site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं सुरुङमार्ग निर्माणमा वडाकै अवरोध, आयोजना भन्छ– पूरा गर्नै नसकिने माग छन् 

काठमाडौं । फुटबल मैदान बनाउने, सडक पिच गर्नुपर्नेलगायतका विषय उठाउँदैस्थानीय सरकार नै मागपत्र बोकेर आएपछि नागढुंगा सुरुङमार्ग निर्माणमा अवरोध सिर्जना भएको छ ।  काठमाडौंपट्टिको भाग मुनि सुरुङ पर्ने वडाका अध्यक्ष नै उल्लेखित विषयसँगै आफूले भनेको व्यक्तिलाई समेत रोजगारी दिनुपर्नेलगायतका माग राखेपछि निर्माणमा अवरोध भएको हो ।

काठमाडौंमा सुरुङको मुख र बाटो चन्द्रागिरी नगरपालिकाको वडा नं. १ र ३ मा परे पनि सुरुङको ९८ प्रतिशत भाग वडा नं. २ को जमिन मुनि पर्दछ । यस्तोमा वडाले खानेपानी तथा सिँचाइको मूल सुक्ने भन्दै आजीवन खानेपानीको व्यवस्था गर्न माग गरेको हो ।

यस्तै सिचाइको मूल सुक्ने भएपछि कृषक विस्थापित हुने भन्दै वैकल्पिक रोजगारीको व्यवस्था गर्न वडाको माग छ । तर, फुटबल मैदान बनाइदिनुपर्ने, ६ किलोमिटर बाटो पिच गरिदिनुपर्ने, आफूले जो भन्यो सोही व्यक्तिलाई रोजगारी दिनुपर्ने, खानेपानी छिमेकी वडालाई दिन नपाउने जस्ता माग समेटेपछि आयोजनाले ती विषय पूरा गर्न नसक्ने जनाएको छ ।

आयोजना प्रमुख नरेशमान शाक्य भन्छन्, “वडा नं. २ ले पहिलेदेखि नै खानेपानी माग गरिरहनु भएको थियो । अहिले आयोजनाभन्दा असम्बन्धित माग राखेर अवरोध गरिएको छ ।” उनका अनुसार फुटबल मैदान बनाइनुपर्ने, ६ किलोमिटर सडक पिच गरिनुपर्ने, सुरुङमाथिको जग्गाको पनि मुआब्जा पाउनुपर्ने माग वडाको छ ।
सुरुङमाथिको जग्गाको मुआब्जा कुनै आयोजनामा दिने गरिएको छैन ।

“कर्मचारी भर्ना पनि उहाँहरुले भनेजस्तो हुनुपर्ने, आजीवन निःशूल्क खानेपानी व्यवस्था गरिनुपर्ने लगायत माग छन्,” शाक्य भन्छन्, “यसअघि वार्ता गरेर खानेपानीको माग समाधान भइसकेको थियो । फेरि नयाँ नयाँ माग राखेर अवरोध जनाइएको छ ।”

विकास निर्माण काममा सरकारले अवरोध गराउने नभएर सहजीकरण गर्नुपर्नेमा उल्टै असम्बन्धित माग राखेपछि सुरुङ आयोजना र स्थानीय सरकारबीच तालमेल मिल्न सकेको छैन ।

शाक्य भन्छन्, “स्थानीय सरकार हो नि झन् सजिलो बनाउनुपर्ने हो । स्थानीय विवाद आए समाधान गर्छु भनेर वडाध्यक्ष आफैंले हस्ताक्षर गर्नुभएको छ ।”

आयोजना सहजीकरण गर्दै खानेपानीको व्यवस्था नगरपालिकाले गर्नुपर्ने हो । यस्तै, रोजगारी सुरुङ बनाउन्जेल मात्र नभएर भविष्यमा पनि गरिनुपर्ने भनेपछि आयोजनाले असन्तुष्टि जनाएको छ ।

चन्द्रागिरी नगरपालिका वडा नं. २ का अध्यक्ष गोपी सुर्खेतीका अनुसार सुरुङमाथिको अधिकांश भाग वडामा पर्छ । सुरुङले गर्दा प्राकृतिक पानीको मुहान सुक्ने देखिएको छ । सुर्खेती भन्छन्, “प्राकृतिक रुपमा खाइआएको पानी सुक्छ भने आजीवन पानी व्यवस्था गर्नुपर्ने माग हाम्रो हो ।”

यस्तै सिँचाइसँगै कृषि बन्द हुने भएकाले वैकल्पिक व्यवस्था गर्नुपर्ने वडाको माग छ । यस्तै ९८ प्रतिशत सुरुङ वडामा पर्ने भएपछि त्यहाँ ठूला संरचना बनाउन मिल्दैन ।

अध्यक्ष सुर्खेतीको माग छ, “सुरुङ पर्ने जमिनलाई विशेष पकेट क्षेत्र घोषणा गर्नुपर्छ । र, त्यहाँका स्थानीयवासीलाई क्षमताका आधारमा रोजगारी दिनुपर्छ । यहाँका मान्छे काम गर्न सक्ने खालका छन् भने बाहिरबाट किन ल्याउनु ?”

स्थानीय सरकारले विकास निर्माणमा सहजीकरण गर्नुपर्नेमा किन अवरोध ? भन्ने बाह्रखरीको प्रश्नमा सुर्खेतीले भने, “सबै माग पूरा गर्ने भन्ने होइन । खानेपानी, सिँचाइ तथा रोजगारीका माग पूरा हुन्छ भने असम्बन्धित भनिएका अरु फिर्ता गर्छौं ।” 

वडा अझै पनि विकास निर्माणमा सघाउन तत्पर रहेको उनी दाबी गर्छन् । सुर्खेती तत्कालीन माओवादी केन्द्रतर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षअघि उद्घाटन गरेको भए पनि नागढुंगा सुरुङ खन्ने काम पुस ७ गते सुरु भएको थियो । जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुँदै गरेको सुरुङको ठेक्का जापानी कम्पनी हाजमा आन्दो कर्पोरेसनले पाएको छ ।

सुरुङको पश्चिम भाग काठमाडौं–धादिङ सीमा सिस्नेखोलामा स्केप टनेल खन्ने काम थालिएको हो । पूर्वतर्फ अर्थात् चन्द्रागिरि नगरपालिकाको पोर्टलमा जनवरी स्केप टनेल खन्ने योजना छ । नागढुंगा सुरुङ ४२ महिनामा सम्पन्न गर्ने योजना छ । गतवर्षको कात्तिकमा प्रधानमन्त्रीले उद्घाटन गरेकामा १४ महिना बितिसकेको छ ।

२.६८ किलोमिटर सुरुङमार्ग निर्माणको लागत २२ अर्ब हुने अनुमान गरिएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  २१:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro