site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
शशांकको सपना : धर्मनिरपेक्षता चल्दैन, कम्युनिष्टसँग मिल्नै हुँदैन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । शशांक कोइराला कांग्रेस महामन्त्री हुन् । बीपी कोइरालाका पुत्र, कम बोल्छन् बढी सुन्छन् । 

आफ्ना कुरा सकेसम्म राख्दै राख्दैनन्, राख्नैपरे ‘तौलेर’ राख्छन् । पार्टीभित्र उनीमाथि लाग्ने आरोप हो– बोल्न पर्ने विषयमा बोल्दै बोल्दैनन् । संसद्मा कहिल्यै बोल्दैनन्, पार्टीभित्र शेरबहादुर देउवाविरुद्ध बोल्नपर्ने बेलामा सहयोग गरे ।

अहिले उनै देउवाबाट पार्टी नचल्ने भन्दै मोर्चाबन्दीमा सक्रिय छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि कांग्रेसका संस्थापकमध्येका तीन नेताका छोरा हुन् ।

उनीहरुबीच १४ औँ महाधिवेशनका लागि भएको मोर्चाबन्दीले पार्टीभित्र दुवैखाले तरंग सिर्जना गरेको छ ।

Global Ime bank

पार्टीको आगामी महाधिवेशनमा आफूहरु तीनमध्ये आफू नै सभापतिको उमेदवार भएको र बाँकी आकांक्षीलाई मनाउने क्षमता आफूमा भएको स्पष्टसँग बताउँछन् शशांक ।

बाह्रखरीसँग कुरा गर्दै उनले कांग्रेसको सभापति निर्वाचित तर पूरै शक्तिशाली हुनुपर्नेमा आफू अडिग रहेको र महासमिति बैठक बोलाएर विधान संशोधन गर्नुपर्ने बताए । 

त्यतिमात्रै होइन, उनले कांग्रेसलाई बलियो बनाउने हो भने कम्युनिष्टसँग मिल्नै नहुने बताउँछन् । 

उनी धर्मनिरपेक्षताबारे खुसी छैनन् । “हिन्दु धर्म नै त म भन्दिन तर धर्म निरपेक्षता त हुँदै हुँदैन,” उनको स्पष्ट धारणा थियो ।

बाह्रखरीसँग डा. कोइरालाले गरेको कुराकानीको सम्पादित अंशः यस्तो छ–

महाधिवेशनको तयारीमा हुनुहुन्छ, यस्तो अवस्थामा महाधिवेशन सम्भव छ ?

महाधिवेशन जसरी पनि हुन्छ । बाढी पहिरो, कोभिड केहीले पनि महाधिवेशन रोकिँदैन । क्रियाशील सदस्यको नाम एकहप्ताभित्र प्रकाशित हुन्छ । महाधिवेशनलाई केहीले पनि रोक्न सक्दैन ।

तपाईंले सभापतिको उमेदवारीका लागि तयारी गर्नुभएको हो ?

हो, मैले सभापति लड्ने निर्णय गरेको छु । हुन त अहिले पनि कुराकानीकै क्रममा छौँ । शेरबहादुर देउवा र विमलेन्द्र निधि उहाँहरुको गुटबाट सभापतिको आकांक्षी हुनुहुन्छ । हाम्रो तर्फबाट रामचन्द्र दाइ, प्रकाशमान सिंह, शेखर दाइ हुनुहुन्छ, म छु । हामीमध्ये एकजना उठ्नुपर्छ । त्यसको तयारीकै क्रममा छु ।

तपाईंहरुको टिममा एकजनामा सहमति कायम होला ?

हाम्रो प्रयास त्यही रहन्छ । 

प्रकाशमान सिंह, तपाईं र विमलेन्द्र निधि लगातार भेटवार्ता गरिरहनुभएको छ । यसको राजनीतिक संकेत केही हुन सक्ला ?

हामी तीनजना नेताका पुत्रहरु एकैठाउँमा उभिएका छौँ । हामी तीनजनामध्ये एकजना सभापतिको उमेदवार बन्नुपर्‍यो । हामी लगातार छलफल गर्दैछौँ, सभापतिमा एकजनाले मात्रै उमेदवारी दिन्छौँ ।

तीनजनामध्ये एकजना सभापति, एकजना प्रधानमन्त्री र अर्को एकजना राष्ट्रपतिमा उमेदवार बन्ने भन्ने आन्तरिक तयारी हो ?

तयारी हुँदैछ तर सबै निर्णय भइसकेको छैन ।

तपाईं सभापतिको उमेदवार हो कि प्रधानमन्त्रीको ?

हो म सभापतिको उमेदवार हो । हामीले रामचन्द्र दाइलाई पनि मिलाउनुपर्छ । बाँकी साथीहरुलाई कसरी कहाँ मिलाउने भन्ने होमवर्कमा छौँ ।

रामचन्द्र पौडेललाई कसरी मिलाउनुहुन्छ ?

उहाँलाई केही पद दिनुपर्छ । उहाँलाई के भन्नुपर्‍यो भने तपाईंले अब चुनाव जित्न सक्नुहुन्न । १३ औँ महाधिवेशनमा हार्नुभयो । तपाईंलाई हामी उपयुक्त ठाउँ दिन्छौँ । जीवनमा यत्रो संघर्ष गर्नुभयो । त्यसलाई हामी कदर गर्छौँ । नेपालको आधुनिकीकरण नयाँ शीराबाट सुरु गर्न चाहन्छौँ । हामी नयाँ योजना तर्जुमा गरेर अघि बढ्छौँ तपाईंले हामीलाई सहयोग गर्नुपर्छ भनेर पनि रामचन्द्र दाइलाइ भन्नुपर्छ ।

उमेदवारका आकांक्षी धेरै हुनुहुन्छ, कसरी म्यानेज होला ?

यसमा चुनौती धेरै छ । हामी ७ जना सभापतिका उमेदवार छौँ । उपसभापति, महामन्त्री पनि छन् । यसमा केही चुनौती देखिन्छ । तर हामीले ध्यान दिनुपर्ने कुरा के हो भने अहिले कांग्रेसको विधान परिवर्तन गर्नुपर्छ । 

बीपी कोइरालाले प्रतिपादन गरेको प्रेसिडेन्सियल सिष्टम छ । सभापतिको हातमा सबै शक्ति हुनुपर्छ तर निर्वाचित हुनुपर्छ भन्ने जुन सिद्धान्त छ त्यसलाई हामीले छाड्नुहुँदैन । 

निर्वाचित भइसकेपछि पदाधिकारी उसैले चयन गर्नुपर्छ नभए सभापति कमजोर हुन्छ, यो विधान परिवर्तन गर्नैपर्छ ।

महासमितिको बैठकले यो निर्णय पनि गर्छ ।

पार्टीको नेतृत्व तपाईंको हातमा आयो भने तपाईंले देखेको कांग्रेस कस्तो हुन्छ ?

नम्बर वान युनाइटेड कांग्रेस । गुटमा विभाजन नभएको कांग्रेस । गुटबन्दी गर्दा चुनावमा पनि असर पार्‍यो । चुनावमा गुटबन्दी नगरी गयौँ भने बहुमत ल्याउछौँ । पार्टीलाई एकीकृत गरेर अघि बढ्छु ।

हाम्रो सरकार बन्छ । क्षमतावान प्रधानमन्त्री बनाउँछु । प्रधानमन्त्रीलाई पार्टी सभापतिले निर्देश गर्न सक्छ । हामीले हाम्रा योजना पूरा गर्नका लागि कस्ता योजना अघि लैजाने ? यसमा हामीले निकै गृहकार्य गरेर अघि बढ्नुपर्छ ।

नेपाललाई आत्मनिर्भर बनाउने हाइड्रो हो । काम भइरहेको छ । 

दोस्रो पर्यटन हो । अहिले कोभिडको असर त्यहाँ परेको छ । 

तेस्रो हो कृषि । कृषि क्षेत्रमा मात्रै ३ प्रतिशत बजेट छ । कृषिमा कम्तिमा पनि ३० प्रतिशत बजेट छुट्याउनुपर्छ । 

कृषिमा आधुनिकीकरण गर्ने मेरो योजना छ । स्वास्थ्यमा धेरै काम भइरहेको छ । त्यसलाई सुदृढ गर्दै कृषि क्रान्ति गर्नैपर्छ । हामी ९५ प्रतिशत आयात गर्छौँ । निर्यात गर्ने अवस्थामा पुर्‍याउनै पर्छ । त्यसका लागि ‘ल्यान्ड बैंक’ बनाउनुपर्छ । अरब जाने युवालाई यहीँ जग्गा दिनुपर्छ । निश्चित अवधिसम्म उनीहरुलाई लिजमा दिने र राम्रो काम गरे त्यो जग्गा उनीहरुलाई नै दिने नीति बनाउनुपर्छ ।

तपाईं सभापति भए प्रधानमन्त्री बन्नुहुन्न ?

म सभापति भए प्रधानमन्त्री बन्ने छैन । पार्टीमा एक व्यक्ति एक पद हुनुपर्छ । पार्टी मैले सम्हाल्नुपर्छ । प्रधानमन्त्री सम्हाल्ने अरु कसैको जिम्मा हुन्छ ।

शेरबहादुर देउवाको टिममा रहेका विमलेन्द्र निधि आउनुभएको छ । तपाईंकै समूहका कतिपय नेताले निधिको आगमनलाई आशंकाका रुपमा हेरेका छन् । यसलाई कसरी हेर्नुभएको छ ?

म के भन्छु भने विमलेन्द्र निधि आएपछि तीनजनाको टिम बन्यो । अब टिम बढाउनुपर्छ । यसलाई शंकाको दृष्टिले हेर्नुहुँदैन ।

उहाँले आजभन्दा ६ महिना पहिला नै मकहाँ आएर सभापति हुन्छु भन्नुभयो । मैले शुभकामना दिएँ । परिस्थिति परिवर्तन भयो अहिले म जता गए पनि साथीहरु तपाईँ नै बन्नुपर्छ भन्छन् ।

कांग्रेसमा धेरै कमजोरी भएका छन् । शेरबहादुर देउवाले पार्टी हाक्न सक्नुभएन । चुनावमा हामी हार्‍यौँ । चुनावमा हार्दा पनि मैले उहाँलाई संरक्षण गरेकै हुँ । तर पनि पार्टी मिलाउन सक्नुभएन । पाँचवर्ष पूरा भएपछि विभाग गठन गर्नुभयो । फेरि सभापति हुन्छु भनेर नेता तान्नका लागि गरिएको काम थियो त्यो ।

उहाँले धेरै ठाएँमा गल्ती गर्नुभएको छ । चितवनमा कांग्रेसले रुखमा मतदान गर्नै पाएका छैनन् । यो अवस्थामा उहाँले पार्टीलाई पुर्‍याउनुभयो । हँसिया र हथौडामा भोट हाल्न लगाउनुभयो । 

कम्युनिष्टसँग मिल्नु नै कांग्रेसको ठूलो गल्ती हो । 

त्यो २०४६ सालबाटै भएको हो । मलाई सम्झना छ त्यसबेलाको आन्दोलनमा गणेशमानजीलाई के लाग्यो भने हामीमात्रै भएर आन्दोलन पूरा हुँदैन । त्यही भएर मिल्नुपर्ने अवस्था आयो । 

त्यसबेलाको आन्दोलन सफल भएपछि कांग्रेसले बनाएको एकलौटी सरकार भनौँ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा तीन वर्षमा चामत्कारिक काम भएका छन् ।

वास्तवमा भन्ने हो भने कम्युनिष्ट स्थापित गर्ने काम हामीले नै गरेका हौँ । बीपी कोइरालाले कहिले पनि कम्युनिष्टलाई स्थापित गर्नुभएन ।

बीपीलाई ०३६ सालमा कम्युनिष्टसँग मिल्न दबाब थियो । तर उहाँले मान्नुभएन । कम्युनिज्म मरिसकेको विचार हो । त्यसैले उनीहरुसँग हामी मिल्नै हुँदैन, कांग्रेसले अब गल्ती गर्नै हुँदैन ।

अहिले पनि कम्युनिष्टसँग मिल्दा क्षति कांग्रेसलाई नै हुने हो र ?

अहिले ओली धेरै शक्तिशाली भएका कारण बाँकी कम्युनिष्टसँग हामी मिल्नुपरेको हो । उनलाई परास्त गर्नकै लागि हामी कम्युनिष्टसँग मिल्नुपर्‍यो यो राजनीतिक वाध्यता हो । हामी कम्युनिष्टसँग मिल्नै हुँदैन । आउँदो चुनावमा हामी एक्लै लड्नुपर्छ । 

दुईतिहाइ कम्युनिष्ट रहेको मुलुकमा कांग्रेसको उपस्थिति कसरी देखिन्छ ?

कम्युनिष्ट अब मिल्न सक्ने सम्भावना देखिँदैन । एमाले फुटको अवस्थामा छ । माधवकुमार नेपालको पछि पनि केही लागेका छन् । अर्को चुनावमा कम्युनिष्ट समाप्तै हुन्छन् ।

तपाईंले देखेको कांग्रेसमा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको स्थान के हुन्छ ?

धर्म निरपेक्षतामा मेरो विश्वास छैन । धर्म न निरपेक्ष हुन्छ न सापेक्ष । धर्म स्वतन्त्र हुन्छ । धार्मिक स्वतन्त्रता हामीले राख्नुपर्छ । 

धर्मनिरपेक्ष भनेर कसैलाई अनादर गर्न पाइँदैन । मैले हिन्दु धर्म पनि भन्दिन । धर्म स्वतन्त्रताको प्रतीक हो । यसको लागि जनमतमा गए हुन्छ । म सभापति भएपछि यो काम गर्नुपर्छ भन्ने दिमागमा आएको छ । 

संघीयता जे भने पनि विकेन्द्रीकरणमा म विश्वास गर्छु । यो विकेन्द्रीकरण गिरिजाप्रसाद कोइरालाकै पालामा सुरु भएको हो ।

संघीयताको सही कार्यान्वयन भएको छ त ? बजेट आफ्नै हातमा राखेर हुन्छ ? म संघीयताको विरोधी होइन । तर पनि अहिले संघीयताको प्रयोग सही ढंगबाट भएन ।

तपाईंले गणतन्त्रको कुरा गर्नुभयो । नेपालमा राजा आउने सम्भावना म देख्दिन । भोलि जनताले राजा नै ल्याए भने त हाम्रो के लाग्छ र ? 

तर हाम्रो चारतारा झन्डामध्ये एक तारा धार्मिक स्वतन्त्रताकै हो । हामी हाम्रो झण्डाको न्याय गर्न सफल हुनुपर्छ । 

कांग्रेसमा गुट उपगुट कसरी जन्मियो ?

महाधिवेशनमामात्रै देखिनुपर्‍यो । त्यो सकिएपछि पनि निरन्तरता पायो । यो १३ औँ महाधिवेशनदेखि चलिरहेको छ । यो ब्रेक गर्नुपर्छ ।

कसरी गर्नुहुन्छ ?

विधान संशोधन गर्नुपर्छ । सभापतिलाई बलियो बनाएपछि सबै मान्छेलाई सँगै अघि बढाउन सकिन्छ । अहिलेको व्यवस्थाले गुट झनै बढायो ।

शेरबहादुर देउवा अहिले पनि गुट बनाउँदै हुनुहुन्छ । तर सबैको सभापति हुन उहाँ सक्नुभएन ।

कांग्रेसमा अहिले देउवाको विकल्प अनिवार्य हो ? हो भने किन ?

शेरबहादुरजीबाट अब कांग्रेस चल्दैन भन्ने निष्कर्षमा पुगेको छु । मैले धेरैचोटी सुझाव पनि दिएँ । सभापति र प्रधानमन्त्री कसरी बन्ने भन्नेबाहेक अरु कुरामा उहाँको ध्यान गएन । अहिले ओलीभन्दा शेरबहादुर देउवा ठिक भनेरमात्रै हामी अघि सरेका हौँ ।

तपाईंहरुको समूहमा अरु नेता र युवालाई किन अघि सार्न सक्नुभएन ?

मैले नै भनेको छु अब यसलाई बढाएर वृहत बनाउँदै छौँ ।

शेखर कोइरालाले तपाईंलाई समर्थन गर्नुहोला ?

अहिले गर्नुहुन्न । उहाँ आफैँ तयारीमा हुनुहुन्छ । धेरै ठाउँ पुग्नुभएको पनि छ । तर वाध्य भएर मलाई नै समर्थन गर्ने बनाउनुपर्‍यो ।

नेतापछि नेताकै छोराछोरी नै चाहिने किन ?

यो आलोचना ठिक पनि हो । म बीपीको छोरा भएर मात्रै होइन । मेरो आफ्नै पहिचान छ । म पनि जेल भोगेर आएको व्यक्ति हुँ । आन्दोलनमा म पनि सहभागी भएको छु । बीपी कोइरालाको छोरा हुँ केही फाइदा होला तर मेरो क्षमता पनि त छ नि त्यसलाई अवमूल्यन गर्न त भएन नि ! 

तपाईंको टिममा युवा नेताहरु को को रहनेछन् ?

विश्वप्रकाश शर्मा, गगन थापासहितका युवा नेता हामीसँगै रहनेछन् । अहिले कांग्रेसमा निकै क्षमतावान युवा नेता हुनुहुन्छ । उहाँहरुलाई अघि बढाउनुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement