site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेताहरूबीच बैठकसमेत बस्न नसक्ने अवस्थामा जसपा, राष्ट्रिय राजनीति थप अन्योल

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका ६ जना मुख्य नेता मंगलबार बिहान ९ बजे नै बालकुमारीस्थित पार्टी कार्यालयमा भेला भए । द्वितीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रि मुद्दामा छलफलका लागि कार्यकारिणी परिषद् बैठक बोलाउन माग गरे । तर, महन्थ ठाकुरले तत्काल कार्यकारिणी परिषद् बैठक आवश्यक नभएको बरु लकडाउनपछि बोलाउन सकिने भन्दै टारिदिए । 

“अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईजीले कार्यकारिणी परिषद् बैठकको माग गर्नुभएको थियो,” जसपाका एक नेताले बाह्रखरीसँग भने, “तर, प्रथम अध्यक्ष महन्थ ठाकुरजीले कोरोनाको महामारी चलिरहेको अवस्थामा बैठक आवश्यक छैन, लकडाउनपछि बसौँला भनेर निस्कनुभयो ।” 

भट्टराईले राष्ट्रिय राजनीतिक विषयमा निर्णय लिनका लागि कार्यकारिणी परिषद् बैठक माग गरेपछि अध्यक्ष ठाकुर पर्याप्त छलफल नै नगरी बाहिरिएको उनले बताए । ती नेताकाअनुसार नेताहरूबीच बढीमा १५ मिनेट मात्र कुराकानी भएको थियो ।

जसपाका नेताहरूबीचको संक्षिप्त भेट लगत्तै जसपाले पनि सत्ता गठबन्धनको विकल्प खोज्ने निर्णय गर्नसक्ने भन्दै चर्चा सुरु भइसकेका थियो । केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावका लागि जसपाको निर्णयलाई कुरिरहेका कांग्रेस र माओवादी केन्द्रका नेताहरू केही दिनभित्रै ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने दाबी गरिरहेका थिए । तर, जसपाको आन्तरिक कलहका कारण शीर्ष नेताहरूबीच बैठक नै बस्न नसक्ने अवस्थामा पार्टी पुगेको छ ।

सोमबार यादव र भट्टराईले बैठक राख्न माग गर्दा समेत बैठक नबसेपछि जसपाको विवाद छताछुल्ल भएको हो ।

“सरकारसँग कार्यदल तहबाट धेरै काम अघि बढिसकेको छ । यो राजनीतिक यात्राबाट जसपा पछि हट्छ जस्तो मलाई लाग्दैन,” बाह्रखरीसँग नेता लक्ष्मणलाल कर्णले भने, “अब शीर्ष नेताहरूले नै निर्णय गर्ने भएकाले उहाँहरू केही गर्नु हुने रहेछ भने हेरौँला ।” उनले मधेस/थरुहट आन्दोलनका क्रममा लगाएका मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसकेको भन्दै अन्य कुरा पनि हुने क्रममा रहेको बताए । 

राष्ट्रिय राजनीतिमा तरङ्ग
जसपाको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि राष्ट्रिय राजनीति पनि तरंगित बनेको छ । सत्ता गठबन्धन निर्माणका विषयको द्वन्द्वले जसपा फरक–फरक पार्टीकै अवस्थामा पुगेको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकताबाट जसपा बनेको थियो । तर अहिले महत्वपूर्ण छफलका लागि समेत नेताहरूबीच बैठक बस्न नसक्ने अवस्था आएपछि जसपा व्यवहारिक रूपमा दुई पार्टी जस्तै बन्न पुगेको छ ।

जसपाको आन्तरिक विवादबाट सत्ता जोगाउने र आफ्नो इच्छा अनुरूप राजनीतिलाई डोहोर्‍याइरहेका प्रधानमन्त्री ओली चिन्तित बनेका छन् । अर्कोतिर वैकल्पिक सत्ता गठबन्धनको अग्रसरता लिने निर्णय गरेका कांग्रेस सभापति शेरबहादुर देउवादेखि ओलीलाई सत्ताबाट बिदा गर्न आतुर देखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि चिन्तित छन् । तर, सत्ता गठबन्धन जोगाउन वा वैकल्पिक गठबन्धन निर्माणका लागि निर्णायक रहेको जसपा भने आफैँ अन्तरद्वन्द्वले कुनै निर्णयमा पुग्न सक्ने अवस्थामा छैन ।  

अनौपचारिक रूपमा महन्थ ठाकुर र उपेन्द्र यादवले छुट्टाछुट्टै संसदीय दलको बैठक राखिरहेका छन् । पार्टी नेताहरूको भेटघाट छुट्टाछुट्टै चलिरहेकै छ । राष्ट्रिय राजनीतिमा दुवैका विपरीत अडान सार्वजनिक भइरहेकै छन् । सत्ता गठबन्धन निर्माणका लागि निर्णायक जसपामा अध्यक्ष ठाकुरसहितका नेताहरू प्रधानमन्त्री ओलीबाटै आफ्ना माग पूरा गर्ने भनेर प्रक्रियामै प्रवेश गरिसकेका छन् । 

ठाकुर पक्षको दाबीअनुसार अघिल्लो हप्ताको सोमबारको मन्त्रिपरिषद् बैठकबाटै जसपाले उडठाउँदै आएका मधेस थरुहट आन्दोलनका क्रममा लगाइएको मुद्दा फिर्ता लिने निर्णय भइसकेको छ ।

“मधेस थरुहट आन्दोलनका क्रममा लगाइएका २६ मुद्दासँग जोडिएका २२४ जनाको मुद्दा सोमबारको मन्त्रिपरिषद् बैठकले फिर्ता लिएको छ,” जसपाको ठाकुर पक्षीय एक नेताले भने, “फाइल तयार पार्ने र प्रक्रिया पु¥याउने बाध्यताले त्यो निर्णय सार्वजनिक भइसकेको छैन ।” 

उनले तिनै २६ मुद्दामा एकहजार दुईसय जनालाई दोषी करार गरिएपनि धेरै व्यक्तिहरू भने छोटो समयको जेल भुक्तानी, जरिवाना तथा धरौटीमा रिहा भइसकेको बताए । त्यसबाहेक पनि ओलीले संविधान संशोधनका लागि आयोग गठन गर्नेसहितका काम पनि अघि बढाउने तीन नेताको दाबी छ । 

तर, समाजवादीबाट आएका उपेन्द्र यादव–बाबुराम भट्टराई ओली प्रतिगमनकारी भएकाले संविधान र यो व्यवस्था रक्षाका लागि उनको विकल्प खोज्नुपर्ने पक्षमा छन् । उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र जोगिएमात्र मधेसका माग सम्बोधनको अर्थ हुने भन्दै ओलीको बहिर्गमन पहिलो प्राथमिकता भएको बताउने गरेका छन् । 

जसपामा अन्तद्वन्द्वको तरङ्ग राष्ट्रिय राजनीतिमा नै पुगेको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्दा त्यसका विरुद्ध देशव्यापी आन्दोलन गरेको जसपा संसद् पुनस्र्थापनापछि भने एकठाउँमा छैन । 

मधेसका मुद्दा लिएर राजनीति गरिरहेको जसपामा अहिले जसले ती मुद्दा सबोधन गर्छ उसैसँग सहकार्य गर्ने घोषणा गरेका अध्यक्ष महन्थ ठाकुर निर्णयक देखिएका छन् । उनी आफ्नो पार्टीका नेताहरूबीच राष्ट्रिय राजनीतिका विषयमा व्यक्तिगत विचार राख्ने सहमति भएको बताउँछन् ।

“हाम्रो पार्टीमा राष्ट्रिय राजनीतिमा आ–आफ्ना विचार राख्ने समझदारी भएको छ । अभिव्यक्ति स्वतन्त्रताको प्रयोग उपेन्द्रजी र बाबुरामजीले गर्नुभएको हो,” ठाकुरले बाह्रखरीसँगको अन्तर्वार्तामा भनेका थिए, “तर जसपा सत्ता गठबन्धनका विषयका छलफलमा प्रवेश गरेकै छैन । प्रधानमन्त्री ओलीले नै हाम्रा मुद्दाको सम्बोधन सुरु गर्नुभएको छ ।” ओलीले आफूहरूका माग सम्बोधनसँगै संघीय निर्वाचन गराउने पनि उनको दाबी थियो ।

राष्ट्रिय राजनीतिमै अन्योल
प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदमबाट अन्योलमा फसेको राजनीति प्रतिनिधिसभा पुनःस्थापनापछि ट्रयाकमा आउँछ भन्ने धेरैको अनुमान थियो । तर त्यसपछि पनि निरन्तर देशको राजनीति ओलीले नै दाबी गरेकै बाटोमा अघि बढिरहेको छ । 

वर्तमान संसद्ले ६४ प्रतिशतको विश्वास रहेको सरकारलाई काम गर्न नदिएको, वैकल्पिक सरकारको सम्भावना नरहेको र ताजा जनादेशको विकल्प नभएको भन्दै संसद विघटन गरेका ओलीले संसद् पुनःस्थापना भयो भने राजनीति थप अन्योलपूर्ण बताउने गरेका थिए ।

ओलीले भनेजस्तै प्रतिनिधिसभा पुनःस्थापनापछि राजनीति थप अन्यौलमा धकेलिएको छ । प्रधानमन्त्री ओली यस्ता पात्र बनेका छन् जसले संसद्लाई बिजनेस नदिएर सभामुखलाई तथानाम गाली गरेर मात्र बसेका छैनन् राजनीतिलाई आफ्नो घोषणा अनुरुप बनाइरहेका छन् । ओलीको घोषणा थियो– प्रतिनिधिसभा पुनःस्थापना भएपछि पनि मेरो सरकारलाई कसैले विस्थापन गर्न सक्दैन ।
 
परिस्थिति यस्तो भएको छ कि कुनै समय ओलीसँग वर्गसत्रु जस्तै सम्बन्ध भएको जनता समाजवादी पार्टीले ओलीको सरकार थेगिदिने आश्वासन दिएको छ । ओलीमा पनि आश्चार्यजनक परिपवर्तन आएको छ । हिजो उनी जे कुरालाई एउटा समुहको माग, पारीका (भारतीय) माग भनेर भन्ने गरेका थिए, तिनै माग सम्बोधन गरेर उनले सत्ता टिकाइरहेका छन् । त्यही कारण सत्ताको विकल्प तत्काल सम्भव देखिएको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro