आयोग गठन, पार्टीमा अध्यक्ष र संयोजकको भूमिका समीक्षा, महाधिवेशन मिति घोषणा, स्थानीय निर्वाचन परिचालन समिति गठन, वृहत् लोकतान्त्रिक प्रोग्रेसिभ ध्रुवीकरण, पार्टीको विधाने, वाग्मती प्रदेश सभामा पार्टीको भूमिका, पार्टी प्रवक्ता नियुक्ति, पार्टीले सञ्चालन गर्ने अभियानहरूसहितका एजेन्डा केन्द्रित रहेर छलफल गर्छौँ ।

अन्त्यमा, तपाईंहरू नेकपा(एस)मा प्रवेश गर्न लागेको चर्चा छ नि ? 
यसमा हाम्रो संयोजक मिलन पाण्डेले खण्डन गरिसक्नुभएको छ । पूर्व प्रधानमन्त्री भइसकेको मान्छेले यसो भेटघाट गरौँ भनेपछि हामीले भेटघाट गरेको हो । जसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा(एस) का नेता झलनाथ खनालसँग पनि हाम्रो भेट भएकै हो । कांग्रेस नेताहरू शेखर कोइराला, विश्वप्रकाश शर्मा, गगन थापाहरूसँग पनि भइरहेको हुन्छ । त्यसकारण जो सँग भेट्यो त्यो सँग एकीकरण गर्‍यो भन्नुको त अर्थ नै रहँदैन नि ! यो बेकारमा हावा फिजाइएको हो, त्यसमा सत्यता छैन ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  २०:२५
प्रतिक्रिया दिनुहोस्