एक वर्ष अघि नै सोचेको थिएँ - ढिलो चाँडो कोरोनासँग मित्रता गाँस्नु पर्नेछ । अन्ततः एक वर्षमा कोराेनाले म, पत्नी र छोरोलाई पक्ड्यो ।
सधैँ डर लाग्थ्यो - जब म कोरोनाको साथ हुन्छु बुढी आमालाई कसरी जोगाउन सकाैँला ? आमा झन्डै ८० पुग्न लागेकी, दमको बिरामी र नियमित अक्सिजन दिनुपर्ने । भगवानसँग सधैँ प्रार्थना गर्थेँ - आमासँग कोरोना डराओस् ।
त्यत्तिकै डर लाग्थ्यो मसँगै बाचिरहेका १६ जना बालबालिकाको । उनीहरुको पनि माया गर्ने म र मेरो परिवारमात्र थियौँ । त्यसकारण आमा र यी बालबालिकाबाट टाढै रहुन प्रयास गर्थेँ ।
म रोटरी क्लबदेखि अन्य धेरै संघसंस्थामा संलग्न, विभिन्न कार्यक्रम भइरहने । भौतिक सहभागितालाई अति कम गर्न कोसिस गर्दागर्दै पनि पुग्नुपर्ने । घरमा कडा अनुशासनमा बस्ने कोसिस गर्थेँ ।
घरमा रहेका ज्येष्ठ सदस्य र बालबालिकाबाट छुट्टै रहन्थेँ । म बाहिर गएको, घर आएको आमालाई थाहै नदिने प्रयास गर्थेँ । आमा कौसीमा बसेर मेरो गाडी आएगएको हेरिरहने । दुई चार दिनमा कौसीमा बसेकी आमालाई टाढैबाट “आमा सन्चो छ नि ? आफ्नो ख्याल गर्नु है !” सोध्न पनि नपाई भाग्थेँ । यसले आमालाई पीडा हुन्थ्यो ।
उता सकेसम्म बालबालिका बसेको घरमा नजाने र टाढैबाट “के छ नानीहरू ? अनलाईन कक्षा राम्रोसँग लिनु है !” भन्दै टाढैबाट बाईबाई गर्थेँ । यो थियो मेरो दिनचर्या ।
कोरोनाबाट अति प्रभावित व्यक्ति तथा समूहलाई अनिवार्य एक्ल्याएर जर्मनीले लगभग ‘लकडाउन’ विना नै कोरोना नियन्त्रण गरेको रहेछ । कोरोना आफैँमा रोग नभएको र यो शरिरमा प्रवेश गरेपछि पो हाम्रो शरीरको प्रतिरक्षा प्रणाली यो भाइरससँग लड्न थाल्ने रहेछ ।
यस अवस्थामा प्रतिरक्षा प्रणालीमा चाप बढ्ने रहेछ । बलियो कोरोनासँग लड्न थाल्ने कि बाँकी शरीरको अन्य भाइरससँग ? प्रतिरक्षा यसरी प्रणाली बाँडिदा न त यस भाइरससँग लड्न सक्ने न पुरानो रोगका भाइरससँग ।
यसरी एक सातामै भाइरस करोडौं बन्ने र फोक्सोमा प्रवेश गर्ने । भाइरस फोक्सोमा प्रवेश गरेपछि श्वास नलीहरू जाम हुने र अन्ततः अक्सिजन र भेन्टिलेटरविना फोक्सोले कामै गर्न नसक्ने ।
दीर्घ रोग नभएकाे कम उमेरकाे व्यक्तिकाे प्रतिरक्षा प्रणालीले कोरोनासँगमात्र लड्दा सहजै जित्न सक्ने । १४ -१५ दिनपछि कोरोना आफैँ मर्ने र व्यक्ति सामान्य हुनेरहेछ ।
जर्मनीले त्यही भएर दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई अलग्याउन (आइसोलेट गर्न) र गर्न नसके सरकारलाई खबर गर्न उर्दी नै दिएको रहेछ । निश्चित समूहलाई आइसोलेट गर्ने, भौतिक दूरी, मास्क र सेनिटाइज गर्ने विधिबाट नै कोरोना नियन्त्रण गरेको रहेछ ।
मैले पनि यो सिद्धान्तअनुसार पहिलो वर्षदेखिनै आमा र बालबालिकालाई आइसोलेट गर्ने गरेको थिए । मेरो अनुरोध छ - सबैले परिवारमा दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिका भए जति सकिन्छ आइसोलेट गराैँ ।
मैले मास्क लगाउने, भौतिक दूरी राख्ने र समय समय हात सेनिटाइज अनिवार्यरूपमा गर्ने गर्थेँ । यो नियमलाई कडासँग पालना गर्दागर्दै पनि मलाई कोरोनाले समात्यो ।
एक्कासि रुघा लागेजस्तो भयाे, जिउ दुख्यो । एक साता पहिला तिलिचो तालको यात्रा गरेर फर्केकोले चिसो लागेजस्तो लाग्यो । म नियमति साउना लिने, लिन मन लाग्यो र झन्डै २ घन्टा लिएँ पनि ।
तैपनि, असजिलाे हुन भने कम भएको थिएन । साथी तुलजीको फोन आइरहेको थियो । पक्कै भोलिबाट लकडाउन थियो । मेरो तिलिचो यात्राको कथा सुन्नको लागी होला भन्ने लाग्यो ।
एक मनमा कोरोनाले समात्यो कि भन्ने शंका पनि लाग्यो । तर भर्खर तिलिचो यात्राबाट आएको । पीसीआर परीक्षण गरेर अमेरिकाबाट आएका एक जना मित्रबाहेक मैले शंका गर्नुपर्ने अरू व्यक्ति भेटेको थिइन ।
मैले फोन उठाएँ र भेट्न गए । अति मिल्ने साथीहरू हामी ६ जनाको भेटघाट भयो । तिलिचो तालको यात्रासँगै हाम्रो नियमित कुरा भए । रमाइलो भयाे ।
हामी रेस्टुराँको भित्री कोठामा नबसेर गार्डेनमा बसेका थियाैँ । यसरी खुला ठाउँमा दूरी कायम राखेर बस्दा भाइरस सर्ने जोखिम कम हुने । मैले वेटरलाई सेनिटाइजर टेबलमा नै राखिदिन अनुरोध गरे । हामीले बसाइभर पटकपटक सेनिटाइजर प्रयोग पनि गरी रह्यौँ ।
मेरो भने शरीरको दुखाइ झनै बढीरहेको थियो । ज्वरो पनि आएको महसुस भयो । महाराजगन्जबाट भक्तपुर कटुन्जेसम्म ड्राइभ गर्न मलाई अति गारो भयो । सौनाको कारणले जिउ तातेको हो कि जस्तो पनि लाग्यो तर शरीर सहनै नसक्नेगरी दुख्दै थियो ।
पहिला पहिला सौना बसेपछि दुखाइ कम हुन्थ्यो तर त्यो दिन भने झन् बढेको थियो । घर पुगेँ, गाडी पार्किङमा राख्न पनि सकिन । बाहिर नै छोडेँ । मैले श्रीमतीलाई सन्चो नभएकोले पाहुना कोठामा आफू अलग्गै एक्लै बस्छु भने । खान नखाने जानकारी त पहिला नै गराएको थिए ।
नियमित खाने औषधि लिएँ, ज्वरो र जिउ दुखेको हुनाले ५०० एमजीको फ्लेक्सोन खाएँ । तर, पनि राति निदाउन कठिन भयो । मध्यराततिर निदाएछु । बिहान छिट्टै ब्युँझिएँ । शरीरको दुखाइ कमी भएको थिएन । जरो १०० डिग्री जति थियो ।
कोरोनाको शंकाबीच त्यो दिन पनि साइनेक्स र फ्लेक्सोनको भरमा बिताएँ । ज्वरो अलि घटेको थियो तर जिउको दुखाइ कम भएको थिएन ।
पहिलो दिनको बेलुका नै श्रीमतीलाई छुट्टै आइसोलेसनमा बस्न, आमालाई झन् कडा आइसोलेसनमा राख्न र छोरा मेरोन र छोरी मनितालाई पनि क्वारेन्टाइनमा बस्न भनेको थिए । मलाई डर थियो आमासम्म कोरोना नपुगोस् ।
त्यो दिन पनि दुःखसुख बसेँ तर जिउको दुखाइ कम नभएकोले ३ दिनमा काेरोनाको टेस्टको लागि गएँ । छोरीले लिएर जाने कुरा भयो तर कोरोनाको शंकाले आफैँले गाडी चलाएर गएँ । जसोतसो रगत दिएर आएँ । मेरा शरीरको दुखाइ घटेको थिएन । ज्वरो भने ९८- ९९ मात्र थियो ।
श्रीमतीलाई पनि खोकी लाग्ने, घाँटी सुख्खा भएको, जिउ दुख्ने अनि ज्वरो पनि आएको रहेछ । नभन्दै ल्याबबाट एसएमएस आयो - तपाईँको काेरोना पोजिटिभ छ ।
मोबाइलमा मेसेज पढ्नेबित्तिकै मन ढुकढुक भयो । मेरो मनोबल आधा घट्यो ।
आफ्नै मनोविज्ञान बुझ्ने मेरो लागि यो ठूलो अवसर रह्यो । धेरै साथीलाई भन्ने गर्थेँ - “मन दरो बनाउनुपर्छ, डराएर होइन मनलाई बलियो बनाएर कोरोनासँग जितिन्छ ।”
कुनै पनि ज्ञान लिन र दिन जति सजिलो छ त्यति नै गारो रहेछ व्यवहारमा उतार्न । मसँग मन नियन्त्रण गर्नुपर्छ भन्ने ज्ञान त थियो तर मनलाई नियन्त्रण गर्ने विधि प्रक्रिया थिएन । आफूलाई बलियो बनाउने कोसस भने गरिहेको थिए ।
तुरुन्तै मैले बितेको साताभित्र मसँग जोडिएका साथीलाई मेरो पोजिटिभ भएको जानकारी गराएँ र क्वारेन्टाइनमा रहन आग्रह गरे । सबै साथीले स्वास्थ्यलाभको कामना गर्नुभयो र म कोरोनासँग लड्न मानसिकरूपमा तयार भए ।
एक साता अस्पताल बसेर कोरोनालाई जितेका साथीलाई फोन गरे र मेरो बारेमा सुनाएँ । उनले उनको उपचार गर्ने बीएमबीका डाक्टरकाे नम्बर दिए र मैले डाक्टरलाई फोन गरे ।
डाक्टरले भिटामिन सी, डी र जिङ्क र प्यारासिटामोल आवश्यकताअनुसार लिन र सास फेर्न गारो भएमा हस्पिटल आउन सल्लाह दिए । जरो कम भएको र खोकी नभएकोले एन्टिबायोडिक खान नपर्ने उनको सल्लाह थियो ।
अब म निश्चित भएँ श्रीमतीलाई पनि पोजिटिभ छ । छोरा, छोरी र आमालाई कुनै लक्षण नभएकोले म र श्रीमती छुट्टै आइसोलेसनमा बस्ने, छोराछोरी क्वारेन्टाइनमा र आमालाई हामी सबैबाट आइसोलेट गर्ने निर्णय गरियो । तर, जाँच गर्न भने गएका थिएनौ ।
अस्ट्रेलियामा बस्ने छोरी ममताले फोन गरेर सबैको जाँच गर्न अति नै अनुरोध गरेपछि म पोजिटिभ भएको ४ दिनपछि आमाबाहेक सबैको टेस्ट गरियो । भोलिपल्ट मोबाइलमा मेसेज आयो - छोरीबाहेक श्रीमती र छोरोलाई पोजिटिभ ।
धन्य कोरोनाले छोरीलाई समातेको रहेनछ नत्र सायद आमालाई समेत सर्ने थियो । छोरी श्रीकृष्ण भक्त । मैले छोरीलाई “श्रीकृष्णले सुरक्षित गरेजस्तो छ तिमीलाई” भने छोरी मुसुक्क हाँसेर काममा लागिन् । हामी तीन जनासँगै आइसोलेसनमा बस्ने, छोरी क्वारेन्टाइनमा र आमा पहिलेजस्तै आइसोलेसनमा बस्यौँ ।
यसरी आउदो १५ दिनको दिनचर्याको तालिका बन्यो र जिम्मेदारी पनि बाँडफाँट भयो । यो १५ दिनमा मैले स्वास्थ्य रहने र रोगसँग लड्ने केही ज्ञानहरू र ज्ञानलाई जीवनमा लागू गर्ने विधि सिकेँ । यसकारण पनि मैले यो १५ दिनको समयलाई कोरोनासँगको लडाइँभन्दा पनि मित्रताको रूपमा स्वीकार गरेको हुँ ।
पहिलो - सीपविनाको ज्ञान धार नभएको खुकुरीजस्तो देखावटी बनावटी हुनेरहेछ । जब हामी ज्ञानलाई प्रयोग गर्न खोज्छौँ त्यो ज्ञान भुत्ते खुकुरीजस्तै प्रभावहीन हुनेरहेछ ।
दोस्रो - मानिस बलियो वा कमजोर उसको मनले बनाउँदो रहेछ । मन कमजोर भयो भने शरीरको शक्ति जति नै बलियो भए पनि प्रभावहीन हुने रहेछ । मन शक्तिशाली भए शरीरको शक्ति स्वतः बलियो हुनेरहेछ ।
तेस्रो - रोगको उपचार भौतिक औषधिले मात्र सम्भव नहुने रहेछ । नत्र, आज विज्ञानको यति उन्नति भएका बेला कोही पनि मानिस मर्दैन थिए । हाम्रो शरीरको उपचारको लागि मनको शक्ति बढी प्रभावकारी हुनेरहेछ । उपचारको लागि चाहिने सबै औषधि हाम्रो शरीरमै रहेछन् त्यसको सेचन गर्न सक्नुपर्ने रहेछ । त्यसका लागि हामीले मनलाई आदेश दिन सक्नुपर्ने रहेछ ।
मनको नियन्त्रण र उपयोग गर्न सके हामी चाहे जति बाँच्ने रहेछौँ । त्यसैले हिजोका ऋृषिमुनि अन्नजल विना पनि चाहे जति बाँचेका रहेछन् ।
पूर्वीय दर्शनले शरीरकै ऊर्जा प्रयोग गरेर रोगको उपचार गर्ने पद्धति सिकाएको छ । हामीले यो विद्यालाई सानै उमेरबाट जीवन संस्कृति बनाउने हो भने मानिससँगै पृथ्वीलाई समेत स्वस्थ्य बनाउन सकिन्छ ।
जीवन स्वस्थ्य रहने पहिलो विधि मनको नियन्त्रण हो । मनको नियन्त्रण स्वच्छ दयावान समाज निर्माणको लागि झन् महत्त्वपूर्ण हुन्छ । मनको नियन्त्रण गर्ने विधि भने योगासन, प्राणायम र ध्यान हुनसक्छ ।
म पहिलेदेखि नै प्राणायम, ध्यान र योगासनलाई जीवनमा समाहित गर्ने प्रयास गरिरहेको थिएँ र मेरो परिवारलाई पनि यही बाटोमा लाने कोसिस गरेकोले कोरोनासँग लड्न पनि सहज भएजस्ताे लाग्यो ।
प्रत्येक दिन कम्तीमा आधा घन्टा म प्राणायम गर्थे । जुन मेरो फोक्सोका लागि औषधिसरह थियो । कोरोना हुनेले मात्र होइन अरूले पनि प्राणायमलाई जीवनशैली बनाउन जरुरी छ । यसले आफ्नो शरीरलाई नै प्रयोग गरेर रोगसँग लड्न सक्षम बनाउँछ र मनलाई नियन्त्रण पनि गर्छ ।
अर्को महत्त्वपूर्ण कुरा हाे भोजन । रोगको मूल स्रोत मानिसको भोजन हो । प्रकृतिले मानिसलाई चाहिने सबै ऊर्जा, औषधि अन्न र वनस्पतिको माध्यमबाट दिएकाे छ । पृथ्वीका सबै जीवलाई उनीहरूको शारीरिक बनाेटअनुसार के खाने के नखाने तोकिएको छ । हामीलाई हाम्रो दर्शनले यो सिकाएको पनि छ तर हामीले हाम्रो भोजनलाई नियन्त्रित र व्यवस्थित गर्न सकेनौं । त्यही कारण आज हामी रोगी हुनपुगेका छौँ ।
कारोनासँग मात्र होइन मावन जीवनलाई निरोगी र शान्त बनाउन सात्विक भोजन आवश्यक हुन्छ । भोजनलाई स्वाद र आनन्द प्राप्तिको रूपमा भन्दा शरीरलाई आवश्यक शक्ति प्राप्त गर्ने माध्यमका रूपमा लिनु जरुरी छ ।
अर्को हो - दैनिक कर्म । सन्तुलित र मर्यादित कर्मले नै परिवार र समाज सन्तुलित बनाउँछ । मनलाई शान्ति दिन्छ । धर्मसम्मत, मानवीय नैतिक आचरण र व्यवहारले मनलाई शान्ति दिन्छ ।
मानिसहरूले गर्ने अनुचित कर्मले मानव मनलाई अशान्त र तनावग्रस्त बनाउँछ । रोगको अर्को कारण हो तनाव । तनाव कममात्र गर्दा पनि धेरै रोग स्वतः कम हुन्छ । शरीरको प्रतिरक्षा प्रणालीलाई समेत कमजोर बनाउँछ तनावले । यसकारण नैतिक आचरण र कर्म अर्को महत्त्वपूर्ण हुन्छ जसले हामीलाई दीर्घजीवी बनाउँछ ।
यौगिक जीवन पद्धति, सात्विक भोजन र नैतिकवान कर्मलाई जीवन संस्कृती बनाउन सके कोरानासँगै धेरै प्रकारका रोग व्याधि र अशान्तिबाट आफू, समाज र देशलाई बचाउन सक्छौँ । त्यसकारण आफ्नो शरीरको शक्तिलाई ऊर्जामा बदलेर हामीले आफ्नो उपचार गरौँ ।