पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले सरकारको नेतृत्वमा छ ।
नीति–नियम र कानुन कार्यान्वयन गराउने स्थानमा छ । तर, आफ्नै वैधानिकतामाथि बहस पनि सो पार्टीभित्र तीव्र छ । संविधान, नियम र कानुनअनुसार अब कांग्रेस नेतृत्वको कार्यकाल सकिनै लागेको छ । तर, संस्थापन पक्ष महाधिवेशन सार्नुपर्ने अडानमा छ ।
संस्थापनइतर समूह महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने अडानमा भए पनि स्पष्ट खाका दिन सक्ने अवस्थामा छैन । यसमा कसका स्वार्थ के होलान् त ? कांग्रेसको १४औँ महाधिवेशनले कस्तो परिणामको खोजी गर्दै छ भनेर हामीले कांग्रेसलाई नजिकबाट अध्ययन गरिरहेका विश्लेषक पुरञ्जन आचार्यसँग कुराकानी गरेका छौँ ।
प्रस्तुत छ, बाह्रखरीका बलराम पाण्डे र रमेश वाग्लेले आचार्यसँग गरेको कुराकानीको सम्पादित अंश :
संविधान, कानुन र आफ्नो विधानअनुसार अवैधानिक हुन लाग्दा पनि कांग्रेस नेतृत्व एकदम ‘कम्फर्टेबल’ देखिन्छ किन होला ?
यो शेरबहादुर देउवाको स्वभाव हो । उहाँलाई कुनै पनि कुराको हतार हुँदैन । यसपटक प्रधानमन्त्री बन्न पनि उहाँलाई हतार थिएन । प्रधानमन्त्री बन्ने इच्छा पनि थिएन ।
पछिल्लो एक–दुई वर्षमा सामूहिक भेट भएको छ । तर, व्यक्तिगत कुराकानी भएको छैन । चुनावमा कांग्रेसको पराजयपछि यताका दिनमा उहाँसँग एक्लै कुराकानी भएको छैन ।
विगतदेखि अहिलेसम्मका भेटघाट र कुराकानीबाट मैले के पाएको छु भने पछिल्ला दिनमा उहाँ अलिकति निस्क्रिय हुनुहुन्छ । अलिकति मानसिक रूपमा पनि कमजोरी देख्छु म । उहाँमा जाँगर मरेको छ, ऊर्जाविहीन अवस्थाको नेता देख्छु उहाँलाई ।
चिन्ताविहीन पनि हुनुहुन्छ । हुन त चिन्ता लिन दिमाग पनि ‘एक्टिभ’ हुनुपर्छ । उमेरका हिसाबले ७५ कटिसकेको शारीरिक रूपमा कमजोर भइसक्नुभएको छ । तर पनि देश र कांग्रेसलाई नेतृत्व गरिरहनुभएको छ ।
यो उमेरमा नेतृत्व गर्न मिल्दैन भन्न खोज्नुभएको ?
यसरी हेरौँ न, उदाहरका लागि बीपी कोइरालाले ६० वर्ष कट्नेबित्तिकै पार्टी सभापति छोडेर किशुनजीलाई दिनुभयो । सशस्त्र क्रान्ति गर्नुभयो, भारतमा बस्नुभयो । पछि राष्ट्रिय मेलमिलाप भनेर आउनुभयो ।
०३३ मा बीपी कोइराला नेपाल आएपछि लोकतन्त्रको हावा चल्यो । तर पनि उहाँ सभापति हुनुभएन ।
त्यो एउटा आयाम थियो बीपीको । त्योभन्दा पहिला बीपी गणतन्त्रवादी हुनुहुन्थ्यो । ‘नेपालको राजतन्त्रले प्रजातन्त्र दिन्छ भन्नु त्यस्तो स्वप्न हो, जुन स्वप्न कोसीको बालुवा निचोरेर तेल आउँछ भन्नुुजस्तै हो’ भनेर भन्नुभएको छ र लेख्नुभएको छ आफैँले । तरुण पत्रिकामा उहाँको आफ्नै बोली त्यस्तो छ ।
नेपालको राजशाहीबाट लोकतन्त्र आउँदैन भनेर उहाँले भन्नुहुन्थ्यो । शान्तिपूर्ण तरिकाले पनि प्रजातन्त्र आउँदैन भन्नुहुन्थ्यो । सशस्त्र क्रान्ति गर्दा ०३१ सालमा ठूलो क्षति भयो ।
गणेशमान सिंहको पनि राम्रो उदाहरण छ । उहाँ कहिल्यै सभापति हुनुभएन । तर पनि मुलुकलाई परिवर्तन गराउनुभयो । कम्युनिस्टहरूसँग मिल्नु हुँदैन भन्ने कांग्रेस नेताहरूलाई पनि ८० वर्षको उमेरमा सँगै हिँडाउनुभयो । कम्युनिस्टहरूलाई एक ठाउँमा उभ्याएर सहकार्य गरेर नेपालमा परिवर्तनको नेतृत्व गर्न उहाँ सफल हुनुभयो ।
गिरिजाप्रसाद कोइरालाकै कुरा गर्नुहुन्छ भने ८० वर्षको आसपास हुनुहुन्थ्यो । उहाँ प्रधानमन्त्री तीन–चारपटक भइसक्नुभएको थियो । तर, खासै सम्झन योग्य कुराहरू थिएनन् । धेरै मान्छेले उहाँमाथि धेरै किसिमका आरोप लगाउँथे । भ्रष्टाचारका आरोप, नातावाद, कृपावादको आरोप उहाँमाथि लगाइन्थे ।
पार्टीभित्रको संरचना ध्वस्त पारेको आरोप पनि उहाँमाथि थियो । धेरै जुनियरहरूलाई उठाउने, पार्टीमा योगदान गरेका व्यक्तिहरूलाई पाखा पार्ने र किशुनजी र गणेशमानजीहरूसँग झगडै गर्नेजस्ता कैयन् आरोप उहाँमाथि थिए । उहाँले स्थापित मान्यता पनि तोड्नुभयो ।
त्यो सबै कुराका बाबजुद उहाँको इतिहास अब्बल बनेको छ । विस्तृत शान्ति सम्झौता नगरेको र सशस्त्र युद्ध गरिरहेको माओवादीलाई शान्ति प्रक्रियामा नल्याएको भए उहाँको इतिहास कस्तो हुन्थ्यो होला ? ८० वर्षपछि त्यो काम गर्नुभयो ।
सुशील कोइरालालाई त कांग्रेसभित्रै कसैले नेतै मान्दैनथे । तर, उहाँले संविधान जारी गराउनुभयो । उहाँ नभएको भए संविधान जारी नहुन पनि सक्थ्यो ।
यहाँनेर मैले जोड्न खोजेको के हो भने उहाँहरूकै हाराहारीमा शेरबहादुर देउवा पनि पुग्नुभयो । मलाई के लागेको थियो भने उहाँ प्रधानमन्त्री भइसकेपछि अब सभापतिको लागि तयारी गर्नु हुन्न ।
गिरिजाप्रसाद कोइराला, बीपीहरूले जुन बाटो लिनुभएको थियो, त्यसरी नै उहाँ पनि राष्ट्रिय छवि निर्माण गर्ने बाटोमा लाग्नुहुन्छ भन्ने थियो । तर, त्यस्तो देखिएन । प्रधानमन्त्रीमै रहेर पार्टी सभापतिमा प्रतिष्पर्धा गर्ने तयारी गर्नुभएको छ ।
एक महिना बितिसक्दा पनि सरकार बनेको छैन । तर, उहाँ ‘रिल्याक्स’ हुनुहुन्छ । उहाँमा चिन्ता छैन । उहाँको ‘ट्रयाक रेकर्ड’ पनि राम्रो छैन ।
नेविसंघको अध्यक्ष भएपछि अर्को अधिवेशन गर्न १२ वर्ष लगाउनुभयो । १२ वर्षपछि पनि उहाँ आफैँ दोहोरिन चाहनुहुन्थ्यो ।
पछि पनि उहाँले प्रजातन्त्र दरबारमा बुझाउनुभयो । निकै उतार–चढाव उहाँको जीवनमा देखिन्छ । उहाँ अब आराम गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ ।
जिम्मा लिनेहरू किन तयार छैनन्, किन यस्तो अवस्था आयो ?
कांग्रेसको विश्लेषण गर्न दुईवटा विश्वविद्यालयबारे बुझ्न जरुरी हुन्छ । कांग्रेसको दुईवटा विश्वविद्यालय थियो ।
एउटा कोइराला विश्वविद्यालय थियो, जो देश बाहिरबाट राजनीतिमा आएको थियो । कडा दुःखबाट आएको, भारत बसेको, सशस्त्र क्रान्ति गरेको । त्यो विश्वविद्यालयमा कस्तो थियो भन्दा अविश्वास धेरै हुन्थ्यो ।
सबैलाई शंका गर्ने, कोही सीआईडी आयो कि भन्ने ठान्ने, तत्काल कसैलाई विश्वास नगरिहाल्ने, नेपाली समाजसँग राम्रोसँग नजोडिएको माथि–माथि जोडिएको, राजनीतिलाई समाजविज्ञानभन्दा पनि सत्ता विज्ञान भनेर बुझ्ने ।
भारतको राजनीति पनि त्यस्तै थियो । बीपीको बहुआयामिक व्यक्तित्व थियो । मैले नै ‘क्वाइन’ गरेको हुँ ‘एक्जाइल कांग्रेस’ र ‘देशभित्र बस्ने कांग्रेस’ भन्ने शब्द ।
यो दुईवटा विश्वविद्यालयमा राजनीतिप्रतिको बुझाइमा ठूलो अन्तर छ । त्यसरी बाहिर बसेर राजनीतिमा आएकाहरू कांग्रेसमा अब लगभग सकिए ।
किशुनजी ‘एक्जाइल पोलिटिक्स’बाट आएको होइन । किशुनजी यहीँ बसेको हो । किशुनजी विश्वविद्यालयबाट अर्थात् २०२७ सालको नेविसंघका उत्पादनहरू, उनीहरूको शिक्षादीक्षा, सहनशीलता अलि बढी छ ।
एकले अर्कोलाई ‘टलरेट’ गर्ने संस्कृति देखिन्छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल यसैका ‘प्रडक्ट’ हुन् ।
त्यसरी राजनीतिमा हुर्किएका शेरबहादुर देउवा र रामचन्द्र पौडेल (जो दुवै किशुनजी विश्वविद्यालयका हुन्) किन मिल्न सकेनन् ?
मलाई चाहिँ के लाग्थ्यो भने शेरबहादुर देउवा डडेलधुराबाटै आएको भए पनि, रामचन्द्र तनहुँबाटै आएको भए पनि यी दुइटा विपरीत भूगोलबाट आएकोहरूबीच मेलमिलाप हुन्छ ।
तर, कांग्रेसमा त्यस्तो देखिएन । यिनीहरू मिल्नुपर्ने कारण के थियो भने यी दुवै कृष्णप्रसाद भट्टराई राजनीतिक विश्वविद्यालयका विद्यार्थी थिए । गिरिजाप्रसाद कोइरालासँग यी सबैले लडाइँ गरेका हुन् । बीपीसँग कसैले लड्नु परेन ।
त्यसकारण रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीचको दूरी अस्वाभाविक हो । यी दुवैको शिक्षादीक्षा बीपीसँगै हो र पछि किशुनजीसँग हो ।
शेरबहादुर देउवा असफल सभापति, असफल सांसद र असफल प्रधानमन्त्री हुन् । त्यति हुँदाहुँदै पनि उनीसँग देशव्यापी संगठनमा बलियो गुट छ । रामचन्द्रले त्यो गुट प्रयोग गर्न सक्नुपर्थ्यो, तर सकेनन् ।
त्यसो भए अब सफल गुट व्यवस्थापनकर्ताको रूपमा शेरबहादुर देउवा नै हुन् कांग्रेसको नेता ?
शेरबहादुर देउवालाई यसपटक गठबन्धन नै चुनौती हुन्छ जस्तो लाग्छ । हुन त शेरबहादुर देउवा गठबन्धन व्यवस्थापनबाट आएका हुन् । सबैसँग लेनदेन गर्न सक्ने भएर त्यसलाई नै ठूलो छाती भन्छन् उहाँका समर्थकहरूले ।
क्षमताको कुरा गर्नु हुन्छ भने उहाँसँग क्षमता छैन । म त उहाँको कडा आलोचक हो । मैले उहाँलाई तपाईंबाट पार्टी चल्दैन भनेर भन्दै आएको छु ।
उहाँ अहिले पार्टीको सभापति पनि हुनुहुन्छ, प्रधानमन्त्री पनि हुनुहुन्छ । प्रधानमन्त्री पद जिम्मेवारीका हिसाबले उहाँको फुलटाइम जब हो ।
उहाँका यसअघिका चारपटकका प्रधानमन्त्रीत्वकाल मान्छेहरूले सम्झन चाहँदैनन् । उहाँलाई सम्झनासाथ संसदीय व्यवस्था बिगार्ने, सांसदहरू किनबेच गर्ने, पजेरो प्रकरणलगायत विषय सम्झनामा आउँछन् ।
तर फेरि उहाँले अझै आधा दशक पार्टी र देशको नेतृत्व गर्ने सम्भावना देखिन्छ नि !
जिम्मेवारी दिने सम्भावना कमजोर छ । तर, अझै जीवित छ । त्यो सम्भावना किन छ भने एक त शेरबहादुर देउवा अहिले पनि सभापति नै हो ।
कांग्रेस ‘कार्यकता’हरू (जसलाई हामी ‘कार्यकर्ता’ भन्छौँ) उनीहरूको धेरै ठूलो आर्थिक र राजनीतिक सुरक्षा शेरबहादुर देउवाले गरिदिनुभएको छ । उहाँमाथि लाग्ने भ्रष्टाचारका आरोपको कारण उहाँका कार्यकर्ता पनि हुन् ।
अहिलेकै उदाहरण हेरौँ न । उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भए । उमेश श्रेष्ठभन्दा स्वास्थ्यमन्त्रीका रूपमा त गगन थापाले नै राम्रो गर्न सक्थे होलान् नि ! तर, उनी भएनन् । यहीँबाट प्रष्ट हुँदैन र ?
तपाईं शेरबहादुर मानसिक र शारीरिक रूपमा थकित, गलित देखिन्छन्, कार्यशैलीमा पनि देखिन्छ भन्दै हुनुहुन्छ, रामचन्द्र पौडेलको क्रियाशीलताबारे के छ तपाईंको बुझाइ ?
विडम्बना छ कांग्रेसमा । आज देशमा शेरबहादुर देउवा प्रधानमन्त्री छन् भने यसको माहोल बनाउने कांग्रेसबाट रामचन्द्र पौडेलजत्तिको इमानदार प्रयास अरूबाट भएको छैन । कांग्रेस पूरा निस्क्रिय भएको बेला तनहुँबाटै एउटा जागरण सुरु भएको हो, पुल उद्घाटनका क्रममा ।
शेरबहादुर प्रधानमन्त्री हुनुमा रामचन्द्र पौडेलको ठूलो हात छ । निरंकुशताविरुद्ध लड्नुपर्छ भन्ने रामचन्द्र पौडेल नै हुन् र उनी लोकतन्त्र जोगाउन इमानदार रूपमा लागेका हुन् । एकलौटी रूपमा अघि बढ्यो भनेर प्रचण्ड–माधवले विरोध पनि गरे । तर, संविधानको रक्षा र निरंकुशताको पराजयका लागि लडेको हो जस्तो लाग्छ मलाई । यसमा रामचन्द्र पौडेललाई जस दिँदा फरक पर्दैन ।
त्यसो भए रामचन्द्र पौडेल पार्टीभित्रै कमजोरचाहिँ किन मानिन्छन् ?
रामचन्द्र पौडेलसँग मेरो लगातार छलफल हुन्छ । उहाँको सबैभन्दा ठूलो कमजोरी के हो भने उहाँ आफ्नो महिमामण्डन आफैँ गर्नुहुन्छ ।
उहाँको कर्म हेर्ने हो भने दक्षिण एसियाकै समकालीनहरूमा राम्रो छ । मध्यमवर्गीय नेता हुनुहुन्छ अहिले पनि । समाजवादकै कुरा गर्नुहुन्छ । उहाँसँगैका नेता कति भ्रष्टाचारमा परे, कति विवादमा आए । तर, उहाँ आउनु भएन । त्यसबाट जोगिनुभएको छ ।
उहाँ आफूले गरेका असल वा खराब कामको मूल्यांकन जनताले गर्छन्, मिडिया र समीक्षकहरूले गर्छन् भनेर छोड्नु हुन्न, आफैँ गर्नुहुन्छ ।
तर, अहिलेको राजनीतिक सिनारियो हेर्दा रामचन्द्र पौडेल कमजोर देखिनुहुन्छ । उहाँको ‘टिम भिजिट’ गरौँ है त ! प्रकाशमान सिंह आफैँ सभापति लड्ने । अर्जुननरसिंह केसी जसले उपसभापति, महामन्त्री दिन्छ उतै तयार हुने । पहिला शेरबहादुर देउवाको महामन्त्री उठेकै हुन् । शशांक कोइराला आफैँ सभापति उठ्ने । शेखर कोइरालाले त जसरी पनि जो उठे पनि सभापति लड्छु, हारे भने राजनीति छोड्छु, जिते भने पार्टी चलाउछु भनिसकेका छन् । शेखर कोइरालाको पाँच वर्षदेखिकै तयारी छ ।
रामचन्द्र पौडेल सभापति हु्नुपर्छ भनेर बाहिर निस्केर भन्ने जिल्ला सभापति पनि देख्दिनँ मैले त । उहाँले टिम बनाउनै सक्नु भएन । सुशील कोइरालासँग रहेका कृष्ण सिटौलाबाहेक सबै टिम उहाँले पाएको हो । तर, टिम चलाउन सक्नु भएन ।
अब महाधिवेशनमा कोइराला भर्सेस देउवा नै हुने हो त ?
मलाई लाग्छ त्यो ।
रामचन्द्र पौडेल रेसबाट आउट हुन्छन् ?
रेसबाट आउट भन्न सकिँदैन, माया गर्नेहरू पनि छन् । तर, माया गर्ने र सभापति बनाउने फरक कुरा हुन् ।
कार्यकर्ताहरूले शेरबहादुर देउवाको विकल्प खोजेका छन् । अहिले देउवा हार्ने भनेकै उनको विकल्पको खोजीमा हार्ने हो । जित्नेले जितेको हुँदैन, शेरबहादुर देउवाको विकल्पले जितेको हुन्छ ।
यो विश्लेषण के आधारमा गर्दै हुनुहुन्छ ?
झन्डै पाँच वर्षको ‘ग्यापपछि’ म मेची–महाकालीसम्मका कांग्रेसका ७७ जिल्ला र ७५३ वटै युनिटसँग सम्पर्कमा छु । सबैसँगको सम्पर्कमा मैले के पाएको छु भने शेरबहादुरको विकल्प खोजेका छन् । तर, रामचन्द्रलाई हेर्ने आँखा कम छन् ।
त्यसो भए को हुन्छ त देउवाको प्रतिष्पर्धी ?
म यसमा पूर्वाग्रही हुन पनि सक्छु । फेरि कोइरालाहरूकै पोल्टामा कांग्रेस जाने सम्भावना देखिन्छ । शेरबहादुर देउवालाई रामचन्द्र पौडेलले नै विकल्प दिन सके हुन्थ्यो भन्ने लाग्छ मलाई । म खुसी पनि हुन्थेँ । तर, सम्भावना निकै कम देख्छु ।
कांग्रेसमा युवाहरूको उपस्थिति बढ्यो भनिन्छ, त्यसको प्रभाव रहन्छ १४औँ महाधिवेशनमा ?
कांग्रेसमा अहिले युवा जमात जबर्जस्त भएर आएको छ । योपटकको क्रियाशील सदस्यको संख्या बढेको छ, यसमा पार्टी संस्थापनलाई लाग्दो हो मेरै कारण बढ्यो भनेर ।
तर, कांग्रेसभित्रका युवाहरूले यसमा धेरै ठूलो चमात्कार देखाएका छन् । यो पार्टीलाई यसरी लिएर जान्छु भनेर पाँच वर्षदेखि कसैले निरन्तर काम गरिराखेको थियो ।
यसमा दुईवटा फ्याक्टरले काम गरेको देखिन्छ । एउटा समूहको नेतृत्व गगन थापाले गरेका छन्, अर्को शेखर कोइरालाले गरेका छन् । यो पाँच वर्षको समयमा शेखर कोइरालाजत्तिकै जिल्ला जाने अर्को कुनै नेता नै छैन ।
त्यसैगरी, कांग्रेस संगठनमा नयाँ युवा जमात भित्र्याउन र संगठन विस्तार गर्न गगन थापाको समूह देशभर खटिएको छ ।
झन्डै पाँच लाखको संख्या बढेको छ । त्यसमा संस्थापनका सभापति, महामन्त्रीले पनि केही गर्नुभएको छ । तर, संगठित रूपमा चाहिँ युवाहरूकै भूमिका देखिन्छ । यसपटक युवाहरूबाट राम्रो धक्का लाग्नेवाला छ ।