site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘सभापति’का लागि बोलिदिने कोही छैन ...

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवासहित सातजना आकांक्षीले नेतृत्वमा दाबी गरेका छन् ।

उनीहरुले भित्रभित्रै तयारी पनि गरेका छन् । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइराला, गोपालमान श्रेष्ठ र कृष्णप्रसाद सिटौलाले नेतृत्वको तयारी गरेका छन् ।

देउवाले सभापतिमै दोहोरिने आकांक्षा केही महिनाअघि नै सार्वजनिक गरेका हुन् । उनले प्रदेश–प्रदेशका केन्द्रीय नेताहरु बोलाएर आफु पुनः दोहोरिने र त्यसको लागि गृहकार्य गर्न निर्देशन दिएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसरी निर्देशन दिँदा उपसभापति निधिले आफू सभापतिकै उमेदवार बन्ने भएकाले सहयोग गर्न देउवालाई आग्रह गरे । 

१०औँ महाधिवेशनदेखि देउवा नजिक रहेका नेता गोपालमान श्रेष्ठ पनि अलिहे देउवाको पक्षमा देखिएका छैनन् । 

हुन त धेरैले उनको आकांक्षालाई ‘बार्गेनिङ’को रुपमा लिएका छन् ।

श्रेष्ठ भन्छन्, “अब देउवाले काँध फेर्ने बेला भयो ।”

उनले त देउवाले महाधिवेशनको मिति नजिक पुग्दासम्म विकेकसम्मत निर्णयबाट सभापतिमा दाबी फिर्ता लिने भन्दै त्यसो नगरे देउवाको राजनीतिक जीवनमै दुर्घटना हुने चेतावनी दिएका छन् । 

“मजस्तै निकट रहेका साथीहरुले विवेकसम्मत रुपमा देउवालाई सम्झाउँछौ, भन्छौँ कि यो पार्टी कम्युनिष्ट पार्टी होइन, जहाँ आजीवन कोही सभापति बनोस्,” श्रेष्ठले बाह्रखरीसँग भने, “त्यतिबेलासम्म उहाँले सभापतिको रेस छोड्नु हुन्छ, सरकार चलाएर कांग्रेसको सम्मानित नेता भएर बस्नु हुन्छ । त्यसो गर्नुभएन भने उहाँको टिममै फरक फरक प्रत्यासी हुन्छन् । त्यसले उहाँलाई दुर्घटनामा पुर्‍याउँछ ।”

सभापतिबाट त्यस्तो भएन भने के हुन्छ ? भन्ने प्रश्नमा श्रेष्ठ त्यस्तो नगरे देउवाको हालत पनि केपी ओलीकै जस्ते हुने चेतावनी दिन्छन् । 

“सत्ताको बागडोर र पार्टीको बागडोर आफैँ चलाउँछु भन्दा केपी ओलीको हालत के भयो ? उहाँ दुइतिहाई बहुमतबाट पदच्युत हुँदै सडकमा पुग्ने अवस्था कसरी आयो ?,” श्रेष्ठले भने, “हाम्रो सभापति शेरबहादुर देउवाजीले यो कुरा राम्रोसँग बुझ्नुभएको छ । सयम आएपछि उहाँले आफ्नो कलिग्सलाई उमेदवार बनाएर सम्मानित राजनीतिक बाटो रोज्नुहुन्छ ।”

सभापतिका लागि धेरैजना आकांक्षी भए पनि उनीहरुलाई नै बनाउनुपर्छ भनेर अहिलेसम्म दोस्रो पुस्ता तयार भएको छैन ।

गगन थापा र विश्वप्रकाश शर्माजस्ता युवा नेताले महामन्त्रीमा आफ्नो उमेदवारी घोषणा गरे पनि कुन टिममा रहने भन्ने निर्णय गरिसकेका छैनन् ।

सभापतिको उमेदवार बन्दै हुनुहुन्छ तर सभापतिको उमेदवार बनाउनुपर्छ भनेर बोलिदिने कोही छैनन् त किन ? भन्ने प्रश्नमा श्रेष्ठ समय आएपछि मात्र बोल्ने बताउँछन् । 

“आज बोल्यो भने अर्को नेता रिसाउँछ, त्यसको असर तलसम्म पर्नसक्छ भन्ने चिन्ता उहाँहरुमा छ,” श्रेष्ठले भने, “मुख्य कुरा महाधिवेशनमा भोट हाल्ने हो । टिममा बस्नेहरुले अगाडिनै पनि घोषणा गर्नुहुन्छ ।” 

उनले आफू महाधिवेशनमा सभापतिको उमेदवारीबाट पछि हट्ने कुनै सम्भावना नरहेको बताए । नेताका अडान हेर्दा कांग्रेस संस्थापनमा तीनजना सभापतिको उमेदवार हुने संकेत देखिँदैछ । 

देउवासँगै रहेका नेताहरुले पनि सभापतिमा देउवा नै हो भनेर अहिलेसम्म धारणा सार्वजनिक गरेको पाइँदैन । केवल आफ्नो उमेदवारीमामात्रै चिन्ता रहेको देखिएको एक नेता बताउँछन् ।

देउवालाईमात्रै होइन पौडेलको अवस्था पनि त्यस्तै छ । उनलाई पनि सभापति बनाउनुपर्छ भनेर अहिलेसम्म कोही दोस्रो पुस्ताका नेता तयार भएका छैनन् ।

पौडेलसँगै रहेका प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइरालालगायतका नेताले आफैँ सभापतिको उमेदवार भन्दै तयारी गरेका छन् ।

१३ औँ महाधिवेशनमा पौडेललाई सभापति बनाउन यी नेता लागिपरेका थिए ।

पौडेलकै टिममा बसेर महामन्त्री निर्वाचित भएका डा. शशांक कोइराला ‘देउवालाई हराउन अरुले सक्दैनन्, त्यसकारण म नै सभापतिको उमेदवार हुनपर्छ’ भन्दै आएका छन् । 

उनले अघिल्लो पटक त्यही टिममा बसेर महामन्त्री जितेको र अब पनि आफ्नो नेता पौडेल भएको स्वीकार गरेका छैनन् । 

बरु अब पौडेलले सम्मानित पद लिएर राजनीतिबाट विश्राम लिनुपर्ने तर्क गरिरहेका छन् । उनले पौडेल अबको राष्ट्रपति बन्नेगरी कांग्रसेको राजनीतिमा कार्यकारी पद लिन नहुने तर्क निकटस्थहरुसँग गर्दै आएका छन् । 

अर्का नेता डा. शेखर कोइराला त १३औँ महाधिवेशनको परिणाम सार्वजनिक भएदेखि १४औं महाधिवेशनमा सभापतिको उमेदवार हुँ भनेर जिल्ला जिल्लामा पुगेका छन् ।

महाधिवेशनको नजिकमा केही युवा पुस्तालाई साथमा लिए पनि उनीमाथि लागेको आरोप हो–जिल्ला जाँदा एक्लै जान्छन् । टिम छैन । नेतृत्वमा पुग्न पदाधिकारी पनि भएका छैनन् ।”

तर कोइराला त्यो कुरा मान्न तयार छैनन् ।

उनी १३औँ महाधिवेशनपछि काठमाडौंमाभन्दा जिल्लामै बढी समय बिताएका छन् ।

कोइरालाले पनि अहिले कसैलाई समर्थन गरेका छैनन् । उनी अहिलेको नेतृत्व पूरै असफल भएको तर्क गर्छन् । 

“कांग्रेसको नेतृत्व गरेको हिसाबले कांग्रसेका वर्तमान अवस्था आउनुमा नेतृत्वको असफलता प्रमुख हो,” कोइरालाले भने, “तर, यहाँ शेरबहादुरजी मात्र असफल हुनुभएको छैन । नेतृत्वसँगै बसेर निर्णय गर्ने र कुनै पनि कुरामा निर्णय गर्न आश्यक हुने रामचन्द्रजी, सिटौलाजी पनि असफल हुनुभएको छ ।” 

तर, रोचक पक्ष के छ भने प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा. शेखर कोइरालालाई पनि सभापति बनाउनुपर्छ भनेर उनीहरुपछिका नेताहरु कस्सिएको पाइँदैन ।

“नेताहरुले साझा उमेदवार चयन गर्छौँ भनेर सामूहिक रुपमै सार्वजनिक प्रतिवद्धता जनाउनुभएको छ, त्यही प्रतिवद्धताले देशभर एउटा माहोल खडा भएको छ,” कांग्रेसको युवा समूहका नेता बद्री पाण्डेले बाह्रखरीसँग भने, “हामीले साझा उमेदवार चयन गर्नुस् तपाईंहरु नै सहमतिमा पुग्न छलफल गर्नुस् भनिरहेका छौँ । अब जिल्ला अधिवेशनलगत्तै क्षेत्रीय सभापतिसहितका नेताहरु आएर एउटा दबाब दिएपछि एकजना उमेदवार तय हुन्छ ।” 
 

 

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्