site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सके उत्तर देऊ, नसके उखान भन, बस ! 

यो सरकार के छ, कस्तो छ भन्ने छलफलमा जानुको कुनै तुक छैन । जनता अस्पताल नपाएर, अस्पताल अक्सिजन नपाएर, अक्सिजन पाउने भेन्टिलेटर नपाएर मरिरहेका छन् । रोगबाट जसोतसो जोगिएका अब भोकले मर्ने अवस्था आइसकेको छ । तर, सरकार कुनै कुरा स्वीकार गर्ने मनःस्थितिमा देखिँदैन । त्यसैले जनताले सोधेका र जबाफ नपाएका यी प्रश्नहरूको सँगालोको उपहार प्रधानमन्त्रीलाई सुम्पन चाहन्छु । 

१. दिनमा करिब दुई सयजना नेपाली कोभिडका कारण मरिरहेका छन् । के यो सामान्य स्थिति हो ? होइन भने किन स्वास्थ्य संकटकाल नलगाएको ?

२. भारतमा हजारौं व्यक्ति मरिरहँदा नेपालमा किन तयारी नगरेको ? के नेपालमा हिमाली हावाले सबैलाई बचाउँछ भन्न खोजेको ? नेपालमा करिब ८०० किलोमिटर लामो हिमाल छ भने भारतमा ३ हजार ५०० किलोमिटर हिमालय छ । त्यहाँ त्यस्तो समस्या पर्दा हामीलाई केही हुँदैन भन्ने कसरी लाग्यो ? यहाँको जानकारीका लागि कोभिडबाट भएको मृत्यु दरमा हिमाल र पहाडले ढाकिएको अफगानिस्तानको ४.३ प्रतिशत छ, हाम्रो एक प्रतिशत छ भने हिमालबाट धेरै टाढा रहेको मालदिभ्सको ०.२ प्रतिशतमात्र छ । त्यसैले बोल्न अघि केही सोचौँ । प्रधानमन्त्रीकै जीब्रो यसरी चिप्लिएपछि सरकारका अरू अवयव पनि सुरक्षात्मक कार्य नगर्न उद्यत भए । गल्ती स्वीकार गर्दा पनि बाँचेका ९५ प्रतिशत हाम्रो प्रतिरोधात्मक क्षमताका कारणले हो भन्नु त ज्याद्रो पनको हदै हो । 

Prabhu Bank
Agni Group
NIC Asia

३. अक्सिजन नपाएर बिरामीलाई भर्ना लिन बन्द गरेको सूचना अस्पतालले निकाल्दा निकाल्दै बेड पर्याप्त छ भन्न मिल्छ ? अस्पतालको बेड र अक्सिजन नपाएर भौँतारिंदै एम्बुलेन्समा नै प्राण त्याग्ने बिरामीको जिम्मा कस्ले लिन्छ ?

४. कोभिड–१९ सँगबाट जोगिने सबैभन्दा महत्त्वपूर्ण कबच खोप हो । खोप ल्याउन किन ढिला भयो ? कोभ्याक्स सिस्टमले १९ लाख मात्रा दिनुपर्नेमा किन ३ लाख ६४ हजारमात्र दियो ? भारतले किन पैसा तिरिसकेको १० लाख मात्रा खोप दिएन ? किन नेपालले भ्याक्सिन लगाउनुपर्ने मध्ये २० प्रतिशतलाई पनि दिलाउन सकेको छैन ?

Global Ime bank

५. चीनसँग थप भ्याक्सिन किन्न किन नसकिएको हो ? भेरोसेलको पहिलो डोज लगाएकालाई दोस्रो डोज दिएको राम्रो । अहिलेसम्म पहिलो डोज लगाउन नपाएकाले के गर्ने ? एस्ट्राजेनेका–अक्स्फोर्डवाला कोभिसिल्ड भ्याक्सिनको पहिलो मात्रा लगाएकाले कहिले पाउने हो दोस्रो मात्रा ?

६. देशभरिमा दैनिक ८–९ हजार नयाँ संक्रमित देखिँदै गर्दा वीर अस्पतालको ५०० बेडको नयाँ भवन चलाउन किन यति ढिलाइ ? 

७. लिक्विड अक्सिजन ओसारपसार गर्न ६ वटा ट्यांकर–ट्रक ल्याइदिए देशभर अक्सिजनको अभाव हुन दिन्न भन्ने शंकर समूहका अध्यक्षलाई किन सहयोग नगर्ने ?

८. चिनियाँ अनुदानको अक्सिजन सिलिन्डर बाँड्ने भनेर कसरी सांसदको हातमा पुग्यो ? यहाँलाई यो विषयमा जानकारी नहोला तर कसैले बदमासी गरेको हो भने कारबाही हुन्छ कि हुँदैन ? कारबाही हुने विश्वास जनतालाई त छैन । 

९. देशभर प्रयोग नभएका अक्सिजनका सिलिन्डर सरकारले किन संकलन गर्न सकेन ? अहिलेसम्म कति संकलन भयो, त्यसले कति जनतालाई मद्दत भयो ?

१०. स्वास्थ्य सामग्री किन विश्व बजारमा आफैँले नकिनेर दयाको भीख मागेर बसेको ? नेपाली जनतालाई सामग्री उपलब्ध गराइदिए आफैँले पैसा तिरेर किन्न सक्छन् । पाँच हजार नपर्ने रेमडिसिभिर इन्जेक्सन १ लाखसम्म तिरेर जनताले किन्नु परेकै छ । अक्सिमिटरको तीन गुना र मास्क तथा पञ्जामा पाँच गुना मूल्य वृद्धि भइसक्यो । 

११. नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले जनताको जीवन जोगाउन हर संभव सहयोग गर्न तयार छु भनेका छन् । त्यस्ता व्यक्तिलाई किन साथै नलैजाने ? 

१२. समुदाय स्तरमा फैलिसकेको यस महामारीलाई समुदायमा नै नियन्त्रण गर्न स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुनसक्थ्यो । किन सरकारले स्थानीय सरकारलाई परिचालन गर्न सकेन ? बजेट दिन नचाहेकाले हो ?

१३. कोभिड–१९ का कारण रोजगारी गुमाएका व्यक्तिको प्राणको सुरक्षा कसले गरिदिने हो ? कि रोग नलागी भोकले मर्नेको गणना कोभिडअन्तर्गत नहुने भएकोले बेवास्ता गरेको ? सरकार यति धेरै संवेदनहीन हुन मिल्छ ?

१४. अनि दोस्रो लहरको कोरोना सुरु हुँदैगर्दा तपाईंलाई कस्ले बालुवाटारमा राम मूर्ति पूजा र राम मूर्तिको जुलुस चितवनसम्म पुर्‍याउने सल्लाह दियो ? कि सही सल्लाह पनि “त्यो पर्दैन” भन्दै जे मनलाग्छ त्यही गर्दै आफूलाई ठूलो भएको महसुस गर्नुहुन्छ ? 

१५. डा. चन्द्रमणि अधिकारीले स्वास्थ्य व्यवस्था ‘कोल्याप्स’ भयो भनिदिए । सकभर त उनलाई कारबाही नै गर्ने होला, नभए कतै सरुवा गर्ने त होला । तर, उनले लगाएको आरोप गलत प्रमाणित गर्न सकेमात्र यहाँको उपादेयता रहन्छ । दिनमा २०० करिब मान्छे मर्ने देशमा र प्रति दशलाख जनसंख्यामा करिब १६ व्यक्तिको मृत्यु भएको अवस्थामा पनि स्वास्थ्य व्यवस्था ‘कोल्याप्स’ भएको नमान्न के ले उत्प्रेरित गर्छ यहाँलाई ?

१६. माघ १४, २०७७ सालमा तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने घोषणा आफैँले गरेको होइन ? यो लेख लेख्दैगर्दा जेठ ३ गते भयो । यहाँले गर्नु भएको घोषणा असफल भएको मात्र होइन अझै एक वर्षमा पनि नपुग्ने अवस्था छ । आत्मलोचना गर्नु पर्दैन ? अझै सुध्रिनु पर्दैन ?

१७. यहाँको अम्बाको पात र बेसारे उपचार गर्दा गर्दै प्रमकै सल्लाहकारहरू दुई दुई पटक संक्रमणमा परिसके । कोरोनाको सन्दर्भमा यो घरेलु उपचार खासै प्रभावकारी नहुने रहेछ, मैले गलत बोलेको रहेछु भनेर जनता समक्ष स्वीकार्नु पर्दैन ? अमेरिकामा मास्क लगाउनु पर्दैन भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको आधारमा धेरैले अहिले पनि ट्रम्प मेरो नातेदारको मृत्युका लागि जिम्मेवार छन् भनिरहेका छन् । यहाँलाई के भनिरहेका छन्, सुन्न र जान्न मनलागे एकपल्ट सल्लाहकारसँग मागेर आफ्नै सामाजिक सञ्जाल हेरे पुग्छ ।

१८. थाहा छ ? हाम्रो मृत्यु दर दक्षिण एसियाको हाराहारीबाट अब माथि चढ्दैछ । हाम्रो रोग परीक्षणको अवस्था प्रतिदस लाखमा ९३ हजार ३०० मात्र छ जुन हालका दिनमा अझै घट्दैछ । यो कुरामा ध्यान दिनुपर्छ भनेर स्वास्थ्य सरोकार राख्ने सरकारी निकायलाई तपाईंले बताउनु भएको छ ? अब तेस्रो लहरको संक्रमण बढ्ने प्रक्षेपण हुँदैछ । हामी फेरि जनता मर्न नथालुन्जेल सुतेर बस्ने त हैन होला ?

१९. विदेशी च्यानलमा अन्तर्वार्ता दिएर सबैथोक नियन्त्रणमा नै छन् भनेर किन भनेको ? अस्पतालको पेटीमा सुतेर एक सिलिन्डर अक्सिजन नपाएर मान्छे मर्नु नियन्त्रित अवस्था हो ? अनि संसारभरीका मिडियाले नेपालका प्रधानमन्त्रीले दाबी गरेअनुसारको अवस्था छैन भनेर लेख्नु सबै नेपालीको अन्तर्राष्ट्रिय बेइज्जत होइन ? फेरि नियन्त्रणमा नै रहेको भए विदेशी सहयोगको याचना किन ? 

२०. अझै भन्नुस् राजनीतिक नाटक र ताण्डवका कति प्रश्न बन्लान् ? सामाजिक अवस्थाको के कुरा गर्नु ? आर्थिक अवस्था कस्तो नाजुक छ ? जनताले के भनिरहेका होलान् ? 

तर, हामी ती प्रश्न अहिले गर्दैनौ । अहिले त जनताको ज्यान जोगाउने बेला हो । जनताको स्वास्थ्यका लागि काम गर्नुहोस् । तपाईंले प्रभावकारी काम गर्नुभयो भने तपाईंलाई धेरै प्रिय लाग्ने जय जयकार गर्न हामी पनि कमी गर्ने छैनौ । 

धन्यवाद् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय