चितवन । नेपालका विभिन्न प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय रही उल्लेख्य योगदान दिएका नेपाली कांग्रेसका नेता एकनाथ रानाभाट ६६ वर्षको उमेरमा यस धर्तीबाट बिदा भए । गएको माघ २४ गते शौचालयमा लडेर मस्तिष्क पक्षघात भइ अस्पतालमा उपचारका क्रममा फागुन १० गते उनको निधन भयो ।
उनका लामो राजनीतिक सहयात्री मर्माहत छन् । ‘‘जीवनसाथीजस्तै थिए, के गर्नु सँगै जान सकिँदो रहेनछ । म बरु ८० पुगेको मान्छे मर्न पाएको भए हुन्थ्यो,’’ उनका सहपाठी भानु सुवेदी भन्छन् । उनले प्रजातन्त्र र जनताका लागि के कति गरे अहिलेका पुस्तालाई त के थाहा, तर उनीसँगै राजनीति गरेका सहपाठीलाई भने उनको निधनले बेलाबेलामा घोचिरहन्छ । गला अवरुद्ध पारिरहन्छ ।
वि.सं. २०१० सालमा स्याङ्जामा जन्मिएका रानाभाट सानै उमेरमा बाबुसहित चितवन झरेका थिए । पढाइमा अब्बल र अन्याय–अत्याचार नसहने उनी विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । तत्कालीन राजा र दरबारियाको समयमा स्वतन्त्र रूपमा बोल्नसमेत पाइँदैन्थ्यो । तर, उनी बोल्न छाडेनन् । देश र जनताको लागि आवाज बुलन्द पारिरहे । विद्यार्थीकालदेखि नै उनी समय–समयमा पक्राउ परे ।
उनलाई ०२८ पुस १ गते गिरफ्तार गरियो । सहपाठीहरुलाई सम्झना ताजै छ । ‘‘उहाँ गिरफ्तार पर्नुभयो । तर, केही दिनमै उहाँ छुटेपछि भूमिगत हुनुभयो । वनारस जानुभयो,’’ सहपाठी सुवेदी सम्झिन्छन् । वनारसमा बीपी कोइरालाले कांग्रेसको सम्पर्क कार्यालय स्थापित गरेका थिए । तर, रानाभाट नेपाल आउनेक्रम रोकिँदैनथ्यो । बीपीको सन्देश बोकेर रानाभाट आहोरदोहोर गरिरहन्थे, कसैले सुइँको नपाउने गरी । ‘‘उहांँ कहिले जोगीको वेशमा पहेँलो कपडा, लामा दारी र रुद्राक्ष लगाएर चितवनलगायत पूर्व–पश्चिमका जिल्लाहरुमा संगठन विस्तारमा सक्रिय हुनुहुन्थ्यो,’’ सुवेदीले विगत सुनाए ।
त्यति बेलाको तानशाही राजतन्त्रले उनको खोजी त गरिरहन्थ्यो । तर, भेट्टाउन सक्दैनथ्यो । तर, अफसोच ! ०३१ सालमा हेटौँडामा भएको बमकाण्डमा उनीसहित पूर्वराज्यमन्त्री शेषनाथ अधिकारीलाई मुद्दा लाग्यो । ‘‘उहाँ भाग्न सफल हुनुभयो, शेषनाथ अधिकारी भने ६ वर्ष जेल पर्नुभयो,’’ सुवेदी भन्छन्, ‘‘उहाँ बीपीको एकदमै विश्वासपात्र, निष्ठावान्, सबैको लागि आदर्श र प्रेरणाको पात्र हुनुहुन्थ्यो ।’’
यसको केही समयपछि पुनः उनी भूमिगत भएर बीपी भएको ठाउँमा पुगे । उनका अर्का सहपाठी तत्कालीन संविधानसभा सदस्य रामकृष्ण घिमिरे सम्झिन्छन्, ‘‘जब बीपीले उहाँलाई तानाशाही राजतन्त्रको लागि एउटा चिठी पठाउनुभएको थियो । त्यसभित्र राष्ट्रका नाममा रेकर्ड गरिएको अडियो र सम्बोधन गरिएको अपिल थियो । त्यो ऐतिहासिक सन्देश थियो । हामी दुवैजनासँगै गएर किशुनजीलाई दिएका थियौँ ।’’ त्यति बेला चितवनका घिमिरे काठमाडौंमा बसेर अध्ययनसँगै प्रजातन्त्रका लागि सुषुप्त रूपमा भूमिगत आन्दोलनमा सक्रिय थिए । तर, रानाभाट यतिमा मात्रै रोकिएनन् । ‘‘तत्कालीन समयमा तानशाहले उहाँको सर्वस्वहरण ग¥यो । तर, प्रजातन्त्रका लागि कहिलै हार्नु भएन । निरन्तर लडिरहुनुभयो । उहाँ हक्की, निडर, अडिगका साथै ठट्टा गर्ने बानी थियो । कहिल्यै नरिसाउने, कहिल्यै नबिझाउने हुनुहुन्थ्यो । उहाँजस्तो निष्ठावान् र निस्वार्थ नेता विरलै पाउन सकिन्छ,’’ घिमिरे भन्छन् ।
रानाभाट प्रजातन्त्रका लागि निरन्तर लागिरहे । ‘‘तानशाहको विरुद्धमा र जनतालाई सुसूचित गर्न वनारसबाट तरुण पत्रिका पनि सँगै लिएर आउनुहुन्थ्यो । यताको खबर उता लैजानुहुन्थ्यो । उताको सन्देश नेपाल ल्याउनुहुन्थ्यो,’’ घिमिरेले सम्झे । ‘‘राज्यको अत्यधिक खोजीमा रहने रानाभाट प्रहरी र सेनाको चंगुलबाट विरलै पक्रिनुहुन्थ्यो । उहाँलाई भेट्दैनथ्यो, उहाँको साथीलाई पक्रिन्थ्यो । निकै चतुर अनि विवेशीकल हुनुहुन्थ्यो,’’ घिमिरे बखान गर्छन् ।
‘‘समयअनुकूलसँगै उहाँ थप सशक्त र प्रभावकारी ढंगले लाग्नुभयो । तर, दुर्भाग्य ! ०४७ सालमा शक्तिखोरमा भाषण गरेर फर्कँदा भने सुरक्षाकर्मीले पिटेर उहाँको आँखा नै निकालिदियो, रगताम्मे बन्नुभयो,’’ निकट मित्र सुवेदीले सुनाए । देश र जनताका लागि उनको अभियान निरन्तर अघि बढिरह्यो ।
त्यसपछि देशभर कांग्रेसको संगठन विस्तार, कार्यसमिति गठनतिर उनी अगाडि बढे । त्यति बेला पार्टीका विभिन्न भूमिगत संगठनहरु बने पनि खुला रूपमा भने संगठन विस्तार गर्न पाइँदैनथ्यो । उनले ०४४ देखि नै जिल्ला कार्यसमितिमा रहेर सक्रिय रूपमा काम गर्दै आएका थिए । ‘‘०२९ सालतिर उहाँसँग आन्दोलनकै क्रममा भेट भयो,’’ पार्टीका अर्का नेता कृष्णलाल सापकोटा सम्झिन्छनु, ‘‘उहाँ यस्तो व्यक्ति हुनुहुन्थ्यो, एकदम साधारण, सादगी, निष्ठावान्, पार्टी र प्रजातन्त्रको लागि एक होनाहार योद्धा गुमाएका छौँ ।’’
०४४ सालतिर सापकोटा कांग्रेस चितवनको सभापति र रानाभाट सचिव भएर काम गरेका थिए । उनी चितवनका छिमेकी जिल्लामा बढी सक्रिय रहने र तत्कालीन सरकारविरुद्ध जनतालाई उत्साहित गर्ने गर्थे । सबैको वाहवाही पाएका उनले ०५६ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट भारी मतले जित हासिल गरे । सांसद बने । त्यति बेला माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुग्दै थियो । ‘‘यो बेलामा उहाँको घरमा माओवादीले आगो लगाए । पार्टीका महत्वपूर्ण कागज, निर्णय, माइन्युट ध्वस्त भए,’’ सापकोटा सम्झिन्छन् । माओवादी र सरकारबीच बाह्रबुँदे सम्झौतापछि माओवादी राष्ट्रिय राजनीतिको मूलधारमा आयो । उनी ०६४ को संविधानसभा निर्वाचनमा पुनः चितवन क्षेत्र नम्बर–२ बाट नै उठे । तर, त्यति बेला उनले हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग हार व्यहोर्नुप¥यो ।
‘‘उहाँले यो हार व्यहोरेपछि भौतिक रूपमा कांग्रेसको राजनीतिमा सक्रिय हुनु भएन । एकातिर आँखा नदेख्ने, अरुको सहारा चाहिने, अन्य स्वास्थ्य अवस्था पनि कमजोर हुँदै गएको थियो,’’ सापकोटाले सुनाए । उनको अवसानले चितवन कांग्रेसले मात्र नभई सिंगो कांग्रेस, शुभेच्छुकले एक योद्धा, कर्मठ, निष्ठावान् नेता गुमाएको विश्लेषण गर्छन्, सापकोटा ।
‘‘२०४७ सालमा जब म ११ वर्षको उमेरमा पहिलोपटक उहाँको भाषण सुन्न शक्तिखोर पुगेको थिएँ, भाषण सकिनेबित्तिकै त्यति बेलाको पञ्चायत सरकारले उहाँलाई गिरफ्तार गरेर रगताम्मे र आँखासमेत निकालिदिएको भन्ने सुनेँ । अहिलेसम्म पनि त्यो घटना मेरो दिमागमा घुमिरहन्छ,’’ चितवन कांग्रेसका वर्तमान सभापति जीतनारायण श्रेष्ठ भन्छन्, ‘‘आज उहाँको प्रेरणा, ऊर्जाले हामीलाई थप हौसला र आत्मविश्वास बढेको छ ।’’
रानाभाट अस्पताल भर्ना हुनुभन्दा एक दिनअघि फोनमा भएको अन्तिम संवादबारे स्मरण गर्दै श्रेष्ठ भन्छन्, ‘‘माघ २५ गते एउटा शैक्षिक संस्थाको कार्यक्रममा जानुपर्छ दाइ भनेको थिएँ । दाइले हुन्छ भन्नुभएको थियो । २४ गते नेपाली कांग्रेसको शुभेच्छुकको विरोधसभा भयो । २४ गते नै अचेत भएर अस्पताल भर्ना हुनुभयो । आखिर उहाँको इच्छा र मेरो भेट्ने इच्छा उहाँको भौतिक शरीरसँगै उड्यो,’’ श्रेष्ठले भने । एकनाथ रानाभाटको निधनले नेपाली कांग्रेसलाई मात्र नभई राष्ट्रलाई पनि अपूरणीय क्षति पुगेको श्रेष्ठको भनाइ छ ।