
काठमाडौं । प्रधानमन्त्रीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएपछि देशका प्राथमिकता नै बदलीयझैँ बहस मोडिएको छ ।
जनताको जीवनस्तर कसरी सहज बनाउने ? कोरोनाभाइसको महामारीबाट थलिएको अर्थतन्त्र कसरी उठाउने ? कोरोनाका कारण व्यवसाय र काम गुमाएकाहरुलाई कसरी पुनःस्थापित गर्नेजस्ता विषय ओझेलमा छन् भने प्रधानमन्त्रीले चालेको कदम संवैधानिक हो कि होइन ? भन्ने प्रश्न प्रमुख बनेको छ ।
चियापसलदेखि राजनीतिक दलका औपचारिक–अनौपचारिक फोरमहरुमा प्रधानमन्त्रीको कदमको वैधानिकताकै विषयमा बहस चलिरहेको छ । देशको सर्वोच्च न्यायलयको संवैधानिक इजलासमा गएको आइतबारदेखि लगातार प्रधानमन्त्रीको कदम संवैधानिक कि असंवैधानिक भन्ने विषयमा नै बहस भइरहेको छ ।
वरिष्ठदेखि कनिष्ठसम्मका अधिवक्ताले प्रधानमन्त्रीको कदमका विषयमा प्रश्न उठाइरहेका छन् । ती प्रश्नलाई संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नै प्रतिप्रश्न गरिरहेका छन् । प्रधानन्यायाधीश नेतृत्वको पाँच सदस्यीय इजलासमा अधिवक्ताका प्रश्नमा अन्य न्यायाधीशहरुले पनि प्रतिप्रश्न नगरेका होइनन् । तर, प्रधानन्यायाधीशका प्रश्न ज्यादा चर्चामा पनि छन् ।
कुनै पनि विषयको निरुपणका लागि इजलासमा हुने बहका क्रममा विपक्षीका तर्कहरु कहाँ कमजोर छन् र उनीहरुले उठाएका प्रश्नको वैधानिकतामा अधिवक्ताहरु कति प्रष्ट छन् भनेर प्रतिप्रश्न स्वाभाविक पनि हुन् । तर, प्रधानमन्त्रीको कदमको वैधानिकताका विषयमा भइरहेको संवैधानिक इजलासको बहसमा खुला इजलास सञ्चालन गरिदिएका कारण पनि यी विषयले चर्चा पाइरहेका छन् ।
संवैधानिक इजलासको बहस सर्वोच्च अदालत र नेपाल बार एसोसिएसनमा टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिन्छ । त्यसैले पनि भित्र इजलासमा भइरहेको बहस आम जनताले थाहा पाउने मौका पाएका छन् । यही क्रममा बिहीवारको बहसको एउटा अंश पनि चर्चामा आएको छ ।
बहसका क्रममा वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपानेले एक लेखकको किताबको चर्चा गर्दै संसदीय व्यवस्थाको जननी ‘बेलायती संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउनेबाहेक सबै काम गर्न सक्छ’ भन्ने प्रसंग ल्याउँदै नेपालको संसद्चाहिँ किन प्रधानमन्त्रीको छाया बन्दै छ भन्ने प्रश्न उठाएका थिए । तर, त्यसलाई हाँसीमजाककै रुपमा प्रधान्यायाधीशले जवाफ दिएपछि इजलासमा हाँसोको फोहोरा छुटेका थियो ।
“अहिले त प्रविधिले त्यो पनि सम्भव बनाइदिएको छ, पुरुषलाई महिला र महिलालाई पुरुष बनाउन लिंग परिवर्तन पनि सम्भव भएको छ नि !” भनेपछि इजलासमा हाँसो व्याप्त भएको थियो ।
फाइल तस्बिर ।