नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलको नेतृत्व गरेका उदयशमशेर राणा एकपटक सांसद र एकपटक अर्थ राज्यमन्त्रीसम्म भएका छन् । विदेशमा पढेर स्वदेश फर्किएर राजनीतिमा लागिरहेका राणा अहिले भने कांग्रेसको केन्द्रीय सदस्य, सांसद र मन्त्री कुनै पनि पदमा छैनन् ।
हालै उनी भारत भ्रमणमा गएका थिए । कांग्रेसको तीन सदस्यीय प्रतिनिधिमण्डलमा रहेर भारत गएर फर्किएका हुन् । उनले त्यहाँ के कुरा उठाए ? कांग्रेस र भारतीय जनता पार्टीको सम्बन्धलगायत विषयमा उदयशमशेर राणासँग बाह्रखरीका रमेश वाग्लेले गरेको कुराकानीको सम्पादित अंश :
भाजपाको निमन्त्रणामा भएको तपाईंहरूको भारत भ्रमणको सन्देश के हो ?
राजनीतिक पार्टीहरूको छिमेकी मुलुक र आफ्नो सोचाइ मिल्ने अरू देशका राजनीतिक पार्टीहरूसँग ‘एक्सचेन्ज प्रोग्राम’ हुनु नयाँ कुरा पनि होइन, ठूलो कुरा पनि होइन । हामीले कम्युनिस्ट पार्टी अफ चाइना र यहाँका कम्युनिस्ट पार्टीबीच कोभिडको समयमा पनि भर्चुअल मिटिङ भएको देख्यौँ । यसलाई धेरैले धेरै किसिमले टिप्पणी पनि गरे । म त्यसमा टिप्पणी गर्न चाहदिनँ । आइडोलोजिकल्ली मिल्ने भएपछि पार्टी–पार्टीबीच इन्टरर्याक्सन हुनु स्वाभाविक नै हो ।
भारतीय जनता पार्टी पनि एउटा लोकतान्त्रिक पार्टी हो । नेपाली कांग्रेस पनि लोकतान्त्रिक पार्टी । यिनै पार्टीका नेताहरू देशको प्रधानमन्त्री हुनुहुन्छ । नेपाल–भारत एउटा अत्यन्तै नजिकको सम्बन्ध हुँदाहुँदै छोटो–छोटो समयमा साना–साना विषयले अप्ठेरो परिस्थिति सिर्जना गरिरहेका छन् । समय–समयमा सम्बन्धमा उतारचढाव भइरहेको छ ।
धेरै देशमा ‘ट्रायक टु डिप्लामेसी’को कुरा भइरहेको हुन्छ । फर्मल (गभर्मेन्ट टु गभर्मेन्ट) भन्दा अरू पनि च्यानलहरूबाट काम भइरहेको हुन्छ । मचाहिँ हामीले थालेको डिप्लोमेसीलाई ‘वान एन्ड हाफ ट्रयाक डिप्लोमेसी’ सुरुवात गरेको हो भन्न चाहन्छु । किनभने, हामीहरू सरकारमा पनि छैनौँ, संसद्मा पनि छैनौँ । तर, हामी रुलिङ पार्टीको कार्यकर्ता भइसकेपछि हाम्रो इनफर्मल च्यालन पनि स्थापित गर्न खोजेको हो ।
तपाईंले चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको सम्बन्धको कुरा गर्नुभयो । कांग्रेसले भारतीय जनता पार्टीसँग सम्बन्ध राखेको कुरा गर्दै हुनुहुन्छ । यसले देशको सम्बन्धलाई एकातर्फ ढल्काउने काम गर्दैन र ?
हामीलाई चिनियाँ कम्युनिस्ट पार्टीले भोलि कुनै कार्यक्रमममा बोलायो भने हामी लोकतान्त्रिक पार्टी तपाईं कम्युनिस्ट पार्टी हामी आउँदैनौँ भन्ने कुरा आउँदैन नि । एउटा रुलिङ पार्टीले बोलाएर भारत गयौँ । चीनमा त एउटै पार्टी हो । त्यो पार्टीले बोलायो भने छिमेकको पार्टीसँगको सम्बन्ध त रहन्छ नै । तर, के हो भने निम्तोचाहिँ दुवै तर्फबाट हुनुपर्दछ ।
हामीले अरूसँग सम्बन्ध नराख्ने भनेका छैनौँ । भारतीय जनता पार्टीले बोलाइसकेपछि जानु हुँदैन भन्ने तर्क गर्न त नमिल्ला नि । तर, अरू सबैसँग सम्बन्ध राख्ने कुरा गर्दा कुनै एक पार्टीसँग सम्बन्ध राख्नै नहुने भन्ने त हुँदैन नि ।
नेपाली कांग्रेस भारतका समाजवादीहरू र कांग्रेस आईभन्दा भारतीय जनता पार्टीसँग निकट हो ?
हाम्रो आइडोलोजी र प्रिन्सिपलका आधारमा हामी भारतका समाजवादीहरूसँग निकट हौँ । तर, अहिले भारतमा समाजवादी पार्टी बाँकी छैन । भारतको अन्तिम समाजवादी प्रधनमन्त्री भनेको आईके गुजराल हुन् । भारतमा समाजवादी पार्टी अहिले ‘नन एक्जिस्टेन्स’ छ । भारतको राजनीतिमा कि त बीजेपीसँग कि त कांग्रेस आईसँग कोलिसनमा मात्र पार्टीहरूको अस्तित्व रहेको छ । जर्ज फर्नान्डेज पनि, नितिशकुमारजस्ता मान्छे पनि भारतीय जनता पार्टीको खेमा एनडीए गठबन्धनमा आबद्ध छन् ।
पोलिटिकल साइन्स र इकोनोमिक्सको विद्यार्थी हुँ म । हामीले पढ्ने बेला क्लियरकट आइडोलोजिकल डिभिजन हुन्थ्यो । अहिले धेरैतिर जिकज्याक भइसकेको छ । हाम्रै देशमा पनि माओवादी र कांग्रेस मिलेर सरकार बनेको छ, जुन कल्पना विगतमा गर्न सकिँदैनथ्यो । केपी ओली र प्रचण्ड एक ठाउँमै उभिन्छन् भन्ने परिकल्पना हुँदैनथ्यो । तर, उनीहरूले पार्टी एकता नै गरे ।
आइडोलोजिकल्ली नेपाली कांग्रेस ‘सेन्टर टु लेफ्ट’ पार्टी हो । हाम्रो सम्बन्ध भारतीय कांग्रेससँग पनि छैन भनेको होइन । तर, हामीले अरू देशको सरकारसँग डिल गर्दा त्यो देशका जनताले कसलाई चुनेका छन्, त्यही सरकारसँग गर्ने हो । तीनै पार्टीका साथीहरूसँग कोर्डिनेट गर्नुपर्छ ।
भारतीय जनता पार्टी पनि एउटा लोकतान्त्रिक पार्टी हो । भाजपा बन्नुअघि जनसंघ थियो । त्यो बेलामा पनि हाम्रो सम्बन्ध थियो । भाजपालाई अगुवाइ गर्ने लालकृष्ण आडवानीजीसँग हाम्रा नेताहरू गिरिजाबाबु र किशुनजीको राम्रै सम्बन्ध थियो ।
हामीले बीजेपीसँग सम्बन्ध राख्नुको अर्को कारण यहाँ हामीले सरकारको नेतृत्व गरेका छौँ । भारतमा बीजेपीले सरकारको नेतृत्व गरेको छ । दुई देशको सम्बन्धमा फेरि पनि उतार–चढाव आयो भने हाम्रो पनि ‘इनफर्मल च्यानल अफ डिप्लोमेटिक कम्युनिकेसन’ गर्न यसले सहयोग पुग्नेछ ।
पहिला पनि सम्बन्ध नभएको होइन, थियो । तर, त्यसले संवादलाई निरन्तर गर्न सकेको थिएन । हाम्रो यो भिजिटले इनफर्मल च्यानलबाट वार्ता जारी राख्ने वातवरण निर्माण भएको छ ।
अहिलेको भ्रमणलाई कांग्रेसको संस्थापनले भारतीय संस्थापनको विश्वास र समर्थन खोजेको रूपमा अर्थ्याइएको छ नि !
स्वाभाविक रूपमा भारतीय संस्थापनसँग हाम्रो सम्बन्ध कहिले पनि नराम्रो थिएन, राम्रै थियो । अझ राम्रो बनाउन हामीले प्रयत्न गरेकै हो ।
भारतीय जनता पार्टीले पनि छिमेक सम्बन्ध राम्रो बनाउन आइडोलोजिकल्ली निकट र सत्तामा रहेका पार्टीहरूसँग सम्बन्ध निर्माण गर्ने प्रयास गरेको छ । त्यसकारण यो हामीले मात्र चाहेर भएको होइन । हामीले पनि चाहेको हो, तर हामीले मात्रै चाहेर भएको होइन । विजय चौथाइवालेलाई हामीले बोलाएका हौँ । अरू पार्टीले पनि बोलाएको रहेछ । अहिलेचाहिँ भारतीय जनता पार्टीले एउटा डेलिगेसनकै रूपमा पहिलोपटक बोलाएको हो । उहाँहरूले नचाहेको भए त निमन्त्रणा नै आउँदैनथ्यो नि त ।
अधिवेशनको मुखमा तपाईंहरू भारत भ्रमणमा जानुभयो । कांग्रेस संस्थापनलाई सहयोग माग्न जानुभएको हो ?
यो प्रश्न धेरैले गरिरहेका छन् । तर, कांग्रेसका त सबै तहमा अधिवेशन हुन्छ । नेतृत्व चयनका लागि चुनाव नै हुन्छ । त्यसमा अन्य पार्टीका नेता–कार्यकर्ता वा भारतीयहरूले त्यसमा प्रभाव पार्ने कुरा आउँदैन । कांग्रेसकै कार्यकर्ताको भोटले जिताउने÷हराउने गर्छ । हाम्रो पार्टीमा जो नेतृत्व आए पनि हाम्रो फरेन पोलेसीमा खास बदलाव आउँदैन ।
अहिले भारत भ्रमणका क्रममा नेपाली कांग्रेस पार्टीको महाधिवेशन किन ढिला भइरहेको हो ? भन्ने विषय अनौपचारिक रूपमा उठ्यो । तर, त्यसमा व्यक्ति÷समूहका विषयमा कुनै कुरा भएन ।
निर्वाचनलाई प्रभावित पार्ने विषय त धेरै हुन्छन् नि, त्यतातिर कुरा गर्नुभयो कि ?
मलाई लाग्दैन कि नेपाली कांग्रेसका प्रतिनिधिले भारतले भनेर कसैलाई भोट खसाल्छन् । बरु भारत, चीन वा अन्य मुलुकको मान्छेले भन्यो भने नेगेटिभ भोटिङ हुनसक्छ ।
एसएसबीले तुइन काटेर नेपाली बेपत्ता भएको, सीमा समस्या, ‘नोटबन्दी’ले राष्ट्र बैंकमा रोकिएर बसेको भारतीय पैसा फिर्ता गर्ने विषय पनि उठाउनुभयो ?
हाम्रो भेटघाट बीजेपीसँग भएको हो । बीजेपीका सभापति, बीजेपीका महामन्त्री, बीजेपीका प्रचार, युवा संगठन र महिला संगठनसँग हाम्रो भेटवार्ता भयो । विशेष त पब्लिसिटी डिपार्टमेन्ट प्रमुखलाई हामीले भेट गर्छौँ नै भनेका थियौँ । किनभने, म भारतीय जनता पार्टीको प्रचार गर्ने शैलीबाट प्रभावित छु, त्यो बुझ्न हामी इच्छुक थियौँ । बीजेपीको प्रवक्तासँग हामीले कुरा ग¥यौँ । योबाहेक सरकारमा रहेका दुई व्यक्तिसँग हाम्रो भेट भयो । एउटा विदेशमन्त्री डा. एस जयशंकर र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट भयो । जयशंकरजीसँग हामीले कुरा गर्दा चारवटा विषय महत्वका साथ उठायौँ ।
पहिलो, हामीले भ्याक्सिनेसनको कुरा उठायौँ । भ्याक्सिनेसनको कुरा राख्दा त्यस बेला भारतमा अलि धेरै समस्या थियो, अहिले अलिक सहज भएको छ, तपाईंहरूको यो भिजिटले अलिकति प्रेसर बढाउँछ, हामी अब छिट्टै भ्याक्सिन पठाउछौँ भन्नुभएको छ । करिब एक लाख भ्याक्सिन आइसकेको जस्तो लाग्छ ।
दोस्रो, नोटबन्दी (डिमनिटाइजेसन) पछि सात/आठ करोड भारतीय रुपैयाँ हाम्रो राष्ट बैंकमा रोकिएर बसेको छ । त्यसलाई पनि फिर्ता लेऊ भनेर हामीले भनेका थियौँ । उहाँहरूले त्यसमा पोजिटिभ रेस्पोन्स गर्नुभएको छ ।
नेपालमा धेरै इस्यु छैन नोट फिर्ता गर्नका लागि तर नेपालका लागि मात्र यो गर्न सहज छैन, कतिपय देशमा इस्युहरू छन् । त्यसैले ती देशका विषयमा पनि सम्बोधन हुने गरी एकैचोटि निर्णय गर्छौँ भन्नुभएको छ ।
तेस्रो, तुइनबाट खसेर हाम्रा नागरिक बेपत्ता भएको अत्यन्तै दुःखद घटनाको विषयमा छानबिन गर्नुपर्छ भनेर हामीले भनेका छौँ । उहाँहरूले हामीले पठाएको डिटेल रिपोर्ट र उनीहरूको सुरक्षा बलको रिपोर्ट हेरेर चाँडै रेस्पोन्स गर्छौ भन्नुभएको छ ।
चौथो र सबैभन्दा महत्त्वको विषय, हामीले नेपालको नक्साभित्रको जमिनका विषय उठाएका छौँ । नक्साको विषयमा ‘गभर्मेन्ट टु गभर्मेन्ट’ वार्ता छिटोभन्दा छिटो सुरु हुनुप¥यो भनेर हामीले भनेका छौँ । त्यसमा उहाँहरूले पहिला इन्कार नै गर्ने गरेको भन्ने हामीले बुझेका थियौँ । तर, यसपटक ‘वि लुकिङ टु इट’ भन्नुभएको छ । कुन तहबाट गर्ने, कहिलेबाट गर्ने भन्ने सुनिश्चितता त छैन, एउटा भेन्यु मिल्नुप¥यो, अर्को टाइम तोकिनुप¥यो । अर्को कुन तहबाट गर्ने हो (मिनिस्टर लेभल, सेक्रेटरी लेभल, जोइन्ट सेक्रेटरी लेभल) त्यो विषयमा हामी विचार गर्छाैँ भनेर उहाँहरूले भन्नुभएको छ ।
यूपीको मुख्यमन्त्रीसँगको भेटमा हामीले सेक्युरिटीको कुरा उठायाैँ । उहाँले पनि त्यही विषय उठाउनुभयो । किनभने, अफगानिस्तानमा तालिबानले टेक ओभर गरिसकेपछि त्यसको असर नेपालमा पनि पर्छ, भारतमा पनि पर्छ र चीनमा पनि पर्छ भनेर हामीले कुरा राख्यौँ । यो पूरै क्षेत्रमा हुन सक्ने आतंकवादी गतिविधि रोक्न हामी पूरै देशहरू मिलेर ‘काउन्टर चेक’ गर्नुपर्छ भन्ने हाम्रो धारणा राखियो । हाम्रो कुरा सुनेपछि मुख्यमन्त्री सिरियस हुनुभयो । त्यो कुरा उहाँले पनि दोहो¥याउँदै यस विषयमा विशेष ध्यान दिनुपर्छ भन्ने कुरा उहाँले राख्नुभयो ।
अर्को कुरा, भारतको बनारसमा हाम्रो पशुपतिनाथ मन्दिर छ । त्यहाँ विश्वनाथ कोरिडोर बनिसकेपछि हाम्रो नेपाली मन्दिरको धर्मशालालाई असर पार्छ भन्ने चर्चाको विषय हामीले राख्यौँ । मुख्यमन्त्रीजीले हामी त्यो हुन दिँदैनौँ भन्नुभयो । उहाँले म नेपालको इतिहास, संस्कृति बुझेको, धार्मिक क्षेत्रबाटै आएको भन्दै आफू मुख्यमन्त्री रहँदासम्म त्यो हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपालसँगको सम्बन्धमा गम्भीर चासोहरूलाई सम्बोधन नै नगर्ने भारतीय शैली छ, यस्तो विषय क्लियर पार्न तपाईंहरूले के गर्नुभयो ?
हामी त यस विषयमा क्लियर नै छौँ । सीमाको सम्बन्धमा नक्साभित्र पारिएको जमिन हाम्रो हो भन्ने विषयमा म र मेरो पार्टीले मात्र होइन, सिंगो संसद्ले नै भनिसकेको छ । भारतले यो होइन, हाम्रै जमिन हो भनिरहेको छ । त्यसो भनिसकेपछि त्यो डिस्प्युटेड एरिया भयो । त्यसपछि हाम्रो उपाय भनेको डिप्लोम्याटिक च्यानल नै हो । त्यसका लागि फर्मल डाइलग सुरु हुन आवश्यक छ । मैले अघि पनि भने कुन लेभलमा बस्ने भन्ने विषयमा टुंगो लाग्नुपर्यो ।
त्यसबाहेक महत्त्वपूर्ण कुरा श्रमको मुद्दा हो । अहिलेसम्म हामी राजनीतिज्ञ, बुद्धिजीवी र पत्रकारहरूले भारतसँगको सम्बन्धलाई काठमाडौं र दिल्लीको सम्बन्धका रूपमा मात्र अर्थ्याउने काम गर्यौँ । काठमाडौंको आँखाले मात्र हेर्दा जब हाम्रो जनसंख्याको झन्डै १५ प्रतिशत साथीहरू भारतमा काम गरिरहेका छन्, त्यसमा श्रमिक मात्र नभर व्यापारी साथीहरू पनि छन् । हाम्रो खुला सिमानाले त्यहाँ जान पासपोर्ट चाहिँदैन । तर, त्यहाँ बैंक खाता खोल्नका लागि हाम्रो नागरिकताले काम गर्दैन । त्यसबाट हाम्रो साथीहरूले धेरै खाले समस्या झेलिरहेका छन् । त्यस दृष्टिबाट हामीले हेर्नुपर्ने आवश्यकता छ ।
भारतसँगको सम्बन्धलाई काठमाडौंका मान्छेलाई असर परेका आधारमा मात्र व्याख्या भइरहेको छ । भारतमा सिमकार्ड लिन नेपाली नागरिकता देखाएर पाउँदैन । त्यसमा हामीले कुरा गर्ने कि नगर्ने ? कतिपय भारतीय श्रमिकहरू नेपालमा आएर काम गरिरहेका छन्, उनीहरूले भारतीय दूतावासमा रजिस्टर गरेको सर्टिफिकेट भयो भने हामीले बैंक खाता खोल्न र सिमकार्ड निकाल्न दिने गरेका छाैँ । यो विषय हाम्रो सरकारले अहिलेसम्म उठाएको छैन । मैले इनफर्मल्ली त्यहाँ यो विषय उठाएको छु ।
हाम्रो नेपालका ९० प्रतिशतभन्दा बढी व्यापार र ‘भायर इन्डिया’ छ । भायर इन्डिया महत्त्वपूर्ण चिज हो । हाम्रो भारतमार्फत हुँदै आएको ट्रान्जिट फ्यासिलिटी अत्यन्तै कमजोर छ ।
साना साना विषयमा अल्झिरहेका छौँ । नेपालमा राजनीतिक दलका नेतादेखि मन्त्री–प्रधानमन्त्रीले अब राजनीतिक आन्दोलन सकियो, आर्थिक विकास गर्नुपर्छ भनेको सुन्छु । तर, नेपालका नेताहरूले आर्थिक विकासका लागि लगानी भित्र्याउने कुरा सोचेका छन् ? भारतसँग र भायर इन्डिया गरी ९० प्रतिशत बढी व्यापार भइरहेको छ । त्यसलाई कम गर्ने विषयमा कहिल्यै कुरा उठेको छ ? भारतमा गएर आफ्नो जीविका चलाइरहेका नेपालीहरूका विषय पनि हामीले उठाउनुपर्छ ।
कांग्रेस सहमहामन्त्री नेतृत्वको भारत भ्रमणको टोलीमा तपाईं पनि पर्नुभयो, तपाईं त कांग्रेसको केन्द्रीय सदस्य, सांसद, मन्त्री केही पनि हुनु हुन्न !
एउटा त म भारतमै पढेको हुँ । मैले पढेको कलेजमै अहिलेको परराष्ट्रमन्त्री पनि पढ्नुभएको हो । मसँगै पढेका कतिपय साथीहरू ब्युरोक्रेसीमा र संसद्मा हुनुहुन्छ । मलाइ पठाउँदा चिनजान भएको हिसाबले कुरा गर्न सहज हुन्छ भनेर मलाई पार्टीले पठाएको हुनसक्छ । तर, पार्टीले कसरी मलाई टिममा राख्ने निर्णय गर्यो भन्नेचाहिँ मलाई थाहा भएन ।