काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसी मंगलबार बिहान दशरथ रंगशाला निरीक्षणमा निस्किए । मन्त्री केसी खेलकुदको राजधानी मानिने दशरथ रंगशालाको निरीक्षणमा निस्किँदा अभ्यासमा व्यस्त रहेका खेलाडी तथा प्रशिक्षकलाई रंगशालाले तत्काल गति लिन्छ भन्ने कुरामा विश्वास छैन ।
भूकम्पले क्षति पुर्याएको दुई वर्षभन्दा बढी भइसकेपनि रंगशालाको अहिलेसम्म डीपीआर बनाउने बाहेक केही काम अघि बढेको छैन । मन्त्री भएलगतै रंगशाला निरीक्षण तथा सरसफाइ गर्ने पुरानै प्रवृत्ति भएकाले जिर्ण बनेको रंगशाला पुनर्निर्माण नहुँदा खेलाडीलाई यस्तो लाग्नु स्वभाविकै हो ।
मन्त्रीले रंगशाला निरीक्षणपछि पत्रकारहरूलाई कामको अनुभूति हुने गरी काम गरेर देखाउँछु भन्दै गर्दा मन्त्रीको निरीक्षण नियालिरहेका नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने जितबहादुर केसीलाई पनि विश्वास छैन रंगशाला पुनर्निर्मााणको काम तिव्र गतिमा हुन्छ भन्ने । उनले भने, “जुनै मन्त्री निरीक्षणमा आएपनि हुने केही होइन । मन्त्री आउँछ, जान्छ । रंगशालाले कुनै रुप लिँदैन ।”
तेक्वान्दोकी राष्ट्रिय खेलाडी ज्ञानी चुनाराले रंशालामा खेलाडीको लागि एउटा पनि राम्रो शौचालय नभएको भन्दै शौचालयकै कारण खेलाडीहरू बिरामी पर्ने गरेको बताइन् । उनले भनिन्, “जुन मन्त्री आएपनि उस्तै हो, केही परिवर्तन छैन । आउने खेलाडीहरूलाई एक दुई दिन भेट्ने त्यसपछि गायब हुने ।”
यसअघिका मन्त्रीहरूले पनि रंगशाला पुनर्निर्माण भइहाल्छ भन्ने प्रतिबद्धता पूरा नगरेकाले पनि खेलाडी तथा प्रशिक्षकमा मन्त्रीप्रति धेरै अपेक्षा नहुनु ठिकै पनि हो । यसअघि युवा तथा खेलकु्द मन्त्रालयको नेतृत्व गर्दै दलजीत श्रीपालीले मन्त्री बनेलगत्तै रंगशालामा झार उखेल्नेदेखि शौचालयसम्म सफा गरेका थिए । त्यस बेला श्रीपालीले भनेका थिए, “रंगशालाको पुनर्निर्माण प्रक्रिया तत्काल अघि बढ्छ । तपाईंहरु ढुक्क हुनुहोस् ।”
खेलाडी, प्रशिक्षक तथा खेलप्रेमी ढुक्क पनि भए तर, लामो समय बितिसक्दा पनि देशको एउटैमात्र अन्तर्राष्ट्रिय रंगशाला पुनर्निर्माण नहुनु दुर्भाग्य नै हो । त्यसो त कराँते प्रशिक्षक दीपक श्रेष्ठ अब पनि रंगशाला निर्माण भइहाल्छ भन्ने कुरामा ढुक्क छैनन् । प्रशिक्षक श्रेष्ठले भने, “मन्त्री आउनुभो, अफिसियललाई भेट्नुभो, तर खेलाडीलाई के छ भनेर सोध्नुभएन । खेलाडीको मनोबल उच्च बनाउनका लागि पनि खेलाडीसँग कुरा गर्नुपर्ने थियो । रंगशालाको यस्तो हालत छ, निर्माणमा कुनै तत्काल परिवर्तन हुन्छ जस्तो लाग्दैन ।”
यता, एथ्लेटिक्स खेलाडी हरि रिमाल भौतिक संरचना बलियो नहुँदा खेलाडीले राम्रो अभ्यास गर्न नपाएको गुनासो गर्दै भन्छन्, “मन्त्रीले गर्नुपर्ने काम भनेको भौतिक संरचना र नीति निर्माण गर्ने हो तर सरसफाइमै केन्द्रित छन् । काम गर्छन्, राम्रो हुन्छ भनेर विश्वास गरिहाल्ने अवस्था छैन ।”
खेलाडीको गुनासो र विश्वास नभएपनि राम्रो काम हुन्छ भन्ने केही आधार भने छन् । नेपाली खेलकुद क्षेत्रलाई सरकारले नै मुख्य प्राथमिकतामा नराखेको बेलामा नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीसामु ठूलै चुनौती र राम्रो काम गर्नका लागि अवसर पनि छ । मन्त्री केसीको लागि दशरथ रंगशाला पुनर्निर्माण गरेर खेलाडीमा उब्जिएको गुनासो तथा अविश्वास तोड्न यो अवसर पनि हो ।
त्यसो त मन्त्री केसीले नेपाली खेलकुद जगतलाई २४ दिनमा परिवर्तन गर्ने दाबी गरेका छन् । मन्त्री केसीले भने, “सन् २०१९ सालमै नेपालमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना हुन्छ । त्यसको लागि पनि अब रंगशालाको काम दु्रत गतिमा हुन्छ । डिपिआर तयार भइसकेको छ । अब केही दिनमै हामी रंगशालाको भिआईपी प्याराफिट भत्काउन थाल्छौं ।”
२०७२ सालमा आएको भूकम्पले क्षति पुर्याएको रंगशाला अहिलेसम्म पनि निर्माण नहुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन ।