site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘सिरियल किलर’ शोभराजको अन्तर्वार्ता परिवारमार्फत् सार्वजनिक भएको प्रहरीको निष्कर्ष

काठमाडौं । सुन्धारा जेलमा रहेका ‘सिरियल किलर’ चार्ल्स शोभराजले परिवारमार्फत् अन्तर्वार्ता सार्वजनिक गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

शोभराजले जेलबाटै विदेशी मिडियालाई अन्तर्वार्ता दिएपछि यस विषयमा प्रहरीले छानबिन सुरु गरेको थियो । कैदी शोभराजको अन्य स्रोतबाट कतै सम्पर्क स्थापित भएको नपाइएपछि छानबिन समितिले परिवारमार्फत् नै अन्तर्वार्ता सार्वजनिक भएको निष्कर्ष निकालेको हो ।

नियमअनुसार कुनै पनि कैदीले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन मिल्दैन । तर गत मार्च २७ मा बेलायती पत्रिका डेलिमेल र मिररले शोभराजसँग गरेको कुराकानीको आधारमा एक रिपोर्ट सार्वजनिक गरेका थिए ।

Dabur Nepal

यसरी भयो अन्तर्वार्ता सार्वजनिक

शोभराजको बाहिरी सम्पर्कको स्रोत भनेको टेलिफोन मात्र हो । अन्य कुनै व्यक्तिसँग सम्पर्क भएको प्रमाण नभेटिएपछि आफूहरु परिवारमार्फत् नै अन्तर्वार्ता सार्वजनिक भएको निष्कर्षमा पुगेको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बाह्रखरीलाई जानकारी दिए ।

“सीसी क्यामेराको फुटेज हेर्दा कोही प्रवेश गरेको देखिएन । रेकर्ड हेर्दा कुनै सञ्चारकर्मीसँग पनि भेटेको देखिँदैन । झन्डै एक वर्षदेखि वकिलसँग पनि भेटेको पाइएको छैन,” जेलर बाँस्कोटाले भने, “उसले यहाँबाट आफन्तलाई फोन गर्दा आफन्तमार्फत नै उसका कुराहरु बाहिरिएको हो ।”

कैदीबन्दीले हप्तामा दुईपटकसम्म आफन्तहरुसँग टेलिफोनमा कुरा गर्न पाउँछन् ।  तर विदेशी कैदीबन्दीले भने संवादका क्रममा अंग्रेजी भाषा प्रयोग गर्नुपर्ने व्यवस्था छ । शोभराजले अंग्रेजी भाषामै बोलेको भए पनि ती कुराहरु कारागारको सुरक्षासँग सम्बन्धित नरहेको जेलर बाँस्कोटा बताउँछन् ।

“आफू छुट्न लागेको कुरा सबै कैदीबन्दीले परिवारलाई सुनाउँछन् । र त्यो कुरा त्यती धेरै हाम्रो सरोकारको विषय पनि हुँदैन,” बाँस्कोटाले भने, “उसले बोलेको कुरा जेलको सुरक्षासँग सम्बन्धित पनि थिएन ।”

चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली नागरिकको हत्या अभियोगमा शोभराज १७ वर्षदेखि सुन्धारास्थित केन्द्रीय कारागारमा कैद छन् । उनीमाथि भारत, थाइल्यान्ड, टर्की, इरानलगायतका मुलुकमा गरी २० जनाभन्दा बढीको हत्या गरेको आरोप छ ।

के भनेका छन् अन्तर्वार्तामा ?

शोभराजले आफ्नो जेलजीवन र भावी योजनाका विषयमा कुरा गरेको उक्त समाचारमा उल्लेख गरिएको छ । उनले ‘भर्जिन टाइकोन’ सर रिचर्ड ब्रानसन र अमेजनका संस्थापक जेफ बेजोसकी पूर्वपत्नीसँग भेट्ने इच्छा गरेको जनाइएको छ ।

“उनीहरुलाई म एउटा चलचित्र बनाउने प्रस्ताव गर्नेछु । अबको एक महिनामा मेरो पुस्तक पनि सार्वजनिक हुँदै छ,” शोभराजले बताएका छन् । आफूमाथि लगाइएका मुद्दाहरु झुठा रहेको दाबी गर्दै उनले आफू तीन–चार हप्तामा नै छुट्ने दाबीसमेत गरेका छन् ।

“म निर्दोष छु । सन् २०१० जुलाइ २७ मा संयुक्त राष्ट्रसंघको मानव अधिकार आयोगले नेपालमा ममाथि लगाइएको दुई मुद्दा गैरकानुनी रहेको घोषणा गरेको थियो,” उनले भनेका छन् । यद्यपी आयोगलाई उद्धृत गरेर उनले गरेको दाबीमा सत्यता नरहेको भन्दै मिररले नै खण्डन गरेको छ । 

को हुन् चार्ल्स शोभराज ?

चार्ल्स शोभराज तिनै व्यक्ति हुन् जसले कुनै बेला ‘नेपालको एअरपोर्टबाट हात्ती छिराइदिन सक्छु’ भनेका थिए । भारतीय मूलका फ्रेन्च नागरिक शोभराजको वास्तविक नाम हाचन्ड भओनानी गुरुमुख चार्ल्स शोभराज हो । सन् १९४४ अप्रिल ६ मा भियतनाममा जन्मिएका उनका बाबु भारतीय मूलका हुन् भने आमा भियतनामी हुन् ।

सन् १९६३ मा १९ वर्षको उमेरमा पहिलो पटक पेरिसमा चोरी प्रयास गर्दा उनी एक वर्ष जेल परे । जेल बसाईकै क्रममा अन्डरवर्ल्ड समूहसँग सम्बन्ध विस्तार गरेका उनी जेलबाट छुटेपछि थप आपराधिक क्रियाकलापमा संलग्न भए ।

फ्रान्समा प्रहरीले निगरानी बढाएपछि उनी सन् १९७० मा भारतको मुम्बई आए जहाँ उनले सुरुमा कार चोर्ने र बेच्ने काम थाले ।

भारतबाट इरान, टर्की, ग्रिस हुँदै उनी थाइल्याण्ड पुगे जहाँ उनले तीन पर्यटकको हत्या गरे । सन् १९७५ मा  भएको उक्त घटनाले थाइल्यान्डमा तहल्का मच्चायो । हत्या गरिएका पर्यटकको पासपोर्ट लिएर उनी पुनः भारत छिरे । सन् १९७० देखि १९७६ कोबीचमा मात्र उनले २० भन्दा बढीको हत्या गरेको बताइएको छ ।

सन् २००३ मा उनलाई नेपाल प्रहरीले पक्राउ ग¥यो । सन् १९७५ मा नेपाल आएका एक अमेरिकी र एक क्यानडेली नागरिकको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । सन् २००४ मा अदालतले उनलाई आजीवन कारावासको सजाएँ सुनाएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ०८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro