site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन दिने शीशु र लात्ते भकुण्डो 

आज दिउँसो फोन आयो एक परिचितको । उहाँले भन्नुभयो – सर, मेरो सालाको बच्चा जन्मेको आज तीन दिन भयो । बच्चाको मुटुमा समस्या रहेछ, त्यही भएर दमक, झापाको एउटा अस्प्तालमा जन्मेको त्यो शिशुलाई विराटनगरको अस्पतालमा लैजान भनिएछ । शल्यक्रिया गरेर बच्चा जन्मिएकाले आमा अस्पतालको ओछ्यानमै थिइन् । बाबुले बच्चा लिएर विराटनगर आए । 

विराटनगरमा बच्चाको मुटुमा ठूलै समस्या भएकाले काठमाडाैं लैजान भनेपछि हतार हतारमा एम्बुलेन्स खोजेर बच्चा जन्मेको दोस्रो दिन बिहान ३ बजे बाबु काठमाडौं आइपुगे र मुटुका लागि कहलिएको अस्पतालमा पुगे । त्यहाँ जाँचपछि बच्चामा मुटुको समस्या रहेको तर तुरुन्तै शल्य क्रिया गर्न नपर्ने भएकाले कान्ति अस्पतालमा लैजान भनिएछ । 

कान्तिमा एक रात राखेपछि भोलिपल्ट दिउँसोदेखि कान्तिका डाक्टरहरुले बच्चाको मुटुको शल्यक्रिया तुरुन्त गर्नुपर्छ नत्र जे पनि हुने भएकाले तुरुन्तै बच्चालाई मुटु अस्पतालमा लैजानु भन्न थालेछन् । बाबु दौडँदै गंगालाल पुगे र कान्तिका डाक्टरहरुले भनेको कुरा सुनाए । तर खासै सुनुवाइ नभएपछि उनले आफन्त र चिनजानका मानिस गुहार्ने क्रममा मकहाँ पनि अनुरोध आएको रहेछ । फोन गर्ने व्यक्तिलाई मेरो केही डाक्टरहरुसँग चिनजान भएको थाहा रहेछ । 

केही दिन अगाडि इलामको एकजना गरिब परिवारमा ७ महिनाको बच्चा जन्मियो । जन्मदा बच्चाको तौल जम्मा ८०० ग्राममात्र भएकाले केही दिन बच्चालाई अस्पतालमै राखेर उपचार गर्न सुझाउँदा सुझाउँदै बाबुले पैसा नभएका कारण बच्चा लिएर हिँडेछन् । सुत्केरी गराउँदा लागेको खर्च तिर्नसक्ने सामथ्र्य उनमा थिएन । त्यस्तोमा उनले बच्चा लिएर हिँड्नु नै श्रेयस्कर ठाने हुनन् । 

यसरी घर फर्कदै गर्दा बच्चा बाटैमा मरेको कुरा सुनेकाले म बढी संवेदनशील हुन पुगे र मैले चिनेजानेका डाक्टरलाई फोन गरेँ ।

दुर्भाग्य, उहाँ काठमाडौं बाहिर हुनुहँदोरहेछ । तैपनि उहाँले मलाई एकजना डाक्टरको मोबाइल नम्बर पठाइदिनुभयो । उहाँसँग  मेरो पनि सामान्य परिचय भएकाले सबै विवरण सुनाएर सहयोगको याचना गरेँ । 

उहाँले मलाई सबै कागज पत्र, रिपोर्ट लिएर बच्चाको अभिभावकलाई तुरुन्तै पठाउन भन्नुभयो । कान्तिमा भएका बाबुलाई फोन गरेर मनमोहन कार्डियो थेरासिक भ्यास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्ज जान भने । तर, उनलाई ट्याक्सीवालाले वीर अस्पताल लगेछन् । 

काठमाडौं बाहिरका उनले सायद राम्रोसँग ट्याक्सीलाई जाने ठाउँ बताउन सकेनन् । डाक्टरले फोन गरेर खै मलाई भेट्न अहिलेसम्म पनि कोही आएन्न त भनेपछि बल्ल मैले पनि त्यो कुरा थाहा पाएँ । फोन गरेर सोध्दा त उनको बेग्लै कथा । 

बल्लतल्ल उनले डाक्टरलाई भेटे । उहाँले समस्याको गम्भीरता महसुस गर्दै इको गर्नुपर्ने भएकाले सम्बन्धित डाक्टरलाई भनिदिएर भेट्न पठाउनु भएछ । सुरक्षा गार्डले भित्र जान नदिएपछि बाबु अर्को आधाघन्टा त्यतै अलपत्र परेछन् ।  के प्रगति भएछ भनेर पहिलो डाक्टरलाई सोधेको त उहाँले उल्टै खै बच्चाको बाबु नै सम्पर्कमा छैनन के गर्नु भन्न थाल्नुभयो । 

काठमाडौंमा दुईतीन दिनदेखिको अनिदो, बच्चाको र पत्नीको पीरले थिचिएका बाबु अलमलिए जस्तो लाग्यो र सहयोगका लागि आफैँ जानु गर्नुपर्छ भनेर मनमोहन गएँ । 

पछिल्ला डाक्टरलाई भेटेपछि थाहा भयो उहाँ पनि बच्चा पर्खेर बस्नु भएको रहेछ इको गर्न । कान्तिमा मसिन बिग्रेको रहेछ ।

बच्चा मनमोहन ल्याउनुपर्ने भयो तर कसरी ल्याउने एनआइएसीयुमा भएको बच्चा विनाअक्सिजन । उता कान्तिका डाक्टरहरुले बच्चा लैजान भनेको भन्यै गरेपछि र बच्चाको अक्सिजनको तह स्वाट्टै घटेको थाहा पाएपछि बिचरा ती सोझा बाबु आफैँ के गर्नु न कसो गर्नु भएर लल्याकलुलुक परेका रहेछन् । 

विडम्बना, अस्पतालमा न इको मेसिनले काम गर्छ, न डाक्टरहरु त्यस्तो अवस्थाको बच्चालाई उचित प्रेषणको व्यवस्थासमेत नगरी बच्चा लगिहाल्न बाबुलाई दबाब दिनुहुन्न भनेरै ख्याल राख्दा रहेछन् । बच्चाको मृत्यु भइहाले अपजस नआओस भनेर सुरुदेखि नै तर्किन्छन् यिनीहरु त । बिरामी आइसकेपछि सकेसम्म बचाउन लाग्ने कि मर्ला भनेर अन्त पठाउने ? 

सबै व्यथा अनुभूत भएपछि मनमोहन गएर डाक्टरलाई केही गर्न अनुरोध गरेँ । बच्चा ल्याउन नससिकने भएपछि डाक्टर आफैँ कान्ति गइदिनु भयो । उहाँसहितको परामर्शमा बच्चालाई यौटा विशेष प्रकारको खोप लगाउन सिफारिस गरियो । यति गरेपछि बच्चाको अवस्था सुधार हुनसक्ने र  नभए पनि केही दिन स्थिर हुने भन्दै यसै गर्ने निधो गरियो । 

यो खोप महँगो त रहेछ नै पाउन पनि त्यत्तिकै दुर्लभ । धन्न फेरि पनि हारगुहार गरेपछि खोप पाइयो र बच्चालाई खोप दिने व्यवस्था गरियो । आशा गरौं, भोलिसम्म त्यो अबोध शिशुको स्वास्थ स्थिर रहनेछ र सहज ढंगले इकोलगायतका परीक्षणपछि उसको जन्मजात स्वास्थ समस्याको पहिचान भएर उचित स्वास्थ सेवा पाउनेछ । थप आशा गरौँ, उसमा कुनै प्रकारको अपांगता पनि हुनेछैन र यौटा स्वस्थ नागरिकको रुपमा हुर्केर देशको सक्दो सेवा गर्ने अवसर पाउनेछ । 

दिनभरका यी घटनाहरुमा गौर गर्दा र आफ्नो पनि अनुभवका कारण हाम्रा अस्पतालमा भएका प्रणालीगत कमजोरीहरु, उचित प्रेषण व्यवस्थाको अभाव, जिम्मेवारी र परेका बेला जोखिम नलिने प्रवृत्ति तथा मानवीय संवेदनाको ह्रास भएको छलंर्ग देखिन्छ । शिशु तथा मातृ मृत्युदरमा उल्लेख्य कमी ल्याउन सकिए पनि अझै गर्न त धेरै बाँकी रहेछ । 

यसैगरी बिरामीको परिवारका सदस्यलाई उचित परामर्श तथा मार्गदर्शन गर्ने पद्धतिको विकास पनि त्यत्तिकै अपरिहार्य देखिन्छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro