site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ई-कमर्सलाई कानुनी दायरामा ल्याउँदै सरकार, अध्यादेशबाटै कानुन ल्याउने तयारी

काठमाडौं । सरकारले विद्युतीय व्यापारलाई नीतिगत रुपमै चिन्ने भएको छ । विद्युतीय व्यापार ऐन ल्याएर सरकारले दुई दशक पुरानो व्यवसायलाई कानुनी रुपमा पहिचान गर्ने तयारी गरेको छ ।

यतिखेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ऐन बनाउने क्रममा जुटेको छ । सन् १९९८-९९ मा ठमेल डटकम, मुन्चा डटकमबाट सुरु भएको विद्युतीय व्यापार (ई-कमर्स) को इतिहासमा पछिल्लो आधा दशक उल्लेखनीय उपलब्धि हासिल भएको छ । सरकारले यो क्षेत्रलाई नीतिगत रुपमा समेट्न खोजेको छ । हाल कायम रहेका विद्युतीय व्यवसायको सरकारबाट पहिचान होस् र नवप्रवर्तनलाई सहजीकरण होस् भन्ने अपेक्षा गरिएको छ ।

विदेशमा अलिबाबा तथा अमेजन र नेपालमा केमु (दराज), सस्तो डिल, स्मार्टडोको, यूजी बजार, फुडमान्डु, गेपुलगायत ई-कमर्स प्लेटफर्मले ल्याएको आमूल परिवर्तनले आम सर्वसाधारणमा ई-कमर्सको जागरण छाएको छ । उनीहरूमध्ये कतिपय प्लेटफर्मका रुपमा चलिरहेका छन् भने कतिपय आफैं बिक्रेता र डेलिभरीको काम गरिरहेका छन् । कुनै भने हाइब्रिडको अवधारणामा सञ्चालित छन् ।

Dabur Nepal

इन्टरनेटको बढ्दो पहुँच, प्रविधिको प्रयोग, बाहिरी विश्वसँगको सम्पर्क, ई-कमर्सको अवधारणाको अनुभव हुन थालेपछि पछिल्लो समय प्रयोगकर्ता बढेका छन् । यस्तो अवस्थामा सरकारले सूचना प्रविधिमा आधारित व्यापारिक कारोबार विस्तार गर्न, प्रणालीलाई सहज बनाउन, प्रविधिमैत्री, विश्‍वसनीय तथा सरल बनाउन र विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद-बिक्रीलाई सुरक्षित संरचनामा आबद्ध गर्न भन्दै विद्युतीय व्यापार ऐन, २०७७ ल्याउने तयारी गरेको हो ।

सुझाव संकलन सकियो, अध्यादेशबाटै ऐन ल्याउने तयारी
हाल विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सुझाव संकलनको काम सकिएको छ । खासगरी विद्युतीय व्यापारलाई नियमन गर्ने ऐन नहुँदा सरकारले यो क्षेत्रलाई चिनेको थिए । यो ऐन बनेपछि विद्युतीय व्यापारलाई नेपालमा वैधानिकता दिने, व्यापारमा रहेका भौतिक अवरोध हटाउने अपेक्षा गरिएको छ ।

विद्युतीय व्यापारका माध्यमबाट हुने व्यापारले समय बचत हुने, कारोबार तथा व्यापारलागत घटाउने भएकाले यसलाई नियमन गर्दै चिन्न लागिएको हो । ऐन बनाएपछि उपभोक्ताको अधिकार संरक्षण हुने तथा व्यवसायीलाई के गर्ने वा के नगर्ने भन्ने थाह हुने विश्वास लिइएको छ ।

सरकारले ई-कमर्सबारे अन्तर्राष्ट्रिय गाइडलाइनअनुसार कानुन बनाउन लागेको हो । यसमार्फत हाल कायम रहेको विद्युतीय व्यापार नियमन मात्र नभएर नयाँ आउनेलाई सहजीकरण तथा प्रवर्द्धनको आधार पनि हुनेछ ।

सरकारले तयार पारेको नेपालमा विद्युतीय व्यापारको विकास र उपयोग सम्बन्धित राष्ट्रिय रणनीति, २०७६ को आधारमा ऐन बन्न लागेको हो ।

तर, विद्युतीय व्यापार ऐन, २०७७ चोरबाटो प्रयोग गरेर ल्याउन खोजिएको छ । संसद् विघटन भएको अवस्थामा ऐनको मस्यौदामाथि सुझाव मागिएकामा अध्यादेशमार्फत ऐन ल्याउन खोजिएको हो ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रालय तथा वाणिज्य विभागलाई गैरकानुनी रुपमा विदेशी ई-कमर्स प्लेटफर्म नेपाल प्रवेश गर्न खोजेको, नेपाली मुद्रा बाहिरिएको भन्ने सूचना पाएपछि यो प्रक्रियालाई चाँडै सक्ने तयारी छ । एक अधिकारीले भने, “संसद् भइदिएको भए संसदीय प्रक्रिया पूरा गरेर चाँडै ऐन ल्याउन हुन्थ्यो । अहिले संसद् छैन, अध्यादेशबाटै ल्याउने तयारी छ ।”
मन्त्रालयकै अर्का अधिकारी भने संसद् नहुँदा ऐन बनाउने काम रोक्न नहुने बताउँछन् । भोलि संसद् ब्युझिएला वा निर्वाचन भएर पुनर्गठन होला, त्यसपछि अनुमोदन गराउन सकिने उनको दाबी छ ।

मन्त्रिपरिषद्‌ले २०७६ असार ८ गते पारित गरेको ई-कमर्सबारे राष्ट्रिय रणनीतिमा ई-कमर्स ऐन एक वर्षभित्रै तयार पारिसक्ने उल्लेख थियो ।

प्रस्तावित ऐन भन्छ- आफैं बिक्री गर्ने र इन्टरमेडियरी गर्ने पनि ई-कमर्स, अरु के-के छन् विधेयकमा ?
विधेयकले वस्तु तथा सेवाको व्यापार गर्ने व्यवसायीलाई विद्युतीय व्यापार गर्ने अधिकार दिएको छ । व्यवसायी भन्नाले व्यक्ति, फर्म, कम्पनी, संगठित संस्था वा इन्टरमेडियरी (अन्तरवर्ती) लाई बुझिने विधेयकको प्रस्तावित मस्यौदामा उल्लेख छ ।

यसको अर्थ आफैं विद्युतीय माध्यमबाट सामान बेच्‍ने वा विद्युतीय प्लेटफर्ममार्फत अर्को व्यवसायी दुवैलाई विद्युतीय व्यापारी भनिनेछ । विधेयकमा इन्टरमेडियरी व्यवसायी भन्नाले किन्ने र बेच्ने अर्को व्यवसायीलाई सहजीकरण गर्ने होलसेलर, रिटेलर, कमर्सियल एजेन्ट, ब्रोकर र डिस्ट्रिब्युटरलाई मानिएको छ ।

ऐन कार्यान्वयनमा आएपछि नेपाली वा नेपालमा व्यापार गर्ने विदेशी ई-कमर्स प्लेटफर्मको हकमा पनि लागु हुनेछ ।

अब नेपालमा कानुनी रुपमा दर्ता भई व्यापार गर्ने जो कोही व्यापारीले पनि वेबसाइट बनाएर त्यसैमार्फत आफ्नो वस्तु तथा सेवा बेच्‍न पाउँछन् । यस्तै, अहिले वेबसाइट नबनाई सामाजिक सञ्जालमा सामानको विज्ञापन राखेर सामान बेच्नेलाई पनि ऐनले एक वर्षभित्रमा वेबसाइट बनाएर वैधानिक बन्न आकर्षित गरेको छ ।

विद्युतीय व्यापार गर्न चाहनेले बेच्‍न राखिएको सामग्रीको करसहित मूल्य, छुट, उपभोग्य मिति, इन्ग्रिडियन्टस्, ग्यारेन्टी तथा सर्तसमेत खुलाउनु पर्नेछ ।

ऐनले विद्युतीय व्यापारको सञ्चालन विधि, भुक्तानी कसरी गर्ने, हस्तान्तरण पूरा भएको कसरी मानिनेलगायत विषय समेटेको छ । यस्तै, व्यवसायीको दायित्व, इन्टरमेडियरीको दायित्व पनि उल्लेख छ ।

विधेयकअनुसार ढुवानीको दायित्व व्यवसायीको हुन्छ, त्यसको शूल्क भने क्रेताले बेहोर्नुपर्छ । त्यसअघि क्रेताले आफूले चाहेको सामान अर्डर गर्नुपर्छ । व्यवसायीले अर्डर हेरेर उक्त वस्तु तथा सेवा उपलब्ध गराउन सक्ने वा नसक्ने तत्काल दिनुपर्छ । सोहीबेला किन्नेलाई सबै खर्च तथा शुल्क अनिवार्य जानकारी गराउनुपर्छ ।

ऐनअनुसार वस्तु वा सामान बुक भएपछि डेलिभरी सुरु भइनसकेको अवस्थासम्म किन्नेले अर्डर रद्द गर्न पाउँछन् । यस्तो अवस्थामा भुक्तानी छैन भने अतिरिक्त शुल्क लिन पाइँदैन र भइसकेको छ भने पनि कट्टी नगरी फिर्ता गर्नुपर्नेछ ।

विधेयकअनुसार कुनै वस्तु वा सेवा डिफेक्टिभ भएर खरिद गर्नेले फिर्ता गर्न चाहे रकम पनि फिर्ता गर्नुपर्नेछ । व्यवसायीको दायित्व कुनै सामग्री उपयुक्त रहेको ग्यारेन्टी दिनुपर्ने पनि रहेको उल्लेख छ । अन्तवर्ती वा मध्यस्तकर्ता व्यवसायीबाट किनेको हो भने अन्तवर्तीले नै सट्टापट्टा गरिदिनुपर्नेछ ।

बन्न लागेको ऐनले वस्तु तथा सेवा र उपभोक्ता संरक्षणको नियमन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले र विद्युतीय माध्यमको नियम सूचना प्रविधि विभागले गर्ने सुनिश्चितता गरेको छ ।

गुनासो र सजाय 
विधेयकमा कानुनविपरीत कारोबार गरेको खण्डमा दुई लाख रुपैयाँसम्म जरिवाना लाग्‍ने व्यवस्था गरिएको छ । सूचीकरण नगरेको, विद्युतीय मध्यम खडा नगरी विद्युतीय व्यापार गरेमा र विद्युतीय व्यापार सञ्चालन हुने प्रक्रिया र विद्युतीय माध्यमको सन्जाल निर्धारण वा कायम गरेको कसुर भए एक लाख रुपैयाँसम्म जरिवाना गर्नेछ ।

व्यवसायीले ऐनबमोजिम विद्युतीय व्यापार व्यवस्थाविपरीत अनुचित व्यापारिक अभ्यास मानिने काम गरे वा गराएमा अधिनमा रही दुई लाखसम्म जरिवाना हुने उल्लेख छ ।

कुनै पनि विद्युतीय व्यापारबाट खरिद गरेको वस्तु वा सेवाको चित्त नबुझेमा ग्राहकले गुनासो गर्न सक्नेछन् । ग्राहकले उक्त व्यवसायीको गुनासो व्यवस्थापन गर्ने व्यक्तिसँग वस्तु खरिद गरेको ७२ घण्टाभित्र लिखित सूचना दिई वा आफैं उपस्थित भई गुनासो गर्न सक्नेछन् ।

साथै, उक्त गुनासो आएकामा त्यसउपर अध्ययन, छानबिन वा विश्लेषण गरी गुनासो परेको १५ दिनभित्र गुनासोउपर उपचार दिने निर्णय गर्नेछ । कम्पनीहरूले पनि अनिवार्य रुपमा गुनासो सुन्ने एकाइ स्थापना गर्नुपर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro