०४० सालमा तिमी के बन्छौ भनेर सोध्यो भने समकालीनहरू डाक्टर, पाइलट र इन्जिनियर बन्छु भन्थे । भिडबाट एउटा चर्को आवाज गुञ्जिन्थ्यो– म ‘हिरोनी’ बन्छु । अरू समाजले बोकाइदिएको आवाज सुनाउँथे, दीपाश्री (दीपाश्री निरौला) आफ्नै मनको आवाज सुनाउँथिन् । हिरोइन भनेको के हो उनलाई न त्यसको अन्तरवस्तु थाहा थियो न त्यसको प्रभाव र भविश्य । उनलाई यति थाहा थियो, हिरोइनले नाच्छन् । त्यसैले उनी भन्थिन्– म ‘हिरोनी’ बन्छु ।
विराटनगरका रंगमञ्चहरूमा उनी नाच्थिन् । विद्यालयमा हुने कार्यक्रमहरूमा नाच्न कक्षा छोडेरै पुग्थिन् । भागेको भन्दै शिक्षकहरू कुट्थे । कुटाइ नै सही तर न उनी भाग्न छोडिन् न नाच्न नै । सत्यनारायणको पूजा होस् वा घरगाउँमा हुने भजन दीपाश्री छुट्दिन थिइन् ।
“स्कुलबाट भागेको थाहा पाएपछि घरमा आमाले सिर्कनै–सिर्कनाले कुट्नुहुन्थ्यो । तर, बुवाले भने कुट्नु हुन्नथ्यो । मेरो छोरो–छोरीलाई नकुट् भन्दै मलाई छोप्नुहुन्थ्यो,” दीपा ४० को दशकको पहिलो वर्ष फर्किइन् ।
आमा–बुवा नै पढे–लेखेका थिए । त्यसैले उनकी आमाको सपना थियो, छोरी अफिसर होस् । “टेलिफोन अफिसमा एकजना मेरो दाइ सुब्बा हुनुहुन्थ्यो । त्यसैले म पनि पढेर सुब्बा बनौँ भन्ने उहाँको चाहना थियो,” दीपा हाँस्दै भन्छिन्, “नाच्न मन पराउने म सुब्बा त भएँ तर फिल्मको ।”
घरमा टेलिभिजन थिएन । गाउँमा गएर ढोकाबाट चिहाएर हेर्थिन् । त्यो पनि कहाँ सहज थियो र ? थिएन । कसैले पर्दा लगाएर छेक्थे, कसैले ढोका नै लगाइदिन्थे । मन अमिलो बनायो फर्कियो ।
ब्ल्याक एन्ड ह्वाइट टेलिभिजन थियो । उनीहरू भन्थे– कालो र सेतो मात्रै आउँछ त, बुवा रंगिन टेलिभिजन बनाइदिनु न । हरियो र पहेँलो झिलझिले ल्याएर टेलिभिजनमा राखेपछि दीपा भन्थिन्, “हरियो र पहेँलो मात्रै हो यिनीहरूले रातो लुगा लगाउँदैनन् ?”
नेपालमै टेलिभिजन सुरु भएपछि ‘श्रीमान् गम्भीर नेपाली...’ सम्म छुटाउन्नथिइन् उनी । उनलाई लाग्थ्यो, टेलिभिजनमा घुसेर नाच्ने मान्छे ठूला हुन्, म पनि यस्तै गर्छु ।
गाउँकी सेलिब्रिटी
त्यसैले त उनी ‘किन बढ्दै छ ढुकढुकी’, ‘छोडी जाने बैगुनीको मायाले’, ‘सर...सर... जाउँ हिँड घर’लगायत गीतमा नाच्थिन् । मिथुनको ‘आई एम अ डिस्को डान्सर’को कपिक्याट नै गर्थिन् दीपाश्री । स्टेजमा उनलाई देखेपछि दर्शकको पहिलो डिमान्ड नै त्यही गीतमा डान्स हुन्थ्यो ।
सानैदेखिको उनको चाह थियो, मलाई सबैले चिनोस् । नाच्नुको उद्देश्य पनि त्यही नै थियो । ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनले देखाएको रंगिन सपना थियो यो उनको । नभन्दै विद्यालय र गाउँमा नाच्दानाच्दै उनलाई सात गाउँले चिन्न थालेका थिए ।
“विराटनगरको हटियामा जाँदा वाह ! दीपा भन्थे । म मक्ख पर्थेँ,” दीपाश्री नोस्टाल्जिक हुन्छिन्, “म स्टेजमा नाच्दा दर्शकदीर्घाबाट दीपा ! दीपा !! भन्ने हुटिङ आउँथ्यो । यो दीपा ! दीपा !! भन्ने हुटिङ मेरो जिन्दगीमा लङ लाइफ भइदिए हुन्थ्यो भन्ने लोभ लाग्थ्यो ।”
सायद त्यही लोभले होला, उनले हिरोइन बन्ने सपना देखिन् । योजना बनाएर फाइदा र बेफाइदा छिन्किएर ‘हिरोनी’ बन्छु भनेर नभनेको उनले बाल्यकालको चाह सुनाइन् ।
मुकुन्द श्रेष्ठले बनाएको नाटकले काठमाडौंमा राम्रो चर्चा कमाएको थियो । त्यो विराटनगरमा मञ्चन गरिने भयो । त्यसको मुख्य पात्र मुकुन्द स्वयं थिए । उनलाई आफ्नो अपोजिटमा काम गर्ने महिला चाहिएको थियो । जुन स्ट्रङ क्यारेक्टर थियो । यसबारे दीपालाई थाहा थिएन । तर, मुकुन्द आउँदै छन् भन्ने थाहा पाएपछि उनलाई देखाउन भन्दै दीपाश्री अभिनय गरेर बस्थिन् ।
मुकुन्दले दीपाको अभिनय देखेपछि भने, “मेरो अपोजिटको रोल तिमी नै गर, म त्यस्तै खालको गेटअप दिन्छु, तिमीले गर्न सक्छौ ।” खोजेकै त्यही, किन नाइँ भन्नु थियो र ? हुन्छ भनिन् ।
‘दीपाले सबैलाई फ्लप बनाइदिई’
माधव सापकोटाले टेलिफिल्म ‘अग्निपथ’ बनाउने भएछन् । त्यसमा चाहिने एउटा क्यारेक्टर थियो, ‘कजरी’ । विराटनगरतिरका मान्छेले क्यामेरा फेस गरेका हुँदैनन्, त्यसैले सक्दैनन् भनेर पूरै युनिट लिएर माधव विराटनगर आउन लागेको दीपाश्रीले थापाइन् । दीपाश्रीले मुकुन्द श्रेष्ठलाई भनिन्, “दाइ म जस्तोसुकै रोल जसरी पनि गर्न तयार छु । मलाई अभिनय गर्ने वातावरण मिलाइदिनुस् ।”
“मैथिली बोल्नुपर्छ, तैँले कसरी सक्छेस् ?”
सानैदेखि हक्की स्वभावकी उनले भनिन्, “मैथिली टिचर राख्दिनुस् न त ।”
मुकुन्दले मैथिली टिचर खोजिदिए । माधवलाई सम्झाउँदै दीपाले सक्छे भने । माधवले अडिसन लिए । धन्न उनी छानिइन् ।
०४८ सालको त्यो पहिलो सिन सम्झिइन् उनले, “बयलगाडा चलाएर लड्डु खाँदै हिँड्ने रोल थियो मेरो । पहिलोपटक बयलगाडा चलाएको कता भाग्छ भन्ने थाहा थिएन । तर पनि त्यो पहिलो सिन एक टेकमै ओके भएको रहेछ ।”
छायांकन हुँदै गयो । पटक–पटक एक्सन कट गर्दै टेक लिनुपर्ने । उनलाई लाग्थ्यो– किन यसो गर्नुपर्यो पटक–पटक ? जबकि, मलाई लामो डाइलग पनि याद छ ।
‘चिफ असिस्टेन्ट डाइरेक्टर रहेका मुकुन्दलाई किन पटक–पटक टेक लिएको ?,’ उनले सोधिन् । मुकुन्दले सेटमा ठट्टा गरे, ‘दीपालाई सबै डाइलग याद छ रे, सबै एकैपटकमा डाइलग बोल्छे रे !’
सेटमा अभिनय गर्नभन्दा टेलिभिजनमा आफूलाई देख्दा उनलाई खुब लाज लाग्यो । स्वभाव त उनको हकी नै हो, तर टेलिभिजनमा आफू देखिँदा अरूले के भन्लान्, गिज्याउलान् कि भन्ने संकोचले बेहुलीझैँ चिहाएर हेर्थिन् उनी ।
तर, साथीहरू उनलाई उस्काउँदै भन्थे, “दीपाले सबलाई फ्लप बनाइदिई । दामी गरिस्, पार्टी खुवाउनुपर्छ । तँ त टीभीभित्र छिरिसकिस् ।”
१० भागको त्यही ‘अग्निपथ’बाट दीपाश्रीले बेस्ट न्यु कमर अवार्ड हात पारिन् । तर, त्यो ठूलो उपलब्धि दीपाश्रीले आफ्नी आमालाई देखाउन पाइनन् । कारण, त्यो बेलासम्म आमाले दीपाश्रीलाई यो संसारमा फेरि कहिल्यै नभेट्ने गरी छोडिसकेकी थिइन् ।
पढेर सुब्बा हुनुपर्छ भन्ने आमा उनलाई दपेटिरहन्थिन् । ०४७ को कात्तिकमा उनले यो संसार छोडिन् । त्यो वियोगमा छटपटिँदा छटपटिँदै दीपाश्री डिप्रेस भइसकेकी थिइन् । धेरै आफन्तले यसको रुचि कला क्षेत्रमा छ, त्यसैले यसलाई त्यतैतिर लाग्न दिँदा यसको मन पनि बहलाउँछ भने । “तर, मेरो कला यात्रा, टीभीमा छिरेर नाचेको, अभिनय गरेको मैले मेरी आमालाई कहिल्यै देखाउन पाइनँ,” उनको स्वर केही मलिन सुनिरहेको थियो । घाँटी अवरुद्ध भइरहेको थियो । आमाप्रतिको उनको स्नेह पोखिरहेको थियो ।
यसभन्दा अगाडि उनले महजोडीको गीत ‘सयथरी बाजा एउटै ताल...’ मा कोरस नाचेकी थिइन् ।
सपना फुलाउन काठमाडौं
बालपनको सपना टिनएजमा आइपुग्दा झनै झाँगिएको थियो । सपनाले फणा फिँजाउँदै गएपछि उनले सोचिन्– सपना फुलाउने सहर काठमाडौं हो, जहाँ नगई सुखै छैन । काठमाडौंको गाडी चढ्दा उनले सोचेकी थिइन्– जसरी विराटनगरले मलाई माया गरेको छ, त्यस्तै काठमाडौंले पनि गर्नेछ । जब काठमाडौं माटो टेकिन्, बल्ल उनले थाहा पाइन्– काठमाडौं चिसा मान्छेहरू बस्ने सहर रहेछ । यो त संघर्ष गर्ने मैदान पो रहेछ । जुन उनीसँग अनुभव थिएन ।
त्यसैले केही काम पाइएला कि भनेर उनी काठमाडौं आउँथिन् । पाउँदिन थिइन् । फेरि फर्किन्थिन् । आउँथिन् । फर्किन्थिन् । यो देखेर उनलाई धेरैले सुझाए, ‘यसरी काठमाडौं र विराटनगर गर्दा काम पाइँदैन । त्यसैले काठमाडौंमा दिगो गरेर बस ।’
हुन पनि हो, विराटनगरमा बसेको मान्छेलाई बोलाइ–बोलाइ पर्खिएर काम दिने त्यत्रो भयंकर क्षमता के नै छ र ? संघर्ष सुरु गरिन् । दुःख आत्मसात् गरिन् । अर्थात्, काठमाडौंमै स्थायी बसोबास गर्ने निधो गरिन् ।
अनामनगरमा दिदी–भिनाजुको घर थियो । त्यहीँ बसिन् । कुटुम्बको घरमा लामो समय बस्न अप्ठ्यारो लाग्यो । निस्किएर कोठा भाडामा लिइन् । त्यही समय हो, उनले आर्थिक अभाव महसुस गरेको ।
०५० साल । बिजुलीबजारमा कोठा थियो । १२ सय भाडा तिर्नुपर्थ्यो । रेणु भट्टराई (केशव भट्टराईको दाइको श्रीमती) जसले लगाएको गुन २७ वर्षपछि पनि उनले भुलेकी छैनन् । रेणुले उनलाई स्टोभ, कन्ती, थाल, बटुका र आरी दिइन् । उनी भन्छिन्, “नानी केही गर्नुपर्छ भनेर काठमाडौं आएकी छस्, केही गर्नुपर्छ । नआत्तिनु के समस्या पर्छ मलाई धक नमानी भन्नू है ।” यतिभन्दा पनि उनी करोडौँ सहयोग गरेको अनुभूति गर्थिन् ।
पानीको भरमा बिताएका रात
काम थिएन । आम्दानीको स्रोत थिएन । कोठा भाडा महँगो थियो । बजारमा जाने पैसा हुँदैन थियो । यसको आज केही छैन भन्ने उनी थाहा पाउँछिन् । त्यसैले कहिलेकाँही ब्रेकफास्टदेखि डिनरसम्म रेणुकै घरमा हुन्थ्यो ।
“कहिलेकाहीँ अप्ठ्यारो लाग्थ्यो । तर, दिदी आफैँ बुझ्नुहुन्थ्यो । म खाइसकेँ भन्थेँ, तर केही खाएकै हुँदैन थियो,” संघर्षका दिन उनी सम्झिन्छिन्, “कहिले ब्रेकफास्ट खाएकै भरमा त्यो दिन बिताउनुपर्थ्यो, कहिले खाजा खाएकै भरमा त्यो दिनको खाना टार्नुपर्थ्यो ।”
उनी कहिलेकाहीँ महसुस गर्थिन्– कतै मैले धेरै ठूलो सपना त देखिनँ, जसले मलाई नै थिचिरहेको छ ? तर पनि उनले फणा फिजाउने चेस्टा मारिनन् ।
रेडियो नेपाल
काठमाडौं आउनबित्तिकै उनी रेडियो नेपाल पुगिन्, रेडियो नाटकमा काम गर्न । त्यो पनि सधैँ कहाँ पाइन्थ्यो र ? पाइगयो भने बालनाटकमा खेलेको हप्ताको दुई सय रुपैयाँ हात पर्थ्यो ।
‘अग्निपथ’मा दीपाश्रीलाई मदनदास श्रेष्ठले देखिसकेकाले उनलाई नाटकमा काम पाउन सहज भयो । ‘अग्निपथ’मा चिनेकै कारण मदनदासले ‘क’ श्रेणीको कलाकारमा राखेर तीन सय रुपैयाँ पारिश्रमिक दिन्थे । त्यो समय दीपकराज गिरी, जितु नेपाल, दमन रुपाखेतीहरू ‘ख’ श्रेणीका कलाकार थिए । दुई सय रुपैयाँ पारिश्रमिक बुझ्थे ।
अभावमा थिइन् दीपाश्री । जिन्दगी डोर्याउन कठिन भइरहेको थियो । त्यसैले उनी आग्रह गर्थिन्, “मदनदास बुवा मलाई काठमाडौंमा सर्भाइभ गर्न कठिन भइरहेको छ, कसरी हुन्छ मलाई चाहिँ रेगुलर काम दिनु ल ।” कारण, हरेक हप्ता तीन सय पाइन्थ्यो ।
तर, सधैँ मिल्दैन थियो त्यो अवसर । मिलेसम्म त उनले मिलाउने प्रयास गर्थे ।
मदनदासले बीबीसीले आयोजना गरेको तालिम मिलाइदिए । जहाँ तालिम मात्रै होइन, भत्ता पनि पाइन्थ्यो । दिनको पाँच सयदेखि छ सय रुपैयाँसम्म भत्ता दिइन्थ्यो । एक हप्ता चलेको त्यो तालिमले पैसा मात्रै होइन, माइकमा बोल्ने शिल्प पनि सिकायो दीपाश्रीलाई । “नाचिरहेको मलाई त्यो तालिमले रेडियो फ्रेन्ड्ली पनि बनायो । सायद त्यो पनि एउटा कारण हुनसक्छ धनिया कि दुनियाँ आजसम्म मैले चलाइरहनुको,” मदनदासको त्यो सहयोगप्रति अनुग्रहीत हुँदै उनले आफ्नो विगत कोट्याउँदै गइन् ।
“म यति दुब्ली थिएँ, विराटनगर गएका बेला साथीहरू दीपा तँ कति दुब्ली भ’की काठमाडौंमा खान पाउँदिनस् ? तलाई त टीभी लाग्ला है भन्थे,” संघर्षका कठोर दिनभित्रका दुःख सुनाउँछिन्, “खान त कहाँ पाउनु ? कति दिन जति भोक लाग्छ, त्यति पानी खाएर बसेकी छु । तर, आफ्नो इज्जत त धान्नै पर्यो, भन्थेँ– किन नपाउनु कत्ति मिठो–मिठो खाने कुरा खान पाइन्छ ।”
त्यही बेला हो दीपकराज गिरीसँग पहिलोपटक रेडियो नेपालको प्रांगणमा भेट भएको । टेलिभिजनमा देखिइसकेकाले दीपक, जितु र दमनले त उनीहरूलाई चिनिहाले । “मलाई देख्नबित्तिकै ऊ हिरोइन आई, हेर्दै छुच्ची खालकी छे नि भन्नुहुन्थ्यो रे,” दीपा सुनाउँछिन् ।
डिप्रेसनको औषधि
रंगिन सपना बोकेर काठमाडौं आएकी थिइन् दीपाश्री । आफ्नो उद्देश्य त छँदै थियो, परिवारको नजरमा पनि दरिनु थियो । तर, काठमाडौं कहाँ सोचेजस्तो थियो र । सपनाले फणा फिजाएपछि देशभरका युवा जम्मा हुने सहर । अभावले सताएपछि परिवारको पेट भर्न जिम्मेवारीले किचेकाहरू आउने सहर । सीमित स्रोत–साधनमा हुने कडा प्रतिस्पर्धा हुन्थ्यो । त्यसमा पनि पहुँच र प्रभावको असर पर्थ्यो नै । एकातिर अभाव अर्कोतिर छेउ नपरेको सपना । डिप्रेसनमा पुगिन् दीपाश्री । ०५२ सालमा आइपुग्दा उनले डिप्रेसनको औषधि खान थालिन् । “सबै कुरा पाइँदो रहेनछ । तर, म देखेको सपना खोजिरहेकी थिएँ । जब प्रयास गर्दागर्दै पनि पाइएन, त्यसपछि म डिप्रेसनमा पुगेँ । साथीहरूले डक्टरकोमा लगे । डक्टरले डिप्रेसन भएको ठहर गरे । म एक वर्ष डिप्रेसनबाट गुज्रिएँ,” देखेका सपनाहरू नभेट्दा बेहोर्नुपरेको पीडाको गाँठो फुकाउँदै दीपाश्री सुनाउँछिन्, “प्राणायम, ध्यान, योग गरेँ । साथीहरूले गुरुदेवकोमा लगिदिए । एक वर्षमा म औषधि खान छोडिसकेकी थिएँ । त्यही वर्षबाट मोटाउन थालेकी म आजसम्म घटेकी छैन ।” अहिले पनि हरेक दिन उनी करिब आधा घण्टा ध्यान वा प्राणायाम नगरी घरबाट निस्किनन् ।
अटो भरेको पोखरा
सडकनाटक मौलाएको समय थियो । मोहन निरौला चल्तापुर्जा थिए । दीपाश्रीलाई सडकनाटकमा उनले थुप्रै मौका दिए । त्यही बेला त हो उनले मनपर्ने ठाउँ कुन हो भनेर अटोमा लेखेको, पोखरा पहिलोपटक प्लेन चढेर पुगेको ।
अहिले पनि हरेकपटक पोखरा पुग्दा दीपाश्री अटो भरेर पहिलोपटक प्लेन चढेर पोखरा पुगेको सम्झिन्छिन् । विदेशको मनपर्ने ठाउँ कुन भनेर अटो भर्दा स्वीट्जरल्यान्ड लेखेकी थिइन् । कालान्तरमा कला यात्राले त्यो पनि अवसर जुराइदियो । अटोमा भरेको त्यो क्षण सम्झिँदा अहिले पनि आफू नोस्टाल्जिक हुने गरेको उनी सुनाउँछिन् ।
मोहन निरौलासँग दीपाश्रीले भनेकी थिइन्, ‘म नासो चलचित्रमा जस्तो रोल भए पनि गर्छु, यादव खरेल बुवालाई भन्दिनुस् ।’
मोहनले भेटाइदिए । “सबैजना फिक्स भइसके । करिष्मा मानन्धर र सारंगा श्रेष्ठ छन् भन्नुभयो यादव बुवाले । मैले जस्तो रोल भए पनि गर्छु भनेँ । मलाई ठूलो क्यामेरा फेस गर्नुपर्यो,” फिचर फिल्मको रहर सुनाइन् उनले, “भ्यान गर्लको रोल छ भन्नुभयो । धेरै सिन थिएन । तर पनि मैले गरेँ । शिव श्रेष्ठ हुनुहुन्थ्यो त्यो चलचित्रमा, विराटनगरकी बहिनी भनेर मलाई माया गर्नुभयो ।”
जिन्दगी वक्र रेखाहरूको यात्रा हो भन्ने दीपाश्रीले बुझिसकेकी थिइन् । त्यसैले उनले संघर्ष गरिरहेकै थिइन् । कहिले वीरगन्ज त कहिले नारायणघाट नाच्न पुग्थिन् । नारायणघाटमा उनले भेटिन् चलचित्र निर्देशक दीपक श्रेष्ठ । दीपाश्रीले दीपकलाई भनिन्, “दाइ आज साँझ नारायणी कला मन्दिरमा मेरो डान्स छ हेर्न आउनू है ।”
नभन्दै दीपक आए । ब्याक स्टेजमा गएर दीपाले भीआईपी सिटमा राखिन् ।
डान्स सकिएर ब्याक स्टेजमा पुगेपछि उनले भने, ‘दीपा तिमीले कति राम्रो डान्स गर्यौँ । कायल बनाइदियौँ । दामी डान्स गर्यौ ।’
दीपाले भनिहालिन्, “दामी भन्नुहुन्छ, आफ्नो फिल्ममा खेलाउने चाहिँ होइन ।”
“पर्ख न, एउटा चलचित्रका लागि होमवर्क भइरहेको छ । भयो भने म राम्रो रोल दिन्छु,” उनले भने ।
“बोलाउने हैन, गफ दिनुहुन्छ,” उनले मनको शंका फ्याट्टै भनिन् ।
साँच्चै हो ?
करिब एक महिनाको एक बिहान घरधनीले दीपाश्रीलाई तिम्रो फोन आ’को छ भन्दै बोलाए । फोन गर्ने र’छन् उनै दीपक । उनले भने, ‘दिउँसो १ बजे बागबजार गोपाल कर्माचार्यको घरमा आऊ, त्यहाँ एग्रिमेन्ट छ ।’
“ह्या ! दाइ तपाईं मलाई झुक्याउनुहुँदै छ, गफ दिँदै हुनुहुन्छ मलाई, आज अप्रिल फुल त होइन ?,” उनले साँच्चै हो भने ।
जिन्दगीको साँच्चै लामो दिन थियो । १ पनि कहिल्यै नबजेको अनुभूति भएको दिन ।
गोपाल कर्माचार्यको घर पुगिन् । दीपकले भने, ‘दीपा यो फिल्मको मेन गीतमा तिमी र राजेश हमाल नाच्ने ।’
छक्क परिन् दीपाश्री । उनलाई विश्वासै लागेन । ‘होइन होला दाइ’ उनले शंका गरिरहिन् ।
“दीपक दाइले विश्वास गर न हो, हिरोइन विपना थापा हो, तिम्रो चाहिँ साइड रोल छ भन्नुभयो । फिल्ममा नाच्न पाउने भएपछि मलाई के साइड के छेउ मतलब भएन । नाच्न पाउनु नै मेरा लागि ठूलो अवसर थियो,” सपना भेट्टाउँदाको क्षण पुलकित हुँदै सुनाउँछिन् दीपाश्री, “टेलिफिल्ममा काम गरेँ, रेडियो नाटक गरेँ । स्टेज कार्यक्रम त बच्चैदेखि गरेको अब यो अवसरको ढोका हो । यो ढोका मैले खोल्न सकेँ भने यो नै मेरो जिन्दगीको ट्रनिङ प्वाइन्ट हुनेछ, सकिनँ भने मेरो बचपनादेखिको सपना अधुरै रहनेछ, मेरो मनमा त्यो बेला आयो ।”
छायांकनमा जाने दिनको प्रतीक्षाको छटपटी कति व्यग्र थियो उनी आफैँ भन्छिन्, “अहिलेको जस्तो मोबाइल भइदिएको भए ५/६ हजार त म फिल्ममा खेल्ने भएँ नि भन्दै साथीभाइलाई सुनाउन फोन गरेरै सक्थेँ होला ।” आफन्तलाई त ल्यान्डलाइनबाटै भनिसकेकी थिइन् ।
कहिले एक खालको ड्रेस छेकाउन लैजाने कहिले अर्कै ड्रेस छेकाउन लैजाने । जिन्दगी नै रोमान्टिक हुन थालेको उनले महसुस गर्न थालिन् । विपना थापा र राजेश हमाललाई पहिलोपटक भेटिन् । राजेश हमालको अग्लो ज्यानका अगाडि उनी होची देखिइन् । उनी भन्थिन्, “म हिल लगाएर नाच्छु नि ।”
‘गाउँले’ फिल्मको गीत ‘गोली सिसाको...’ बजारमा आयो । सबैले वाहवाही गरे । गीत टप १० मा परिसकेको हुन्थ्यो, उनलाई थाहै हुँदैन थियो । आफ्नै नाच हेर्न घरमा टेलिभिजन थिएन ।
१२ हजार रुपैयाँ पारिश्रमिक थियो, किस्तामा पैसा दिने एग्रिमेन्ट । साइनिङ अमाउन्ट भनेर केही पैसा दिँदा उनी भन्थिन्, “दाइ, मेरो त कोठा भाडा तिर्नु छ, कति काम गर्नुछ, एकैपटक दिनुस् न ।”
घरधनीको कोठामा फोन थियो । फोन बज्दा दीपाश्रीलाई लाग्थ्यो मेरै फोन हो कि । मलाई नै कसैले चलचित्रका लागि अफर गर्न पो फोन गरेको हो कि । “घरभेटीले फोन उठाउन ढिलो गर्दा मलाई टेन्सन हुन्थ्यो । एउटा अफर गुम्यो भन्ने लाग्थ्यो,” उनी भन्छिन् ।
नचलेकी हिरोइन
डान्सको तारिफ भयो । तर, हिरोइनमा उनलाई खासै अफर आएन । उनी आफैँ भन्छिन्, “म फुलफेज हिरोइनमा चलेको मान्छे होइन । साइड क्यारेक्टर नै गरिरहेँ ।” ‘घर संसार’, ‘चलचित्र’, ‘चमत्कार’, ‘परेली’लगायत चलचित्रमा काम गरिन् ।
‘सनै रोइरहेछ’, ‘देवी’जस्ता टेलिफिल्ममा गम्भीर चरित्रमा काम गरेकी दीपाश्रीलाई ‘चमत्कार’मा हाफपाइन्ट लगाएर काम गर्नुपर्छ भन्दिए । हाफपाइन्ट लगाएर काम गर्नुपर्ने ? लाजले काम गर्ने कि नगर्ने उनलाई द्विविधा भयो । ‘ट्राफिक दाइ...’ गीतमा हाफपाइन्टभित्र स्ल्याक्स लगाएर नाचेकी छन् उनले ।
निर्देशक चिरञ्जीवी बस्नेत यो कुन फेसन हो भन्थे । ‘यो मेरै फेसन हो, मलाई हाफपाइन्ट मात्रै लगाउन लाज लाग्छ भन्थेँ, लाउँदिनँ भन्थेँ । अहिले पनि त्यो डान्समा मेरो ड्रेस अड देखिएको छ । गणेश उप्रेतीसँग डान्स गरेकी थिएँ । उहाँ दीपाजी यो फेसनचाहिँ नौलो रहेछ भन्नुहुन्थ्यो,’ उनले सुरुआती संकोचका दिन सुनाइन् ।
चलचित्र ‘परेली’को ‘आज र लै लै झलझली...’ मा डान्स गर्दा उनको नृत्यको यति धेरै तारिफ भयो, डान्स डाइरेक्टरले बक्सिस दिन्थे । उनी त्यो पैसाले सुटिङ सेटका क्रु मेम्बरलाई लिएर खाजा खान जान्थिन् ।
फुलफेज हिरोइन
चलचित्रमा डान्स र साइड रोलमा काम गरिरहेकी थिइन् । तर, फुलफेज हिरोइन नपाएको असन्तुष्टि खट्किरहेको थियो ।
‘तँ चिता म पुर्याउँछु’ भन्ने उखान चरितार्थ भयो ‘सुकुम्बासी’ चलचित्रबाट । दुईजना हिरो भएको चलचित्रमा दीपाश्री एक्की हिरोइन । उनी फुलफेज हिरोइन भइन् । बचपनामा देखेको सपना पूरा भयो ।
जिन्दगी उकाली–ओराली र तरेलीको कठिन यात्रा त रहेछ । फिल्म, टेलिफिल्म, स्टेजमा डान्सको काम त भइरहेको थियो, तर सोचेजस्तो कमाइ भइरहेको थिएन । दीपकराज गिरीसँग भेट भइसकेको थियो । साथी भइसकेका थिए । आफ्नै काम गर्नुपर्छ भन्ने निष्कर्षमा उनी पुगिसकेकी थिइन् । त्यसमा पनि जब उनलाई आफू हिरोइनमा खासै चलेजस्तो लागेन । त्यसपछि त्यसमा दिलचस्पी उतिसारो भएन । “हिरोइनको ग्ल्यामर आफूमा रहेनछ भन्ने निष्कर्षमा पुगेँ,” उनी भन्छिन्, “त्यसपछि तीतो सत्य सुरु गरेपछि त्यसबाट पाएको वाहवाहीले कुनै गुनासो नै रहेन ।”
दीपकसँगको भेट
दीपकराज गिरीसँग रेडियो नेपालमा भेट भयो । दीपाश्री टेलिभिजनमा देखिइसकेकाले सबैले चिन्ने । रेडियो नाटकमा खेले पनि दीपकराज अनुहारले नचिनिने । त्यसैले दीपक दीपाश्रीलाई चिन्थे, तर दीपाश्री उनलाई चिन्दिन थिइन् ।
“ऊ हिरोइन आई, हेर्दै कस्ती छुच्ची छे है भन्दै दीपकजी, जितु, दमन मेरो कुरा काट्नुहुन्थ्यो रे ! म कसैलाई चिन्दै चिन्दिन थिएँ कसरी बोल्नु ?,” दीपाश्री प्रश्न गर्छिन्, “रेडियो नाटकमा सँगै काम गर्न थालेपछि हामी साथी भयौँ । पैसा उठाएर क्यान्टिनमा चिया र चना खान्थ्यौँ । रेडियो नाटकको भेटले हामीलाई मिल्ने साथी बनाइदियो ।”
दीपक ‘रामविलास’का रूपमा रेडियो नेपालबाट आम स्रोतामाझ स्थापित भइसकेका थिए । ‘धनिया’को खोजी हुँदा दीपकले दीपाश्रीलाई अफर गरे । तराईकी केटी भएकाले धनिया लवज उनीबाट आउँछ भन्ने दीपकको विश्वास थियो । नभन्दै दीपकले गरेको विश्वासलाई उनले टुट्न दिइनन् । रामविलास र धनियाको जोडी लोकप्रिय भयो ।
सफल निर्देशक
प्राविधिक पाटोमा दीपाश्रीलाई पहिलादेखि नै रुचि थियो । ‘तीतो सत्य’ उनका लागि प्राविधिक ज्ञानका लागि विश्वविद्यालय बन्यो । तीतो सत्यमा एउटा शृंखलामा बिगार्थिन्, अर्कोमा सच्याउँथिन् । तीतो सत्यको १२ वर्र्षे यात्रामा उनले दर्शकसँग नाता–सम्बन्ध मात्रै कसिनन्, प्राविधिक ज्ञान पनि बटुलिन् ।
टेलिभिजनबाट आउनुपर्ने पैसा आएको थिएन । लामो समयदेखिको एउटै दैनिकीले केही मोनोटोनस भइसकेको थियो । त्यसैले दीपकले फड्को मार्ने सोच बनाए चलचित्रमा । दीपाश्रीलाई प्रस्ताव मञ्जुर थियो । भनिन्, ‘जे त पर्ला बनाउन त फिल्म ।’
दीपकराज गिरीका गुरु दिनेश डिसीसँग उनको जन्मदिन पारेर दीपक–दीपाले फिल्म निर्देशनको अफर गरे । “हामी चेला–चेलीलाई एउटा राम्रो फिल्म बनाइदिनुपर्यो भनेर अफर गर्यौँ,” उनले भनिन् । फिल्म थियो– ‘६ एकान छ’ । चलचित्रले राम्रै कमाइ गर्यो । त्योभन्दा पनि दीपक–दीपाले फिचर फिल्म निर्माणको अनुभव लिन थाले ।
उज्ज्वल घिमिरे, जसले दीपकराज गिरीलाई चलचित्रमा ब्रेक दिएका थिए । घिमिरेलाई दीपक–दीपासहितको टोलीले ‘वडा नम्बर ६’ निर्देशनको अफर गर्यो । उनले पनि नाइँ भनेनन् । दुइटै फिल्म राम्रै चले ।
दीपाश्रीले डाइरेक्टरको असिस्ट गरिरहेकी थिइन् । कारण, उनलाई काम सिक्नु थियो । काम सिकेर कोही सानो हुँदैन भन्ने उनको सोच थियो ।
नयाँ चलचित्र बनाउने कुरा भइरहेको थियो । एक दिन उनीहरूको छायांकार पुरुले भने– दिदी, अब तपाईं निर्देशन गर्नुस् । रहर त थियो । तर, सक्छु कि सक्दिनँ होला ? मन बेचैन भइरहेको थियो । हुन्छ त भनिन् । तर, पछि उनलाई डर लाग्यो ।
“निर्देशक सिनेमाको क्याप्टेन हो । बिहानदेखि बेलुकासम्म बसेर काम गर्नुपर्ने । सबै क्यारेक्टरको पूर्ण जानकारी हुनुपर्ने । पूरै चलचित्र निर्माणपूर्व नै दिमागमा त्यसको चित्र बोकेर हिँड्नुपर्ने । यो त महाभारत पो रहेछ,” उनी त्यो कठिन घडी सम्झिछिन्, “तर, दीपक, केदार, जितुलगायत सबैको पूर्ण साथले छक्का पञ्जा निर्देशन गरेँ । तर, त्यो पहिलो सिरिज निकै कठिन भएको थियो । सुरुमा त म नर्भस भएको थिएँ । त्यो सपोर्ट र साथले नै २ र ३ पनि सम्भव भयो ।”
अनपेक्षित सफलता
चलचित्र सिनेमा हलमा रिलिज हुन्छ, दर्शकले अलि–अलि मन पराउँछन् भन्ने त थाहा थियो, तर यस्तो ह्युज कलेक्सन र नेपाली बक्स अफिसकै रेकर्ड ब्रेक गर्छ भन्ने दीपाश्रीले कल्पना पनि गरेकी थिइनन् ।
जिन्दगीमा लागेको बादल सायद फाट्यो । संघर्षका दिनमा पूर्णविराम लाग्यो । जीवनमा पारिलो घाम लाग्यो । उनले सुनिन्– नेपाली चलचित्रको इतिहासमै छक्का पञ्जा हेर्न सबैभन्दा धेरै दर्शक हलमा आए । “समाचारमा आएजस्तै दर्शक आएका हुन् ? कलेक्सन त्यसैगरी भएकै हो ? हामीलाई सपनाजस्तो लाग्थ्यो र हामी एकार्कालाई चिमोट्थ्यौँ,” खुसीका पल सुनाउँदा आज पनि उनको मुहार र स्वरमा उत्साह उसैगरी प्रवाह हुन्छ, “यस्तो राम्रो रेस्पोन्स आउँछ भनेर सोचेको भए अझ धेरै के–के गरिन्थ्यो होला भन्ने लाग्यो ।”
‘वडा नम्बर ६’ र ‘६ एकान छ’ जत्तिकै चल्छ, तर चलिरहन्छ भन्ने दीपाले कल्पना पनि गरेकी थिइनन् । १२६ दिन हलमा चल्यो ‘छक्का पञ्जा’ । यसको निर्देशकीय श्रेय दीपाश्रीको पोल्टामा पर्यो ।
१२ सय कोठा भाडा तिर्न नपाएर काठमाडौंमा रन्थनिने दीपाश्रीको अथक मिहिनेत र लगावले आज उनीसँग बस्न बानेश्वरमा आफ्नै घर छ, यात्रा गर्ने आफ्नै गाडी छ । “आफ्नो क्षेत्रलाई निरन्तर पूजा गर्यो भने, साधना र तपस्या गर्यो भने एक दिन सफलता पाइँदो रहेछ । ३० वर्षको उपलब्धि हो यो मेरो,” दीपाश्री भन्छिन्, “संघर्षमा थाकेर वा अत्तालिएको भए यो सफलता कहाँ पाउँथेँ र मैले ? देख्नेलाई छक्का पञ्जाको सफलता होला, तर यसको जग बसाउन ३० वर्ष लागेको कहाँ सबैले देख्छ र ?”
दीपाश्रीले जति संघर्ष गरिन्, बानेश्वरकै पेरिफेरीमा बसेर गरिन् । त्यसैले उनको मनमा एउटा सोच आउँथ्यो– जिन्दगीमा कुनै दिन घर किन्न सकियो भने एक आना जग्गामा मात्रै किन नहोस् बानेश्वरमै किन्छु । नभन्दै उनको त्यो चाह पनि पूरा भयो ।
अहिले दीपक र दीपाश्री भएर बानेश्वरमै सिनेमा हल बनाउँदै छन् । चलचित्रबाट कमाएको पैसाले चलचित्र देखाउने हल बनाउँदै छन् ।
“हिजो काम पाउन स्ट्रगल गरिरहेकी थिएँ, आज काम कसरी राम्रो गर्ने भनेर स्ट्रगल गरिरहेको छु,” दीपाश्रीले कुराकानीको बिट मारिन् ।
तस्बिरः सुनिल प्रधान