ओमान, मस्कट । क्रिकेटको प्रसंगमा एउटा भनाइ जहिले चर्चामा आउँछ– क्रिकेट खेल्ने मुर्ख, हेर्ने महामुर्ख !
यो भनाइ कहाँबाट कसरी आयो त्यसको ठ्याक्कै कुनै अभिलेख छैन । तर, क्रिकेट नरुचाउनेहरू यो भनाइको खुबै सापटी लिन्छन् । तथापि यो भनाइ अब असान्दर्भिक बन्दै गएको छ । किनकि क्रिकेट लोकप्रियताको ‘ग्राफ’ दिनानुदिन बढ्दो क्रममा छ ।
नेपालमै पनि पछिल्लो समय क्रिकेटप्रतिको ‘क्रेज’ ह्वात्तै बढेको छ । त्रिवि क्रिकेट मैदानमा राष्ट्रिय टोली खेल्दा मात्र होइन, घरेलु प्रतियोगितामा हुँदा पनि दर्शकको बाक्लो उपस्थिति हुन्छ । एसोसियट राष्ट्रमध्ये नेपालमाजस्तो दर्शकको बाक्लो उपस्थिति अन्य देशमा विरलै देख्न पाइन्छ ।
त्यसैले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का पदाधिकारी पनि नेपाली दर्शकको उपस्थितिबाट मुग्ध बन्छन् । उनीहरूले पटकपटक नेपाली दर्शकको प्रशंसा गरेका छन् । नेपालबाहेक अन्य एसोसियट राष्ट्रमा दर्शकको उपस्थित ज्यादै न्यून हुन्छ ।
तर, नेपाली टोली नेपालमा खेल्दा होस् या विदेशी भूमिमा खेल्दा दर्शकको उपस्थित लोभलाग्दो हुन्छ । पछिल्लोपटक ओमान भ्रमणमा पनि त्यस्तै भयो । ओमान भ्रमणमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध दुई एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला र आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्ध चार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्यो ।
ती कुनैपनि खेलमा नेपाली खेलाडीले विदेशी भूममिा खेलेको महसुस गर्नुपरेन । कारण, दर्शकको बाक्लो उपस्थिति । खेलाडीलाई त्यहाँको गर्मी मौसम र तातो हावाले विदेश महसुस गरायो होला । तर, दर्शकको माया र समर्थन भने नेपालमा भन्दा कुनै कमी थिएन । चाहे त्यो ओमानविरुद्धकै खेलमा किन नहोस् ।
“हामी जहाँ गएर खेले पनि समर्थनका लागि दर्शकहरू आइदिनुहुन्छ । त्यसले हामीले विदेशको खेलेकोे जस्तो महसुस हुन दिँदैन,” नेपाली टोेलीका बलिङ अलराउन्डर करण केसीले भने ।
नेपाली दर्शक त्यति बाक्लोे संख्यामा उपस्थिति हुन्छन् होला भनेर सायद आयोजकले पनि सोचेका थिएनन् । त्यसैले त मैदानमा दर्शकलाई बस्नका लागि कुनै व्यवस्था गरिएको थिएन । यो ठाँउमा बस्ने भनेर निश्चित स्थान तोकिएको थिएन । मैदानमा खटिएका सुरक्षाकर्मीलाई दर्शकलाई व्यवस्थित गर्न हम्मेहम्मे परेको थियो । कोभिड–१९ र ‘एन्टी करप्सन’ प्रोटोकलका लागि उनीहरूले आईसीसी पदाधिकारीबाट निरन्तर दबाव खेप्नुपरेको थियो ।
ओमानमा नेपालीहरूको संख्या झन्डै २० हजारको हाराहारीमा छ । ती सबै मस्कटमा मात्र छैनन् । सललालगायतका अन्य सहरमा पनि बस्छन् । मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले एक खेल दिउँसो खेलेका थियो । बाँकी दिवारात्रि क्रिकेट खेलेको थियो । दिवारात्रि खेल पनि दिउँसो साढे दुई बजे सुरु हुन्थ्यो । त्यो मध्याह्नमा पनि नेपाली दर्शक खेल सुरु हुनुअघि नै मैदान पुगिसकेका हुन्थे ।
“यो मरुभुमीमा गर्मी भए पनि, तातो हावा बहे पनि हामीलाई कुनै प्रवाह छैन । किनभने यहाँ नेपाली टोली आएर खेलेको छ । अरूको देशमा नेपाली दाजुभाइ आएर खेल्दा हामीलाई एकदम गर्व लाग्छ । आखिर यो मन त नेपाली हो,” तीन वर्षदेखी ओमानमा बस्दै आएका पोखराकी रूपा सुन्दास भन्छिन्, “नेपाली खेलाडीहरूलाई यहाँ देख्दा आफू पनि नेपालमै भएजस्तो महसुस भएको छ ।”
पीएनजीविरुद्धको दुवै खेल जितेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ का दुई खेलमा जित र दुई खेलमा पराजित भएको थियो । ओमान भ्रमणको अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई सात विकेटले हराएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले ओमानलाई हराएको यो पहिलोपटक थियो ।
“अहिले त यहाँको तापक्रम अझ कम हो । तथापि नेपाली टोलीले खेल्दा हामीलाई तापक्रमको कुनै प्रवाह हुँदैन । अझ आज त हामीले ओमानलाई उनीहरूकै मैदानमा हरायौँ । यस्तोबेला त शरीरमा काँडा उम्रने रहेछ । हामी लगभग ५–६ घण्टादेखि यो तातो घाममा बसेका छौँ । तर, हाम्रो जोसमा कुनै कमी आएको छैन,” ओमानविरुद्धको खेल हेर्न मैदान पुगेका एनआरएन सोसियल क्लबका अध्यक्ष विकल झा भन्छन्, “अन्य देशमा जस्तो ओमानमा नेपालीहरूको संख्या ठुलोे छैन । तर, यहाँ नेपालीहरू एकजुट छन् । नेपालीलाई माया गर्छन् ।”
दाङ तुलसीपुरका सुशिल पुनको भनाइ पनि विकल र रूपाको भन्दा फरक छैन । सुशिल थप्छन्, “आफ्नो देशका खेलाडी यहाँ आएर खेल्दा हामी गौरवान्वित हुन्छौँ । गर्मी वा अन्य कुनैै गाह्रो, अप्ठ्यारो तथा बाधा अड्चनले केही फरक पार्दैन । हामी मनदेखि जोस, जाँगरका साथ आफ्नो टिमलाई समर्थन गर्न आएका हौँ ।”
‘विदेश आएपछि नेपालको माया बढ्ने रहेछ’
ओमान पुगेर ब्युटीपार्लरमा काम गर्ने पोखराकी रूपा विदेश पुगेपछि मातृभूमिको माया अझ बढेको अनुभव सुनाउछिन् । उनी थप्छिन्, “कसैले नेपालको नाम लिएर बोलाउँदा पनि एकदम राम्रो लाग्ने रहेछ । कोही नेपाली भेट्दा पनि आफ्नै मान्छे भेटेको जस्तो हुन्छ । कसैले नेपालको बारेमा थारैै पनि नराम्रो भन्यो भने एकदम मन दुख्छ । रगत उम्लिन्छ । नेपालको माया कति हुन्छ भन्ने कुरा यहाँ आएपछि फिल हुन्छ । आफ्नो देश भनेको आफ्नै हुने रहेछ ।”
६ वर्षदेखि ओमानमा बस्दै आएका विकल पनि विदेशीएपछि नेपालप्रतिको मोह अझ बढेको बताउछन् । “हामीले युरोप, अमेरिकामा जस्तो नेपाली नागरिकता र नेपाली पासपोर्ट त्यागेका छैनौँ । नेपाली पासपोर्ट नै लिएर बसेका छौँ । नेपालप्रति हाम्रो अट्याचमेन्ट धेरै छ । नेपालप्रतिको श्रदा बढी नै छ । यता आएपछि अटोमेटिक रूपमा बढने देशको माया बढ्ने रैछ ।”