site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘महामहिम’ प्रतिभा राणालाई पत्र ! 

महामहिम श्रीमती प्रतिभा राणा ! 

जापानका लागि नेपालको राजदूतावास, टोकियो

जय नेपाल । 
आज म तपाईंलाई सम्झँदै छु । हुनत, धेरैले बिर्सिसकेका होलान् तर मैले बिर्सेको छैन । मजस्तै तपाईंलाई अरूले पनि संझेका होलान् । तपाईंको आफ्नै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिर्से पनि नेपाली कांग्रेसका कार्यकर्ता र नेताले कसरी बिर्सेलान् र ? 

तपाईंलाई आफू नेपालको राजदूत भएको थाहा नहुने त कुरै भएन । यसैले देश अहिले अत्यन्तै जटिल मोडमा रहेको, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूको झगडाले देश भड्खालामा जाकिएको छ दुई तिहाइ बहुमतबाट मैमत्त दम्भी सरकार एकैचोटि पातालमा भासिएको पनि अवगतै हुनुपर्छ । नेपालको भविष्य अब के होला ? कसो होला ? देश कुन गन्तव्यमा जाला ? नेतृत्व कता जाला र कसले गर्ला भन्ने कौतुहल व्याप्त छ । देशभित्र मडारिएको कालो बादलको परिदृश्यसँग तपाईंको कुनै लेनादेना छैन भन्ने धेरैले ठानेको हुनुपर्छ । कुरो सही पनि हो । तर, यो कालो बादल  हटाउन तपाईंको सानो त्यागले काम गर्ला कि जस्तो लागेरै यो पत्र लेख्दैछु ।  

महामहिम राणा, धेरै नेपालीलाई तपाईंको परिचय थाहै छ । र, पनि म यसमा केही थप गर्न चाहन्छु । तपाईंको आफ्नै राजनीतिक र सामाजिक परिचय छ तर नेपाली समाजले तपाईंलाई त्यस हिसाबले चिन्दैन । नेपाली समाजले त तपाईंलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी ‘सासु’ भनेरमात्र चिन्दोरहेछ । तपाईं राप्रपाकी नेतृ हुनुहुन्छ, विगतमा तपाईंले मन्त्री बन्ने सौभाग्य पनि प्राप्त गरिसक्नुभएको हो । सामाजिक नेतृत्व तथा समाज सेवामा लामो समय बिताएकी तपाईं करिब चार वर्षदेखि नेपालको तर्फबाट जापानको राजदूत पदमा आसीन हुनुहुन्छ । राजनीतिक समीकरण र सत्ताको पद बाँडफाँटमा तपाईंलाई यो पद आइलागेको र तपाईंको इच्छा र भावनाविपरीत ‘हुन्छ त नि’ भनेर चित्त बुझाउन र मान राखिदिन नै तपाईँले यो पद स्वीकार गर्नुभएको होला भन्ने मेरो अनुमान छ । अधिकांश राजदूत पार्टीका कार्यकर्ताका रुपमा जागिर खाइरहेका छन् । त्यस्ता जागिरेहरुबाट तत् तत् देशसँग नेपालको सम्बन्ध मजबुत भएको छ, आपसी मित्रतामा बढोत्तरी आएको छ भनेर मान्न सकिने आधार छैन । यी त पार्टीले पठाएका गोठालामात्र भए । तपाईँ पनि भिन्न हुनुभएन । सबै राजनीतिज्ञसँग कूटनीतिको सामान्य भाषा, यसका सीमा र आपसी सम्बन्धका बहुआयामिक विषयका बारेमा जानकारी नहुन सक्छ । त्यसैले राजनीति र कूटनीति दुई भिन्न नीति हुन् । राजनीति जानेको मान्छे कूटनीतिमा पनि सफल हुन्छ भन्न सकिँदैन तर कूटनीति जानेको मान्छे भने राजनीतिमा सफल पनि भइरहेको देखिएको छ । 

तपाईँ घरानियाँ राणा खानदानकी बुहारी ! त्यस्तो परिवारबाट बाहिर निस्केर राजनीतिमा हाम्फाल्नु पनि ठूलै संयोग हो । राजनीतिमा लागेको कारणले नै तपाईँ राजदूत हुनुभएको हो तर राजदूत पदमा टिकिरहन तपाईँको ज्वाइँको योगदान छैन भन्दा कसैले पनि विश्वास गर्दैन । मानिसहरु त प्रधानमन्त्री केपी ओलीले देउवाकी सासू भएकै कारणले कांग्रेसले सडक र सदनमा चर्को विरोध नगरोस् भनेर तपाईँलाई राजदूत पदमा टिकाइ राखेका हुन् पनि भन्छन् । यो आरोप सत्यको नजिक रहेको सन्देह नेकपाको सरकार गठन यता नेपाली कांग्रेसले अवलम्बन गरेको मौन विरोधको नीतिबाट पुष्टि पनि हुन्छ । देशमा यति हदसम्मको वितण्डा हुँदा पनि कांग्रेस यसरी बस्न सक्नु अर्थात् प्रमुख विपक्षी दलको भूमिका यसरी निस्तेज र अशक्त पार्ने तपाईँकै राजदूत पद हो भन्नेहरु पनि छन् । हुनत यी सबैको कारण तपाईँको राजदूत पदमात्रै नहोला तर तपाईँ पनि एउटा कारक भने पक्कै हो । 

राजनीतिक र सामाजिक क्षेत्र तपाईँले अनुभव गर्नुभएको क्षेत्र हो । तपाईँको देशव्यापी सञ्जाल छन् । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा तपाईँको पहुँच र पहिचान छ । तर, जब तपाईँ टोकियोमा आफ्ना ऊर्जाहरु बिसाएर राजसी ठाँटले बस्न थाल्नुभयो त्यसले नेपालको राजनीतिमा ठूलो प्रभाव र असर परेको छ । अरु थुप्रै देशका राजदूतहरुको अदली बदली भयो । कतिपयले राजीनामै पनि दिए तर तपाईँँ ज्वाइँको नासोस्वरुप प्राप्ते पदमा टाँसिइरहनुभएको छ । 

तपाईँ अब राजीनामा दिनुस् । उमेरले पनि तपाईँ अब वानप्रस्थको वयमा हुनुहुन्छ । यो उमेरमा तपाईँ स्वदेशमै, आफ्नो घर परिवार समीपमा बस्नुस् । आफूले प्राप्त गरेका सीप र ज्ञानबाट यहाँकै माटो सिञ्चन गर्नुहोस् । 

देशले फेरि एकपटक नेपाली कांग्रेसमाथि अहिलेको दुर्दशाको जटिलतम मोड पार लगाउने ऐतिहासिक जिम्मेवारी सुम्पन लागेको छ । तपाईँँको पद लोलुपताले नेपाली काग्रेसले जनताका पक्षमा उठाउनुपर्ने विषयमा समेत मुख बन्द गरेरजस्तो देखिएको छ । अहिले नेपाली कांग्रेसको मुख बन्द हुनु भनेको प्रजातन्त्रको मुख बन्द हुनु हो । प्रजातन्त्रको मुख बन्द हुँदा लामो संघर्षबाट प्राप्त संविधानमाथि हमला भएको छ । त्यसैले आफ्नो, आफ्ना छोरीज्वाइँको, यो समाजको, नेपाली कांग्रेसको र समग्र राष्ट्रकै प्रतिष्ठा अभिवृद्धिका लागि पनि राजीनामा दिएर नेपाल फर्कनुपर्छ ।  (बोस्टन, अमेरिका ।)   

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro