site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
बेवारिस

परशु प्रधान 


कुन बेला कसरी काठमाडौं एयरपोर्टमा टेक्न आइपुगेँ, मलाई केही थाहा भएन । न्युयोर्कबाट हवाईजहाज चढेदेखि नै म होस र बेहोसमा थिएँ । कहाँ छु, कसरी छु र नेपाल किन जान लागेकी छु, सोच्तथेँ । तर, त्यो सोचाइको क्रम बीचमा नै टुंगिन्थ्यो र आमाको अशक्त, असमर्थ अनुहारले मलाई सोधिरहन्थ्यो– कान्छी छोरी ! तैले मेरो मुखसम्म त हेर्न पाउलिस्, मलाई विश्वास छैन ।

आफ्नो चित्त बुझाउँथेँ, आमाको अन्तिम दर्शन गर्छु, आमाको मुख हेर्छु । किनभने, मलाई थाहा थियो त्यो अनुहार आफ्ना अन्तिम किनाराहरूमा छ, स्वरहरूमा छ । त्यो डुब्न लागेको बाको अनुहार अहिले पनि आएर सपनाको कुनै छेउमा सोधिरहन्छ– आफ्नो अन्तिम अवस्थामा मैले खालि तिमीलाई सम्झेँ, तिमीलाई मात्र । मेरी कान्छी छोरी सिर्जनालाई मात्र ।

Dabur Nepal
NIC Asia

त्यो इतिहासलाई नदोहोर्याउने, त्यो भूलको, पश्चातापको आगोमा नहोमिने संकल्पले मैले टिकट लिइहालेँ अनि जहाज चढिहालेँ । मनमा खालि एक वाक्य मात्र रिंगरिङ्याइरह्यो, “मम्मी सिरियस हुनुहुन्छ... बेवारिस हुनुहुन्छ ।”
    
टेलिफोनका ती दुई शब्द मात्र मभित्र थिए– सिरियस अंगे्रजी र बेवारिस नेपाली । हवाईजहाजमा थुप्रै यात्रुहरूका बीच म एक्ली थिएँ अथवा कहीँ कतै जंगलमा हराएको चराजस्तो । काठमाडौं बस्दा पनि केही नपाएजस्तो, केहीको अभावजस्तो सधैँ लागिरह्यो । अनि, केही वर्ष लन्डन बसेँ । तर, त्यहाँ पनि केही अभावको, केही नहुनुको छायाले मलाई लखेटिरह्यो । अमेरिका पुगेर पनि त्यो छायाले किन हो मलाई छाडेको छैन ! लाग्छ– म कहीँ कतै शून्यहरूका बीच छु, अभावहरूका बीच छु, नहुनुहरूका बीच छु ।

अस्पताल पुग्नासाथ त्यहाँको दुर्गन्धले एक छिन सास फुलेर आयो । कुन नरकभित्र आइपुगेछु भन्ने लाग्यो । नाक थुनेर भित्र पसेँ । भर्याङ चढेँ । बाहिरको दूषित गन्ध भित्रसम्म जहाँतहाँ थियो । कोठामा आमाको अनुहार एक्कासि हेर्न पुगँे र म तर्सिएँ, त्यो खालि नरकंकालको ढाँचा मात्र थियो ।

“आमा दर्शन ! म आइपुगेँ,” म एक्कासि कराएँ ।
मेरो स्वर सुनेर उहाँले आँखा खोल्नुभयो । ती आँखा शुष्क थिए । तिनमा कुनै पानी थिएन ।
“तपार्ईंलाई अहिले कस्तो छ आमा ?,” मैले फेरि सोधेँ । उहाँले फेरि आँखा खोल्नुभयो र धमिलो स्वरमा भन्नुभयो, “सिर्जना ! तँ अमेरिकाबाट मेरो मुख हेर्न आइपुगिस्... अब म आखिरीमा छु...।”
“अब म आखिरीमा छु...।” मेरो घाँटीमा गाँठो पर्यो । आँसु आउलाजस्तो भयो । कुनै भयावह सुरुङभित्र प्रवेश गरेजस्तो लाग्यो ।

“आमा ! म अब आइपुगेँ... तपाईंलाई म अमेरिका लगेर औषधि गराउँछु... आमा... मेरी आमा । अब ढुक्क हुनुहोस्...,” म आवेशमा थिएँ । म चाहन्थेँ कहाली–कहाली रोऊँ, आकाश थर्काएर रोऊँ । तर, त्यो समय त्यहाँ थिएन ।

एकैछिनमा ठूल्दाइ आइपुग्नुभयो र आत्तिनुभयो, “सिर्जना ! तँ आइपुगिस् । अस्ति मात्र तँसँग कुरा भएको । तेरो आउने कुरै थिएन, आज कसरी एक्कासि...।”
“मेरो पनि आमा हो ठूल्दाइ । मलाई र तपाईंलाई जन्माउने आमा । यहाँ आमाको यो अन्तिम अवस्था... म नआई के बस्न सक्थेँ...।”
“ब्रेन हेमरेज होला भन्ने डर थियो, त्यो भएन । एक साइडको प्यारालाइसिस् छ । डाक्टरले घर लगेर उपचार गरे हुन्छ भनेको छ । तर...,”

त्यो तर समाप्त नहुँदै कोठामा डाक्टर साहेब आइपुग्नुभयो र चेतावनी दिनुभयो, “आमालाई घरमा लानुहोस् भनेको होइन तपाईंहरूलाई ? मैले डिस्चार्ज टिकट बनाइदिएको पाँच दिन भइसक्यो । तपाईंहरू के हेर्नुहुन्छ ?...,”

डाक्टर साहेबले आमाको साधारण निरीक्षण गर्नुभयो र फेरि अगिकै कुरामा जोड दिनुभयो, “भोलिदेखि म उहाँलाई हेर्दिनँ, घरमा गएर खाने औषधिहरू लेखिदिएको छु । राम्रो हेरविचार पुर्याउनुहोला ।”

मैले फेरि आमाको अनुहार हेरेँ । डुब्न लागेको घामजस्तो लाग्यो । उहाँ जिन्दगीको अन्तिम र साँचो क्षणमा हुनुहुन्थ्यो । म भने केही क्षण विगतमा पुगेँ– जहाँ बा पनि हुनुहुन्थ्यो । कत्ति मिल्ने र प्रिय जोडी थियो आमा र बाको । छिमेकीहरूका निमित्त ती एक किसिमको अव्यक्त ईष्याका पात्र थिए । आमा, बा र घरका सबैको प्रिय पात्र कान्छी छोरी म सिर्जना अथवा सुजू । घरमा चाडबाड आयो, मलाई नयाँ लुगा हालिदिने कुरा । घरमा कोही पाहुना आयो मेरै तारिफको कुरा । मेरो राम्रो भाग्य र सुन्दरताको कुराहरू गासिँदा म आफैँ बुझ्दिनथेँ, यी सबका के अर्थहरू छन् ?

फेरि सान्दाइ आइपुग्नुभयो । कोठामा प्रवेश गर्नासाथ उहाँ झस्किनुभयो, “ए त पनि आइपुगिस् !”

मैले ढोगी दिएँ । कोठाको वातावरण केही क्षणलाई गम्भीर भयो । ठूल्दाइले सान्दाइको अनुहार हेर्नुभयो र केही बोल्न खोज्नुभयो । तर, सक्नु भएन । यस्तै, सान्दाइले मेरो अनुहार हेर्नुभयो र भन्नुभयो, “किन थाहा नै नदिई आइस् । कमसे कम आउँछु भनेर यौटा फोन गर्न सक्थिस् ।”

“मैले भ्याइन सान्दाइ ! मलाई कसरी यहाँ उडेर आइपुगूँजस्तो मात्र लाग्यो । आमासँग अन्तिम भेट नहोला भन्ने मलाई ठूलो डर थियो । तर, भाग्यले साथ दियो । कमसे कम उहाँको दर्शन गर्न पाएँ,” म सहज हुन खोजेँ ।

फेरि, कोठामा ठूली भाउजू आइपुग्नुभयो । हामी एकैपटक अनायास सबै सचेत भयौँ । मलाई अचानक त्यहाँ देखेर भाउजू पनि झस्किनुभयो, “नानी पनि अमेरिकाबाट आइसक्नुभएछ । किन केही खबर नगर्नु भएको ! अँ, झन्डै हप्ता दिन हुन लाग्यो डाक्टरले आमालाई घरैमा लगी उपचार गर्नु भनेको । तर, हामी केही टुंगोमा पुग्न सकेनौँ ।”

म नाजवाफ भएँ । लाग्यो भाउजूले सारा इतिहास सुनाउन लाग्नुभएको छ । सारा विगतलाई एकैपटक पेस गर्न लाग्नुभएको छ । उहाँ थामिनु भएन, “नानी पनि आइपुग्नुभयो । अब भने समस्या हल होला । नानी ! म त आमालाई घरमा लगी उपचार गर्न सक्ने स्थितिमा छुइनँ । उहाँ र म सँगै आठ बजे घरबाट काममा निस्कन्छौँ र साँझ सात बजे मात्र फर्कन्छौँ । दिनभरि आमालाई कसले हेर्ने ? छोरा–छोरी सबै पढ्न जान्छन् । घरमा ताल्चा नै लाग्ने गरेको छ ।” भाउजूले आफ्नो लामो व्यथा पोख्नुभयो ।

समय फेरि थामियो ।

भाउजूका यी शब्दहरूले आमाका आँखा खुले । उहाँले हामी सबैलाई एकपटक राम्ररी हेर्नुभयो । कोठा वरिपरि आँखा लाउनुभयो र फेरि चिम्लनुभयो । उहाँमा म रूपान्तरित भएँ र भविष्यमा पुगेँ— कुनै यस्तो क्षण मेरो अगाडि पनि आउनेछ । स्थिति उही हो । काल, स्थान र वातावरणमा फरक हुनसक्नेछ । मैले हामी सबैलाई धिक्कारेँ । मैले केही बोल्न अगाडि नै सान्दाइले पनि मुख खोल्नुभयो, “भाउजूको कुरा बिल्कुल सत्य हो । म बेठिक भन्दिनँ । तर, मेरो पनि आमालाई लाने अवस्था छैन । बुहारीलाई पाठेघरको क्यान्सर भएको कत्ति वर्ष भइसक्यो । ऊ बिछ्यौनाको बिछ्यौनामा छे । मलाई उसकै सेवा टहल गर्ने फुर्सत छैन । घरमा यौटा रोगीमाथि अर्को रोगी लगेर म के गरूँ...?”

“आमाको जिउनी खाने भएपछि तैले त्यो भनेर हुन्छ ?” ठूल्दाइले बीचमा नै कुरा काट्नुभयो । यही बेला नर्स भित्र पसी । “तपाईंहरू के सल्लाह गर्दै हुनुहुन्छ ? माझीहरूको सल्लाहले डुंगा डुब्ला । आमालाई आज पनि घर लानु हुन्न कि कसो ?,” नर्सले भनिहाली । थर्मामिटर लगाएर ज्वरो नापी । यौटा क्याप्सुल खान भनी र ऊ हिँडी ।

“म आमालाई अमेरिका लगूँ त ?,” म भन्न बाध्य भएँ । मलाई थाहा थियो, मैले यसै भन्नुपर्छ । केही वर्षमा नै यो समाज पतनोन्मुख भइरहेको कुरा मैले अखबारमा पढिसकेकी थिएँ । जहाँ श्रीमान्ले श्रीमतीलाई बम्बैमा लगेर बिक्री गरिरहेछ, दाजुले बहिनीलाई जबर्जस्ती वेश्या बनाइरहेछ । त्यस्तो समाजमा मलाई लाग्यो, म ठिक प्रस्ताव राखिरहेको छु । म सत्यको धेरै नजिक छु ।

दाजुहरूले एकापसमा मुखामुख गर्नुभयो । मलाई लाग्यो, उहाँहरूले चाहनुभएकै कुरा खास यही थियो । म त्यस कोठाबाट निस्केँ र परामर्शका लागि डाक्टरकहाँ पुगेँ । अनि, केटाकेटीले आफ्नो पाठ कण्ठ सुनाएझैँ मैले अनुरोध गरेँ, “डाक्टर साहेब ! म आमालाई अमेरिका लगूँ कि भनेर...। तपाईं के सल्लाह दिनुहुन्छ ?”

डाक्टर साहेब पनि भिडमा हुनुहुन्थ्यो । थुप्रै रोगी र अन्यले उहाँ घेरिनुभएको थियो । तर, उहाँले मतिर आँखा लाउनुभयो, “तपाईं अमेरिकामा बस्नुहुन्छ, ग्रीनकार्ड होल्डर हो ?”

“धेरै वर्षदेखि हामी अमेरिकामा बसेका छौँ । यहाँभन्दा आमाको उपचार राम्रै होला भन्ने पनि मेरो सोचाइ हो । डाक्टर साहेबले अनुमति दिनुहुन्छ भने...।” मैले अनुरोध गरेँ ।

मेरो कुराको जवाफ दिनुभन्दा उहाँले उल्टो मलाई अनुरोध गर्नुभयो, “मलाई यस अस्पतालमा काम गर्न ठ्याम्मै मन छैन । यहाँ बसेर के गर्ने ! उता मेरा लागि केही सहयोग गर्न सक्नुहुन्छ कि ?”

मलाई लाग्यो, यहाँ डाक्टर साहेब मात्र अनुरोध गरिरहनुभएको छैन, सारा राष्ट्र, सारा जनताले अनुरोध गरिरहेका छन्, मसँग याचना गरिरहेका छन् ।

“मैले सकेको गर्छु डाक्टर साहेब ! यहाँले चाहनुभएमा नहुने के छ र । अहिले त म आमाको बारेमा सिरियस छु... डाक्टर साहेबले के सल्लाह दिनुहुन्छ ?,” मैले फेरि आफ्नो कथा दोहोर्याएँ ।

“ब्रेन हेमरेज भएकी वृद्धालाई तपाईं कसरी अमेरिका लान सक्नुहुन्छ ? बिल्कुल असम्भव कुरा हो । उहाँलाई तुरुन्त लगेर आराम दिनुहोस्, मेरो सल्लाह यही हो ।” डाक्टर साहेबको सल्लाह लिएर बेडमा फर्कंदा दुवै दाजुहरू बाहिर जाने हतारमा थिए ।

“हामी त जान लाग्यौँ, अफिसमा नगई हुँदैन,” यत्ति भनेर उहाँहरू निस्कनुभयो । म अलमलमा परेँ, यस बेला मैले के भन्नुपर्छ मलाई थाहा भएन । वास्तवमा म नर्भस भएकी थिएँ । के कसो हुँदै छ वा के हुन लागेको छ, मलाई केही थाहा थिएन ।

“आमा । तपाईंलाई कस्तो छ ?,” मैले सोधेँ । आमाले लोलाएर आँखा खोल्नुभयो । मलाई नचिनेजस्तो गरेर हेर्नुभयो । अनि, त्यस्तै एकदमै नौलो ठाउँमा आएको अनुभूति गर्नुभयो ।

‘मलाई मर्न दे...। मलाई अरू बाँच्ने मन छैन, मलाई पुग्यो ।’ आमाको आँखामा मैले यी हरफहरू पढेँ । उहाँ आफूलाई राखेको सेलिनवाटर पाइप, अक्सिजन पाइप आदि सबै हतार–हतारसँग निकाल्न लाग्नुभयो । मैले तिनलाई यथास्थितिमा राख्न चाहेँ । उहाँको आँखामा अचानक मृत्युको क्रुरता देखापर्यो । मैले नर्सलाई चिच्याएर बोलाएँ । तर, आमाको अवस्था अन्तिमजस्तो थियो । उहाँका आँखा सायद सदाका लागि बन्द थिए । म भने खालि चिच्याइरहेँ— आमा... आमा... मेरी आमा... । मेरी आमा...।

(वरिष्ठ कथाकार परशु प्रधानको कथासंग्रह ‘उत्तराद्र्ध’का सम्पूर्ण कथाहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  ०६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro