site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाको दोश्रो संस्करण : भोगाइ र अनुभव

पत्नीको उपचारका लागि २०७७ चैत्रको अन्तिम साता अपर्झट नयाँ दिल्ली गई अपोलो अस्पतालमा एक साता बसेर २०७८ बैशाख १ गते काठमाडौं फर्कने क्रममा नयाँ दिल्ली – काठमाडौँको सिधा हवाई टिकट पाइएन । फलस्वरुप, दिल्लीबाट पश्चिम बंगालको बागडोग्राबाट नेपाल आएर भद्रपर हुँदै काठमाडौं आइयो । यस हवाई यात्रामा  भारतबाट नयाँ वर्षको उपहारस्वरुप कोभिडको भारतीय संस्करण बोकेर ल्याइए छ । पत्तै पाइएन ।

हुन त ‘ओलिबा’ ले कोरोनाको पहिलो लहरताका नै संसद्मा ‘भारतको कोरोना चीन र इटलीको भन्दा बढी खतरनाक छ’ भनी सम्झाएका हुन् । तर, उपचारको लागि नयाँ दिल्ली जानैपर्ने बाध्यता भएकोले खतरा उठाउनुपर्ने बाध्यता थियो र ‘ओलीबा’का कुरामा पटक्कै ध्यान दिइएन ।

विषय वस्तुको प्राविधिक ज्ञान नभए पनि उखानटुक्का शैलीमा कुरा ट्वाक्क मिलाउन सक्ने खुबी ‘ओलिबा’ मा गज्जबकै छ !

परिस्थितिको त्यस्तो पूर्वानुमान गर्नसक्ने क्षमता भएको व्यक्ति पनि संसद्मा विश्वासको मत लिदाँ कसरी चिप्लेका हुन् कुन्नि ?
काठमाडौं फर्केको केही दिनपछि एकै साथ पीसीआर परीक्षण गर्दा पत्नीको ‘पोजिटिभ’ र मेरो ‘नेगेटिभ’ रिपोर्ट देखियो ।

पीसीआर पोजिटिभ देखिएकाले श्रीमती घरैमा ‘आइसोलेसन’ मा बसिन् । आफू चाहिँ ‘नेगेटिभ’ रिपोर्ट आएकोमा ढुक्क हुँदै सामान्य दिनचर्यामा दिन बिताइयो । यस्तै २–३ दिनपछि सामान्य ज्वरो आइरहने र थकाइ लागेको अनुभव हुन थाल्यो ।

कोभिडको शंकाले सावधानी अपनाएँ । त्यसपछि दुवै जनालाई श्वास लिन कठिनाई महसुस हुँदा मेडिसिटी अस्पतालको ईमर्जेन्सीमा जचाइयो । विभिन्न परीक्षण एवं एक्सरेपश्चात् मेरो हकमा गहन समस्या नदेखिएको भनी घरमै बसी उपचार गर्ने सुझावसहित अस्पतालले सोही दिन ‘डिस्चार्ज’ गरिदियो । यद्यपि, त्यहाँ पीसीआर गर्दा ‘पोजिटिभ’ देखिएको थियो । मेरी श्रीमतीको केही दिन अघिमात्र गहन शल्यक्रिया गरेको हँुदा संक्रमणको धेरै जोखिम भएकाले छातीको ‘सीटी स्क्यान’ गराउन लगाएँ । त्यसमा उनको फोक्सोमा संक्रमण देखियो र तत्कालै भर्ना भई उपचार सुरू गरियो । श्रीमतीलाई समयमै अस्पताल भर्ना गरी उपचारको गरेको कारणले फोक्सो र अन्य अङ्गहरुमा ठूलो असर पर्न पाएन । साथै, खासै ‘अक्सिजन’ दिनु पनि परेन । नौ दिनको उपचारपश्चात् ‘डिस्चार्ज’ भइन् ।

आफू कोभिड संक्रमित भएको हुँदा अस्पतालबाट फर्केपछि घरमा ‘आइसोलेसन’ मा बसेँ । पारासिटामोल खाँदै ‘अक्सिमिटर’ ले ‘अक्सिजन’ को मात्रा नाप्दै दिन बित्दै गयो । कोभिड संक्रमित भए पनि अरुलाईजस्तो जिउ दुख्ने गरेन र सुँघ्न सक्ने क्षमतामा कुनै कमी आएको थिएन ।

परन्तु, २ दिनसम्म घरमा आफैँ उपचार गराउँदा समेत स्वास्थ्यमा सुधार हुनुको सट्टा झन् अत्यन्त थकान महसुस हुने एवं श्वास लिन कठिन हुने हुनथाल्यो । शरीरमा ‘अक्सिजन’ को मात्रा समेत ९२ भन्दा कम देखाउन थाल्यो । अनि, अस्पताल भर्ना हुने प्रयास गरेँ । मेडिसिटी अस्पतालमा शय्याको अभाव देखाएपछि अर्कै अस्पतालमा भर्ना भएँ । त्यस अस्पतालमा एक रात तथा अर्को पूरा दिन बस्दा एक्सरे वा ‘सीटी स्क्यान’समेत नगरी न्यूनतम उपचार पनि पाइन । उता, अत्यन्त चर्को शुल्क असुलेको र आफ्नो शारीरिक अवस्था कमजोर हुदैँ गएकाले अर्को दिन मेडीसिटीमा शय्या पाउनासाथ सरेँ । (उक्त अस्पतालको लापरबाहीको अनुसन्धान गर्ने क्रममा हुँदा हाललाई नाम नखुलाउनु उपयुक्त ठानेको हुँ । )

दोस्रोपटक मेडिसिटी अस्पतालमा भर्ना हुनेबित्तिकै छातीको ‘सीटी स्क्यान’ गरियो । फोक्सोमा ‘निमोनिया’ भई संक्रमण निकै नै फैलिइसकेको रहेछ । कोरोना भाइरसले फोक्सोको ठूलो हिस्साको कोषहरुमा गम्भीर असर गरिसकेको रहेछ । अस्पताल भर्ना भएको सुरुका २/३ दिन त श्वास लिन अत्यन्त कठिन भयो । स्वर दबिएर बोल्नै नसक्ने अवस्थामा पुगियो । हुन त ‘ओलीबा’ ले संसद्मा नेपालीको ‘इम्युन सिस्टम’ अत्यन्तै बलियो छ । तातो पानी र बेसार खायो भने कोरोना चट हुन्छ पनि भनेका थिए । तर ‘अक्सिजन’ को सहारामा श्वास लिनुपर्ने अत्यन्त कठिन परिस्थितिमा ‘ओलिबा’ को बेसार पानीमा भर गर्नु उचित नलागी डाक्टरहरुको विवेकमा उपचार गराएँ । अवस्था गम्भीर भएको संकेत मलाईबाहेक परिवारका सदस्यहरुले डाक्टरहरुबाट पाइसकेका थिए । परिवारका सदस्यहरु चिन्तित हुन थाले । आठ दिनसम्म अक्सिजनको भर पर्नु पर्‍यो । डाक्टरहरुले हरेक दिन विभिन्न प्रकारका परीक्षणहरु गर्दै एक पछि अर्को दर्जनौं ‘इन्सुलिन’, ‘स्टोरोइड’ लगायत अन्य विभिन्न प्रकारका औषधिहरु प्रयोग गर्दै गए । छ दिनको सघन उपचारपश्चात् बल्ल कोरोना मुक्त भएँ ।

कोभिड वार्डमा छ दिन उपचार गराउँदाको अनुभूति उदेकलाग्दो थियो । डाक्टर र नर्सहरु टाउकोदेखि पूरै शरीर ढाकिने ‘पीपीई’ पोसाकमा मात्र देखापर्ने, त्यो पनि खाना पुर्‍याउन र शारीरिक जाँच गर्न र औषधि दिनमात्र । देख्दै अर्कै ग्रहबाट आएको प्राणीजस्ता ! अक्सिजनको कमीले गर्दा श्वासप्रश्वासमा कठिनाइ एवं दबेको स्वरको कारणले आफन्तहरुसँग फोनमा लामो कुराकानी गर्नसमेत नसक्ने । यस्तो बेला एउटै कोठामा थुनिएर बस्नु परेको त्यो ६ दिन अत्यन्त अत्यासलाग्दो रह्यो ।

गहन उपचार गराउँदा दुईवटा कुराले अत्यन्त सहयोग गर्छ । पहिलो, श्वास्थ्यकर्मीहरुबाट समयमै उचित उपचार र दोस्रो, बिरामीको आत्मविश्वास । बिरामीले यस्तो अवस्थामा आत्मविश्वास उच्च राख्नु अति आवश्यक हुन्छ । यस्तो बेलामा हिम्मत नहारौँ र कोरोना उपर विजय प्राप्त गर्न सकिन्छ भन्ने आत्मविश्वासलाई कायम राखौँ ।

छ दिनको अत्याधिक औषधिको प्रयोगबाट अन्ततः कारोनाबाट मुक्त भई जनरल केबिन सरेपछि बल्ल सन्तोषको सास फेरेँ । डाक्टर तथा नर्सहरू सामान्य लुगामा देख्न पाउँदा एवं आफन्तहरूलाई समेत भेटघाट गर्न पाउँदा जीवन पहिलेकै लयमा फर्किएको अनुभूति हुन थाल्यो । तर, फोक्सोमा संक्रमण अधिक भएको कारणले केही दिन अझै अक्सिजन लिइरहनु पर्‍यो ।

जनरल केबिनमा ४ दिनको थप औषधोपचारपश्चात् डिस्चार्ज भइयो ।

जम्माजम्मी ११ दिनको कठिन संघर्र्ष एवं अनवरत उपचारपश्चात् नयाँ जीवन पाएको छु । अस्पतालमा बिताएका ती दिनहरु सम्झँदा अहिले पनि अत्यास लाग्छ । मेरो उपचारमा संलग्न डा. सञ्जीतकृष्ण श्रेष्ठ एवं उहाँको मेडिकल टिमलाई धन्यवाद दिन चाहन्छु ।

मेरो अनुभवमा संक्रमण भएको पहिलो ४/५ दिनमा स्वास्थ्यको उचित स्याहार गर्नु अत्यन्त आवश्यक छ । कोरोनाको सामान्य लक्षणहरु हल्का ज्वरो, जिउ दुख्ने, पखाला लाग्ने, सुँघ्न सक्ने क्षमतामा कमी हुने तथा थकान महसुस हुने देखिनासाथ स्वास्थ्यको ख्याल गर्नु अति आवश्यक छ ।

तर सबैलाई सबै खाले लक्षणहरु देखा पर्न जरुरी छैन । ‘पीसीआर’ रिपोर्टले ‘नेगेटिभ’ देखाउँदैमा ढुक्क नबसौँ । कपिपय अवस्थामा ‘पीसीआर’ रिपोर्टले सही अवस्था दर्शाउँदो रहेनछ । स्वास्थ्य स्थितिमा परिवर्तन अनुभूति भएको छ भने आफैँ होसियार बनौ ।

यस्तो बेलामा उचित खानपान एवं आरामको अत्यन्त जरुरी हुन्छ । यो समयमा हेलचक्र्याइँ नगरौँ । समयमै अस्पताल जाऊँ । हुन त अहिलेको विषम परिस्थितिमा अस्पतालको शय्या पाउन अत्यन्तै कठिन परिस्थिति छ । घरमै बसी उपचार गर्दा स्वास्थ्यकर्मीहरुको मार्गदर्शनमा उपचार गरौँ ।

कोरोनाले नराम्रोसँग क्षतिग्रस्त गरेको फोक्सोले नियमित रुपमा काम गर्न लामो समय लाग्छ जुन ३ महिनादेखि ६ महिना वा अझ केही व्यक्तिको हकमा त एक वर्षसम्म लाग्न सक्छ । यसका लागि उत्तम उपाय फोक्सोको व्यायाम नियमितरुपले गर्नु हो ।

नियमितरुपमा ‘फिजियोथेरापी’ गरौँ र फोक्सोलाई मजबुत पार्ने अन्य उपायहरुको नियमित अभ्यास गरौँ ।

कोभिडको उपचार पश्चात् तत्काल देखिने अर्को असर हो – अनिद्रा । घर फर्केको २/३ रातसम्म पटक्कै निद्रा नलाग्ने । निद्राको औषधि सेवन गर्दा समेत मुस्किलले ४/५ घन्टा निद्रा लाग्ने हुन्छ । कम निद्रा एवं कोभिडको डर एवं चिन्ताले गर्दा चिडचिडाहटपना एवं झर्को लाग्ने लक्षण देखापर्छ । यसको समाधानको लागि एकाग्रता रहनु एवं ध्यान गर्नु जरुरी हुन्छ ।

घर फर्केको २/३ साता व्यावसायिक कामकाजबाट फुर्सद लिई तनावरहित वातावरणमा बस्नुपर्छ । यस्तो समयमा आफूलाई मनपर्ने पुस्तक अध्ययन गर्ने वा आफूलाई मनपर्ने काममा सरिक भएमा नकारात्मक भावनालाई टाढा राख्न सहयोग हुन्छ ।

कोभिडको दोस्रो प्रकार अत्यन्त घातक देखिएको छ । दैनिक हजारौंको संख्यामा संक्रमित हुने एवं सयौं मानिसहरुको ज्यान जाने क्रम जारी छ । बालबालिका, युवा र ज्येष्ठ नागरिकलगायत सबैलाई कोरोनाले निर्मम असर पारेको छ । समान्य मानिसदेखि कैय्यौं प्रभावशाली व्यक्तिहरुको समेत ज्यान लिई सकेको यस पटकको कोभिड संक्रमणलाई पहिलो लहर जस्तो नसोचौँ । 

संक्रमण भएकाहरुमध्ये अधिकांशलाई अक्सिजन र सघन उपचारको आवश्यकता हुने देखिएको छ । लामो निषेधाज्ञा लागू भए पनि तीव्र गतिमा संक्रमित एवं मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यस परिप्रेक्षमा यसबाट बच्न उच्च सावधानी अपनाऊँ ।

सकेसम्म घरबाट बाहिर नजाऔँ र जानै परे सुरक्षाको उपाय पूर्णरुपमा अवलम्बन गरौँ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro