site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
भारत भ्रमणबाट फर्किएका डा. महतलाई प्रश्न– सीमा समस्याका विषय उठाउनुभयो ?
फाइल तस्बिर ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको दूत बनेर भारत भ्रमणमा गएको सत्तारूढ दल नेपाली कांग्रेसको टोली गएको सोमबार स्वदेश फर्किएको छ । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय टोली भारत गएको थियो । टोलीको उद्देश्य भाजपा र कांग्रसबीचको पार्टीगत सम्बन्ध सुधार रहेको थियो ।

भारतमा टोलीले विदेशमन्त्री एस जयशंकरलगायत व्यक्तिसँग भेटवार्ता गरेको थियो । सीमा समस्यालाई संवाद र कूटनीतिक रूपमा समाधान गर्नेबारेमा पनि छलफल गरेको बताइएको छ । प्रस्तुत छ, टोली संयोजक डा. प्रकाशशरण महतसँग बाह्रखरीका रोमन आचार्यले गरेको कुराकानीको सम्पादित अंश :

भ्रमण कस्तो भयो ?  
भारतीय जनता पार्टीको निमन्त्रणमा हामी भ्रमणमा गएका हौँ । उनीहरूले पनि राम्रो महत्त्व दिए । तीन घण्टासम्म बीजेपी सभापतिसहित हेडक्वार्टरमा छलफल भयो । विदेशमन्त्रीसँग पनि भेट भयो । लखनउमा पनि मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट भयो । बनारसमा अन्तरक्रिया भयो, जसमा भीसीलगायत उपस्थित थिए । भन्नाले उनीहरूले नेपालसँग, नेपाली कांग्रेससँग सम्बन्ध विकसित गर्न खोजेको देखियो । हामीले हाम्रा कुराहरू बुँदागत रूपमा राख्यौँ । उनीहरूले हामीले उठाएका विषयहरूलाई गम्भीरताका साथ लिएको पायौँ ।

Dabur Nepal

विदेशमन्त्रीसँग हामीले उठाउँदै आएको सीमालगायत परराष्ट्र सम्बन्धका विषय वस्तुहरू उठायौँ । विदेशमन्त्रीले त्यो विषयहरूमा सकारात्मक बन्दै गम्भीर रूपमा सुनेको हामीले पाएका छौँ । त्यसलाई तत्काल कार्यान्वयनमा लाने प्रतिबद्धता पनि उनीहरूले हामीलाई दिएका छन् ।

यस्तै, पार्टीगत छलफलमा पार्टीको सम्बन्धलाई कसरी बहुआयामिक बनाउने, विस्तार गर्ने भन्ने विषयमा छलफल भयो । पार्टीगत भ्रमणलाई अझै तीव्र बनाउने, एकार्काको मुद्दा विशेषबाट सिक्ने भन्ने कुरा भयो । उहाँहरूले नेपालमा लोकतन्त्र संस्थागत होस् र त्यसको नेतृत्वचाहिँ पुरानो पार्टी भएको नाताले कांग्रेसले मात्र गर्न सक्छ भन्नुभयो । उहाँहरूले बलियो र राष्ट्रवादी नेपाल, भारतको हितमा भएको नेपाल देख्न चाहेको कुरा हामीसमक्ष राख्नुभयो ।

नेपालमा वर्तमान गठबन्धन सरकारको विषयमा भाजपाको धारणा के पाउनुभयो ?
लोकतान्त्रिक संविधानअन्तर्गत हाम्रो संसद्ले बनाएको सरकारका विषयमा उनीहरूले नराम्रो भन्ने र मान्ने कुरै छैन । यो सरकार सफल होस् भन्ने कामना उनीहरूबाट भएको छ ।

अब दुई पार्टीको छलफल र संवादले हाम्रो बुझाइएको स्तर पनि बढ्छ । अब सरकारीस्तरको तहबाट पनि भ्रमण होला । यो भेटले सरकार र दल बुझ्न मद्दत हुन्छ भन्ने दुवैतर्फको बुझाइ रह्यो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा केही कुराकानी भयो ? 
सरकारी तहबाट प्रधानमन्त्रीको भ्रमणको विषयमा कुराकानी होलान । मैले कांग्रेसको डेलिगेसन लिएर गएको हो । भ्रमण हुनुअगागि अफिसरस्तरको भ्रमणहरू हुन्छन् । भर्खरै सरकार विस्तार भएको छ । अन्य पार्टीस्तरका धेरै विषयमा कुराकानी भए । स्वाभाविक हो, प्रधानमन्त्रीको भ्रमणका विषयमा केही विषयमा छलफल भए । हाम्रो तयारीको विषयमा पनि कुरा भयो ।

अतिक्रमित नेपालको भूमि फिर्ता गर्ने सन्दर्भमा उनीहरूको धारणा कस्तो छ ? सीमा समस्याका विषय उठाउनुभयो ?
हामीले अतिक्रमित भूमि मात्र होइन, समग्र सीमा विवाद चाँडै समाधान गर्नुपर्छ भन्यौँ । हामीले कुराकानी थाल्यौँ नि । आजको भोलि सीमा विवाद समाधान हुन्छ भन्ने छैन । कुराकानी गर्न थालेपछि त ढिलोचाँडो  निष्कर्षमा पुग्छौँ । दुवै पक्षलाई चित्तबुझ्दो निष्कर्षमा पुग्न सकिन्छ । त्यसकारण वार्ता सुरु गर्नुप¥यो । यो कुरा हामीले भेटमा उठाएका हौँ । वार्ता र संवादबाटै हरेक समस्याको समाधान निस्किन्छ । त्यसकारण संवादको शृंखला सुरुवात गर्नुपर्छ भनेर हामीले स्पष्ट कुरा राखेका छौँ ।

यसमा भारतीय पक्षको प्रतिक्रियाचाहिँ के रह्यो ?
उहाँहरू सकारात्मक हुनुहुन्छ । यो विषय गम्भीर छ, संविधान संशोधन गर्ने काम तपाईंहरूकोमा भयो, यसमा हाम्रो समान धारणा छ, यो सहज विषयवस्तु नभएकाले कुराकानीको थालनी गरौँ, ढिलाचाँडो समाधान निस्केला नि, कुरै गरेन भने त समाधान निस्किँदैन, वार्ता र कूटनीतिक पहलभन्दा अर्को बाटो त छैन, कुराकानीको थालनी गरौँ भन्ने उहाँहरूको कुरा रह्यो ।

जयसिंह धामीको मृत्यु प्रकरणबारे कुरा राख्नुभयो ?
यो कुरा पनि मैले भेटमा उठाएको हुँ । हाम्रो गृह मन्त्रालयले छानबिन गरेर परराष्ट्र मन्त्रालयले पत्र पठाएको छ ।  यसलाई गम्भीरताका साथ हेरिदिनुपर्‍यो भनेर मैले भनेँ । हाम्रो त मानिसले ज्याएको गुमाएको छ भनेँ । विषयहरू भारतले राम्रो गर्‍यो वा नराम्रो गर्‍योसँग मात्र सम्बन्धित हुँदैन । भावनासँग जोडिएको विषयहरू हुन्छन्, त्यसलाई गम्भीरताका साथ लिइदिनुपर्‍यो र त्यसलाई तपाईंहरूले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउनुहोस् भन्ने हाम्रो कुरा रह्यो । तल्ला तहबाट भएका गलत कुराहरूलाई स्वीकार गर्दा राम्रो सन्देश जान्छ भनेर कुराहरू राखेँ । उहाँहरूले पनि गम्भीर रूपमा लिएको र अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।

कोभिड–१९ न्यूनीकरणमा भारतले केही सहयोग गर्ने प्रतिबद्धता जनायो कि ? 
हो, यो विषयमा गम्भीर कुरा भयो । हामीले भुक्तानी गरेर आउन बाँकी १० लाख खोप चाँडो उपलब्ध गराइदिने विषयमा ध्यानाकर्षण गरायौँ । हाम्रो आवश्यक्ता अनुसार थप खोप उपलब्ध गराउने विषयमा उहाँहरूले यो १० लाख मात्र होइन, अरू आवश्यकता अनुसार यति नै भन्ने त छैन, तर समय–समयमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।

पार्टीगत उपलब्धिचाहिँ के भयो ? 
भाजपा सभापति तहको भ्रमण गराउने विषयमा छलफल भयो । अन्य विभिन्न तहमा साथै पार्टी सभापति तहमा भ्रमण गर्ने गरेर हामीले उहाँहरूलाई निमन्त्रणा गरेका छौँ ।

त्यहाँ भाजपाकै सरकार छ । पार्टी तहको अन्तरक्रियाले दलबाट नेतृत्व गर्ने मन्त्रीहरूले सरकारमा पनि कुरा राख्नुहुन्छ । सरकारी नीतिमा पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ । जति दुवैतर्फ बुझ्यो, त्यति नै सहयोग आदानप्रदान गर्न सहज हुन्छ । हामी बुझाइ यही रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro